बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको त्रास : नेपालसँगको सीमाक्षेत्रमा भारतको कडा निगरानी, युपीमा १२ जनामा संक्रमण

शनिबार, ०१ चैत २०७६, १८ : ०८
शनिबार, ०१ चैत २०७६

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस ( कोभिड–१९) को विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । नेपालमा ४ सय ५० जनाको नमूना परीक्षण गर्दा एकजनामा मात्रै संक्रमण देखिएको छ र ती व्यक्ति पनि उपचारपछि कोरोनामुक्त भइसकेका छन् । 

नेपालको छिमेकी भारतमा भने कोरोनाबाट ८३ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १० जनाको सफल उपचार भएको छ । त्यस्तै, दिल्ली र कर्नाटकमा एक–एक जना गरी दुईजनाको मृत्यु भएको छ भने बाँकी ७१ जना संक्रमित छन् । भारतमा पहिलोपटक ३० जनवरीमा केरालाका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध जुध्नका लागि एकजुट हुन सार्क सदस्य राष्ट्रलाई आह्वान गरिसकेका छन् । नेपाल, भुटान, श्रीलंका र माल्दिभ्सले मोदीको यो आह्वानमा समर्थन जनाएका छन् । नेपालसँग सीमा जोडिएका क्षेत्रबाट कोरोनाको संक्रमण फैलनसक्ने खतरा मध्यनजर गर्दै भारतले सीमा क्षेत्रमा विशेष योजनासहित कडा निगरानी गरिरहेको छ । 

तेस्रो मुलकका नागरिकलाई भारतबाट छिर्न नेपाल सरकारले पनि रोक लगाएको छ भने अन्य सतर्कता समेत अपनाइएकाे छ । नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर लामो खुला सीमाना छ, जहाँ झन्डै दुई दर्जन चेकप्वाइन्ट छन् । दैनिक हजारौंले सहज रुपमा सीमा वारपार गर्ने गरेका छन् । 


युपीमा महामारी 
नेपालसँग सीमा जोडिएका भारतीय राज्यमध्ये अहिलेसम्म उत्तर प्रदेशमा मात्रै कोरोनाको महामारी फैलिएको छ । भारतको सर्वाधिक जनसंख्या बसोबास गर्ने उत्तर प्रदेश राज्य (युपी) मा १२ जनामा संक्रमण भेटिएको पुष्टि भएको छ । त्यसमध्ये ११ जना भारतीय नागरिक हुन् भने अर्का एक विदेशी हुन् । उनीहरुमध्ये ५ जनाको उपचार भइसकेको छ । कोरोनाको संक्रमण फैलनसक्ने त्रासका कारण सीमा क्षेत्रमा नेशनल डिज्यास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) परिचालन गरिएको छ । 

बिहारमा उच्च सतर्कता 
बिहारका सबै सरकारी तथा निजी स्कुल, कलेज तथा सिनेमा हल, पार्क, चिडियाखाना, संग्राहालयलगायत सार्वजनिक स्थल ३१ मार्चसम्मका लागि बन्द भएका छन् । शुक्रबार मुख्यमन्त्री नीतिश कुमारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो । 

बिहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले उच्च स्तरीय बैठकमार्फत सरकारले लगातार कोरोनाले निम्त्याएको अवस्थाबारे समीक्षा गरिरहेको बताएका छन् । उनले नेपालसँग सीमा जोडिएका सबै जिल्लाका एयरपोर्ट तथा सार्वजनिक स्थलमा कडा निगरानी गरिएको जानकारी दिए । नेपालसँग सीमा जोडिएका मधुवनी, सितामढी, पूर्वी चम्पारण, पश्चिम चम्पारण, किसानगन्ज, अरारिया र सौपाल जिल्लामा बिहार राज्यले स्वास्थ्य विभागअन्तर्गतका एक–एकजना निर्देशक परिचालन गरेको छ । बिहार राज्यअन्तर्गत सबै ३८ जिल्लाका मेडिकल कलेज र अस्पतालमा ‘आइसोलेसन वार्ड’ छ । अहिलेसम्म शंकास्पद १ सय ४४ जनालाई आइसोलेसनमा राखिएको छ । 

यसमध्ये ७३ जनाले आफ्नो १४ दिने क्वारेन्टाइन अवधि पुरा गरिसकेका छन् र उनीहरुमा संक्रमण भेटिएको छैन । पटना, गया, दरभंगा र भागलपुरमा ४ जना वरिष्ठ विभागिय स्वास्थ्यकर्मीले त्यहाँ मेडिकल कलेज र अस्पतालमा अइसोलेसन वार्डको निगरानी गरिरहेका छन् । कोभिड–१९ प्रभावित देशबाट आएकाहरुलाई आफै आइसोलेसनमा बस्न सुझाव दिइएको छ । 

सिक्किममा आन्तरिक पर्यटकमाथि नै प्रतिबन्ध 
सिक्किम राज्यअन्तर्गत उत्तरी क्षेत्रका दुई स्थानीय निकाय सिक्किम लाचेन जुम्सा र लाचुङ जुम्साले भारतकै अन्य राज्यका नागरिकमाथि भ्रमण प्रतिबन्ध लगाएका छन् । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै यी गाउँमा अप्रिल १५ सम्मका लागि अन्य राज्यका पर्यटकलाई  रोक लगाइएको हो । कञ्चनजंगा हिमालको फेदीमा रहेको लाचेन सिक्किमको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक हो । अहिलेसम्म सिक्किम राज्यमा कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन । यसअघि गत सातामात्रै सिक्किम राज्यले विदेशीहरु पर्यटकमाथि प्रतिबन्ध लगाएको थियो । 

पश्चिम बंगालमा शैक्षिक संस्था बन्द
पश्चिम बंगाल र उत्तराखण्डमा पनि कोरोनाका संक्रमित भेटिएका छैनन् । तर संक्रमित फैलनसक्ने त्रासका कारण यी राज्यअन्तर्गत नेपालसँग सीमा जोडिएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ । पश्चिम बंगालमा सबै शैक्षिक संस्था ३१ मार्चसम्मका लागि बन्द भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप