केन्द्रीय संस्करण

व्यङ्ग्य : नेपालीको खाने बानी

person explore access_timeचैत १, २०७६ chat_bubble_outline0

नेपाली भाषाका क्रिया ‘खानु’ लाई मैले जागिर सुरु नगर्दासम्म त्यति ध्यान दिएको थिएन  । तर जब आईएससी पास गरेर एउटा चुरोट बेच्ने कार्यालयमा मैले अस्थायी कर्मचारीको रूपमा काम सुरु गरेँ  । मलाई यो शब्दले एक पटक अर्थ सोच्न बाध्य बनायो  । मैले कार्यालयमा सहायक बजार व्यवस्थापनको पदमा दिन गन्ती रूपमा काम गर्थें  । बजार व्यवस्थापन विभागको हाकिम एक जना भारतीय थिए, निकै रमाइला भर्खरका केटा । मैले दिन गन्तीका रूपमा मात्रै काम गरेकाले मैले उसलाई हाकिमको जस्तो व्यवहार गर्दैनथेँ  ।

त्यसमाथि भारतीय भएकाले मैले उसलाई आदर गर्नुभन्दा पनि हेपेर बोल्ने गर्थें  । तर उसले त्यसमा दुःख मानेजस्तो देखिँदैनथ्यो बरु त्यसैमा उसले भारतीयहरुलाई नै होच्याएर ठट्टा गथ्र्याे  । त्यसैले मेरो ऊसँग कुरा मिल्दै जान थाल्यो  । छोटो समयमै हामी साथी बन्यौं  । केही समय काम गर्दै जाँदा पछि अफिसमा म उसको सबभन्दा मिल्ने साथी भएको थिएँ  । सँगै काम गर्नुका साथै हामी चियानास्ता पनि सँगै गर्न र मनका सबै कुरा गर्न थालेका थियौँ  ।

एक दिन मैले उसलाई हिन्दीमै भने, ‘चाय खान चलो’ भने  ।

मेरो हिन्दी राम्रो थिएन  । हिन्दी सिनेमाहरु हेरेर केही हिन्दी बुझ्न सक्ने भएको भए पनि बोल्ने अभ्यास थिएन  । त्यसैले मैले आफ्नो हिन्दी सुधार्न भए पनि म ऊसँग हिन्दी बोल्ने प्रयास गर्थें  । तर उसलाई नेपाली राम्रोसँग बोल्न आउँथ्यो र प्रायः उसले नेपालीमै कुरा गथ्र्याे  ।

तर मैले हिन्दीमा ‘चिया खान जाऊँ’ भनेको सुन्दा उसलाई अलि अनौठो लागेछ  । उसले भन्यो, ‘नेपालीमा त ठीकै छ तर हिन्दी बोल्दा ‘चाय खाने’ भनिदैन, पिउने भनिन्छ  ।’ उसको लवजमा मलाई अशुद्ध हिन्दी बोलेकोमा गिज्याउने भन्दा पनि मलाई सुझाव दिएको भाव थियो  ।

हो त म ले त यादै गरेको थिएन  । चिया त पिउनु नै हुन्छ  । तर नेपालीमा पनि शुध्द बोल्ने हो भने पिउने नै भनिन्छ तर नेपाली भाषामा ‘खाने’ शब्द यति प्रचलित भइसक्यो कि पानी पिउने भनेर कसैले भन्यो भने त्यो निकै औपचारिक सुनिन्छ  । पानी व्यवस्थापन गर्ने नेपालको सरकारी कार्यालयको नाम नै पिउने पानी संस्थान छैन, खानेपानी संस्थान छ  ।

तर त्यो दिन ‘खाने’ र ‘पिउने’ कुरा त्यत्तिकैमा ट¥यो  । मैले हिन्दीमा कुरा गर्दा ऊसँग चिया अथवा पानीलाई पिउने भन्ने थालेँ तर नेपालीमा कुरा गर्दा चाहिँ ‘खाने’ नै भन्थेँ  ।

चुरोट कम्पनीमा काम गर्ने भएकोले दुई चार खिल्ली चुरोटको लागि पैसा तिर्नु पर्दैनथ्यो  । त्यसैले कहिलेकाहीँ मैले जिस्केर एक दुई खिल्ली चुरोट पनि तान्थेँ  । ऊ चाहिँ अम्मली नै भइसकेको थियो  । अफिसमा चुरोट नखाएर हामी बाहिर गएर चुरोट तान्थ्यौँ  । मैले उसलाई एक दिन फेरि हिन्दीमा ‘चलो बाहर जा के चुरोट खा के आ ते है’ भने  । तर फेरि त्यही ‘खाने’ कहानी दोहोरियो  । हिन्दीमा चुरोट पनि खाने हुँदो रहेनछ । उसले फेरि मेरो हिन्दी सच्याइदियो ।

त्यो घटनापछि चाहिँ म सोच्न बाध्य भएँ– आखिर नेपालीमा किन ‘खाने’ क्रियाको प्रचलन यति धेरै रहेछ । के के कुरामा खाने क्रिया प्रयोग हुँदो रहेछ त भनेर मैले केलाउने थालेँ । केहीबेर सोचेपछि मेरो दिमागको बत्ती जल्यो– मुख प्रयोग हुने कुराहरुमा सबै ‘खानु’ क्रिया प्रयोग हुने रहेछ– जस्तै चुरोट पनि खाने, पानी पनि खाने, चिया पनि खाने । त्यति मात्रै हैन म्वाई पनि खाने– किनभने म्वाई खाँदा पनि मुखै प्रयोग हुन्छ ।

क्या गजबको कुरा पत्ता लगाएँछु भनेर म आफैमा मख्ख परेँ ।

अर्काे दिन अफिसको गाडी लिएर म डिलरकहाँ चुरोट पु¥याउन निस्कन लागेको थिएँ । चालक गाडीमा सामान राखेर मलाई बाहिर पर्खिरहेको थियो । उसको मुड त्यति ठीक देखिँदैनथ्यो । ‘के भयो ?’ गाडीमा चढ्दै मैले उसलाई सोधेँ ।

‘हिजो नसोधेर घरको कामका लागि एकछिन गाडी लिएर घर गा’थेँ, बिहान बिहान हाकिम सा’बको गाली खाइयो नि बेकारमा,’ उसले मुख बिगार्दै उत्तर दियो ।

उसले प्रयोग गरेको ‘खाने’ शब्दले मलाई फेरि झस्कायो– गाली पनि खाने कुरो हो त भनेर । तर तुरुन्तै मेरो दिमागमा मुखको कुरो याद आइहाल्यो– गाली गर्ने कुरामा पनि आखिर मुख नै त प्रयोग हुन्छ । त्यसैले गालीलाई पनि खाने भन्नुमा कुनै गलत थिएन, मेरो तर्क अझै पनि जीवित नै थियो ।

साँझ घर पुग्दा भान्जो रिसाएर फुलिएको थियो । त्यतिबेला म दिदीको घरमा बस्थेँ । भान्जा त्यति बेला नर्सरीमा पढ्थ्यो । म घर पुगेको देखेर मलाई अँगालो हालेर ऊ रुन थाल्यो ।

मैले उसलाई अलि बढी नै माया गर्थें । त्यसै पनि आफ्ना सन्तान नहुँदासम्म सबभन्दा माया पाउने भनेकै भान्जाभान्जीले नै हो । मैले धेरै माया गर्ने भएकाले ऊ दिदी भिनाजुसँग भन्दा पनि मसँग अलि बढी नजिक थियो ।

‘के भो ?’ मैले उसको गाला मुसार्दै काखामा लिएर सोधेँ ।

केही नभनी आफ्नी आमालाई औँलाले देखाउँदै ऊ झन् ठूलो स्वरले रुन थाल्यो । मैले दिदी तर्फ हेरेँ । मैले दिदीलाई सोध्न नपाउँदै दिदीले भनी, ‘के हुनु ? होमवर्क गर भन्दा मानेन, अनि मेरो पिटाइ खायो ।’

दिदीलाई गाली गरेजस्तो गर्दै मैले भान्जालाई फुल्याउनतिर लागेँ तर दिदीको ‘पिटाए खायो’ भन्ने वाक्यले फेरि मलाई झस्कायो । मैले मुखसँग मात्रै सम्बन्धित बनाएको ‘खाने’ शब्द यो पिटाइमा कसरी पुग्यो भनेर मैले जति दिमाग खियाए पनि पत्ता लगाउन सकेन ।

दिदीको गालीले ‘खाने’ कुरा मुखसँग मात्रै जोडिएको हुन्छ भन्ने मेरो स्वतर्क राम्रैसँग पछारियो । त्यसपछि त मलाई यो ‘खाने’ शब्दले निकै सतायो । आखिर केके कुरालाई नेपालीमा खाने भन्ने रहेछन् त भन्ने बारेमा मैले सोधखोज नै गर्न थालेँ । त्यसपछि त के कुरा, खाने शब्द प्रयोग हुने कुराहरु कति निस्के कति ।

चिया र चुरोट खाने, गाली र पिटाइ खाने कुरो त सामान्य रहेछ । मन्त्रीहरुले पदभार गर्दा झुटो शपथ खाने अनि पदभार ग्रहण गरेपछि घुस खाने, जनताको देश विकासको आशाले हावा खाने, प्रेमी प्रेमिकाहरुले झुटो कसम खाने अनि केही समयपछि प्रेममा धोका खाने, कतिपय कर्मचारीले कामै नगरी सरकारको तलब खाने, जनप्रतिनिधिले पिर्कामा उभिएर सलाम खाने, जताततै खाने मात्रै रहेछ ।

त्यही बेलादेखि मैले थाहा पाएँ कि नेपालका सबैले खान नै मन पराउने रहेछन् । त्यसैले त यो ‘खाने’ शब्दलाई यति प्रचलित बनाएका रहेछन् । चुरोट खाने, पानी खाने, रक्सी खाने, म्वाई खाने, गाली खाने, पिटाइ खाने, कुरो खाने, सलाम खानेसम्म त ठीकै थियो तर घुस खाने बानीले चाहिँ देश नै डुबाउन थालिसक्यो । अब यही खाने बानीको दायरा झन् पछि झन् फराकिलो हुँदै जाँदा देश सम्हाल्न बसेकाहरुले कुनै दिन देश नै खालान् कि भन्ने पनि डर लाग्न थालिसक्यो ।

-डा. राजु अधिकारी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.