शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो स्वास्थ्यमा किन खेलाँची गर्दैछन् प्रधानमन्त्री ओली ?

चिकित्सक भन्छन्, ‘अझै १५ दिन आरामको आवश्यकता छ’
सोमबार, ०३ चैत २०७६, १४ : ५९
सोमबार, ०३ चैत २०७६

काठमाडौं । प्रतिकुल स्वास्थ्यका बाबजुद पनि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता एकाएक बढेको छ । 

गत शुक्रबार झण्डै दुई साता (१२ दिन ) अस्पतालमा बसेर मिर्गौला प्रत्यारोपण गरी बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री ओलीको व्यस्तता बढेको हो । 

 चिकित्सकहरुले भने प्रधानमन्त्री ओलीलाई यति चाँडै बाहिरी कार्यक्रममा नजान सुझाव दिएका थिए । तर, यो सुझावविपरित आफ्नै स्वास्थ्यलाई वेवास्ता गर्दै हिँडडुल र भेटघाट बढाएपछि स्वयम् प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरु नै चिन्तित बनेका छन् । 

‘हामीले उहाँलाई कम्तिमा एक महिना पुरै रेष्ट गर्न भनेका हौँ । तर उहाँ अस्पतालबाट डिस्चार्ज भएलगत्तै बाहिरका कार्यक्रममा जान थाल्नुभयो । यसले गर्दा जोखिम बढ्न सक्छ’, त्रिवि शिक्षण अस्पतालका एक वरिष्ठ चिकित्सक भन्छन्, ‘हामीले सवै बिरामीलाई उपयुक्त सल्लाह दिने हो तर मान्ने नमान्ने बिरामीको निजी कुरा हो ।’

घाउ नै ठिक भएको छैन : निजी चिकित्सक शाह


प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह पनि प्रधानमन्त्री ओलीले सक्रियता देखाउने बेला नभएको बताउँछिन् । ‘सुतेर नै बस्नुपर्छ भन्ने होइन, तर उहाँको घाउ नै ठिक भइसकेको छैन । त्यसका लागि हामीले १ महिना रेष्ट गर्नुपर्छ भनेका हौँ’, उनले भनिन्, ‘आइतबार महत्त्वपूर्ण कार्यक्रम भएकाले पनि प्रधानमन्त्री सिंहदरवारमा भएको भिडियो कन्फरेन्समा सहभागी हुनु भएको हो । अब त्यसरी बाहिर जानुहुन्न । हामी त्यस्तो सल्लाह दिदैनौं ।’ 

‘शल्यक्रिया गरेको घाउ निको भइसकेको छैन । घाउ निको हुन कम्तिमा एक महिना लाग्छ । त्यो नहुँदा इन्फेक्सन हुने सम्भावना अत्याधिक हुन्छ । त्यसैले पनि उहाँले भिडभाडमा नजाने, धेरै नहिँड्न र सोसियल भेटघाट बन्द तथा शक्ति नबढ्दासम्म नियमित औषधि सेवन र सामान्य हिँडडुल मात्र गर्न भनेका छौ,’ निजी चिकित्सक शाहले रातोपाटीसँग भनिन् ‘१५ दिन त हुनै लाग्यो, अब १५ दिन उहाँले बलजफ्ती गर्नुहुन्न भन्ने हामीलाई लागेको छ ।’ 


प्रधानमन्त्री ओली अस्पतालबाट फर्केलगत्तै पुनः सरकार तथा पार्टीका कामलाई निरन्तरता दिन लागि परेका हुन् । त्यस अन्तर्गत ओलीले शुक्रबार बालुवाटारमा सचिवालयका केही सदस्यहरुसँग भेटघाट तथा शनिबार पनि केही नेताहरुसँग भेटवार्ता गरेका थिए । जसलाई प्रतिकुल स्वास्थ्यका बाबजुद ओलीको यस्तो सक्रियतालाई स्वास्थ्यका जानकारहरुले ‘हतारो’को संज्ञा दिएका छन् । 

‘अचम्मै भयो’


मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले प्रधानमन्त्रीले यति चाँडो सक्रियता देखाउनु हतार र खतरा रहेको बताउँछन् । उनले आफ्नो अनुभवमा मिर्गौला प्रत्यारोपण गरेको मान्छे यति छिटो सक्रिय भएको नदेखेको भन्दै ६ महिना रेष्ट गर्नु नै बुद्धिमतता हुने सुझाव दिए । ‘हुन त उहाँका लागि चिकित्सकको टोली नै छ । उहाँले चिकित्सकले भनेको पनि मान्नुहुन्छ भनेको सुनिन्छ । यो सुन्दा चिकित्सक टोलीकै सुझावमा उहाँको सक्रियता बढेको बुझ्नुपर्ने हुन्छ’, डा. काफ्लेको भनाइ छ ।  

डा. काफ्लेले घरभित्रै सक्रिय बन्नु र बाहिर सक्रिय बन्नु फरक कुरा भएको बताए । ‘बाहिर नै निस्केर हिँड्नु त्यति राम्रो होइन’, काफ्लेले भने, ‘प्रधानमन्त्रीको स्वदेशमै उपचार भयो राम्रो भयो । अब यसलाई कसरी दीर्घकालीन बनाउने भन्ने सोच्नुपर्नेमा त्यसो गरेको देखिएन । ’ उनले यसरी हतार गर्दा जोखिम बढ्छ कि भन्ने चिन्तामात्रै भएको भन्दै जोखिम मोल्न उहाँ आफै तयार भएको खण्डमा अरुले सुझाव दिनुको अर्थ समेत नभएको टिप्पणी गरे । 

यसकारण दवाव छ ओलीलाई 


ओली पार्टी र सरकार दोहोरो जिम्मेवारीमा छन् । सम्मृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारकोे उनको नेतृत्वको सरकारले जनताका काम जतिसक्दो चाँडो गर्नुपर्ने दवाव छँदैछ । चाहे त्यो सरकारी तहबाट होस् वा पार्टीगत तहबाट नै किन नहोस् फटाफट निर्णय गर्नुपर्ने उनमा स्वभाविक दवाव छ ।

‘पार्टीभित्र र सरकारका काममा समेत ध्यान दिनुपर्ने भएकाले प्रेसर छ, फेरि उहाँले आफ्नो स्वास्थ्य भन्दा बढी देशको चिन्ता गर्ने भएकाले पनि सक्रियता बढेको हुनसक्छ’, प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्य भन्छन् ‘उहाँ स्वयम् धेरै कुरामा जानकार पनि हुनुहुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप