मदिराबाट बन्ने सेनिटाइजर प्रभावकारी, तर होसियारी नअपनाए दुर्घटनाको खतरा
मदिराप्रति तपाईंको धारणा के छ ? के तपाईं कोरोनाभाइरस (कोभिड–१९)बाट डराइरहनु भएको छ ? कोरोनाभाइरसको संक्रमणबाट जोगिन तपाईंले बजारमा सेनिटाइजर पाइरहनुभएको छैन ? नआत्तिनुहोस्, अब तपाईंले स्वदेशी सेनिटाइजर नै पनि सजिलै आफैं बनाउन सक्नुहुनेछ । हो, तपाईंले घरेलु रक्सीलाई प्रक्रिया पु-याएरसेनिटाइजरका रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।
ललितपुर महानगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रष्ठिान (नास्ट)को सहकार्यमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार इथानोल, ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको सम्मिश्रणबाट सेनिटाइजर बनाउन थालिएको हो ।
सामान्यतः रक्सी बनाउने प्रक्रियामा उत्पादन हुने इथानोल अल्कोहल उपलब्धता नभएको खण्डमा घरेलु मदिराबाट नै पनि त्यसो बनाउने सकिन्छ । अहिले नाष्टले रक्सीबाट इथानोल अल्कोहल निकालेर ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको समिश्रणबाट सेनिटाइजर बनाउने तरिका गत आइतबारबाट नाष्टको कार्यालयमा सिकाउन सुरु गरिएको छ ।
रक्सी प्रति आममानिसको धारणा सकारात्मक पाइँदैन । अत्याधिक रुपमा मदिरा पिउने महिला वा पुरुषलाई समाजले राम्रो दृष्टिले पनि हेर्दैन । यद्यपि, यतिबेला भने मदिराबाट निकालिएको इथानोलको प्रयोग गरेर बनाइएको सेनिटाइजरको प्रयोगबाट कोरोनाको संक्रमण तथा अन्य सरुवा रोगबाट बच्न सकिने कुरा नाष्टका वैज्ञानिक डा.सजनलाल स्याउला बताउँछन् ।
सेनिटाइजर कसरी बनाउने ?
घरमा उत्पादन गरिएको मदिरालाई कुनै भाडामा उमाल्दा निस्किएको बाफलाई चिसो बनाएर संकलनभएको पानी नै मूलतः इथानोल भएको डा. स्याउलाको भनाइ छ ।
सोही इथानोल अल्कोहलमा ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको सम्मिश्रण गरेर सेनिटाइजर बनाउन सकिन्छ । ‘कुन तरल पदार्थ कति मात्रामा सम्मिश्रण गरेर सेनिटाइजर बनाउने भन्ने कुरा तालिमप्राप्त व्यक्तिले मात्रै गर्न सक्छन्,’ डाक्टर स्याउला भन्छन्, ‘अन्दाजको भरमा मदिराबाट सेनिटाइजर बनाउन सकिँदैन ।’ नाष्टका प्रवक्ता डा.सुरेश ढुंगलेका अनुसार इथानोल अल्कोहल ८० प्रतिशत, ग्लिसिरिन १.४ प्रतिशत, डिस्टिलवाटर १८.८४ प्रतिशत र हाइड्रोजन पेरोअक्साइड ०.१२ लाई राम्ररी घोलेपछि घरेलु सेनिटाइजर तयार हुन्छ ।
बजारमा पाइने शुद्धीकरण गरिएको इथानोल अल्कोहल अर्थात् स्प्रिटबाट पनि सेनिटाइजर बनाउन सकिन्छ । बजारमा सामान्य व्यक्तिले इथानोल अल्कोहल किनेर माथि उल्लिखत ३ तरल कुराहरु मिश्रण गरेर सेनिजाइजर बनाउन सकिने वैज्ञानिक डाक्टर स्याउला बताउँछन् । बजारमा इथानोल अल्कोहल उपलब्ध नभएको खण्डमा घरेलु मदिराबाट इथाइन निकालेर सेनिटाइजर बनाउन सकिने उनको भनाइ छ ।
अहिले ललितपुर महानगरपालिकाका प्रत्येक वडाका दुई जनालाई सेनिटाइजर बनाउने तालिम दिइएको छ । महानगरपालिकामा २९ वटा वडा छ भने ५८ जनालाई सेनिटाइजर बनाउन ६ दिने तालिम दिइरहेको ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष दिनेश कार्कीले बताए ।
भिडियो हेर्नुहोस्ः
होहल्ला र अफवाहको पछि नलागौँ
बजारमा पाइने मदिरालाई सोझै सेनिटाइजरको रुपमा प्रयोग गरेर कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने भन्ने भनाइ सत्य नरहेको उनको कथन छ । ‘सेनिटाइजरको रुपमा सोझै बजारमा पाइने मदिरा प्रयोग गर्ने होइन,’ उनले भने, ‘मदिराबाट निस्किएको इथानोलबाट मात्रै सेनिटाइजर बनाउन सकिन्छ ।’
घरेलु मदिरामा अन्य मदिराभन्दा इथानोल अल्कोहलको मात्रा बढी हुन्छ । बजारमा पाइने बियर, वाइन, भोड्का, ह्विस्की, रम, जिनजस्ता रक्सीमा इथानोल अल्कोहलको मात्रा कम हुन्छ । त्यसैले बजारमा पाइने अन्य मदिराबाट सेनिटाइजर बनाउन गाह्रो पर्छ । आवश्यक परेको खण्डमा घरेलु मदिरामा अन्य पदार्थको मिश्रण गरेर सेनिटाइजर बनाउन सकिने उनले बताए ।
सेनिटाइजर बनाउँदा तालिमप्राप्त व्यक्तिले मात्रै बनाउन सक्ने भएकाले सामान्य व्यक्तिले सुनेको भरमा बनाउँदा दुर्घटना समेत हुन सक्ने उनको भनाइ छ ।
‘सेनिटाइजर बनाउँदा सामूहिक रुपमा बसेर बनाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘एक्लै बनाउन गाह्रो पर्छ ।’ त्यसैले ललितपुर महानगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रष्ठिान (नास्ट)को सहकार्यमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार इथानोल, गिलसिरिन, डिस्टिलवाटर, हाड्रोजन अक्साइडको समीश्रणबाट सेनिटाइजर बनाउन प्रत्येक वटामा २–२ जनालाई सिकाएको उनले बताए ।
घरेलु मदिरा कडा बनाउनका लागि गाउँघरदेखि शहरी क्षेत्रमा अखाद्य वस्तु मिसाउने गरिन्छ । सेनिटाइजर बनाउनको लागि त्यसको कुनै पनि सम्बन्ध नरहेको वैज्ञानिक स्याउलाको भनाइ छ । ‘सुनेको भरमा सेनिटाइजर बनाउँदा दुर्घटना पनि हुन सक्छ,’ उनले भने, ‘पानी नराखेको घरेलु मदिरा मट्टितेलजस्तै बल्न सक्छ । त्यसैले इथानोल अल्कोहल निकाल्दा सावधानी अपनाउनुपर्छ ।’ इथानोल अल्कोहलसँगै अन्य पदार्थ कति मात्रामा राख्ने भन्ने बारेमा ज्ञान हुन जरुरी रहेको उनले बताए ।
मदिराबाट निर्मित सेनिटाइजर प्रभावकारी
साबुन पानीले हात सफा गर्दा हातमा भएका विभिन्न किसिमका किटाणु पखालिने गरिन्छ । तर कहीलेकाहिँ हातमा भएको सबै किटाणु नपखालिन पनि सक्छ । डिटोलको प्रयोग साबुनभन्दा राम्रो भन्ने गरिए पनि मदिराबाट निकालिएको इथानोल अल्कोहलको भन्दा त्यसको प्रभावकारिता कम हुन्छ ।
त्यस्तै, बजारमा आएका विभिन्न ब्राण्डका बास्नादार सेनिटाइजरभन्दा पनि घरेलु मदिराबाट निकाएलिएको इथानोल अल्कोहलको प्रभावकारिता बढी भएको वैज्ञानिकहरु बताउँछन् ।
मदिराबाट निकालिएको इथानोल, गिलसिरिन, डिस्टिलवाटर र हाड्रोजन अक्साइडबाट निर्माण गरिएको सेनिटाइजरको प्रयोगले कोरोना भाइरस कोभिड (१९) को संक्रमण तथा अन्य संक्रमित रोगबाट जोगाउन सक्ने वैज्ञानिक डा. सजनलालको भनाइ छ ।
‘साबुनपानी तथा डिटोलले हात सफा गर्दा किटाणु सबै पखालिन सक्दैन,’ उनी भन्छन्, ‘घरेलु रक्सीबाट बनाइएको सेनिटाइजरले हात सफा गर्दा सिधैं किटाणुलाई मार्छ ।’
संक्रमण हुन नदिनका लागि बारम्बार साबुन पानीले हात धुनु नै सबैभन्दा राम्रो उपाय हो । त्यसका साथै, सधैं साबुन पानीले हात धुने अवसर निमल्ने अवस्थामा सेनिटाइजर प्रयोग गर्न अति आवश्यक छ । खुल्ला वा असुरक्षित अवस्थामा राखिएका घरेलु मदिराको गुणस्तर घटिसकेको हुन्छ । तर घरेलु रक्सीबाट निकालिएको इथानोलबाट सेनिटाइजर बनाउँदा अन्य पदार्थ भन्दा करिव ७० प्रतिशत हुनुपर्छ । इथानोल प्रयोग गर्दा ग्लिसिरिनले गर्दा गुणस्तर नघट्ने वैज्ञानिकहरु बताउँछन् ।