मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘विषाक्त मदिरा पिएर ढलेपछि भूत लागेको भन्दै धामी झाँक्रीलाई देखाइयो’

मृतकको संख्याबारे प्रहरी र स्थानीवासीको आ–आफ्नै तथ्याङ्क
सोमबार, ०३ चैत २०७६, १६ : १६
सोमबार, ०३ चैत २०७६

जनकपुर । प्रदेश २ को धनुषा जिल्लामा विषाक्त मदिराका कारण दुई सातामा २१ जनाको मृत्यु भए पनि प्रदेश सरकार तथा स्थानीय प्रशासनले घरेलु मदिरा नियन्त्रणका लागि अझै प्रभावकारी कदम चाल्न सकेको छैन ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ स्थित रमदैयामा होलीका अवसरमा मदिरा सेवन गरेकामध्ये विभिन्न मितिमा १४ जनाको मृत्यु भइसकेको छ भने दुई दिनदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित मुसहरी टोलका ६ जनाको तथा होली कै दिन औरही नगरपालिकास्थित परवाहामा एक जनाको मृत्यु भएको हो ।

पछिल्लो पटक विषाक्त मदिरा सेवन गर्दा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय रामबहादुर यादव, जनकपुरधाम उपमहानगर वडा नम्बर ७ बस्ने जितेन्द्र सादा र रामो महराको आइतबार मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले विषाक्त मदिरा सेवनगरी यस वडामा झगरु सदा, मिथिला सदा, बनारसी सदा र रामरती सदा गरी ६ जनाको मृत्यु भइसकेको जानकारी दिए ।

विषाक्त मदिरा सेवन गरी बिरामी भएका राम ईश्वर महरा, प्रदीप सादा भरत मण्डल, मनिर नदाफ, भरत सदा र सीताराम यादवको अस्पतालमा उपचार भइरहेको स्थानीयवासीले जानकारी दिए ।

प्रहरी निरीक्षक अशोक झाले रमदैया र जनकपुरमा मदिरा सेवन गरी मृत्यु हुनेको संख्या ९ जना रहेको जानकारी दिए । उनले जनकपुरमा मृत्यु हुनेहरुले मदिरा सेवन गरेको भए पनि कसैको पेट दुखेर, कसैको रोगकै कारण र कसैको अन्य कारणले मृत्यु भएको बताए । उनले मृतकको संख्यामा बढिरहे पनि अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि वास्तविक कुरा खुल्ने बताए ।

उनले भने, ‘होली पर्वमा ९ जनाको मृत्यु भएको हो । ती ९ को शवको पोष्टमार्टम रिपोर्ट अनुसार मदिरा सेवन गरी मृत्यु भएको खुलेको हो ।’ थप ५ जनाको मृत्युलगत्तै दाहसंस्कार भईसकेकाले उनीहरुको मृत्यु कुन कारणले भएको भन्ने कुरा खुल्न नसकेकाले यसलाई मदिराकै कारण मृत्यु भएको भनेर गणना गर्न नमिल्ने प्रहरीको भनाइ छ ।

शोकमग्न धनुषा
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम र क्षीरेश्वनारथ नगरपालिका लगायतका विभिन्न स्थानमा मृत्यु हुनेहरुको संख्या बढ्न थालेपछि अहिले धनुषा जिल्ला नै शोकमग्न छ ।

होलीको रमाइलो मनाउँदै मदिरा सेवन गरेका उनीहरुको एकपछि अर्को गर्दै मृत्यु हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

रमदैयामा के भएको थियो ?
मृतक ब्रम्हदेवकी धर्मपत्नी धनलुट देवीका आनुसार सधै झैँ रामनन्दन साहको भट्टीबाट मदिरा सेवन गरी ब्रम्हदेव बुधवार राति घर आएका थिए । भोलिपल्ट बिहान अन्दाजी ४ बजे उनले बान्ता गरेका थिए । उनी पुनः सुते र बिहान फेरि भट्टीमा पुगे । भट्टीमा पुग्दा मदिराको बोतल उठाउन खोज्दा ब्रह्मदेव त्यहीँ बेहोस भए ।

उनी बेहोस भएपछि उनका साथीहरुले उनलाई घर ल्याए । भूत लागेको भन्दै धामी झाँक्रीलाई देखाए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारका लागि अस्पताल लग्ने क्रममा उनको मृत्यु भयो ।

यस्तै मृतक गुदरी मण्डलका छोरा सोमन महराका अनुसार होलीमा मदिरा सेवन गरेर आएका गुदरी मण्डलले दोस्रो दिन टाउको दुखेको बताएका थिए । उनले औषधी सेवन गरे पनि स्वास्थ्य अवस्थामा सुधार भएन । त्यसपछि उपचारका लागि जानकी मेडिकल कलेजमा लगियो । उनको उपचारकै क्रममा मृत्यु भयो ।

एक वर्षपहिले पनि होलीको पर्वको अवसरमै रमदैया गाउँको मुसहर वस्तीमा अवैध मदिरा सेवनले रामसती सादा, विजय सादा र झुरकु सादा सहित ३ जनाको मृत्यु भएको थियो ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामकिशोर यादवले सिङ्गै वडालाई मदिरामुक्त वडा घोषणा गरेका छन् । उनले भने, ‘वडा समितिले जाँडरक्सी मुक्त वडा घोषणा गरिसकेको छ, अब कडाइका साथ कार्यान्वयन गराउने छौं ।’

धनुषा प्रहरीले जनकपुरस्थित मुसहरी बस्तीमा अवैध मदिरा सेवन गरेर मृत्यु हुन थालेपछि स्थानीयले धामी झाक्री बोलाएर झारफुक समेत गराएका छन् । आईतबार बेलुका झारफुक गर्ने र गराउने गरी करिब २२ जनालाई प्रहरीले नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा लगि जेकजाँच गरी छाडेको छ ।

धनुषामा विगतका वर्षमा पनि घरेलु मदिरा सेवनका क्रममा सर्वसाधारणको मृत्यु भएका थिए ।

लक्ष्मीनिया गाउँपालिकामा गत फागुनमा विषाक्त मदिरा सेवन गरी ९ जनाको मृत्यु भएको थियो । एक वर्ष अघि होलीको अवसरमै मदिरा सेवनबाट रमदैयामा ३ जनाको मृत्यु भएको थियो । दुई वर्ष अघि धनुषाको पूर्वी क्षेत्र कमला नगरपालिकामा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ०४८ सालमा विषाक्त मदिरा सेवन गरी जनकपुरमा १९ जनाको मृत्यु भएको थियो भने २०६२ सालमा पनि ६ को मृत्यु भएको थियो ।

घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको तथ्यांक लामो भइसकेको छ । तर पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले गम्भिरतापूर्वक पहल गरेको देखिँदैन । दीर्घकालीन योजना अनुसार सजगता नअपनाउँदा यस किसिमका घटनाहरु घटिरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह बताउँछन् ।

धनुषाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेका वीरेन्द्र बजार, गोदार, छघरिया, मुलावारी, यज्ञभूमि, हहिहरपुर, चिसापानी, लगायतका गाउँमा खुल्ला रुपमै घरेलु मदिरा उत्पादन हुँदै आएको छ ।

प्रहरीलाई समयमै जानकारी भएन
स्थानीयवासीहरुले उक्त घटनाबारे प्रहरीलाई समयमा खबर नगरेको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

गत बिहीबारसम्ममा २ जनाको मृत्यु भएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । ढिलो गरी जानकारी पाएकाले मानवीय क्षति बढी भएको उनको भनाइ थियो ।

सुरुमा मृतकको शव पोस्टमार्टम हुन पाएको भए मृत्युको कारण चाँडै खुल्ने र थप बिरामीहरुको स्वास्थ्योपचार हुन सक्ने अवस्था रहेको उनले बताए । मृतकका परिवारहरुले कालगतिले निधन भएको भनि दाहसंस्कार गरिसकेका कारण अधिकांश मृतकको पोष्टमार्टम नै हुन नसकेको भन्दै उनले यसबाट मदिराकै कारण मृत्यु भएको हो भनेर ठम्याउन ढिलाइ भएको बताए ।

उनले भने, ‘शवको पोष्टमार्टम विना मदिरा सेवनले नै गर्दा मृत्यु भएको भनि दावी गर्न गाह्रो हुन्छ ।’

७ जना पक्राउ
धनुषामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेको संख्या बढ्दै गएपछि प्रहरीले अवैधरुपमा उत्पादन गरिएको घरेलु मदिरा, कच्चा पदार्थ तथा भट्टीहरु नष्ट गर्ने अभियान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार प्रहरी टोलीले धनुषाका विभिन्न स्थानमा छापा मारेर अवैध घरेलु मदिरा, सोको कच्चा पदार्थ, माटोको भाँडाहरु समेत नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
प्रहरीले मदिरा उत्पादनमा प्रयोग हुने मेसिन, प्लाष्टिकका भाँडाहरु समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

धनुषाका विभिन्न स्थानमा सञ्चालित घरेलु मदिरा बनाउने १२ वटा भट्ठी प्रहरीले नष्ट गरेको छ । मदिरा बनाउन आवश्यक पर्ने ४ हजार ९ सय ५० लिटर कच्चा पदार्थ पनि नष्ट गरिएको छ । त्यस्तै ३ सय केजी सखर पनि नियन्त्रणमा लिएको उनले जनाए ।

तयारी अवस्थाको मदिरा ३ सय ३५ लिटर नियन्त्रणमा लिइएको छ भने १ हजार १ सय लिटर नष्ट गरिएको छ । 

मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जनाए ।

विषाक्त मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले ३ लाख क्षतिपुर्ति दिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप