बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना त्रास : के गर्दैछन् खाडी मुलुकमा रहेका नेपाली ?

सोमबार, ०३ चैत २०७६, १६ : ४४
सोमबार, ०३ चैत २०७६

युएई । नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिन्छन् खाडी मुलुक । तिनै मुलुकमा रोजगारी गरेर घरपरिवार धानेका लाखौं नेपाली कोरोना भाइरसको त्रासदीमा बाँचिरहेका छन् । 

कोरोना त्राससँगै कतिपय मुलुकहरुले बेतलवी बिदा दिइसकेका छन् त कतिले क्वारेन्टाइनमा बसालेका छन् । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने एकिन टुङ्गो छैन । यस्तो अवस्थामा धेरैजसो नेपाली के गर्ने, कसो गर्ने, भन्ने दुविधामा परेका छन् । 

धादिङका लक्ष्मण लामिछाने फेसबुकमा लेख्छन्, ‘हाम्रो त अनपेड लिभ सुरु भइसक्यो तर खाना,बस्न चाहिँ कम्पनीले नै दिन्छ ,मात्रै तलब र ड्युटी गयो भनेर भन्नुस् ।’

कुबेतमा कार्यरत तँनहुका कृष्ण गुरूङ लेख्छन् ‘एक महिनाको छुट्टी लिएर घर जाँदैछु, श्रमको म्याद डेढ महिना मात्र छ, फेरि फर्कन सकिने हो कि हैन ?’ 

साउदी अरबमा कार्यरत गोरखाका रन्जित पुडासैनी भन्छन्, ‘कोरनाले गर्दा प्रोजेक्ट बन्द भयो । काम पाइएन घर फर्किएँ, अब विदेश फर्किन्न होला’, पुडासैनी साउदी अरबस्थित अमेरिकन प्रोजेक्टमा कार्यरत थिए ।
स्याङ्जाका लक्ष्मण खनालको आगामी मार्च २३ मा नेपाल जाने टिकट थियो । घर परिवारसँग ४० दिनको वार्षिक बिदा मनाउने उनको योजना नेपाल सरकारले श्रम स्वीकृति प्रदान गर्न रोकेसँगै सपनामा टुङगिएको छ ।
उल्लेखित पात्रहरू त उदारहण मात्रै हुन् । खाडीका बस्ने धेरै  नेपालीहरुलाई कोरना भाइरस (कोभिड(१९) को विश्वव्यापी महामारीले थप चिन्ता बढाएको छ । 

नेपाल फर्किए पनि ‘सेल्फ क्वारेन्टाईनमा’ बस्नु पर्ने, कमजोर उपचार प्रविधिले नेपाल गएपछि अवस्था झनै बिग्रिए के गर्ने ? विदेशै भए पनि केही भइहाले नेपालको भन्दा राम्रो उपचार हुनसक्ने विश्वासले कतिपय कामदारहरूले आफ्नो वार्षिक नै बिदा कटौती गरेका छन् ।

युएई लगायत मध्यपूर्वका खाडी राष्ट्रहरु पनि अहिले विश्वव्यापी महामारीको चपेटामा परेका छन् । यहाँका कुनै पनि मुलुक कोरनाको संक्रमणबाट बच्न सकेनन् । कोरोना त्रासले खाडी मुलुकमा रहेका करिब २५ लाख नेपालीले सुरक्षित महशुस गर्न सकेका छैनन् । 

कोेरोनाको यूएईबाट नजिकै रहेको इरानमा सबैभन्दा बढी प्रभाव छ । इरानको स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क अनुसार त्यहाँ ७२४ भन्दा बढी कोरनाका कारण मृत्यु भइसकेको छ भने करिब १४ हजारको हाराहारीमा संक्रमणमा परेका छन् । 

पछिल्लो तथ्याङ्क अनुसार खाडी मुलुकहरुमध्ये सबैभन्दा बढी संक्रमित सङ्ख्या कतारमा ४०० जनामा देखिएको छ । त्यसैगरी बहराइन २२१, कुवेत १२३, साउदी अरेबियामा ११८, युएई ९८ र ओमानमा १९ जनामा संक्रमण भएको ती देशले पुिष्ट गरेका छन् । यूएईमा मात्र अहिलेसम्म २३ जना पूर्ण रुपमा निको भएर घर फर्केका तथ्याङ्क छ ।

खाडी मुलुकमध्ये हालसम्म यूएईमा नाम नखुलाइएका २ जना नेपालीहरुलाई संक्रमण भएको भनिए पनि अन्य मुलुकहरुमा नेपालीहरुलाई संक्रमण भए–नभएको भन्ने यकिन जानकारी आइसकेको छैन ।

कोरनाको सन्त्रासले खाडीका अधिकांश मुलुकले विभिन्न तरिकाले सुरक्षा अपनाइरहेका छन् । कुवेतले आफ्नो देशलाई ‘लक डाउन’ गरिसकेको छ । त्यसैगरी गत हप्ताबाटै कतारले अन्तराष्ट्रिय उडान बन्द गरेको छ ।

साउदी अरबले शनिबारदेखि दुई हप्ताका लागि उडान बन्द गर्ने निर्णय गरेको छ । ओमानले उडानहरुको कटौती गर्दै तत्काललाई टुरिस्ट भिसा दिन बन्द गरेको छ । 

यूएईले आगामी मंगलबार मार्च १७ देखि प्रवेषाज्ञा बन्द गर्ने निर्णय गरेको छ ।

फेडेरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसिपले एक विज्ञप्ति जारी गर्दै मार्च १७ देखि कूटनैतिक राहदानी बाहकलाई बाहेक अन्य सबैलाई प्रवेश भिसा बन्द गर्ने निर्णय गरेको हो । 
तर, यो निर्णय मार्च १७ भन्दा पहिल्यै भिसा पाइसकेकाको हकमा भने लागू हुनेछैन ।

युएईको राजधानी अबुधाबीमा रहेका बार तथा क्लबहरु बन्द गरिएका छन् । पर्यटकीय क्षेत्र बन्द छन् । 

अलएन, शारजाहका सार्वजनिक पार्क, विद्यालय र कलेजहरु बन्द भएका छन् । यहाँका राज्यहरुले आफ्नो कानून अनुसार कोरोना भाइरसको नियन्त्रण तथा रोकथामलाई उच्च प्राथमिकता दिएका छन् ।

यसैगरी कम्पनीहरुले आफ्ना कामदारहरुलाई सुरक्षाका उपायहरु अपनाउन पनि निर्देशन जारी गरेका छन् । अति जरुरी काम बाहेक  भिडभाड, मल र पार्कहरु नजान, अनावश्यक घुमफिर र अन्तराष्ट्रिय यात्रा नगर्न आफ्ना कामदारहरुलाई सुझाएका छन् । उनीहरुले छुट्टीबाट फर्किएका कामदारहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न थालेका छन् ।

युएई सरकारले जनजीवनमा प्रभाव पर्नेगरी कुनै गतिविधि नगर्न अनुरोध गरेको छ। सामाजिक संजालमा अनावश्यक भ्रम पैदा गरेको पाइएमा  ३ वर्ष जेलदेखि ३० लाख दिर्हाम सम्म जरिवाना गर्ने बताएको छ।

युएई लगायत खाडी राष्ट्रमा रहेका नेपाली दूतावासले आफ्ना नागरिकहरुलाई सजग रहन सूचना जारी गरेका छन् । नेपाली दूताबास अबुधाबीले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।  नेपाली दूताबास अबुधाबीले अनावश्यक रुपमा ठुला जमगठ, भेलाको आयोजना नगर्न र भिडभाडबाट टाढा रहन बिशेष अनुरोध गरेको छ । दूताबासले कसैलाई पनि नआत्तिन र विशेष सतर्कता अपनाउन अनुरोध गर्दै आफूलाई कोरोना भाइरस लागेको शंका लागेमा यूएई सरकारका सम्बन्धित निकाय या नेपाली दूतावासलाई जानकारी गराउन समेत अपील गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै दूतावासबाट गरिदै आएको कामदार मागपत्र प्रमाणीकरण सम्बन्धि सम्पूर्ण कामहरू आगामी चैत्र ४ गते देखि अर्को सूचना जारी नभएसम्म स्थगन गरेको छ। 

त्यसैगरी कतार, साउदी अरब, ओमान, बहराइन, कुवेत लगायत खाडीका सबै राष्ट्रमा रहेका नेपाली दुताबासहरुले नेपालीहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

युएई स्थित नेपाली दुताबासले सुचना जारी गरेसँगै हरेक शुक्रबार हुने नेपाली समुदायको कार्यक्रमहरु हुन छाडेका छन्। सार्वजनिकस्थल, यातायात सपिङ मलहरुमा पनि अन्य दिनहरु भन्दा कम नेपाली जान थालेका छन्।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव परे सँगै खाडी मुलुकहरुमा समेत प्रभाव परेको छ । विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट आएसँगै तेलले निर्भर रहेका खाडी राष्ट्रको अर्थतन्त्र धरासाय देखिन्छ ।२०२० अक्टोबरमा विश्वको सबै भन्दा ठुलो प्रदर्शनी ‘एक्स्पो २०२०’ आयोजना दुबईमा सुरु हुँदैछ ।कोरोना भाइरसको महामारीले दुबईमा आयोजना हुने एक्स्पो २०२० लाइ असर पर्ने देखिन्छ।

खाडी राष्ट्रहरुमा कोरोना भाइरसको प्रकोप बढेसँगै पाइन्छ।यहाँ रहेका नेपालीहरु चिन्तित बन्न थालेका छन् । सामाजिक संजालमा आएका विभिन्न भ्रमपूर्ण  भिडियो र समाचारले उनिहरुलाई अझ धेरै मानासिक तनाव दिएको छ भने कसैलाई कोरोना भाइरसबारे सूचनाको अभाब, सो सम्बन्धी ज्ञानको अभावले पनि हतोत्साही बनेको पाइन्छ।

 


कतारमा २ हजार नेपाली क्वारेन्टाइनमा 
कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबासस्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप