शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘न्यु सुपर चामत्कारिक खाताका बारेमा जानकारी हुने ग्राहक अन्त खाता खोल्न जाँदैनन्’

सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत, एनआईसी एसिया बैङ्क लिमिटेड
आइतबार, ०२ चैत २०७६, १२ : ४४
आइतबार, ०२ चैत २०७६

सन्तोषकुमार राठी एनआईसी एसिया बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००३ देखि बैङ्किङ करियर सुरु गरेका उनले पहिलो ५ वर्ष कुमारी बैङ्कमा काम गरेका थिए भने सन् २००८ मा उनी तात्कालीन बैङ्क अफ एसियामा  प्रवेश गरेका थिए । तात्कालीन नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैङ्क (एनआईसी) सँग मर्जर भएर एनआईसी एसिया बनेपछि पनि उनी यही बैङ्कमा निरन्तर क्रियाशील छन् । यसअघि उनले विराटनगर शाखाको प्रमुख र प्रदेश १ र प्रदेश ३ प्रादेशिक कार्यालयका प्रमुख समेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

अहिले एनआईसी एसिया आक्रामक बजार विस्तारको रणनीतिका साथ अघि बढिरहेको छ । रणनीतिअनुसार नै सो बैङ्कले सबैजसो बैङ्किङ सूचकहरुमा उल्लेख्य प्रगति हासिल गर्र्दै गएको पनि छ । यति छोटो समयमै सो बैङ्क देशकै अग्रणी बैङ्क बन्न कसरी सफल भयो भन्ने सबैको चासोको विषय बनेको छ । बैङ्कले लिएको बजार विस्तार नीति तथा ग्राहकलाई आकर्षित गर्न बैङ्कले ल्याएका नयाँ नयाँ योजनामा केन्द्रित रही बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत राठीसँग गरिएको संवाद प्रस्तुत गरिएको छ । 

पछिल्ला केही वर्षदेखि एनआईसी एसिया बैङ्कले आक्रामक बजार विस्तार गर्दै आएको छ । दोस्रो त्रैमासको रिपोर्ट पनि राम्रो देखियो । बैङ्कको बजार विस्तार नीति सफल हुँदै जानुका कारण के के हुन् ?

तपाईंको प्रश्नको उत्तर दिनुभन्दा अघि म एनआईसी एसिया बैङ्कको पृष्ठभूमिबारे केही भन्न चाहन्छु । अहिलेको एनआईसी एसिया बैङ्क २०६९ साल असार १६ गते तात्कालीन नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैङ्क (एनआईसी) र बैङ्क अफ एसिया नेपाल लिमिटेड मर्जर भएर बनेको बैङ्क हो । एनआईसी बैङ्क २०५५ साल साउन ५ गते स्थापना भएको हो भने बैङ्क अफ एसिया २०६४ साल असोज २५ गते स्थापना भएको वाणिज्य बैङ्क हो । यसरी, दुईओटा वाणिज्य बैङ्क मर्जर भएर नयाँ वाणिज्य बैङ्क बन्ने पहिलो अभ्यास हामीबाट नै भएको हो । एनआईसी एसिया बैङ्क बनेको अर्को साल अर्थात् सन् २०१३ मा हामी ‘बैङ्क अफ दि इयर’को उपाधिबाट समेत सम्मानित भएका थियौँ ।

हामीले विगतमा देशभर सञ्जाल विस्तार गर्ने नीति लियौँ । अहिले हामी देशकै ठूलो शाखा सञ्जाल भएको बैङ्क बन्न सफल भएका छौँ । हामीसँग अहिले ३१९ शाखा, ४५२ एटीएम, १०७ वटा एक्स्टेन्सन काउन्टर र ५७ वटा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा छन् । हाम्रो शाखा सञ्जाल सहरदेखि गाउँगाउँसम्म फैलिएका छन् । मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता दुर्गम क्षेत्रमा समेत हाम्रो सेवा विस्तारित छ । वित्तीय संस्था नपुगेका ३४ वटा स्थानीय तहमा शाखा विस्तार गरी हामीले बैङ्किङ सेवा प्रदान गर्दै आएका छौँ ।

हामीले सबै ग्राहकको आवश्यकता, चाहना र प्रतिफललाई समेत विचार गरेर नयाँ प्रोडक्ट ल्याउने र त्यसलाई समयानुकूल परिमार्जित र परिष्कृत गर्दै जाने गरेका छौँ । सबै ग्राहकको आवश्यकताको सम्बोधन हुनेगरी बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाएका छौँ । त्यही कारणले हामीसँग अहिले २१ लाख ग्राहक छन् । हाम्रो सफलताको कारण अरू केही होइन, हामीले लिएको दूरदर्शी सोच र त्यसको दृढ कार्यान्वयन नै हो र ग्राहक महानुभावहरुको माया अनि हामीप्रतिको विश्वास हो । 

पछिल्लो समय केही सहज भए पनि बैङ्किङ क्षेत्रमा अझै पनि स्रोतकै समस्या देखिन्छ । यस्तो अवस्थामा तपाईंहरू भने निक्षेप सङ्कलनको गतिलाई तीव्र बनाइरहनुभएको छ, तपाईंहरू बजारको निक्षेप बैङ्कमा कसरी आकर्षित गर्नुहुन्छ ?

हो, तपाईंले भन्नुभएजस्तै अहिले पनि बैङ्किङ क्षेत्रको समस्या भनेको स्रोतको अभाव नै हो । त्यसलाई पूरा गर्न धेरैभन्दा धेरै बचत सङ्कलन गर्नु नै अहिलेको आवश्यकता हो । पहिले बचतलाई ब्याजसँग मात्रै जोडेर हेरिन्थ्यो । त्यसैले अहिलेको अवस्थामा जुन बैङ्क ग्राहकसम्म पुग्नसक्छ वा जुन बैङ्कले ग्राहकहरूलाई उच्च ब्याज साथसाथै अन्य सुविधाबाट आकर्षित गर्नसक्छ त्यही बैङ्कमा नै ग्राहकले निक्षेप राख्ने गर्छन् ।

ग्राहकको उच्च प्रतिफलको चाहना र आवश्यकतालाई हेरेर हामीले समय समयमा नयाँ नयाँ प्रोडक्टहरू बजारमा सार्वजनिक गर्दै आएका छौँ । अहिले हामीले ‘न्यु सुपर चामत्कारिक खाताहरु’ सञ्चालनमा ल्याएका छौँ । त्यसमध्ये ‘न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता’ र ‘न्यु सुपर चामत्कारिक मासिक निक्षेप खाता’ मुद्दती निक्षेप प्रकृतिको खाता हो भने ‘न्यु सुपर चामत्कारिक बचत खाता’, ‘न्यु सुपर चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता’, ‘न्यु सुपर चामत्कारिक नारी बचत खाता’,  ‘न्यु सुपर चामत्कारिक बाबु नानी बचत खाता’, ‘न्यु सुपर चामत्कारिक विद्यार्थी बचत खाता’, ‘न्यु सुपर चामत्कारिक स्वरोजगार बचत खाता’, ‘न्यु सुपर चामत्कारिक वैदेशिक रोजगार बचत खाता’, ‘न्यु सुपर चामत्कारिक उद्यमशील बचत खाता’, ‘न्यु सुपर चामत्कारिक तलब बचत खाता’ र ‘न्यु सुपर चामत्कारिक सहज बचत खाता’ बचत निक्षेप खाताहरू हुन् ।

तीमध्ये पनि ‘न्यु सुपर चामत्कारिक बचत खाता’, ‘न्यु सुपर चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता’, ‘न्यु सुपर चामत्कारिक नारी बचत खाता’लाई डायमन्ड श्रेणी, गोल्ड श्रेणी र सिल्भर श्रेणीमा विभाजन गरेर क्रमशः न्यूनतम मौज्दात क्रमशः ५० हजार, २५ हजार र १ हजार रुपैयाँ निर्धारण गरिएको छ । अन्य खाता भने सबै सिल्भर श्रेणीका मात्रै छन् । यी खाता खोल्दा खाताको श्रेणीअनुसार विभिन्न सुविधा पाउने व्यवस्था छ । यी खाता खोल्दा पाइने सुविधा अहिलेसम्म बजारमा ल्याइएका कुनै पनि प्रोडक्टमा पाइने सुविधाभन्दा कैयौँ गुणा बढी छ । त्यसैले यो खाताप्रति ग्राहकहरुको आकर्षण निकै बढ्दै गएको हामीले पाएका छौँ । यी खातामा पाइने सुविधाको बारेमा थाहा पाउने बित्तिकै खाता खोल्न अग्रसर हुने गरेको हामीले पाएका छौँ ।

‘न्यु सुपर चामत्कारिक खाताहरु’को बारेमा त निकै चर्चा गर्नुभयोे, यसमा के कस्ता छन् सुविधा र प्रतिफल ?

मैले अघि पनि भनेको थिएँ कि हामी अहिले ग्राहकहरूलाई उच्च ब्याजदरको साथसाथै अतुलनीय र असीमित फाइदाहरू प्रदान गर्दै आइरहेका छौँ । जसअनुसार बचत खाताहरुमा ६.५ प्रतिशत र मुद्दती निक्षेपमा ९.७५ प्रतिशत (शाखा प्रबन्धकको स्वीकृतिमा थप गर्नसक्ने ०.५ प्रतिशत समेत) सम्म ब्याज दिइरहका छौँ । यसका अतिरिक्त पनि हामीले धेरै फाइदा हाम्रा ग्राहक महानुभावलाई उपलब्ध गराउने गरी योजना ल्याएका छौँ ।

न्यु सुपर चामत्कारिक खाताहरुमा २१ लाखसम्मको बिमा सुविधा र अरू पनि विभिन्न सुविधा तथा छुट दिने व्यवस्था गरेका छौँ । २१ लाख रुपैयाँको बिमामध्ये १० लाख रुपियाँ बराबरको दुर्घटना मृत्युबिमा तथा पूर्ण अशक्तता बिमा, १० लाख रुपियाँसम्मको घातक रोग बिमा र १ लाख रुपियाँसम्मको औषधोपचार बिमा समावेश गरिएका छन् । १ लाखको औषधोपचार बिमामध्ये पनि २० हजार रुपियाँसम्म ओपीडी सेवामा गरिएको खर्च र ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना बापतको बिमा सुविधा प्रदानलाई समेत हामीले समावेश गरेका छौँ ।

सामान्य योजनामा औषधोपचार बिमामा हस्पिटल भर्ना भएको खर्च मात्रै ब्यहोर्ने व्यवस्था भए पनि यो बिमामा २० हजारसम्मको सामान्य ओपीडी, ल्याब र फार्मेसी सेवामा लाग्ने खर्चको समेत भुक्तानी दिने व्यवस्था गरेका छौँ । यसका लागि हामीले एभरेस्ट इन्स्योरेन्ससँग सहकार्य गर्ने सम्झौता गरेका छौंँ । यी सबै बिमा गर्न कुनै पनि व्यक्तिले अहिले वार्षिक १४ हजार रुपियाँ खर्च गर्नुपर्छ । 

बिमामा मात्रै नभएर हामीले हाम्रा ग्राहकहरुलाई कर्जामा समेत विशेष छुट दिएका छौँ । त्यस्तै, त्यस्तो कर्जामा लिइने सेवाशुल्कमा २५ बेसिस प्वाइन्ट (०.२५ प्रतिशत)सम्म छुट दिने व्यवस्था गरिएको छ । हामीले गरेको यो व्यवस्थाले ५० लाख कर्जा उपयोग गर्नेलाई ग्राहकलाई १ लाख १३ हजार रुपियाँ फाइदा पुग्ने अवस्था छ । यसका अतिरिक्त हामीले यो खाता खोल्ने ग्राहकलाई थप २५ वटा सुविधा दिने व्यवस्था गरेका छौँ ।

एनआईसी एसिया बैङ्कको न्यु सुपर चामत्कारिक खाताका ग्राहकले जुनसुकै नेटवर्कमा आफ्नो कार्डको प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क लाग्दैन । त्यस्तै, यी खाताहरुमा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, आईभीआर सेवा, बिना धितो निःशुल्क लकर सुविधा, भाइबर बैङ्किङ सेवा प्रदान गरिने व्यवस्था गरिएको छ । यसको अलावा, निःशुल्क ई–कमर्स सेवा, अनलाइन खाता खोल्न मिल्ने सुविधा उपलब्ध छ । ‘न्यु सुपर चामत्कारिक बचत खाता’ अन्तर्गत डायमन्ड श्रेणीका ग्राहकका लागि स्विप इन– स्विप आउट सुविधासमेत छ । यी सबै सुविधाहरू गरी ग्राहक महानुभावहरूले न्यु सुपर चामत्कारिक खाता खोल्दा ५० हजारदेखि २ लाख १४ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नुहुनेछ । 

स्विप इन–स्विप आउट भनेको कस्तो सुविधा हो ? बचत र मुद्दतीको विशेषतालाई एकै ठाउँमा ब्लेन्डिङ कसरी गर्नुभएको छ ?

यो एनआईसी एसिया बैङ्कले नेपालमै पहिलो पटक लागू गरेको सुविधा हो । स्विप इन–स्विप आउट यस्तो सुविधा हो जहाँ बचत खातामै मुद्दती खाताको जस्तो ब्याज पाइन्छ भने बचत खाताको जस्तो चाहेको बेला रकम झिक्नसमेत पाइन्छ । यो सुविधाअन्तर्गत बैङ्कले ‘न्यु सुपर चामत्कारिक बचत खाता’मा २ लाख रुपैयाँभन्दा बढी रकम भएमा बढी भएको सो रकमलाई १० हजारको गुणाङ्कमा तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गरिनेछ र सो रकममा ९.७५ प्रतिशतसम्मको ब्याजदर प्रदान गरिनेछ ।

उदाहरणका लागि १५ दिनअघि मैले न्यु सुपर चामत्कारिक बचत खाता– डायमन्ड श्रेणीमा खाता खोलेँ र २ लाख रूपैयाँ बचत गरेँ । आज फेरि मलाई कतैबाट पैसा आयो ३ लाख रुपैयाँ । मैले त्यो पनि सोही खाता लगेर डिपोजिट गरेँ । अब स्विप इन– स्विप आउटको नियमअनुसार आज मैले राखेको ३ लाख रुपैयाँ त स्विप इन भएर ३ महिनाका लागि फिक्स डिपोजिटमा जान्छ । किनकि यो सुविधाअनुसार २ लाख रुपियाँभन्दा माथि जति पनि रकम हुन्छ, यो १०, १० हजारको गुणाले हुन आउने रकम ३ महिनाका लागि मुद्दती खातामा स्वतः स्विप इन हुन्छ । अब फेरि मलाई ८ दिनपछि नै त्यो ३ लाख रुपैयाँ चाहियो भने बिना कुनै झन्झट म त्यो ३ लाख रुपैयाँ निकाल्न पाउँछु । मेरो खाता त्यो पैसा स्विप आउट भएर आउँछ ।

एनआईसी एसिया बैङ्कले न्यु सुपर चामत्कारिक खाता खोलेकै आधारमा बिमा सुविधा दिँदै आएको दाबी गरेको छ । के साच्चिँकै ग्राहकले यो सुविधा पाएका छन् त ?

एनआईसी एसिया बैङ्कले अहिलेसम्म विभिन्न निक्षेप खाताहरू मार्फत् देशभरका १ सय २७ जना ग्राहकको करिब ८७ लाख २४ हजार रूपैयाँ बिमा रकम प्रदान गरिसकेको छ । बैङ्कले ल्याएको चामत्कारिक खातामा तीन किसिमका बिमा योजनाअन्तर्गत मेडिकल बिमा ४६ लाख ८८ हजार ६ सय ८८ रुपैयाँ, घातक रोगहरुको लागि ३० लाख रुपैयाँ र दुर्घटना बिमाबाट १० लाख ३६ हजार १ सय २६ रुपैयाँ सुविधा लिइसक्नुभएको छ ।

एनआईसी एसिया बैङ्कबाट केही हप्ता अगाडि मात्रै पनि अर्घखाँचीका ग्राहकले घातक रोगको बिमाबापत सबैभन्दा बढी १५ लाख रुपैयाँ पाउनुभएको छ । उहाँले शिखर इन्स्योरेन्सबाट उक्त रकम पाउनुभएको हो ।

त्यस्तै दुर्घटना बिमाअन्तर्गत सुनवलका ग्राहकको निधनपछि उहाँको परिवारले ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ रकम पाउनुभएको छ । उहाँको परिवारलाई नेको इन्स्योरेन्सले बिमा बापतको रकम प्रदान गरेको हो । वीरगञ्जका अर्का ग्राहकले मेडिकल बिमाअन्तर्गत सबैभन्दा बढी १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिसक्नुभएको छ । एनआईसी एसिया बैङ्कले ग्राहकहरूलाई आकर्षित गर्न मात्रै होइन साँच्चै सुविधा दिन यस्ता सुविधाजनक चामत्कारिक फाइदाहरू ल्याएको हो । मलाई लाग्छ यी उदाहरणहरू नै विश्वासका आधार हुन् । 

सुपर चामत्कारिक खाताअन्तर्गत पनि धेरै प्रकारका बचत र मुद्दती खाताबारे उल्लेख गर्नुभयोे । छुट्टाछुट्टै खातामा पाइने विशेष सुविधाहरू केके हुन् ?

हामीले विशेष खाताअन्तर्गत कर्मचारी र ज्येष्ठ नागरिकका लागि विशेष सुविधा ल्याएका छौँ । ‘न्यु सुपर चामत्कारिक तलब बचत खाता’ अन्तर्गत कर्मचारीले तलब खाता खोल्नेबित्तिकै १ लाख रुपियाँ बराबरको औषधोपचार बिमा उपलब्ध हुन्छ । त्यसबाहेक १५ लाख रुपियाँ नबढ्ने गरी २५ महिनासम्मको तलब बराबर ऋण सुविधा, १२ महिनासम्मको कुल तलब वा बढीमा ५ लाख रुपियाँसम्मको ओभरड्राफ्ट कर्जा दिने व्यवस्थासमेत यसमा गरिएको छ । यसरी कर्जा लिँदा जम्मा ०.५० प्रतिशत मात्रै प्रशासनिक शुल्क लाग्नेछ । साथै ग्राहकले ३ महिनाको कुल तलब बराबर अग्रिम तलब सुविधा वर्षमा एक पटकसम्म लिन सकिन्छ । योबाहेक घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा लगायतका ३० भन्दा बढी सुविधा पनि यस न्यु सुपर चामत्कारिक तलब बचत खातामा प्राप्त गर्न सकिन्छ ।

त्यस्तै ‘न्यु सुपर चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता’मा होम बैङ्किङ सुविधासमेत प्रदान गर्ने व्यवस्था गरिएको छ । यो सेवाअन्तर्गत हामीले कर्मचारी नै खटाएर ज्येष्ठ नागरिकको घरमै पुगेर बैङ्किङ सेवा वा होम सर्भिस दिइरहेका छौँ ।

मासिक निक्षेप योजना पनि सञ्चालन गर्दै आएका छौँ । यो योजनाअन्तर्गत ग्राहकले आफ्नो बचत खाताबाट निश्चित रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने खाता खोल्दा नै आदेश दिन सकिन्छ । सोही निर्देशनका आधारमा रकम ट्रान्सफर हुनेछ । यस्तो रकम ५ सयले गुणन जाने जस्तै १ हजार १५ सय वा २ हजार हुनुपर्नेछ । त्यसरी ट्रान्सफर हुने रकममा ९.७५ प्रतिशत ब्याज प्रदान गरिनेछ ।

त्यस्तो खाताको अवधि ३ महिनादेखि १० वर्षसम्मका लागि खोल्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको बचत खातामा निर्देशन दिए अनुरूपको पर्याप्त रकम नभएमा अर्काे महिनादेखि त्यसलाई निरन्तरता दिन पनि सकिन्छ । रकम ट्रान्सफर नगरेको समयको शुल्क भने लाग्दैन । पूर्वनिर्देशित रकमभन्दा बढी रकम मासिक निक्षेप खातामा जम्मा गर्नुपरेमा मोबाइल बैङ्किङ वा कुनै पनि शाखा कार्यालयमा पुगेर निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । मासिक निक्षेप खाताको रकम समय पूरा नहुँदै आवश्यक परेमा ९० प्रतिशतसम्म कर्जाको रूपमा निकाल्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप