बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शेखरको देश दौडाहा : जनकपुरमा बहिस्कार, गोरखा पुग्दा जुहारी

सोमबार, ०३ चैत २०७६, ०८ : ३२
सोमबार, ०३ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरसको सन्त्रासका बीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला साङ्गठिक गतिविधि जारी छ । सरकार र पार्टीको निर्णय विपरीत कार्यकर्ता भेटभाट, प्रशिक्षण र सार्वजनिक कार्यक्रममा कोइरालाको व्यस्तता बढ्दो छ ।

२० फागुनमा नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका थिए । जसअनुसार २१ फागुनमा काँग्रेसले पार्टी र पार्टीमा आबद्ध संस्थाहरुको सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको निर्णय सार्वजनिक गरेको थियो ।

तर, देउवाले पछिल्लो समय विधानविपरीत लिएका निर्णयको विरोध रोक्न कोरोना देखाएर यस्तो निर्णय लिएको संस्थापन इतर पक्षको बुझाइ छ । संस्थापन इतर पक्षधर नेता कोइराला त्यही बुझाइ अनुसार सरकार र पार्टीको निर्णयलाई बेवास्ता गर्दै विभिन्न जिल्लामा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रममा दौडिरहेका पाइन्छन् ।

२४ फागुनबाट उपत्यकाबाहिर निस्किएका कोइरालाले यसबीचमा आधा दर्जनबढी सभा समारोहमा आफूलाई व्यस्त राखेका छन् । २४ फागुनमा उनी सिरहा पुगे । त्यही दिन कोइरालाले मात्रृशोकमा रहेका पूर्वमन्त्री जेपी गुप्ताको निवास सप्तरीको कञ्चनपुर पुगेर समवेदना दिन भ्याए । सोही दिन उनी गिरिजाप्रसाद (जिपी) कोइराला फाउण्डेशन सिराहाले लहानमा आयोजना गरेको कार्यक्रममा सहभागी भए । कोइरालाले त्यसको दोस्रो दिन प्रेस युनियन सिरहाद्वारा लहानमा आयोजित पत्रकार भेटघाटमा पनि जोडिए । सोही दिन उनी त्यहाँबाट धनुषा हानिए ।

उनको स्वागतका लागि धनुषको वीरेन्द्र बजारमा कार्यकर्ताको ठूलो घुइँचो थियो । उनी त्यहाँबाट धनुषमा आयोजित जीपी कोइराला फाउण्डेशनको कार्यक्रममा पुगे । जहाँ संस्थापन इतरका नेता कार्यकताको मात्र सहभागिता थियो ।

नेतृ सुजाताको अगुवाइमा जीपी कोइराला फाउण्डेशनलाई पार्टीको समानन्तर कमिटी बनाउने प्रयास भइरहेको संस्थापनको बुझाइ थियो ।

त्यसको छनक पार्टी उपसभापति विमलेन्द्र निधिको गृह जिल्ला धनुषामा गत (फागुन २५ गते) आइतबार देखियो । शेखर र सुजता अथिति भएको कार्यक्रम धनुषा जिल्ला सभापतिले समेत बहिस्कार गरिदिए ।

स्रोतका अनुसार कोइरालाले पार्टी निर्णयविपरीत कार्यक्रम गरेकाले उपसभापति निधिले आफूनिकट कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएका थिए । जब कि कार्यक्रममा धनुषाबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबैलाई निमन्त्रणा गरिएको थियो ।

उपसभापति निधिसहित उनीनिकट मानिने केन्द्रीय सदस्यसहित धनुषा काँग्रेसका सभापति महेशशंकर गिरीसहितले कोइराला परिवार उपस्थित कार्यक्रम बहिस्कार गरेको थियोे । निधिलाई कार्यक्रमको निम्तो पाठए पनि उनी त्यो दिन काठमाडौँमै थिए । उपसभापति कै निर्देशनमा संस्थापन पक्षका नेता कार्यकर्ता कार्यक्रममा नआएको अयोजकको बुझाइ छ ।

पार्टी निर्णय विपरीत कार्यक्रम गरिएकोप्रति संस्थापन पक्षले असहमति जनाए पनि कोइरालाले भने कार्यकर्ता भेटघाटमा ब्रेक लगाएनन् । कोइरालाले २७ फागुनमा विराटनगरस्थित कोइराला निवासमा स्थानीय कार्यकर्तासँग होली मनाए ।

दोस्रो दिन २८ फागुनमा नेपाली काँग्रेस मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमै आयोजित लोकतन्त्रवादी बुद्धिजिवीहरुसँगको अनौपचारिक छलफल कार्यक्रममा उनी सामेल भए ।

२९ फागुनमा पार्टी केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय गोविन्दराज पोखरेल, स्वर्णिम वाग्लेसँग पोखरातिर लागे ।

त्यहाँ उनीहरु कास्कीका बुद्धिजिवीहरुसँगको अन्तरक्रिया कार्यक्रमा सामेल भए । उक्त कार्यक्रमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेससभा सांसद प्रकाश दवाडी, ट्रेड युनियन काँग्रेसका नेता रामजी कुँवरलगायतको पनि उपस्थिति थियो ।

त्यसको भोलिपल्ट उनी पोखरेल र वाग्लेसँग गोरखातिर हानिए । गोरखामा जिल्लास्तरीय नेता, कार्यकतालाई एकदिने प्रशिक्षण दिने कार्यक्रम थियो । कोइरालाका सबै गतिविधि नियालिरहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार (३० फागुन)मा उनलाई फोन घुमाए र पार्टीको निर्णय स्मरण गराए ।

‘डब्लुएचओ, सरकार र पाटीले गरेको निर्णय थाहा नपाएर कार्यक्रममा जानु भएको भए कोरोनाभाइरसबारे केही बोलेर पनि आउनुहोला,’ भनेर कोइरालाको दौडधुपप्रति संकेतिक रुपमा विमति जनाए ।

कोइरालाले पनि १ चैतमा (शनिबार) नेपाल प्रेस युनियन गोरखाद्वारा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा शर्माप्रति कटाक्ष गर्दै आफू स्वयम् चिकित्सक भएकोले कोरोनाको विषयमा सिकाउनु नपर्ने जवाफ फर्काएको थिए ।

त्यसपछि शनिबार साझा प्रवक्ता शर्माले ट्वीटरमार्फत ‘आकांक्षाको बजार प्रवर्द्धनमा अलमलिँदा समयको संवेदनशीलता राजनीतिले कदापि भुल्नु हुन्न,’ भन्दै कोइरालालाई ‘झटारो’ हाने । देश दौडाहामा उनी सभापतिको आकांक्षीका रुपमा प्रस्तुत भएको पाइन्छ ।

यस्तै काँग्रेसमा कोरोनाभाइरसको महामारीका कारण विवादित बनेको अर्को विषय हो प्रेस युनियन महाधिवेशन । काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको महाधिवेशन यही चैत २१ र २२ गतेका लागि तय गरिएको छ । प्रदेश ५ को नेपालगञ्जमा हुने भनिए पनि कोरोनाभाइरसको महामारीका कारण हुने–नहुने निश्चित छैन ।

तर कोरोना भाइरसको सन्त्रास प्रेस युनियनको आसन्न महाधिवेशन प्रभावित हुन नहुने शेखर कोइरालाले भनाइ छ । कोइरालाले गत मंगलबार सामाजिक सञ्जालमार्फत कम खर्चिलो, छरितो बनाउने विधिहरु अवलम्वन गर्दै महाधिवेशन तोकिएकै समयमा गर्नुपर्नेमा जोड दिएका थिए ।

‘कोरोना भाइरसको सन्त्रासका कारण नेपाल प्रेस युनियनको आसन्न महाधिवेशन रोकिने हो कि भन्ने आशंका सिर्जना भएको छ । यस्ता विपत्ति समय–समयमा आइरहन्छन् । यी कुराको आधरामा पार्टी र यस मातहतका संस्थाहरुको नियमित प्रक्रिया अवरुद्ध हुनु संगठनकै लागि हानिकारक हो,’ उनले भनेका थिए ।

पार्टीको सातौ महाधिवेशनसम्म अबलम्बन गरेको विधि र प्रक्रिया अनुसार युनियनको महाधिवेशन गर्न सुझाव दिएका थिए । ‘बार एसोसिएसन, इन्जिनियर्स एसोसिएसन र चिकित्सक संघले अपनाएको जिल्ला जिल्लाबाटै मतदान गर्ने विधि अपनाएर प्रेस युनियनको महाधिवेशन गरिनुपर्छ,’ उनले लेखेका छन्, ‘यसले आर्थिक बोझ कम हुन्छ । जिल्लाका साथीहरुलाई महाधिवेशन स्थलसम्म जानु पर्दैन र पारदर्शी तथा निष्पक्ष पनि हुन्छ । पार्टीको सातौँ महाधिवेशनसम्म पनि यही विधि अबलम्बन गरिएको थियो ।’ 

यसबारे पार्टीले भने कुनै चासो देखाएको पाइँदैन । केन्द्र्रीय सूचना तथा सञ्चार विभाग प्रमुख शर्माले महाधिवेशनका लागि युनियनका नेताहरुसँग छलफल गरिरहेका छन् । यो अवस्थामा महाधिवेशन गर्ने वा नगर्ने भन्ने निष्कर्ष आउन सकेको छैन । २२ फागुनमा पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा शर्माले युनियनको महाधिवेशन रोक्ने सन्दर्भमा पार्टीले निर्णय गरी नसकेको भन्दै महाधिवेशन तयारीलाई नरोक्न भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप