बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस : विश्वका अन्य मुलुक चीनको बाटोमा किन हिँड्न सक्दैनन् ?

आइतबार, ०२ चैत २०७६, १२ : ४६
आइतबार, ०२ चैत २०७६

जनवरीमा चीनले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि अभूतपूर्व कदमको घोषणा गर्दा केही जानकारहरुले यस्तो कदम लोकतान्त्रिक मुलुकमा लागू गर्न असम्भव हुने संकेत गरेका थिए ।

कोरोनाविरुद्ध चीनले चालेका केही अभूतपूर्व कदममा हुबेइ प्रान्त र त्यहाँ बस्दै आएका ५.६ करोड मानिसलाई क्वारेन्टाइन (घरबाट बाहिर निस्कन र कसैसँग भेटघाट गर्न रोक) मा बस्न तथा उक्त भाइरसको चपेटामा आएका मानिसको उपचारका लागि १० दिनमै अस्थायी अस्पताल निर्माण गर्नु मुख्य हुन् ।

यी कदमकै परिणामस्वरुप चीनमा यो भाइरस नियन्त्रणमा आइरहेको देखिएको छ तर बाँकी विश्वमा पछिल्लो दुई सातामा यसको संक्रमण १३ गुणा वृद्धि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेड्रस एडनमले कोरोनाभाइरसलाई विश्वकै ठूलो भागमा फैलिएको ‘महामारी’ घोषणा गर्दै यसको नियन्त्रणका लागि विश्वभरका मुलुकले तत्काल र आक्रामक कदम उठाउनुपर्ने खाँचो औँल्याएका छन् ।

यस्तो अवस्थामा प्रश्न उठ्छ कि कोरोनाभाइरसविरुद्धको युद्धमा लोकतान्त्रिक देशहरुले चीनबाट के पाठ सिके त ?

चीनमा खराब अवस्था बितिसक्यो ?
चिनियाँ राष्ट्रपति शी चिनफिङले १० मार्चका दिन कोरोनाभाइरसको उत्पत्ति भएको क्षेत्रमा भ्रमण गरे । चीन राष्ट्रिय आपतकालको सबैभन्दा खराब चरणबाट माथि उठिसकेको संकेतका रुपमा उनको भ्रमणलाई लिइएको छ ।

आधिकारिक तथ्यांकअनुसार कोरोनाभाइरसको चपेटामा आउने मानिसको संख्या प्रत्येक दिन घट्दै गइरहेको छ । यो आँकडा खुम्चिएर अब केही दर्जनमा सीमित भएको छ ।

न्यूयोर्कमा काउन्सिल अन फरेन रिलेसन्समा ग्लोबल हेल्थका सिनियर फेलो यानजोङ्गका अनुसार चीनले कोरोनाविरुद्ध उठाएको कदमलाई बाँकी विश्वले अनुशरण गर्न कठिन छ ।

उनले भने, ‘चाहे लोकतान्त्रिक मुलुक होस् या गैरलोकतान्त्रिक, कुनै पनि देश समाजमा यति प्रभावी र समग्र रुपमा दखल दिन सक्ने देखिदैँन, यो कुनै पनि कोणबाट राम्रो कुरा होइन । यो निराशाजनक हो । यद्यपि केही देशका नेता चीनको तरिकालाई आफ्नो देशमा लागू गर्न चासो देखाइरहेका छन् तर उनीहरुसँग यस्तो गर्ने शक्ति र सामथ्र्य छैन ।’

घरमै बस्न आग्रह
मिलानस्थित भिटा सैल्युट सान रफायलेमा माइक्रोबायोलोजी र भाइरोलोजीका प्रोफेसर डा. रोबर्टो बुरियानीका अनुसार कोरोनाभाइरसविरुद्ध लड्नका लागि तानाशाही हुन जरुरी छैन । युरोपमा इटालीले यस महाद्वीपमै अहिलेसम्मको कडा ‘लकडाउन’ लागू गरेको उनको भनाइ छ ।

इटालीले आफ्नो ६ करोड जनसंख्यालाई नै ‘लकडाउन’ मा राखेको छ । देशमा खाद्यान्न र फार्मेसीबाहेक सबै प्रकारका पसल बन्द छन् । मानिसहरुलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ र सबैलाई आ–आफ्नै घरमा बस्न सुझाव दिइएको छ ।

यात्रामा रहेकाहरुले यात्राको उद्देश्य उल्लेखित कागजात बोकेर हिँड्नुपर्ने नियम बनाइएको छ भने स्कुल तथा विश्वविद्यालय बन्द गरिएका छन् ।
डा. रोबर्टोले ट्वीट गरेका छन्, ‘यो भाइरसले अंकमाल गर्ने, चुम्बन गर्ने, साथीहरुसँग बसेर खाना खाने, कन्सर्ट, साँझ थिएटरमा जानेलगायत सबैकुरा खोसेको छ, यो युद्धमा जितको दिन निकै सुन्दर हुनेछ । यो सबै रफ्तारको कुरा हो ।’

चीनबाट पाठ
विश्व स्वास्थ्य संगठनका सल्लाहकार डा. ब्रुस अलवार्ड पनि यो भाइरसलाई नियन्त्रणमा लिने विषय सम्बन्धित देश लोकतान्त्रिक हो कि तानाशाही भन्ने कुरामा सम्बन्धित नरहेको बताउँछन् । निकै तीव्र रफ्तारमा मामिलालाई पहिचान गरेर, उनीहरुलाई अलग–थलग गरेर, उनीहरुको निकट सम्पर्कमा आएकाहरुलाई खोजेर, उनीहरुलाई पनि अलग–थलग पारेर नै यस प्रकारको भाइरस नियन्त्रणमा लिन सकिने उनको भनाइ छ ।
‘मानिसहरुलाई सम्झाउने प्रयास गरिएको छ कि हामी कस्तो प्रकारको बिमारीसँग संघर्ष गरिरहेका छौँ र यो कति गम्भीर छ’ उनले भने, ‘र उनीहरुलाई सरकारसँग मिलेर उठाइएका कदमहरुलाई प्रभावकारी तुल्याउने दिशामा काम गर्न लायक बनाइएको छ ।’

संक्रमणमाथि कसरी लगाम लगाउने ?
डा. अलवार्डले चीनका नागरिकहरु एकसाथ मिलेर र स्वेच्छिक रुपमा गरिएका प्रयासहरुबाट आफू निकै प्रभावित भएको पनि बताए । उनले भने, ‘मानिसहरुलाई सरकारको डर होइन, भाइरसको डर छ र उनीहरुलाई यो भाइरसकोे सामना गर्न एक साथ मिलेर काम गर्नुपर्ने महसुस भएको छ ।’ यसलाई उनी एउटा साझा र सहकार्यबाट गरिएको प्रयासका रुपमा व्याख्या गर्दछन् ।

दक्षिण कोरियामा अधिकारीहरुले ‘लकडाउन’को सहारा नलिइकनै यो भाइरसविरुद्ध सफलतापूर्वक लडाई लडेका छन् । चीन, इटाली र ईरानपछि दक्षिण कोरियामा कोरोनाको सबैभन्दा बढी मामिला प्रकाशमा आएको थियो । त्यहाँको सरकारले हजारौँ, लाखौँ मानिसलाई सडकमा र चालकहरुलाई उनीहरुको कारमै कोरोना संक्रमणको परीक्षण गरिरहेको छ ।

यसका लागि मोबाइल फोन र प्रविधिको प्रयोग गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले यी कोसिसलाई कोरोना भाइरसको खतराविरुद्धको ‘एउटा युद्ध’को संज्ञा दिएका छन् ।

दक्षिण कोरियाको जनसंख्या करिब पाँच करोड छ । करिब यतिनै जनसंख्या इटालीको पनि छ । तर दक्षिण कोरियामा ३० हजारभन्दा पनि कम मानिसलाई क्वारेन्टाइनमा राखिएको छ, साथै त्यहाँ कोरोनाका दैनिक संक्रमणका घटना पनि घट्दै गएको छ ।

१३ मार्चमा दक्षिण कोरियामा कोरोनाका ११० मामिला प्रकाशमा आए, जो पछिल्ला दुई साताभन्दा बढी समयदेखि यो भाइरसको चपेटामा आउने दैनिक संख्याको सबैभन्दा तल्लो स्तर हो । त्यहाँ भाइरसको चपेटामा परेर अस्पतालमा आउने मानिसको संख्याभन्दा अस्पतालबाट डिस्चार्ज भएर जानेको संख्या बढ्न थालेको छ ।

दक्षिण कोरियाले कोरोना संक्रमण रोक्नमात्र नभई अर्थव्यवस्थालाई बचाउन पनि उत्तिकै प्रभावकारी ढङ्गले काम गरिरहेको जानकारहरु बताउँछन् ।

अन्य मुलुक के गरिरहेका छन् ?
ऊहानमा सख्त स्वास्थ्य व्यवस्थाका कारण सहरमा मृत्युदरको स्तरमा वृद्धि भएको छ । अन्य देश त्यस्तो गर्न सक्दैनन् । कुनै पनि बिमारी नियन्त्रणका लागि कुनै मानक नहुने विज्ञहरुको भनाइ छ ।

विश्वका अन्य मुलुकमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएका छन् । यसका बाबजुद अमेरिकाभित्र निर्णायात्मक फैसला नलिएको भन्दै ट्रम्पको आलोचना हुने गरेको छ ।
डेमोक्रेट सांसदहरु कोरोनाभाइरसको परीक्षणमा कमी हटाउन ट्रम्प असफल भएको आरोप लगाउँछन् ।

अमेरिकी सभामुख न्यान्सी पलोसी र सिनेटमा विपक्षी नेता चक शुमरले अमेरिकी जनतालाई सुरक्षित राख्न र उनीहरुको आर्थिक सुरक्षा सुनिश्चित गर्ने सबैभन्दा सही तरिका भनेकै कोरोना भाइरसविरुद्धको युद्धमा अमेरिकी राष्ट्रपति आफैँ अग्रसर हुनु नै रहेको जनाएका छन् ।

मध्यपूर्व र एशिया
जर्जटाउन विश्वविद्यालयका सार्वजनिक स्वास्थ्य विशेषज्ञ लरेन्स गोस्टिनले भने, ‘अमेरिकाको स्थिति पनि त्यस्तै छ, जस्तो बाँकी युरोपको छ । भाइरसका लागि सीमानाको कुनै अर्थ छैन ।’

ईरानले आफ्नो उत्तरी प्रान्त कोमलाई पूर्ण रुपमा बाँकी भूभागबाट अलग नरेकोमा ईरानको आलोचना भइरहेको छ । ईरानमा कोम नै कोरोना भाइरस संक्रमणको केन्द्र हो । अन्य मुलुकले ‘लकडाउन’ गरे र स्कुललाई बन्द गरे । साउदी अरबले कातिफ प्रान्तलाई बन्द गरेको छ । कातिफ नै साउदी अरबमा कोरोनाको सबैभन्दा धेरै मामिला आएको प्रान्त हो । 

जापानमा अप्रिलसम्म स्कुललाई बन्द गरिएको छ । यस प्रकारको उपाय मध्यपूर्ण र एशियामा पनि अपनाइएको छ । युनेस्कोका अनुसार २९ देशमा स्कुल बन्द गरिएका कारण ३३ करोडभन्दा बढी बालबालिकाको पढाइ प्रभावित भएको छ । यस अतिरिक्त विश्वविद्यालयका करिब पाँच करोड विद्यार्थीको पढाइ कोरोनाका कारण प्रभावित भएको छ ।

केन्द्रीय समन्वय
इंग्ल्याण्डको डेपुटी चिफ मेडिकल अफिसर डा. जेनी ह्यारिसका अनुसार ठूलो संख्यामा एक ठाउँमा भेला हुन रोक्नु नै प्रभावकारी कदम हुन्थ्यो भने सरकारले यस्तो कदम धेरै अघि नै उठाइसकेको हुन्थ्यो । बेलायतको मोडलमा यस्तो कुरा नसुहाउने भएकाले सरकारले निकै सतर्कतापूर्वक विज्ञानका आधारमा निर्णय लिइएको उनको भनाइ थियो ।

ब्रिटेन सरकारलाई कोरोनाभाइरसको संक्रमण बढ्ने आशंका छ । यद्यपि बेलायती र इटालियन स्वास्थ्यतन्त्रमा भिन्नता रहेको डा. ह्यारिसको भनाइ छ । ‘उनीहरुको स्वास्थ्य सेवा क्षेत्रीय छ,’ उनले भने, ‘त्यसैले व्यस्थित रुपमा काम गर्न उनीहरुलाई समय लाग्यो तर बेलायतमा एकल नेतृत्व र नियन्त्रित मेकानिज्म भएकाले त्यस्तो समस्या छैन ।’

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रसले यो संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए । सरकारहरुले आफ्नो देश र व्यवस्थाको आवश्यकता अनुसार आफ्नो कदम तय गर्नुपर्ने उनको भनाइ छ ।  ‍-बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप