शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको चिनियाँ समाधान– परम्परागत औषधिमार्फत रोकथामको प्रयास !

मङ्गलबार, ०४ चैत २०७६, १५ : ३२
मङ्गलबार, ०४ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि चीनको ऊहानका ड्रोन इन्जिनियर ३८ वर्षीय सिओङ क्विन्गझेन झन्डै दुई साता पराम्परागत चिनियाँ औषधि विज्ञानका चिकित्सकहरुले सञ्चालन गरेको अस्पताल बसे । 
यो अस्पतालमा हरेक बिहान र साँझ दालचिनी, मुलैठीको जरालगायत २० वटाभन्दा बढी जडिबुटीबाट बनाइएको ब्राउन सुप खुवाइन्थ्यो । 

अन्य बिरामीजस्तो सिओङलाई ब्राउन सुप मन परेन र उनले पिएनन् । ‘यो विचारमा यसले कुनै काम गर्दैन,’ सिओङ भन्छन् । उनी गत फेब्रुअरीमा अस्पतालबाट डिस्जार्च भए । 

वैज्ञानिकहरु नोबेल कोरोना भाइरसको रोकथाम र उपचारका लागि भ्याक्सिन बनाउने प्रतिस्पर्धामा छन्, यति नै बेला चीनले परम्परागत औषधिको प्रवर्द्धन गर्दैछ । प्राचीन औषधिको प्रवर्द्धन गर्ने सरकारी नीतिअनुरुप नै बिरामीलाई फोक्सो सफा गर्ने डिटोक्सिङ सुप दिइएको हो । 

गत महिनाको अन्त्यसम्म कोरोना भाइरसका ८५ प्रतिशत बिरामी अर्थात झन्डै ६ हजारले एन्टीभाइरल ड्रग्ससँगै हर्बल औषधि प्रयोग गरिसकेको स्वास्थ्य तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

‘हामी कोभिड–१९ को उपचारका लागि चिनियाँ समाधान र चिनियाँ अनुभव बाँड्न चाहन्छौं र धेरैभन्दा धेरै देशलाई चिनियाँ औषधिबारे बुझ्न र यसको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौं’ चीनको प्राचीन चिकित्सासम्बन्धी राष्ट्रिय प्रशासनका प्रमुख यु यान्होङले गत साता पत्रकार सम्मेलनमा भनेकी थिइन् । 

तर, परम्परागत औषधिमा विश्वास गर्ने ठूलो समुदायको बसोबास रहेको चीनमै सरकारले यसबारेका दुविधा चिर्न सकेको छैन । जस्तो, सिओङ यसमा विश्वास गर्दैनन् । विदेशमा हर्बल औषधिका विषयमा पश्चिमा मेडिकल विज्ञले अझै धेरै दुविधा सिर्जना गरिदिएका छन्, उनीहरुले लामो समयदेखि प्राचीन औषधिको सुरक्षा र प्रभावकारिताबारे प्रश्न गरिरहेका छन् ।  
उपचारको खोजी 
६ हजार ६ सयभन्दा धेरैको ज्यान लिने कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता लागेको छैन । अहिलेसम्म ७५ भन्द बढी देशमा यो भाइरसको संक्रमण फैलिसकेको छ र १ लाख ७५ हजारभन्दा धेरै व्यक्ति संक्रमणको चपेटामा छन् । 

औषधि कसरी बनाउने भनेर वैज्ञानिकहरु सक्रिय छन् । उनीहरुले कोरोनाको लक्षण कम गर्नका लागि एन्टिभाइरल उपचारमा जोड दिएका छन्, यता चीनलाई लागेको छ कि प्राचिन औषधिले नै समाधान दिन्छ । ‘स्वास्थ्य अवस्था र रोग प्रतिरोधी क्षमतामा सुधार ल्याएर परम्परागत औषधिले रोकथाम र बिरामीको रोगमुक्त हुने क्षमता बढाउनेछ । यो थेरापीको प्रभावकारी उपाय हो,’ यान्होङले भनिन् । 

यान्होङका अनुसार विगतमा पनि परम्परागत जडिबुटीले भाइरसविरुद्ध लड्न ठूलो भूमिका खेलेका छन्, जस्तो २००२/२००३ मा चीनमा सार्सको महामारीले सयौंको मृत्यु हुँदा जडिबुटीको प्रभावकारिता देखिएको थियो । 
अहिलेसम्म चीनमा ५० हजारभन्दा धेरै नोबेलकोरोना भाइरसका बिरामी अस्पतालबाट ठिक भएर घर फर्किएका छन् र उनीहरुमध्ये अधिकांशलाई चिनियाँ प्राचीन औषधि सेवन गराइएको थियो,’ युले भनिन्, ‘यसले चिनियाँ औषधि प्रभावकारी छ भन्ने देखाउँछ ।’
ऊहानमा १ सय २ बिरामी सामान्य लक्षण देखिएका बिरामीमध्ये कसैलाई पश्चिमा औषधिमात्रै त कसैलाई परम्परागत औषधि समेत दिएर परीक्षण गरिएको थियो । यसक्रममा दुबैथरी औषधि प्रयोग गर्ने व्यक्ति निको हुने दर ३३ प्रतिशतले बढी देखिएको उनले बताइन् । अर्को एक अनुसन्धानले पनि चीनियाँ औषधि प्रयोग गर्दा चाडो निको हुने पनि देखाएको छ । 

तर सबै यसमा सहमत छैनन् । जस्तो, निको भइसकेका सिओङले सुप पिउन अस्वीकार गरेका थिए, उनी यसको प्रभावकारिता र परीक्षणको निष्पक्षताबारे प्रश्न गर्छन् । ‘निष्पक्षताका लागि हामीले डबल ब्लाइन्ड टेस्ट गर्नैपर्छ– धेरैभन्दा धेरै पर्याप्त स्याम्पलका साथ र ती स्याम्पललाई पनि ¥यान्डम्ब्ली  छान्नुपर्छ,’ उनले भने । 

चिनियाँ हर्बल औषधिको प्रयोग ऊहानमै सीमित छैन । पूर्वी सिजियाङ प्रान्तमा ९५ प्रतिशतभन्दा धेरै कोरोनाका बिरामीलाई फेब्रअरीको अन्त्यदेखि परम्परागत औषधि खुवाइएको छ । बेइजिङमा ८७ प्रतिशतलाई औषधि खुवाइएको छ र यसमध्ये ९२ प्रतिशतमा सुधार देखिएको बेइजिङ स्वास्थ्य कमिशनका प्रवक्ता गाओ सियाओजुनले बताए । 

‘परम्परागत चिनियाँ औषधिले निको हुने दर सुधार्न ठूलो भूमिका खेलेको छ, यसले मृत्युदर घटाएको छ,’ उनले भने । 

राज्य समर्थित उद्योग 
चीन सरकारले चिनियाँ औषधिलाई देश तथा विदेशमा समेत प्रवर्द्धन गर्ने प्रयास गरेको छ । यही क्रममा कोरोनाविरुद्धको लडाईंमा यो औषधि प्रयोगमा ल्याइएको हो । 

चीनको स्टेट काउन्सिलले गत वर्ष गरेको प्रक्षेपण अनुसार २०२० सम्म परम्परागत औषधि उद्योगको मूल्याङ्कन ३ ट्रिलियन युआनभन्दा माथि पुग्नेछ । सन् २०१७ को दाँजोमा यो ७१ प्रतिशतले बढी हो । बेइजिङले आफ्नो महत्वाकांक्षी योजना बीआरआईसँगै परम्परागत औषधिको पनि प्रवर्द्धन गर्दै लगिने जनाएको छ । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ आफै प्राचीन औषधि प्रयोगका पक्षधर हुन्, उनी यसलाई राष्ट्रिय गौरवका रुपमा लिन्छन् । ‘प्राचीन औषधि चिनियाँ सभ्यताको सम्पत्ति हो, यसले देश र हाम्रा मानिसको विवेकको प्रतिनिधित्व गर्छ,’ गत अक्टुबरमा सीले प्राचीन औषधिबारेको राष्ट्रिय सम्मेलनमा भनेका थिए । 

महामारी फैलिएयता सीले बारम्बार डाक्टरहरुलाई पश्चिमा औषधिसँगै चिनियाँ औषधि पनि मिलाएर प्रयोग गर्न निर्देशन दिएका छन् ।

‘कोरोना भाइरसको उपचारका क्रममा अस्पतालहरुलाई सक्रिय रुपमा चिनियाँ औषधिको प्रयोग गर्न निर्देशन दिइन्छ,’ चीनको राष्ट्रिय स्वास्थ्य विभागले जारी गरेको पत्रमा उल्लेख छ  ।

गत महिनामात्रै विभागले ‘फोक्सो सफा गर्ने र डिटोक्स गर्ने सुप’ प्रयोग गर्न सिफारिस गरेको थियो, यही सुप सियोङ बसेको अस्पतालले उनलाई खुवाउन खोजेको हो । 
सामान्यदेखि गम्भीर लक्षण देखिएका बिरामीसम्मलाई विभागले यो औषधि खुवाउन सिफारिस गरिरहेको छ । 

युनिभर्सिटी अफ हङकङस्थित स्कुल अफ चाइनिज मेडिसिनका कार्यकारी निर्देशक फेन्ग यिविनका अनुसार प्राचिन चीनका चारवटा हर्बलकोे फर्मुला मिसाएर अहिले सिफारिस भएको औषधि तयार हुन्छ, यो औषधिको इतिहास झन्डै १८ सय वर्ष पुरानो छ । 

‘पहिले चारवटा प्रान्तमा यसको प्रयोग गरियो । क्लिनिकल सर्वेक्षणले राम्रो नतिजा देखाएपछि यसलाई देशव्यापी रुपमा प्रवर्द्धन गरिएको छ,’ फेन्गले भने,‘अनुसन्धानले देखाएअनुसार औषधिमा प्रयोग गरिएका २९ वटा जडिबुटी कोभीड–१९ को उपचारका लागि प्रभावकारी देखिएका छन् ।’

कति सुरक्षित छ ?
स्वास्थ्यविद्हरुका अनुसार कोरोना भाइरसको महामारीविरुद्ध चिनियाँ उपचार विधि अपनाउने सवालमा अन्य देशलाई सहमत गराउन लामो समय लाग्नेछ– विशेषगरी पश्चिमा देशहरुलाई । 

‘अहिले अफ्रिकालगायतका क्षेत्रमा चीनियाँ परम्परागत औषधिको प्रवर्द्धन हुनसक्छ । तर, जबसम्म अर्टेमिसिनिन जसरी आधुनिक मापदण्डअनुसार विकास र मार्केटिङ गर्न सकिँदैन, त्यतिबेलासम्म पश्चिमा विश्वले सलाई सहज रुपमा लिने देखिँदैन,’ काउन्सिल अफ फरेन रिलेसन्सका प्रोफेसर हुवेङले भने । 

अर्टेमिसिनिनलाई मलेरियाको  प्रभावकारी औषधिका रुपमा विश्वले नै स्वीकारेको छ, यो स्थानीय जडिबुटीबाट तयार हुन्छ । चिनियाँ प्राचीन औषधि ग्रन्थबाट अर्टेमिसिनिन पत्ता लगाएर यसलाई प्रयोगमा ल्याउने वैज्ञानिक टु युयुलाई २०१५ मा मेडिसिनतर्फ नोबेल पुरस्कार दिइएको थियो । 

चीनमा अझै पनि प्राचिन औषधिको प्रभावकारिता र सुरक्षाबारे बहस हुन्छ । प्राचिन औषधिमा प्रयोग गरिएका धेरै जडिबुटीहरुको प्रयोग सयौं वर्षदेखि भइरहेको छ । तर, आलोचकहरु यसको विश्वसनीयता  पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको बताउँछन् । 

‘प्राचीन औषधिका उत्पादन गर्ने विषयमा एउटा निश्चित मापदण्ड हुँदैन, जसरी पश्चिमा आधुनिक औषधि तयार गरिएको हुन्छ । यहीकारण हो कतिपयले अझै पनि पश्चिमा विश्वमा चिनियाँ औषधिलाई विश्वास गर्दैनन्,’ हुवाङले भने । 

जब २०१८ मा विश्व स्वास्थ्य संगठनले चिनियाँ औषधिलाई पहिलोपटक वैधानिकता दियो, त्यसपछि यसको सुरक्षा  र प्रभावकारिताको विषय थप पेचिलो बन्यो । 

विश्व स्वास्थ्य संगठनले हर्बल औषधिको विषालु पक्षलाई नजरअन्दाज गरेको बायो मेडिकलविद्हरुको आरोप छ । यता, जनावर अधिकारकर्मीहरुले बाघ, भालू, साल र गैंडाजस्ता दुर्लभ वन्यजन्तुको चोरी शिकारी बढ्ने भन्दै यस कदमको आलोचना गरेका छन्, परम्परागत औषधिमा यस्ता जनावरको अंग समेत प्रयोग हुने गरेको छ । 

सुरुमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उपचारमा चीनियाँ प्राचीन औषधि प्रयोग नगर्न सल्लाह दिएको थियो । ‘कोभिड–१९ भएकाहरुले परम्परागत हर्बल औषधि प्रयोग नगर्नुहोला,’ डब्ल्युएचओको वेवसाइटमा लेखिएको थियो । तर, पछिल्लोपटक यो सूचना हटाइएको छ । 

‘मार्च ४ मा जेनेभामा बसेको वेवसाइटको सम्पादकीय टिम र जोखिम संक्रमण टिमको बैठकले यो शब्द हटाउने निर्णय गरेको छ, किनकी धेरै मानिसले कोभिड–१९ का सामान्य लक्षण कम गर्न परम्परागत औषधिको प्रयोग गरिरहेका छन्,’ चिनियाँ सामाजिक सञ्जाल ‘बिच्याट’ मा डब्ल्युएचओको आधिकारी एकाउन्टबाट विज्ञप्ती जारी गर्दै भनियो । 

राष्ट्रवादको संकेत 
यसै महिनाको सुरुमा लिन्साङ शहरस्थित विद्यार्थी र शिक्षकसामु विद्यालय फर्कनका लागि परम्परागत सुप खानुपर्ने शर्त अघि सारिएको थियो । उनीहरुलाई प्रमाणका रुपमा यो औषधि दिइरहेको फोटो र भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गर्न भनिएको थियो, चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार रोग प्रतिरोधी क्षमता बढाउनका यसो गरिएको हो । यस कदमपछि किन स्वस्थ्य व्यक्तिलाई समेत विभेदकारी ढंगले औषधि खान कर गरियो भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भयो ।

‘एउटै रोगको लक्षण पनि फरक व्यक्तिमा फरक हुनसक्छ । यदी कोही व्यक्तिलाई उनीहरुको अवस्था नबुझी औषधि पिउन बाध्य गराइन्छ भने यसले पक्का समस्या गर्छ,’ हङकङ विश्वविद्यालयका चिनियाँ औषधिविद् फेन्गले भने । 

यसरी विरोध भएपछि लिन्साङका शिक्षा अधिकारीले माफी मागेका थिए । सरकारले चिनियाँ औषधिको प्रवद्र्धन गरिरहदाँ अनलाईनमार्फत ठूलो आलोचना खेप्नुपरेको छ । 

सुप लिन अस्वीकार गरेका सिओङ, जो अहिले निको भइसकेका छन्, उनी विइवो (सामाजिक सञ्जाल) मा यस सुपको प्रभावकारीताबारे सार्वजनिक प्रश्न गरेका कारण अनलाईन दुरुपयोगको मुद्दा चल्नसक्ने बताउँछन् । दुईसाताअघि साता विइवोका अर्का सक्रिय प्रयोगकर्ता र चिनियाँ परम्परागत औषधिका खरा आलोचकको एकाउन्ट डिलिट भएको थियो । 

सिओङका अनुसार सरकारले देशमा बढ्दो राष्ट्रवादी भावनालाई परम्परागत औषधिको प्रवर्द्धन गर्ने अवसरका रुपमा लिएको छ । ‘धेरै मानिस यस्तो अन्धो राष्ट्रवादबाट ग्रस्त छन् । अतिवादी र साँघुरो सोचको राष्ट्रवाद,’ उनले भने,‘ त्यसैले तपाई के भन्न चाहनुहुन्छ वा तपाईसँग के तर्क वा तथ्य छ भन्ने कुराले उनीहरुलाई केही फरक पार्नेवाला छैन ।’

हुवेङका अनुसार आधुनिक चीनमा राजनीति र औषधि विज्ञानको गहिरो र रोचक सम्बन्ध छ । सीको कार्यकालमा यो राष्ट्रवादको संकेतका रुपमा देखापरेको छ । ‘यदी तपाई चिनियाँ परम्परागत औषधिमा विश्वास गर्नुहुन्न भने तपाईलाई राष्ट्रवादी मानिदैंन,’ उनले भने ।  

-नेक्टर गान र योङ सियोनले तयार गरेको रिपोर्ट । सीएनएन डटकमबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप