शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावको समयमा बनेका दुवै गठबन्धन निष्क्रिय : नेताहरु भन्छन् अहिले कुनै इस्यु नै छैनन्

शनिबार, ०१ चैत २०७६, ११ : ४४
शनिबार, ०१ चैत २०७६

काठमाडौँ । राष्ट्रिय सभा चुनावको समय दुईवटा गठबन्धन बनेका थिए । समाजवादी पार्टी र काँग्रेसको एउटा गठबन्धन अनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अर्को गठबन्धन बनेको थियो ।

अहिले दुईवटै गठबन्धन निष्क्रिय भएका छन् । राष्ट्रिय सभा चुनावका लागि गठबन्धन बने पनि अगामी दिनमा त्यसलाई निरन्तरता दिने सहमति गरेका थिए । तर हालसम्म ती गठबन्धनका बीचमा कुनै गतिविधि भएका छैनन् । नेकपा र राजपाबीच पुस २ गते दुई बुँदे सहमति भएको थियो । त्यसको दोस्रो बुँदामा हामी दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित रूपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने उल्लेख गरिएको छ ।

सहमति भएको तीन महिना भइसकेको छ । तर हालसम्म गठबन्धनमा कुनै छलफल भएको छैन । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले चुनावका लागि गठबन्धन बनेपछि त्यसलाई निरन्तरता दिने सहमति भएको थियो तर हालसम्म गठबन्धनका बीचमा कुनै छलफल नभएको बताए ।

दुवै दलका नेताहरु आआफ्नो पार्टीमा व्यस्त भएका कारण बैठक हुन नसकेको बताउँदै उनले हाल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अस्पतालमा उपचाररत छन्, त्यही भएर गठबन्धनको कुरा अगाडि नबढेको यादवले बताए । उहाँले भन्नुभयो, गठबन्धनलाई कसरी अगाडि बढाउने त्यसबारेमा पार्टीमा पनि छलफल चलिरहेका छ, चाँडै नै केही न केही कुरा आउँछ ।’

यता प्रतिपक्षको भूमिकामा रहेका काँग्रेस र समाजवादी पार्टीको गठबन्धन पनि निष्क्रिय छ । पुस १९ गते यी दुई दलको बीचमा गठबन्धन बनेको थियो । एक बुँदे लिखित सहमति भए पनि अगामी दिनमा दुवै दलले गठबन्धनलाई निरन्तरता दिने मौखिक सहमति गरेको थियो । तर हालसम्म दुई दलको बीचमा कुनै संवाद नभएको काँग्रेसका उपसभापति विमेलेन्द्र निधिले बताए ।

चुनावका लागि गठबन्धन बनेको थियो । चुनाव सकेपछि दुई दलको बीचमा कुनै संवाद नभएको उनले बताए । अगामी दिनमा दुई दलबीच सहकार्य गरेर अगाडि बढ्ने एक प्रकारको सहमति भएको थियो तर हालसम्म कुनै वार्ता संवाद नभएको उनले बताए । उनले भने, अहिले कुनै इस्यु पनि छैन । इस्युका लागि गठबन्धन बन्ने हो । कुनै इस्यु आउने वित्तिकै हामी छलफल गरेर अगाडि बढ्छौँ ।’

प्रदेश २ मा राष्ट्रिय सभाको निर्वाचनका लागि यी दुवै गठबन्धन बनेका थिए । समाजवादी पार्टीले नेकपासँग गठबन्धन गर्न चाहेको थियो । तर बीचमै अचानक राजपा नेपालले गठबन्धन गरेपछि समाजवादी पार्टी बाध्य भएर काँग्रेससँग गठबन्धन गरेको थियो ।

त्यसअघि राष्ट्रिय सभाका लागि समाजवादी, राजपा र काँग्रेस बीचमा गठबन्धन बनेको थियो । पछिल्लो चुनावमा पनि यही गठबन्धनलाई निरन्तरता दिने कुराकानी पनि चलिरहेको थियो । तर काँग्रेससँग गठबन्धन गरेको भए राजपा नेपाल बचाएको आफ्नो दुईवटा सिट बचाउन सक्दैनथे । त्यही आफ्ना दुईवटा सिट बचाउन समाजवादी पार्टीले पनि सुटुक्क नेकपासँग गठबन्धन बनाउने तयारीमा थियो तर राजपा नेपाल एक कदम अगाडि बढेर नेकपासँग गठबन्धन बनाएको थियो ।

गठबन्धनलाई निरन्तरता दिन नेकपाले राजपा नेपाललाई केन्द्रीय सरकारमा सहभागिताका लागि भनिरहेको स्रोतले जनाएको छ । तर राजपा नेपालले आफूहरुको माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने भन्दै आइरहेको छ । राजपा नेपालकै कारण हालसम्म उपसभामुखको पनि टुङ्गो लागेको छैन । राजपा नेपालले उपसभामुख लिने भनिसकेको छ तर नेकपाले उपसभामुखका साथै अन्य मुद्दाको विषयमा पनि प्याकेजमै सहमति गरौँ भनेका कारण केही ढिलाइ भएको बताइन्छ ।

सरकारमा जाने कि नजाने, उपसभामुख लिने कि नलिने विषयमा राजपा नेपालले कुनै निर्णय गर्न सकेको छैन । सरकारमा जाने विषयलाई लिएर राजपा नेपालमा आन्तरिक विवाद देखिएको छ । केही नेताहरुले सरकारमा जानुपर्ने तर्क अघि सारेका छन् भने केही नेताले माग पूरा नभएसम्म सरकारमा नजाने तर्क अघि सारेका छन् । तर पार्टीभित्र हालसम्म कुनै सहमति बनेको छैन ।

यता समाजवादी पार्टी तीन महिनो विसु अभियानमा व्यस्त छ । त्यो व्यस्तताका कारण यता कुनै गतिविधि गर्न पाएको छैन । संसदमा प्रतिपक्षीको भूमिका भए पनि आफ्नो भूमिका पनि देखाउन सकेको छैन । काँग्रेस पनि पार्टीको आन्तरिक मामलामा फँसेको छ । त्यसले गर्दा अरू विषयमा कुनै गतिविधि गर्न पाएको छैन ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप