शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भोइस अफ नेपालले नक्कली कागजपत्र बनाएको खुलासा, १२ लाख भनेर ५० हजारमात्रै दिइयो

सहभागीलाई विश्वास गर्दा धोका पाइयो : भोइस अफ नेपालका निर्देशक
मङ्गलबार, ०४ चैत २०७६, १९ : ३७
मङ्गलबार, ०४ चैत २०७६

भोइस अफ नेपालको पहिलो सिजन समाप्त भएको दुई वर्ष बढी भइसक्यो । तर, सहभागीहरुले अझै सम्झौता बमोजिम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । अन्तिम चार प्रतिस्पर्धीमध्येका दुई प्रतियोगी श्रीजय थपलिया र सप्तक दूतराजले मंगलबार बिहान आ–आफ्नो फेसबुक पेजमा ‘खुल्ला पत्र’ पोष्ट गर्दै सम्झौता बमोजिमको रकम नपाएको गुनासो गरेका हुन् ।  

अन्तिम चार प्रतिस्पर्धीको नाताले यी दुईले १६ डिसेम्बर २०१८ मा लागु हुनेगरी व्यवस्थापन पक्षसँग सम्झौता गरेका थिए । १५ डिसेम्बर २०१९ मा समाप्त हुने यो सम्झौतापत्रको दोस्रो बुँदामा सम्झौता अवधिभर शीर्ष चारजनालाई काठमाडौंमा खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने लेखिएको छ । काठमाडौंमा घर हुनेहरु पनि आयोजकले तोकेको स्थानमा नै बस्नुपर्ने र जे जति खर्च हुन्छ, त्यो सबै आयोजककै थाप्लोमा जाने उल्लेख छ । तर, आयोजकले खानेबस्ने व्यवस्था नगरेको श्रीजयको दाबी छ । 

दोस्रो बुँदामा मासिक एक लाख रुपैयाँ तलब दिइने उल्लेख छ । त्यस हिसाबले १२ महिनाको १२ लाख आउनुपर्छ । तर, श्रीजय र सप्तकले अहिलेसम्म ५० हजार रुपैयाँमात्रै पाएको दाबी गरे । 

त्यस्तै, तेस्रो बुँदामा प्रतिस्पर्धीहरुले सम्झौता अवधिभर वल्र्ड टुर गर्ने र त्यसबापत आउने रकमको ७० प्रतिशत आम्दानी प्रतिस्पर्धीकै हुने उल्लेख छ । तर, सप्तक र श्रीजयले बताए अनुसार उनीहरुले भोइसमार्फत् जम्मा दुई देशको भ्रमण गरे – युके र अष्ट्रेलिया । त्यहाँ प्रस्तुति दिएबापत् तोकिएको रकम अझै नपाएको उनीहरुको दाबी छ । 

‘उहाँहरुलाई हामीले सम्झौता पत्रको कुरा गर्दा, हामीले वल्र्ड टुर भनेकै छैन, त्यो सम्झौता पत्र त दूतावासका लागि बनाएको हो भन्नुभयो ,’ श्रीजय भन्छन्,‘के दूतावासलाई नक्कली सम्झौता पत्र दिनु राम्रो हो  त ? यस्तो अन्तर्राष्ट्रिय फ्रेन्चाइजको सम्झौता पत्र नक्कली बनाएर बेलायत, अष्ट्रेलियाको दूतावासलाई दिने ? अनि यो दूतावासमै देखाउन बनाइएको भए हाम्रो सम्झौता पत्र खोइ त ?’

आयोजकसँग कुराकानीमार्फत नै समस्या सल्टाउन पटक–पटक कोसिस गर्दा पनि निष्कर्ष निस्कन नसकेपछि सार्वजनिक रुपमा बोल्न बाध्य भएको सप्तकले बताए । ‘हामीले पनि बुझेका छौं, समस्या परेको होला तर सबै पैसा एकैपटक देउ भनेका पनि छैनौं, २०–२५ हजार गरी बिस्तारै दिन सकिन्छ नि,’ उनले भने,‘ हामीले जब समस्याबारे कुरा गर्न खोज्छौं, फोन आइहाल्छ । आज बिहान पनि एउटा स्टेटस हालेको लगातार फोन आइरहेको छ ।’

पहिल्यै बोल्ने तयारी थियो 
भोइस अफ नेपालको सिजन टु सार्वजनिक हुने एक दिनअघि पत्रकार सम्मेलन गरेर सबै समस्या सार्वजनिक गर्ने तयारी यी दुईले गरेका थिए । तर, त्यतिबेला आयोजकले बोलाएर ५०–५० हजार थमाएको उनीहरुले बताए ।  ‘ओहो, अब त दिने भएछ भनेर हामी दङ्ग पर्यौं । तर त्यो त हाम्रो मुख थुन्नको लागि मात्रै रहेछ,’ सप्तक भन्छन्,‘उहाँहरुको व्यवहार फेरि त्यस्तै भयो । उनीहरुजस्तो गेमर्स होइन हामी, राजनीतिज्ञ पनि होइन । हामीले त आफूले गरेको पारिश्रमिक मात्र खोजेका हौं ।’ 

भोइसको बोर्डमा चार सदस्य छन् । लक्ष्मण पौडेल, सुशील नेपाल, प्रल्हाद सिंह महत, सदिक्षा आचार्य । सप्तक भन्छन्, ‘हामीलाई यसबारे कोसँग डिल गर्ने भन्ने नै थाहा छैन । यूके टुर गएको पैसा माग्दा, योसँग माग, ऊसँग माग भन्थे । ४ –५ महिना त यत्तिकै रुमल्लियौं । सुशील दाइलाई भन्यो, म त उद्घोषक मात्रै हो, लक्ष्मण दाइलाई भन्यो, ए म त डाइरेक्सन मात्रै हेरिरहेको छु, प्रल्हाद सिंह महत दाइ सम्पर्कमै नआउने, सदिक्षालाई फोन गर्दा नउठ्ने, भोइस अफ नेपालको व्यवस्थापन समूह को त ?’ 

सम्झौतापत्रमा सम्झौता अवधिभरी भोइसबारे केही पनि बोल्न नहुने उल्लेख थियो । यही नियम पालना गरेर लामो समय चुप लागेको उनीहरु बताउँछन् ।  ‘मानिसहरुले अहिले आएर बोलिरहेको छ भनिरहेका छन्, आफ्नो पीडा आफैंसँग छ नि । बिराटनगरबाट आएर काठमाडौंमा बसिरहेको छु, फोन गर्दा उठाउँदैनन्, मेसेजको रिप्लाई छैन । गाह्रो छ नि । अब अहिले फेसबुकमा लेखेपछि भने फोन गरिरहेका छन्,’ श्रीजय भन्छन्,‘यस्तै हो भने सिजन थ्री प्लिज नल्याउनुस् । कसैको सपनासँग जोक नगर्नुहोस् । हामी पैसा पाएनौं भनेर आएको पनि होइन ।’

के भन्छन् निर्देशक ?

भोइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले दूतावासमा पेश गर्नका लागि नक्कली सम्झौता पत्र तयार गरिएको आरोप स्वीकारे । ‘उहाँहरुको जुन पहिलो वास्तविक सम्झौता पत्र छ, त्यसमा माथि उल्लेखित कुनै पनि बुँदा समावेश छैनन् । मात्र कुनै कार्यक्रमको निश्चित प्रतिशत दिने भनिएको छ । यसमा मासिक तलबको कुरा गरिएको पनि छैन, उहाँहरुलाई बस्ने खाने व्यवस्था मिलाइने भन्ने कुरा पनि छैन,’ पौडेलले भने,‘श्रीजयले दूतावासका लागि बनाइएको नक्कली सम्झौता पत्रलाई फोटो खिचेर यसलाई नै बलियो आधार बनाएर कम्पनीलाई धोका दिइरहेका छन् । उहाँहरुको भिसा लागिरहेको थिएन । त्यसकारण मासिक कमाई यति धेरै राखिएको हो, खाने बस्ने व्यवस्था पनि आयोजकले नै व्यहोर्ने बताइएको हो ।’

उनले सम्झौतापत्रमा उल्लेख भएअनुसारको रकम दिनसक्ने अवस्था नरहेको बताए । ‘कुन चाहिँ कम्पनीले यस्तो विधि गर्न सक्छ ? यस्तो गरिए त कम्पनी टाट पल्टिहाल्छ नि,’ उनले भने, ‘उहाँहरुले भन्नुभएको छ कि हामीलाई नीजि कार्यक्रम गर्न दिइएन । तर म उहाँहरुलाई सोध्न चाहन्छु कि उहाँहरुलाई कुन चाहिँ कार्यक्रम गर्न दिइएन ? करार अवधिमा हुँदा नै उहाँहरुले विज्ञापन दिने, प्रस्तुति दिने गर्नुभएको थियो । हामीले उहाँहरुसँग उक्त प्रस्तुतिको पैसा पनि मागेनौं ।’

पौडेलले श्रीजयलाई जम्मा १०–१५ हजारमात्रै तिर्न बाँकी रहेको दाबी गरे । ‘ उहाँले दिएको प्रस्तुतिको रकम नकाटी हिसाब गर्दा कम्पनीले श्रीजयलाई १० –१५ हजार दिन बाँकी छ । प्रस्तुतिको हिसाब गर्दा त उल्टै श्रीजयले पैसा तिनुपर्ने देखिन्छ,’ पौडेलले भने, ‘समस्या छ भने कानूनी उपचारतिर लाग्नुहोस् । हामीले आफ्ना सहभागीलाई विश्वास गर्दा धोका पाएका हौं । दूतावासका लागि नक्कली सम्झौता पत्र बनाउँदा यो उक्त प्रायोजनका लागि मात्रै बनाइएको सम्झौता हो भनेर अर्को पत्रमा पनि हस्ताक्षर गराउनुपर्ने रहेछ, हामीबाट यही गल्ती भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप