शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकगायक बद्री पंगेनीको जीवन : ती प्रेमपत्र अझै सुरक्षित छन्

शनिबार, ०१ चैत २०७६, १२ : २०
शनिबार, ०१ चैत २०७६

चर्चित लोकदोहोरी गायक हुन्, बद्री पंगेनी । ५ दर्जनबढी गीत गाएका पंगेनीका ‘तानसेन कसौली’, ‘पीएन क्यापस’, ‘ब्युटी नम्वर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर लाउ’लगायतका धेरै चर्चित छन् ।

पंगेनी गायनमा सर्वत्र चिनिन सफल गीत भने ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो । यो गीतपछि उनले गायनमा पछाडि फर्केर हेर्नु परेन ।

पाल्पाको रामपुरमा जन्मिएका पंगेनीले २०५५ मा ‘तानसेन खस्यौली’ बोलको गीतबाट आधिकारिक गायन सुरु गरेका थिए । गायन संघर्षको समय ६ वर्ष दोहोरी साँझमा समेत काम गरेका पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान निवर्तमान अध्यक्षसमेत हुन् ।

प्रतिष्ठानका लागि जग्गा किन्नेदेखि घर निर्माण गर्नेसम्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

नेकपा निकटका पंगेनीले ‘सही पनि एमाले, मै पनि एमाले’बोलको चुनावी गीत समेत बनाएका थिए । लोक गीतसंगीतले लामो फड्को मार्दा पनि यसमा लाग्ने स्रष्टाहरुको आर्थिक अवस्था अझै सुध्रन नसकेकोमा चिन्तित पंगेनीका जीवनका पाटाहरु रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरिएको छ ।

लोकगायनमा २१ वर्ष

पंगेनी लोकगायनमा व्यवसायिक रुपमा लागेको नै २१ वर्ष भयो । लोकगीत सानैदेखि गाउने उनको पहिलो लोकदोहोरी एल्बम ‘तानसेन कसौली’ हो । जुन २०५५ मा बजारमा आएको थियो ।

त्यसपछि उनका ‘पिएन क्यापस’, ‘ब्युटी नम्बर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर  लाउ’ जस्ता लोकदोहोरी गीत आए ।

उनलाई सांगीतिक क्षेत्रमा सर्वत्र चिनाउने काम भने ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ बोलका लोकगीतले गरेको थियो । उनले अहिलेसम्म ५ दर्जनबढी गीत गाएका छन् ।

..जब आनन्द महसुश हुन्छ

भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय एयरपोर्ट, बारादेखि काठमाडौं आउँदा देखिने फष्टट्रयाक निर्माण लगायत हेर्दा उनी खुसी हुन्छन् रे ।

पोखराको लेखसाइड, तेह्रथुमको गुरासे हुँदै तिज्दुलेसम्म पुग्दा बनमा भेटिने फुलेको गुरास र त्यो गुरासको फुलमा रमाएका विदेशी पर्यटक उनको अर्काे खुसीको विषय हो । सबैभन्दा बढी खुसी उनी अन्य देशका मानिसले नेपाल राम्रो छ भनेर भन्दा महसुस गर्दछन् । ‘काठमाडौंबाट प्लेनमा पोखरासम्म जाँदा आफूभन्दा दाहिना बस्ने पर्यटकले नेपालका हिमश्रृंखला हेरेर जब चित्याउँछन्, त्यति बेला म झन् बढी खुसी हुन्छु । आनन्दित महसुस गर्छु’ उनी भन्छन् ।

सबैको सम्पत्ति राष्ट्रियकरण

उनको व्यक्तिगत सपना अहिलेसम्म केही छैन । आफ्नो देश विश्वकै सुन्दर देशमा परेको हेर्ने सपना छ । सबै नेपाली सुखी, खुसी र रोजगार भएको उनी देख्न चाहन्छन् ।

हत्याहिंसा, अन्याय, अत्याचार सबै समाप्त होस् । सभ्य नेपालीको रुपमा देशको परिचय अन्तर्राष्ट्रिय क्षेत्रमा बनोस् भन्ने उनको चाहना छ ।

अहिले युरोप, अमेरिकाको भिषा लगाउन दाँतबाट पसिना निकाल्नुपर्छ । ती देशले हामीलाई सजिलै भिषा दिएर उल्टै घुम्न आउँ भनेर निमन्त्रण गरोस् । त्यो सपना उनले देखेका छन् ।

‘हामी सबैको सम्पत्त राष्ट्रियकरण गरौं । त्यसलाई अत्यन्तै व्यवस्थित, वैज्ञानिक तरिकाले समायोजन, परिचालन गरेर नेपाल विश्वकै उदाहरणीय राष्ट्र बनाऔं,’ उनी भन्दै गए ‘राज्यले त्यो घोषणा गर्छभने सबैभन्दा पहिले म राष्ट्रको नाममा मेरो सम्पत्ति दिन तयार छु ।’

लोकगीत गाएर, नाचेर अहिले बाच्न पुग्ने अवस्था नरहेको बताउने उनी यो क्षेत्र पूर्ण व्यवसायिक र मर्यादित भएर कलाकार सक्षम भएको हेर्न चाँहन्छन् ।

त्यो प्रेमपत्र

प्रेमका पुजारी बद्रीले २०५८ मा कल्पनासँग प्रेम विवाह नै गरेका हुन् । उनको प्रेमको लामो किस्सा छ । त्यो मिडिया मार्फत धेरै पटक बाहिर आइसकेका छन् । कल्पना र उनी एउटै स्कुलमा पढ्थे । तर चिनजान भने थिएन । एकदिन उनको गाउँमा आफन्त पर्नेको घरमा कल्पना गएको रहिछन् ।

त्यतिबेला उनको गाउँमा भर्खर ट्याक्टर पुगेको थियो ।  त्यो ट्याक्टर हेर्न पूरै गाउँ उल्टिएका थिए । कल्पना पनि त्यही भिडमा थिइन् । कल्पनासँग उनको पहिलो पटक आँखा त्यही जुध्यो । त्यहाँ दुबैको हेराहेर मात्रै भएको थियो ।

चिनजान भने भोलिपल्ट स्कुलमा भयो । कल्पना त्यति बेला ५ कक्षामा पढ्थिन् । उनी ७ मा पढ्दै थिए । त्यही चिनजानमा हिमचिप बढ्यो । चिठी आदानप्रदान हरेक दिन हुन थाल्यो । यो क्रम धेरै समय चल्यो ।

‘प्रेम बढ्दै जाँदा कल्पनालाई भगाउने सुरसार गर्दै थिएँ म तर कल्पनाको आमाले साथ दिएको कारण विवाह गर्न सफल भयौं,’ उनले भने, ‘कल्पनाले त्यतिबेला पठाएको त्यो प्रेमपत्र (चिठ्ठी) अहिले पनि म सँग धेरै सुरक्षित छन् । 

क्रान्तिकारी गीत मनपर्छ

गाउने मात्र होइन उनी सुन्न पनि लोक गीतसंगीत नै बढी सुन्छन् । यो बाहेक उनको सेन्टिमेन्टल गीतमा पनि रुचि छ । उनलाई गायक प्रदीपराज पाण्डेले गाएको ‘म तिम्रो सहर छोडी टाढा टाढा..’, ‘लक्ष्मी बजगाईको ‘आँगो पिएर बाच्ने’, ‘थाहै थिएन दिल आँगोे बिना जल्दो रहेछ’, जीवन शर्मा, रामेश रायनका, मन्जुलका  क्रान्तिकारी गीत मनपर्छ । अहिलेका आधुनिक गायकमा हेमन्त शर्माका गीतहरु मन पराउछन् उनी । कारण खुलाए ‘हेमन्तको गीत लोकतिर ढल्किएको हुन्छ ।’

मनपर्ने लोकल कुकुराको मासु

उनको मनपर्ने खाना नेपाली दालभात, तरकारी र अचार हो । लोकल कुकुराको मासु उनको मनपर्ने आइटममा पर्छ । उनी कोरियन खाना पनि रुचाउँछन् । भारतीय परिकार उनलाई कहिल्यै मन परेन । बढी चिल्लो हुने भएकोले यो मन नपरेको उनी बताउँछन् । 

पकाउन उनको धेरै रुचि रहने गरेको छ । मासु, माछा, चाउचाउ लगायतका परिकार धेरै मिठो पकाउन सक्छन् ।

फिटनेस

फिटनेसका लागि उनी अहिले सामाखुसीको स्टार फुटसलमा नियमित खेल्छन् । कहिलेकाहिँ हल्का दौडिने पनि गर्दछन् । हिँड्न भन्दापनि उनी दौडन बढी रुचाउँछन् ।

मनपर्ने दौरासुरुवाल

उनको धेरै मनपर्ने पोशाक नेपाली दौरासुरुवाल हो । सुरुवालमा धार देखिने गरेर आइरन लगाएर लगाउन मन पराउँछन् ।

उनको मनपर्ने अन्य पोसाकमा सट पाइन्ट पनि पर्छ । दौरासुरुवाल पछि उनी धेरै प्रयोग गर्ने पहिरन सेतो सट र कालो पाइन्ट हो । पहिरनमा उनको मनपर्ने अर्काे रंग पहेँलो पनि पर्छ ।

पढ्न रुचाउँछन्

पहिले पहिले उनी धेरै अध्ययन गर्थे । गाडी होस् वा प्लेन लामो यात्राको समय अध्ययन गर्थे । अहिले व्यस्तताले अध्ययन कम हुन थालेको छ ।

नेपोलियन बोनार्पाट, चेगोइबार, होचिदिनो, आफ्नै देशका इतिहास लगायतका पुस्तक उनी पढ्न रुचाउँछन् । अध्ययन गर्न मन नलागेको समय उनी भ्वाइस ओभर गरिएका कृतिहरु सुन्छन् ।

उनले पछिल्लो समय अध्ययन गरेको पुस्तक सहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ हो । त्यसपछि उनले साहित्यकार अमर न्यौपानेको पछिल्लो पुस्तक समेत पढेका छन् ।

समाज परिवर्तनका लागि गरिएका कुरा, बहादुरीका कथा, स्वाधीनताका कुरा, अन्याय अत्याचारको विरुद्ध लडेका कुरा आदि समेटिएको पुस्तक अध्ययन गर्न उनी धेरै रुचाउँछन् ।

पेसा नै घुम्नैपर्ने

पेसा नै उनको घुमघाम गर्नु पर्नेछ । कामको सिलसिलामा उनी विश्वका धेरै ठाउँ पुगेका छन् । विश्वको कुनै देश घुमौ जस्तो अहिले पनि उनलाई लाग्दैन । बरु घुम्न उनलाई आफ्नै देशको ग्रामिण भेग मनपर्छ । हाम्रो देशको हरेक ठाउँ फरक फरक कलासंस्कृति र प्राकृतिक सौन्दर्यले भरिएको छ । ती ठाउँ घुम्दाजस्तो आनन्द उनी अन्य कुनै देशमा देख्दैनन् ।

संसारमा फरक केही छ भने त्यो नेपाल हो । नेपालको दुई दुई किलोमिटरमा भाषा, शैली र भूभाग फरक रहेको उनको बुझाइ रहेको छ ।

एउटै मोवाइल ७ वर्ष

सामसुम ब्राण्डको एउटा मोबाइल छ, अहिले उनीसँग । एउटै मोवाइल धेरै वर्षसम्म पनि बोक्छन् उनी । उनका केही साथीहरु धेरै मोबाइल फेर्ने गर्दछन् । उनले भने एउटै बोकेको ७ वर्ष भयो । उनको सामाजिक संजाल चलाउनेदेखि, लेख्ने, फोन गर्ने सम्मका धेरै काम मोबाइलबाट हुने गरेको छ । त्यसैले पनि उनी ‘हरेक समयको मेरो साथी मोबाइल’ भन्छन् ।

क्रिकेटका फ्यान 

पहिले उनी नियमित फुटबल खेल्थे । अहिले भने उनी क्रिकेटका फ्यान हुन् । आफूलाई मनपर्ने क्रिकेट म्याच छ भने उनी सांगीतिक कार्यक्रम छोडेर पनि क्रिकेट हेर्ने गर्छन् ।

धेरै टिभी हेर्ने

टिभी हेर्न मनपर्ने उनी बताउँछन् ।  टिभीमा उनी क्रिकेट धेरै हेर्ने गर्दछन् । कहिलेकाहिँ सांगीतिक कार्यक्रम, हाँस्यश्रृखलाहरु र अन्तर्वार्ताहरु समेत हेर्ने गर्दछन् ।

हिन्दी रुचाउँदैनन्

उनी चलचित्र धेरै हेर्ने गर्छन् । त्यो पनि प्रायः उनी हलमै हेर्न पुग्छन् ।

उनले पछिल्लो समय हेरेको फिल्म ‘बुलबुल’ हो । त्यस अगाडि उनले ‘पशुपति प्रसाद’, ‘टलकजंग भर्सेस् टुल्के’ पनि हो । अहिले उनलाई ‘आमा’ र ‘सेन्टी भाइरस’ हेर्ने इच्छा छ । हिन्दी फिल्म भने उनी त्यति रुचाउँदैनन् ।

दुःख अथाह छ

उनको बुझाइमा दुःख अथाह छ । दुःख पहिचान गर्दै बस्ने हो भने जीवन नचल्ने उनी बताउँछन् । मानिसले नियतबस गाइने, लोके भनेर अपमान गर्दा धेरै दुःख लाग्ने उनी बताउँछन् । यो कुरो उनी कहिलै सहन पनि सक्दैनन् । 

मापसे छोएको छैन

आजको दिनसम्म मापसे नगरेको उनी बताउँछन् ।  तर, साथीभाईले मापसे गरेको ठाउँमा उनी मध्य रातसम्म पनि बसिदिन सक्छन् । 

धेरै भूल

अहिलेसम्मको जीवन यात्रामा धेरै भूल गरेको उनी ठान्दछन् । भुलबाट सिक्न सकिने बताउने उनी कहिलेकाहिँ भने छिट्टै रिसाउँछन् ।

‘प्रतिवाद नगर्नु पर्ने कुरामा, नबोल्नु पर्ने कुरामा, रिसाउन नपर्ने कुरामा मेरो चासो रहन्छ । पछुताउनु पर्ने मेरो भुल यही हो’ उनले भने । मनमा लागेको कुरा फ्याट बोल्ने बानी आफ्नो लागि भूल हो भन्ने उनी ठान्दछन् ।

रोग केही छैन

अहिले त्यस्तो ठूलो रोग केही छैन उनलाई । कहिलेकाहिँ सामान्य रुघाखोकी बेग्लै कुरो हो । त्यसैले पनि सामान्य रुघाखोकीमा उनी सकेसम्म औषधी लिँदैनन् । केही अगाडि उनलाई डेङ्गु भएको थियो । त्यो अहिले निको भयो ।

राशिमा विश्वास छैन

राशि उनको वृष हो । तर ग्रहदशामा विश्वास नरहेको उनी बताउँछन् । 

मृत्यु सत्य हो

मृत्युलाई ध्रुवसत्य मान्दछन् उनी । उनी भन्छन्, ‘ मृत्यु ध्रुवसत्य हो । एकदिन सबैले मर्नैपर्छ, यसलाई स्वाभाविक लिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप