केन्द्रीय संस्करण

कोभिड–१९ : भ्रम र यथार्थ

person explore access_timeचैत २, २०७६ chat_bubble_outline0

कोरोना भाइरस नामको जीवाणुबाट आज विश्व आतङ्कित भएको छ । यो रोगको फैलावट एक सय १८ मुलुक र यसका विभिन्न क्षेत्रमा फैलिएको छ । कोरोना भाइरसका कारण हालसम्म करिब पाँच हजार मानिसको मृत्यु भएको छ । यो विश्वकै सबैभन्दा खतरनाक आतङ्ककारी भन्दा पनि शक्तिशाली भएर संसारभर दिनानुदिन फैलिरहेको छ । एक लाखभन्दा बढी मानिसहरू यसबाट प्रत्यक्ष रूपमा सङ्क्रमित भएका छन् । 

आजको विश्वमा कुनै पनि आतङ्कले छुन नसकेका क्षेत्रहरू समेत कोरोना भाइरसले तहसनहस बनाउने अवस्था पुर्याएको छ । यो भाइरसबाट जो सङ्क्रमित भएका छन् । उनीहरु त आतङ्कित छन् नै यस रोगले सङ्क्रमित नभएका क्षेत्र र मुलुकमा पनि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नकारात्मक तरिकाले प्रभावित भएका छन् । यो भाइरसको सङ्क्रमण हुने क्रम दिन दुई गुणा रात चार गुणाका दरले बढिरहेको छ ।

चीनको हुवान प्रान्तमा ३० डिसेम्बर २०१९ मा पहिलो पटक यो रोगको लक्षण देखा परेको थियो । सामान्य रूघाखोकी र निमोनियाको लक्षणका देखिएर अस्पताल आएका मानिसमा देखिएको यो रोग अहिले संसारकै टाउको दुखाइ भएको छ । सुरुमा प्रभावित मानिसमध्ये एकजना ५० वर्षका पुरुषको मृत्यु भएको थियो । मृत्यु भएका मानिसको मुटु, कलेजो र पित्तको पोस्टमार्टम गरेर हेर्दा ती व्यक्तिको छातीमा र फोक्सोमा सङ्क्रमण र श्वासप्रश्वासमा आएको अवरोध नै मृत्युको कारण भएको पत्ता लागेको थियो । 

यो लक्षणबाट मृत्यु भएका अन्य मानिसमा पनि यस्ता प्रकारका मिल्दाजुल्दा लक्षण भएको पाइएको थियो । यो रोग ३० डिसेम्बर २०१९ मा देखा परेको पनि यसको अत्यधिक प्रकोप भने १०–२२, जनवरी २०२० मा देखियो । यो अवधिमा चीनमा महात्रास, डर र आतङ्क नै मच्चियो । चीनमा यो रोगको रिपोर्टिङ सबैभन्दा बढी २३–२७ जनवरी २०२० मा भयो भने १ फेब्रुअरी २०२० बाट विस्तारै कम हुँदै गएको छ भने विश्वका अन्य मुलुकहरूमा यो रोगको सङ्क्रमण बढ्दै गएको छ । चीनको हुवान प्रान्तको एक मुख्य अस्पतालको तथ्याङ्क हेर्ने हो भने जनवरी २०२० अन्त्यतिर प्रतिदिन ५०० भन्दा बढी सङ्क्रमित मानिस अस्पताल आउने गर्थे भने फेब्रुअरी २०२० को तेस्रो हप्तामा यो सङ्ख्या प्रतिदिन ५० जनामा झरेको छ ।

यो रोगबाट प्रभावित तथ्याङ्कलाई हेर्दा २ दिन देखि १०० वर्षका मानिसमा यसको सङ्क्रमण भएको छ । यसैगरी महिला भन्दा पुरुष अलिक बढी प्रभावित भएका छन् । करिब ७८ प्रतिशत प्रभावित ३०–६९ वर्ष उमेर समूहका छन् भने चीनको हुबेइमा मात्र ७७ प्रतिशत प्रभावित छन् । यस रोगबाट प्रभावितमध्ये २२ प्रतिशत जति कृषक र मजदुर छन् । यो रोगबाट ६० वर्ष माथिका र उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास, दम रोगका बिरामीको मृत्यु दर उच्च छ भने बालबालिका र २० वर्षभन्दा कम उमेरका मानिसमा सङ्क्रमण ज्यादै न्यून छ । यो उमेर समूहमा यो रोग देखा परेकामध्ये पनि २.५ प्रतिशतमा मात्रै जटिल प्रकारको प्रभाव परेको पाइएको छ । यस समूहमा पर्नेको मृत्यु दर भने ०.२ प्रतिशत रहेको छ । जति उमेर बढ्दै गयो त्यति नै यो रोगको सङ्क्रमण दर पनि बढेको पाइएको र मृत्युदर पनि सोही अनुसार बढ्दै गएको अनुसन्धानबाट देखिएको छ ।

अहिले देखिएको कोरोना भाइरस नयाँ हो । यसले मानिसलाई कस्तो व्यवहार गर्छ भन्ने थाहा भइसकेको छैन । प्रायः सबै प्रकारका भाइरस चिसोमा बढी सक्रिय हुने र गर्मी लागेपछि विस्तारै कम भएर जाने हुन्छन् तर यो कोरोना भाइरसको प्रभाव भने कस्तो हुने भन्नेमा यकिन हुन सकेको छैन । यो रोग चीनमा मात्र हैन धेरै गर्मी मुलुकमा पनि देखिएको छ । सिङ्गापुर, साउदी अरब, इरान लगायत मुलुक नेपालभन्दा बढी तापक्रम भएका हुन् । ती मुलुकमा पनि फैलिएको छ । 

समग्रमा यो रोगको सङ्क्रमणदर र मृत्युदरलाई विश्लेषण गर्ने हो भने महिलामा भन्दा पुरुषमा हुने सङ्क्रमण र मृत्युदर बढी छ । पुरुषमा मृत्यु दर ४.७ प्रतिशत र महिलामा २.६ प्रतिशत छ । पेसागत रूपमा हेर्दा अवकास प्राप्त मानिसको मृत्युदर सबैभन्दा बढी अर्थात ८.९ प्रतिशत छ भने कुनै पनि दीर्घ रोग नलागेकाको मृत्यु दर १.४ प्रतिशत मात्र छ । त्यस्तै मुटु रोगीहरूको मृत्युदर सबैभन्दा बढी अर्थात १३.२ प्रतिशत, मधुमेह रोगीको ९.२ प्रतिशत, उच्च रक्तचाप भएकाको ८.४ प्रतिशत, श्वासप्रश्वास रोगीहरूको मृत्युदर ८ प्रतिशत र अर्वुद रोगीको मृत्युदर ७.६ प्रतिशत रहेको छ । 

सन् २००३ मा देखिएको सार्स, सन् २०१२ मा देखा परेको मार्स र सन् २०१९ मा देखापरेको नयाँ कोरोना भाइरस एउटै परिवारका भाइरस हुन् । तर सार्स र मार्स मानिसबाट मानिसमा सरेको पाइएको थिएन भने यो कोरोना भाइरस मानिसबाट मानिसमा सरेको अनुमान गरिएको छ । यी तीनवटा भाइरसको प्रभाव र मृत्यु दरलाई हेर्दा सार्स २६ वटा मुलुकमा फैलिएको थियो र यसको मृत्यु दर ९.६ प्रतिशत थियो । मार्स २७ वटा मुलुकमा फैलिएको थियो र यसबाट मृत्यु हुने दर ३४.४ प्रतिशत थियो भने हालसम्म यो नयाँ कोरोना भाइरस १०० वटा मुलुकमा फैलिसकेको छ भने मृत्यु दर ३ प्रतिशतको हाराहारीमा रहेको छ । 

यसको उत्पत्ति 
चीनको उहान प्रान्तमा पहिलो पटक देखा परेको यो रोग केबाट र कोबाट सुरु भयो र अन्य मानिसमा कसरी फैलियो भन्ने आजको दिनसम्म स्पष्ट हुन सकिएको छैन । संसारभरका वैज्ञानिक यस बारेमा अनेक कोणबाट अनुसन्धारत छन् । तर निचोडमा पुग्न सकिरहेका छैनन् । कुनै पनि भाइरसबाट सङ्क्रमित पहिलो बिमारीलाई इन्डेक्स केस भनिन्छ । पहिलो बिरामीबाट मात्र यो रोग पत्ता लगाउन सकिन्छ । तर उहानमा फैलिएको यो भाइरसको पहिलो बिरामी को हो भन्ने थाहा पाउन सकिएको छैन । त्यहाँका चिकित्सक वैज्ञानिकले आजसम्म पत्ता लगाउन सकेका छैनन् । कोरोना भाइरस हो भन्ने पत्ता लगाउँदा धेरै उहानबासीले ज्यान गुमाइसकेका थिए भने हजारौँ मानिसमा यो रोग फैलिसकेको थियो । संसारमा आजसम्म देखा परेका अधिकांश भाइरस जङ्गली जनावरबाट आएको पाइएको छ । यो कोरोना भाइरस पनि जङ्गली जनावरबाटै उत्पत्ति भएको हो भन्नेबारेमा दुई मत नभए पनि कुन जङ्गली जनावरबाट आएको हो भन्ने बारेमा भने वैज्ञानिक एकमत हुन सकेका छैनन् । 

अहिलेसम्म विभिन्न मुलुकमा फैलिएका भाइरस धेरैजसो चमेरो र उँटबाट फैलिएको पाइएको छ । यो कोरोना भाइरस पनि चमेरोबाट फैलिएको हो भन्ने धेरैको अनुमान छ तर प्रमाणित भने हुन सकेको छैन । चमेरो भनेको सानो तर खतरनाक जीव हो । इबोला पनि चमेराबाट फैलिएको थियो । अस्ट्रेलियामा हेन्ड्रा भाइरस पनि चमेरोबाट फैलिएको थियो । बङ्गलादेशमा पनि चमेरोबाट भाइरस फैलिएको थियो । त्यसैले पनि चमेरोबाट फैलिएको हुनसक्ने आशङ्का वैज्ञानिकहरूले गरेका हुन् तर वास्तविक तथ्य भने हालसम्म पत्ता लागेको छैन । 

लक्षणहरु 
जनावरबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा सङ्क्रमण गर्ने क्षमता अरू कोरोना भाइरसभन्दा तीव्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञले यो निकै भयानक रहेको बताइरहेका छन् । कोरोना भाइरसले सङ्क्रमण हुँदा सुरु सुरुमा रुघा लाग्ने, सुक्खा खोकी जस्तै लागे पनि यो सामान्य रूपमा रहँदैन । त्यसपछि क्रमशः उच्च ज्वरो १००.४ डिग्री सेल्सियसभन्दा माथि ज्वरो आउँछ । घाँटी दुख्ने, टाउको दुख्ने, सास फेर्न अत्यधिक गाह्रो हुने, नाकबाट सिगान बगिरहने आदि लक्षण प्रमुख रूपमा देखा पर्दछन् । यस्ता लक्षण देखा परिरहेको कतिपय अवस्थामा यसबाट बिरामीको मृत्युसमेत हुन्छ । 

आजसम्मको अध्ययनबाट यसको सबैभन्दा डरलाग्दो पक्ष भनेको यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ तर आजसम्मको अध्ययनबाट यो रोग हावाबाट सरेको भने पाइएको छैन । यो रोग मानिसमा सर्नका लागि प्रत्यक्ष रूपमा यो रोगबाट सङ्क्रमित मानिस वा पशुपक्षीको र्याल, सिँगान, थुक, जुठो खानेकुरा आदिबाट मात्र सर्छ । एक जना सङ्क्रमित मानिसबाट बढीमा ६ जनासम्मलाई सङ्क्रमित बनाउन सक्छ । यो रोगको लक्षण कुनै पनि मानिसको शरीरमा यसको जीवाणु प्रवेश गरेको २ देखि १४ दिनभित्र देखा पर्दछन् । यो रोगको लक्ष्यण देखापर्ने समय अवधि मानिसको उमेर, उसको शरीरमा रहेको रोग प्रतिरक्षात्मक क्षमता, उसको शरीरमा रहेका दीर्घरोगको अवस्था, खानपान आदिका कारणले फरक फरक हुनसक्छ । यो रोगको लक्षण देखा परेमध्येमा पनि करिब ८० प्रतिशत मानिसमा सामान्य प्रभाव परेको हुन्छ र सजिलै उपचार हुन्छ ।  करिब १४ प्रतिशतमा अलिक कडा प्रभाव परेको पाइएको छ र अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ । करिब ६ प्रतिशतमा भने अत्यन्तै जटिल हुन्छ । उनीहरुलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यो रोगबाट जटिल अवस्थामा पुगेका बिरामीको शरीरका बहुअङ्ग फेल हुने सम्भावना उच्च रहेकाले यो ६ प्रतिशतको समूहमा पर्ने बिरामीको मृत्युदर पनि उच्च रहेको छ । 

नेपालले हालसम्म गरेका कार्य 
२०७६ माघ ६ गतेदेखि हालसम्म नेपालमा जम्मा ४३४ जनाको नमुना परीक्षण गरिएको छ, उक्त नमुना परीक्षणमा कसैलाई पनि सङ्क्रमण देखिएको छैन । चीनकै उहान प्रान्तबाट आएका एकजना व्यक्तिको मिति २०७६ पुस २८ गते गरिएको परीक्षणमा पोजेटिभ देखिएकाले निजलाई आइसोलेसनमा राखी उपचार गरिएकोले हाल पूर्ण स्वस्थ भइसकेको अवस्था छ । 

चीनको हुबेईमा पढिरहेका १७५ जना विद्यार्थीलाई नेपाल सरकारले चार्टर विमानद्वारा उद्धार गरी खरिपाटीस्थित क्वारेन्टाइनमा १७ दिन राखी सुरक्षित रूपमा घर पठाएको छ ।

विश्वमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ लाई नियन्त्रण गर्न प्रधानमन्त्रीको उपस्थितिमा तीन पटक बैठक बसी विशेष नीतिगत निर्णय गरी साधन स्रोत लगायत अन्य आवश्यक बन्दोबस्तीका कार्य गर्ने निर्णय भएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन भएको, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको अध्यक्षतामा समन्वय समिति र मुख्य सचिवको अध्यक्षतामा उच्च स्तरीय कार्यदल गठन गरी नीतिगत कार्य भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सचिवको संयोजकत्वमा मन्त्रालय स्तरको कार्यदल गठन भएको छ भने प्राविधिक पाटो हेर्न प्रमुख विशेषज्ञको संयोजकत्वमा प्राविधिक टोली गठन गरी कार्यरत रहेको छ । 

अति जोखिमयुक्त मुलुकबाट आउने यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङ गरी शङ्कास्पद बिरामी भेटिएमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ । केही सरकारी र निजी अस्पतामा आइसोलेसन बेडको स्थापना गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्ने व्यवस्था गरिएको छ । चीन तथा भारतसँगका मुख्य नाकाबाट नेपाल प्रवेश गर्ने मानिसको शरीरको तापक्रम मापन गर्ने व्यवस्था गरिएको छ । यसका साथै यो भाइरसका बारेमा जनचेतनाका लागि सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रवाह गर्ने कार्य गरिरहेको पाइएको छ भने विभिन्न सरोकारवालासँग सहकार्य, सहयोग र संयुक्त पहलमा केही कार्य गर्न सुरु गरिएको देखिन्छ ।

सरकारले गर्नुपर्ने कार्य 
भाग्यबस नेपालमा अहिलेसम्म कोरोना भाइरसका बिरामी देखिएका छैनन् । हाम्रा दुवै छिमेकी देशमा यसको प्रभाव देखिएकाले नेपालमा नआउला भन्न सकिँदैन । त्यसैले साँच्चै कोरोना भाइरसको बिरामी बढे भने नियन्त्रण र व्यवस्थापनको तरिका बदल्नु पर्छ । अहिले सीमामा नियन्त्रण गर्ने, कोरोना सङ्क्रमितलाई नेपालभित्र प्रवेश गर्न नदिने, २९४ जनालाई देखियो भने त्यसलाई उपचार गर्ने अनि उसको सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइन गर्ने गरी तयारी गरिएको छ । यसलाई पनि परिवर्तन गरी चुस्त र प्रभावकारी बनाउनु पर्छ ।

धेरै जनामा सङ्क्रमण देखिन थालेपछि २९४ जनालाई क्वारेन्टाइन गरेर अस्पतालमा उपचार गरेर मात्र सम्भव छैन । कोरोना भाइरसका बिरामी देखिएका मध्ये ८० प्रतिशतलाई सामान्य उपचार गरेर बचाउन सकिन्छ भने कम्तीमा पनि १४ प्रतिशतलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ । त्यसैगरी बाँकी ६ प्रतिशतलाई सघन कक्षमा राखेर उपचार गर्नुपर्ने हुन्छ । त्यसैले यस्तो अवस्थामा सङ्क्रमितको उपचार गर्ने अरूलाई सङ्क्रमण फैलन नदिने उपाय अपनाउनु त छँदैछ । नयाँ नयाँ थप बिरामीहरूलाई उचित र आवश्यकता अनुसारको आवश्यक प्रवन्ध र उपचार त गर्नै पर्ने हुन्छ । यस्तो संवेदनशील अवस्थामा हामीले संयमता अपनाएर एकदमै सिकिस्त लक्षण भएका मान्छेलाई मात्रै अस्पतालमा लैजाने र अन्यलाई सेल्फ आइसोलेसन गर्ने गर्नुपर्छ । त्यस्तो अवस्था आयो भने जमघटमा नजाने, धेरै भीडभाड हुने स्थानहरू बन्द गर्ने, विश्वविधालय, कलेज, विधालय, सिनेमा हल बन्द गर्नै पर्ने हुनसक्छ । अहिलेको अवस्था र आवश्यकता भनेको संयमतापूर्वक तयारी गर्ने, सचेतना फैलाउने, साधनस्रोतको प्रवन्ध गर्ने, आवश्यक संरचनाहरूको निर्माण गर्ने, भएका संरचनाहरूलाई चुस्त र दुरूस्त बनाएर राख्ने, नागरिकलाई सुसुचित र सक्रिय बनाउने आदि हुन । 

अहिले हरेक नागरिकले मास्क खोजेका छन् तर त्यो आवश्यकता छैन र सबै सर्वसाधारणलाई पुर्याउन सम्भव पनि छैन । मास्क त स्वास्थ्यकर्मी, सङ्क्रमित व्यक्ति, दीर्घरोगी र बिरामीको हेरचाह गर्नेका लागि अनिवार्य छ तर सबैका लागि आवश्यक पनि छैन । जापानमा त २५ प्रतिशत नर्सले मात्र मास्क प्रयोग गर्न पाएका छन् भने ७५ प्रतिशतले मास्कविनै बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि स्वास्थ्यकर्मीलाई समेत मास्क र व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव छ ।

सङ्क्रमण हुन नदिन गर्नुपर्ने काम धेरै छन् । अक्सिजनको सप्लाई चाहिन्छ, औषधि चाहिन्छ । औषधिको कच्चा पदार्थ चाहिन्छ, कच्चा पदार्थ नभएमा स्वदेशमा औषधिको अभाव हुन सक्छ । त्यसैले यसको मौज्दात राख्ने विचार गर्नुपर्छ । धेरै बिरामीलाई सघन उपचार चाहिन सक्छ । यसलाई कसरी बढाउन सकिन्छ भनेर समेत गृहकार्य गर्न जरुरी छ । बिरामीहरू देखिन थाल्यो भने मौज्दात मास्क लगायतका सामग्रीको धेरै अभाव हुनसक्छ । यसका लागि आन्तरिक उत्पादन र आयात बढाउनुपर्छ । त्यसका लागि सरकारले औद्योगिक क्षेत्रलाई, विभन्न खालका ‘इनोभेसन’ गर्ने संस्थाहरूलाई बोलाएर मास्क लगायतका सामग्री उत्पादनमा के गर्न सकिन्छ भनेर योजना बनाउन जरुरी छ । 

हामीसँग पूर्व तयारीको योजना हुनुपर्छ । तर नेपालसँग त्यस्तो कुनै योजना छैन । सरकारले कोरोना नियन्त्रण गर्न सबै स्थानीय तहलाई अलर्ट राख्नुपर्छ । जहाँ सङ्क्रमित बिरामी भेटियो त्यहीँ गाउँपालिका वा नगरपालिकामा क्वारेन्टाइन राखेर उपचारका लागि चिकित्सक पुर्याउने व्यवस्था गर्नुपर्छ । गाउँगाउँसम्म सचेतनाका अभियान सञ्चालन गर्न आवश्यक छ । यो घटनाबाट सिकेर सरकारले अहिलेदेखि नै पूर्वतयारी नगरे कुनैबेला मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । सरकारले हरेक प्रदेशमा स्वास्थ्य प्रयोगशाला स्थापना गरी उपचारको लागि तयारी अवस्थामा राख्नुपर्छ । अर्को कुरा नेपालमा भाइरोलोजीको अध्ययन अध्यापन नहुँदा यो रोगका विज्ञ चिकित्सक निकै कम छन । ती भएका चिकित्सकबाट अन्य चिकित्सकलाई तालिम दिएर भए पनि सरकारले हरेक जिल्ला र पालिकामा पुगेर उपचार गर्नसक्ने चिकित्सक तयारी अवस्थामा राखिनु पर्दछ किनभने कोरोनाबाट सङ्क्रमितलाई काठमाडौँ वा टाढाका उपचार केन्द्रमा पु¥याउने बेला उसले अरूलाई समेत सङ्क्रमणमा पुर्याउन सक्छ ।

व्यक्तिगत तहबाट के गर्नुपर्ने कार्य 
कोरोना रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको व्यक्तिगत सचेतना नै हो । जब व्यक्ति सचेत, जागरूक र सक्षम हुन्छन् धेरै समस्या र जोखिम स्वतः न्यूनीकरण हुन्छन् र समाधान पनि तुरुन्तै हात लाग्छन् । कोरोना रोग मानिसको श्वसप्रश्वासका क्रममा निस्कने थुक, सिगान, ¥याल, जुठो खानेकुरा आदिबाट एक व्यक्तिबाट अन्यमा सर्छ । सामान्यतया एक मिटरको दूरीका बीचमा यो सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले बसमा यात्रा गर्दा, मानिसको भीडभाड लाग्ने बजारमा जाँदा, पसलमा जाँदा, सपिङ मल, सार्वजनिक स्थलमा हुने जात्रा, कार्यक्रम, सभास्थल लगायत मानिसको जमघट हुने क्षेत्रमा नै कोरोना चाँडै सर्ने जोखिम हुन्छ । त्यस्तै हामीले प्रयोग गर्ने मोबाइल, लिपिस्टिक, कलम, ल्यापटप, रुमाल, अरूको प्रयोग गर्ने गरेमा भाइरस सर्ने ठूलो जोखिम हुन्छ र यो लाग्ने र सर्ने जोखिम सम्भावना सबैभन्दा उच्च हुन्छ । त्यस्तै सानो बच्चालाई तेस्रो मान्छेले हत्तपत छुने गर्दा बच्चामा यो रोग सर्ने त्यत्तिकै ठूलो सम्भावना हुन्छ । पहिलो सचेतता भनेको रूघाखोकी लागेको मानिसको अगाडि नजाने हो र रूघा लागेको मानिससँग कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्छ ।

त्यसैगरी आफूलाई रूघाखोकी लागेको छ भने मास्क लगाउनुपर्छ । सामान्य मास्क लगाएर पनि अरूलाई सार्नबाट जोगाउन सकिन्छ । मास्क छैन भने कुइनोले छेकेर हाछ्युँ गर्नुपर्छ । त्यस्तो गर्न सम्भव नभए हातले छेकेर गर्नुपर्छ । तर हाछ्युँ गरिसकेपछि सकभर साबुनपानीले हात धोइहाल्नुपर्छ । सामान्य अवस्थामा पनि सबैले बेलाबेलामा साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ । हात धुँदा कम्तीमा ३० सेकेन्ड सबैतिर साबुन लगाएर मिच्नुपर्छ । यसो गरे आफू र अरूलाई जोगाउन सकिन्छ । हात धुन गाह्रो भयो भने हातको सबैतिर भिज्ने गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ तर सर्वसाधारणको लागि सेनिटाइजरको प्रयोग त्यति सम्भव भने छैन ।
काठमाडौँमा पनि कोरोना फैलिन लागेको छ कि भन्ने धेरैलाई डर छ । यस्तो बेलामा सबैभन्दा बढी वृद्धवृद्धा, मुटु, मधुमेह, उच्च रक्तचाप, अर्वुध, दमका रोगीलाई जोगाउनु पर्छ । उनीहरूका अगाडि आफूले हाछ्युँ नगर्ने र सकेसम्म भीडभाडमा नजाने र नलैजाने गर्नुपर्छ । यदि जानै पर्ने भएमा सावधानका उपाय अपनाउनै पर्छ । अनावश्यक रूपमा हात मिलाउनु हुँदैन । सकेसम्म नमस्कार गर्ने अथवा नछोई अरू अभिवादन गर्नु राम्रो हुन्छ । हातले मुख, नाक, आँखा छुने काम गर्नु हुँदैन र छुनै परेमा पनि छोइसकेपछि सफापानीले हात धुनु पर्दछ । 

गर्नै नहुने कार्य 
हालसम्म करिब १०० मुलुकमा यो रोगको प्रभाव फैलिएको छ । यो रोगबाट सबैभन्दा बढी प्रभावित मुलुक चीन हो तर चीनले यसको उचित व्यवस्थापन गरिसकेको छ भने अन्य सबै मुलुकले भरमग्दुर कोसिस गरिरहेका छन् । भाग्यबस नेपालमा यो रोगको प्रत्यक्ष प्रभाव देखिएको छैन तर अप्रत्यक्ष रूपमा नेपाल पनि प्रभावित भइसको छ । यो रोगको त्रासका कारण नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक लगायतका क्षेत्र मारमा परिसकेका छन् । यही रोगको त्रासका कारण नेपालको पर्यटन क्षेत्र कोमामा पुगिसकेको छ भने वैदेशिक रोजगार ठप्प भएको छ । नेपालका भन्सार नाकाहरू सुनसान छन, जसको कारण दैनिक करिब एक अर्ब रूपैयाँभन्दा बढी राजस्व गुमिरहेको छ । त्यस्तै नेपालको आन्तरिक बजार अस्तव्यस्ततर्फ उन्मुख भइरहेको छ ।

दैनिक उपभोगका सामान खरिद गर्न नागरिक लालायित छन् भने औषधि लगायतका अत्यावश्यक वस्तुको हाहाकार जस्तै भएको छ भने खाना पकाउने ग्यास, नुन, दाल, चामल लगायतका वस्तु बजारमा पाउन छाडिसकेको छ । सरकारी निकायबाटै एउटै विषयमा फरक फरक तथ्याङ्क र सूचना प्रवाह गर्नाले नागरिकमा झन् बढी त्रास र असुरक्षाको आभास भइरहेको छ । यी समग्र परिस्थितिलाई मध्यनजर गर्दै सरकारले नागरिकलाई त्रास रहतास बनाउने काम र सूचना प्रवाह गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्दछ । नागरिकको आत्मबल बढाउने, नागरिकलाई सकेसम्म बढी सुरक्षित हुने, देशको समग्र अवस्थामा फाइदा पुग्ने खालका सूचना प्रवाह गर्नेतर्फ सरकार केन्द्रित हुनैपर्ने देखिन्छ । यदि यही अवस्था ३, ४ महिना रहने हो भने नेपालमा कोरोना भाइरस नआए पनि नागरिक भोकभोकै मर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन किन भने वैदेशिक रोजगारी बन्द भइरहेका छन् । ब्यापार ठप्प भएको छ, आन्तरिक उत्पादनबाट कुनै पनि क्षेत्रमा आत्मनिर्भर छैन । आयात पूर्ण बन्द भएको छ । भएका खेतबारी सबै बाँझै छन् भने उत्पादनशील जमिन प्लटिङका नाममा मरुभूमिमा परिणत भएका छन् । कुनै पनि युवा घरखेती गरेर खान तयार छैनन् भने भएका रोजगारी पूर्ण रूपमा बन्द हुने अवस्था आएको छ । नयाँ रोजगारी सिर्जना हुन सम्भावना नै छैन ।

 निष्कर्ष
कोरोना भाइरसको सम्बन्धमा धेरै अध्ययन, अनुसन्धान भएका छन् । यसबाट बच्नका लागि धेरै उपाय विकास भइसकेका छन् । यो रोग देखिएको २ महिनाभन्दा बढी भइसकेको छ । चीनमा यो रोग एक्कासि देखापरेको र सुरुमै महामारीका रूप लिएकाले त्यहाँ धेरै क्षति भएको हो तर अब त्यस्तो अवस्था छैन । अब विद्यालय, कलेज, उद्योगधन्दा, ब्यापार, नाका बन्दै गरेर यसको समाधान आउँदैन । यसो गर्यो भने तत्कालका लागि त केही समाधान होला तर यसले कालान्तरमा झन् ठूलो क्षति पुर्याउन सक्छ । त्यसैले अब सबै नागिरकलाई सचेत गराएर, नागरिक सुरक्षाका प्रबन्ध गरेर, नागरिकको आत्मबल बढाएर, सरकारी, निजी, गैरसरकारी लगायतका क्षेत्रको सहकार्य र समन्वयबाट यसको व्यवस्थापन गर्न सकिन्छ । अहिलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यशैलीबाट यसको निकास आउन धेरै नै गाह्रो छ । 
नेपालको इतिहासमा कर्मचारी समायोजन, सङ्गठन संरचना, मन्त्रालयको नेतृत्व लगायतका कारणले नेपालका स्वास्थ्यकर्मीको सबैभन्दा बढी मनोबल गिरेको अवस्था छ । अहिलेको स्वास्थ्य तथा जनसङ्ख्या

मन्त्रालयको संरचना, कर्मचारीको दरबन्दी, स्वास्थ्यकर्मीको सङ्ख्या, साधानस्रोतको वितरण, तालिम लगायतका अवसर समेत आवश्यकता बमोजिमका छैनन् । साथै यसको व्यवस्थापनको तयारी नियमसङ्गत र आवश्यकता बमोजिमको छैन । मन्त्रालयको नेतृत्व पनि सीमित व्यक्ति र उसको वरिपरि हिँड्नेको घेराभन्दा बाहिर निस्केर हेर्ने र सोच्ने अवस्थामा देखिँदैन । सरकारको चिकित्सक र स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक देखिँदैन भने योग्यता क्षमता अनुसार जिम्मेवारी निकै टाढाको वस्तु बनेको छ । मेरो मान्छे भन्ने संस्कृतिले दह्रो गरी जरो गाडेको अवस्था विद्यमान छ । यस्तो अवस्था वर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबाट सायद कोरोनाको प्रकोपबाट नेपाली जनतालाई सुरक्षित गर्न निकै गाह्रो पर्ला कि ? 

(लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव हुन् ।)

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...