मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना भाइरस भन्दा पनि खतरनाक कलाकार !’ (अडियोसहित)

मङ्गलबार, ०४ चैत २०७६, १७ : २७
मङ्गलबार, ०४ चैत २०७६

बुटवल । बुटवलमा केही दिन अगाडि नेकपा निकट एक ‘कलाकार’ले मेला महोत्सवमा कलाकार बोलाउने काम गर्ने व्यक्तिलाई सत्ताको आडमा धम्की दिएको अडियो सार्वजनिक भयो । सो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
अडियोबारे मंगलबार प्रदेश नम्बर ५ को प्रदेशसभामा प्रश्न उठेको छ । प्रदेशसभामा बोल्दै प्रदेश सांसदहरुले सत्ताको आडमा ती कलाकारले धम्क्याएको भन्दै छानविनको लागि सरकारसँग माग गरेका छन् । 

प्रदेशसभा बोल्दै प्रदेश सांसद फकुरिद्ध खाँन र वीर बहादुर रानाले यस विषयमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

 विभिन्न मेला महोत्सवमा कलाकार बोलाउने ठेक्का लिने काम समेत गर्ने नेकपा निकट बुटवलका कलाकार नारायण खनाल (लेकाली) ले अर्का ठेकेदार राजवीर जयसवालाई धम्की दिएको अडियो आएको भन्दै उनीहरुले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका हुन् । 

बुटवलमा गत फागुन २१ देखि २७ गतेसम्म चलेको प्रादेशिक महोत्सव कोराना संक्रमण खतराको कारण जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको नभइ नेकपा निकटका कलाकार नबोलाएकाले बन्द गराएको उनले अडियोमा भनेका थिए । 

फोन संवाद सार्वजनिक भएसंगै सत्ताको आडमा कम्युनिष्टहरुले कतिसम्म हर्कत गर्दारहेछन् भन्ने पुष्टि भएको प्रदेश सांसद खानले टिप्पणी गरे । 

अर्का प्रदेश सदस्य वीर बहादुर रानाले पनि मन्त्रीहरुको नाम जोडेर मेला नै आफूले बन्द गरादिएको अडियोमा आएको भन्दै मेला सरकारले कोरानाका कारण हो कि नेकपाका कलाकारले बन्द गराएको हो ? भन्दै प्रश्न गरे । 
उनले थर्काउने व्यक्ति कोरना भाइरस भन्दा खतरनाक रुपमा प्रस्तुत भएको भन्दै उनीमाथि छानबिन गरेर कारबाही हुनुपर्ने माग गरे । 

को हुन् खनाल ?

लेकाली कलाकारको जिम्मा वा ठेक्का लिएर मेला महोत्सवबाट नाफा कमाउने  धन्दामा विगत केही वर्षयता क्रियाशील रहेको एक जना कलाकारले बताए ।  पाल्पा जिल्लाको रामपुरबाट हाल बुटवलको सुख्खानगर बसाइ सरेका लेकाली सेवा निवृत प्रावि तहका शिक्षक समेत हुन् ।

उनलाई देशैभरि चिनाउने चर्चित गीत भने कुनै पनि नभएको उनी निकटकै कलाकारहरु बताउँछन् । केही वर्षअघि बुटवलमा गोधुली रोधी घर संचालन गरेका लेकाली तत्कालीन नेकपा एमाले निकटको जनसांस्कृतिक मंचमा आबद्ध थिए ।

 लोक दोहोरी गीत प्रतिष्ठानमा एक पटक केन्द्रीय सदस्य बनेका लेकाली अघिल्लो चुनावमा प्रतिष्ठानको केन्द्रीय उपमहाचिवमा चुनाव लडेर हारेका थिए । यस्तै उनी केन्द्रीय सचिवमा समेत उम्मेदवारी दिएर पराजित भएका थिए । हाल नयाँ खास पेशा केही नगरेका लेकाली देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा कलाकारको ठेक्का मिलाउने र कमिशन लिने काममा सक्रिय छन् । 

यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको कारण मेला बन्द गराइएको बताएको थियो । तर मेलाका सांस्कृतिक कार्यक्रम संयोजक राजवीर जैसवालसंगको संवादमा लेकालीले बुटवल कम्युनिष्टको ‘राज्य’ भएको तर मेलामा वामपन्थी नेता कलाकारलाई नबोलाएकाले आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर बन्द गर्न लगाएको उल्लेख गरेका छन् ।  

कांग्रेस निकट धेरै कलाकारलाई बोलाउँदा  कम्युनिष्ट कलाकारहरु अन्यायमा परेको भनेर गुनासो आएपछि २२ जना कलाकारकै सामुन्ने आफूले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, सामाजिक विकास मन्त्री सुदर्शन बराल र प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई टेलिफोन गरेर मेला बन्द नगरे युवा संघका ‘केटाहरु’लाई लगेर गेट भत्काएर आफै बन्द गराइदिने चेतावनी दिएपछि बन्द भएको बताएका छन् । थप प्रतिक्रिया लिन रातोपाटीले सम्पर्क गर्दा अहिले उनको मोबाइल अफ छ ।

यता जयसवालले अडियो सत्य भएको रातोपाटीलाई बताए । तर कसले यो बाहिर लग्यो आफूलाई नै थाहा नभएको उनको दावी छ । उनले अडियो ३२ मिनेटको भएको पनि खुलाए । तर अहिले बाहिर ९ मिनेटको मात्र आएको उनको भनाइ छ । 

अडियो सुन्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप