शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामचन्द्र र आरजुका ‘असहयोगी’ लाई ठेगान लगाउँदै काँग्रेस

शुक्रबार, ३० फागुन २०७६, १६ : १२
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसमा अनुशासनको कारबाहीलाई लिएर विवाद चर्किएको छ । पार्टीको अनुसाशन समितिले गएको आम निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गरी यतिबेला ४ जनामाथि कारबाहीको डण्डा बर्साउने तयारी थालेपछि विवाद सुरु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले डडेलधुरा र कैलालीका केही नेतालाई ‘साइड’ लगाउन खोजेको देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका नेही नेतालाई ।

यता, कुष्णप्रसाद सिटौला पक्ष भने पार्टी विषम परिस्थितिमा रहेका बेला अनुशासन कारबाहीको नाममा कार्यकर्तामाथि डण्डा वर्षाउन नहुने पक्षमा छ ।

तर केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे संयोजक गरेको अनुशासन समितिले एक–दुई दिनभित्रै पूर्वमन्त्रीसमेत रहेका केही नेताहरुलाई  कारबाही गर्ने तयारी थालेको छ । आङ्दम्बे नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर, उमाकान्त चौधरी र धनराज गुरुङ रहेको छन् ।

समितिका सदस्य गुरुङले कारबाहीका लागि प्रमाण पुगेका कसैलाई नछोडिने बताए । उनले भने, ‘अनुशासन समितिले १–२ दिनमै निर्णय लिन्छ । प्रमाण पुगेका सबैमाथि कारकाही गरिन्छ ।’

कारबाहीको लिस्टमा पार्टीका पूर्वसह–महामन्त्री तनहुँ गृह जिल्ला भएका गोविन्दराज जोशी, कैलालीका पुराना नेता पुष्कर ओझा, बाँके जिल्ला संगठन विभाग प्रमुख महेन्द्र मल्ल (ठकुरी), डडेलधुराका काँग्रेस कार्यालय सचिव रामबहादुर विष्टलगायतलाई राखिएको छ ।

समितिको केही दिन अघि बसेको बैठकले उनीहरुसँग दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । स्पष्टीकारण चित्त बुझ्दो नभएको भन्दै उनीहरुमाथि कारबाहीको तयारी थालिएको बुझिएको छ । समितिले थप ३ सय ५२ जनाको जवाफ पनि अध्ययन गरिरहेको छ ।

कारवाही गर्ने विषयमा मत–मतान्तर देखिँदा सिटौलानिकट चौधरीले जिम्मेवारीबाट बाहिरिने मनसाय देखाएका छन् । उनले बिहीबार सिटौलालाई भेटेर यसबारे जानकारी गराएका थिए । तर सिटौलाले जिम्मेवारीबाट बाहिरिने कुरा नगर्न सुझाएका थिए ।

सिटौला पक्ष कारबाहीको विपक्षमा देखिने संकेत पाएपछि वरिष्ठ नेता पौडेल जोशीबाहेकका नेतामाथि गरिन लागेको कारबाहीको विपक्षीमा उभिएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी जोशीसँग जोडर अन्य कार्यकर्तामाथि कारबाहीको नाटक मञ्चन गरिएको जिकिर गरे ।

‘स्वयम् वागी उम्मेदवार बनेर खुलेआम अन्र्तघात गर्ने व्यक्ति र आफूलाई मनपरेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई

सँगै जोडेर कारवाहीको नाटक जो मञ्चन गरिएको छ । यो घृणित षडयन्त्र हो,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७४ को संघीय संसद्को निर्वाचनमा पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीको उम्मेदवारी रद्द भयो । उनले अन्यमाथि हुने कारबाही आफूलाई मान्य नहुने भन्दै यसविरुद्ध लडाईँ जारी रहेको पनि बताए ।

उनले भने, ‘षडयन्त्र र अनेक विकृत उपाय अवलम्वन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाईं जारी छ । नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको छ । मलाई यो सैह्य छैन ।’

जोशीलाई ठेगान लगाउन पौडेलको जोडबल

तर पौडेलले जोशीमाथि भने जसरी पनि कारबाही हुनपर्ने अड्डी कस्दै आएका छन् । पौडेलले गत २२ असारको केन्द्रीय समिति बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका छलफलको एजेण्डा बनाउन माग गर्दै बैठक बहिस्कारको नीति लिएका थिए । तर तनहुँमा जोशीको अगुवाइमा बनेको समानान्तर काँग्रेसको संगठनका विषयमा छानबिनको एजेन्डा पेस भएपछि उनी बैठकमा सहभागी भए ।

जिल्लामा पौडेलको पेलानमा परेको भन्दै जोशीकै अगुवाइमा डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर जिल्ला समिति नै गठन गरिएको थियो । पार्टीले त्यसलाई खारेज गरिसकेको छ ।

तनुहुँमा पौडेल र जोशीको टकराव रहेको छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा जोशीले टिकट पाएपछि पौडेलविरुद्ध निर्वाचन क्षेत्र नं. १ बाटै स्वतन्त्र रुपमा मैदानमा उत्रिएका थिए । तर, पौडेलकै उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज ग¥यो । त्यसपछि जोशी ‘माउ मात्र होइन चल्ला पनि हराउँछु’ भनेर खुलेआम लागे । फलस्वरुप तनहुँमा काँग्रेसले सबै क्षेत्र गुमाउन पुग्यो ।

त्यही भएर आफूले चनावमा बेहोरेको हारको बदला लिन पौडेलले जोशीको कारबाहीमा जोड गरिरहेका छन् । यसअघि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका, बागीका प्रस्तावक तथा समर्थक बनेकाहरु गरी २ सय ९८ जनालाई पाँच वर्षका लागि बर्खास्त गरिसकेको छ । तर आफ्नो उम्मेदवारी खारेज भइसकेकाले बागी उम्मेदवार नरहेको जोशीको ठहर छ ।

आरजुको कैलाली ‘इन्ट्री’मा चलखेल गर्दा ओझा संकटमा

कुनै समय पुष्कर ओझा सुदूरपश्चिमबाट देउवापछि कै नेताका रुपमा गनिन्थे । उनलाई कोइराला परिवारको राम्रै ओत थियो । देउवाले पार्टी फुटाएर जाँदा सुदूरपश्चिमका अधिकांश नेता उनका साथमा थिए । तर ओझाले कोइराला परिवारको साथ छोडनन् । तर, केही वर्षयता देउवासँग ओझाको सम्बन्ध राम्रो बनेको थियो ।

०७० मा भएको संविधान सभाको चुनावमा डडेलधुरा र कैलाली–५ बाट विजयी भएका देउवाले कैलाली छोडे । पछि उवनिर्वाचनमा उनले ओझालाई अगाडि सारेका थिए । उनी विजयी पनि भए । तर ०७४ को चुनावमा उक्त क्षेत्रमा आफ्नी पत्नी आरजु राणालाई अगाडि सारेपछि ओझा त्यसको विरोधमा देखिए ।

राणाको उम्मेदवारीविरुद्ध युवा नेता क्षितिज भण्डारीले त बागी उम्मेदवारी नै दिएका थिए । तर वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको आग्रहमा उनले उनले उम्मेदवारी फिर्ता लिएका थिए ।

यसका बावजुद उनीहरुले राणाविरुद्ध भित्रिरुपमा ‘टुरिस्ट भगाउ अभियान’ सञ्चालन गरे । अन्ततः ०७० को चुनावमा देशभरीकै बढी मतान्तरमा देउवाले जितेको ठाउँमा राणा पराजित हुन पुगिन् । देउवाले सबैभन्दा सुरक्षित ठानेको ठाउँबाट पनि उनी पराजित भएपछि पार्टी नगरसभापति नृप वड, क्षेत्रीय सभापति हरीश खड्का, वडा सभापति दिपेन्द्र बहादुर सिंहको सिफारिसमा कैलाली– ५ का ओझासहित काँग्रेस कैलालीका सचिव पूर्ण कुँवर, महासमिति सदस्य आनन्दराज जोशी, धनगढी वडा नम्बर ७ का पार्टी सभापति देव सेठीसहित ७४ जनालाई स्पष्टिकरण सोधिएको थियो । तर प्रमाण नपुगेपछि कारबाही रोकिएको थियो ।

गत भदौमा वरिष्ठ नेता पौडेल प्रमुख अथिति रहेको कैलालीको एक कार्यक्रमा आफूहरुको इच्छाविपरित राणालाई उम्मेदवार बनाएको भन्दै हराएको ओझाले बताएका थिए । यस्तै केही समयअति शेखर कोइराला प्रमुख अथिति रहेको कार्यक्रमा ओझाले ‘लोकतन्त्रमा कसलाई भोट दिने, कसलाई भोट नदिने मेरो अधिकार हो’ भनेका थिए । अहिले त्यही अभिव्यक्तिलाई प्रमाण बनाएर ओझामाथि कारबाही गर्न लागिएको छ ।

एक हप्ताअघि कैलाली गएको बेला देउवा आफैले स्पष्टीकारण पत्र लिएर ओझाको राय बुझेका थिए । उनले देउवासमक्ष पनि पुरानै कुरा दोहोर्याएको स्रोत बताउँछ ।

कार्यालय सचिव विष्टमाथि कारबाही

गत असार तेस्रो साता डडेलधुराको महिला संघको जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालिन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । आरजु राणाकै डिजाइनमा नेपाल महिला संघ अध्यक्ष उमा रेग्मीले बोहोराको नेतृत्वमा तदर्थ समिति गठन गरिएको पत्र जिल्लामा पठाइन् ।

त्यसको केही दिनमा बोहराको संयोजकत्व पार्टी कार्यालय डडेल्धुरामा मासिक बैठक बस्न महिला संघका महिला पार्टी कार्यालय पुगे । तर, कार्यालय सचिव रामबहादुर विष्टले कार्यालयको चावी नदिएपछि उनीहरुले ताला तोडेरै बैठक गर्ने प्रयास गरे । कार्यालय सचिव र महिला संघका नेतृबीच झडप नै भयो । कार्यालय सचिव विष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए ।

उक्त घटना जिल्ला सभापति कर्ण मल्लको डिजाइनमा भएको महिला संघकी नेतृहरुले राणालाई बिफ्रिङ गरे । विष्ट सभापति मल्लका स्वकीय सचिव भएकाले विवाद केही दिन चर्कियो । महिला संघका नेतृहरु उजुरी लिएर प्रहरी कहाँ पुगे । पछि यो विषय त्यतिकै सेलायो ।

तर, अहिले पार्टीको अनुशासन समिति विष्टमाथि कारबाहीको डण्डा वर्साउने तयारीमा छ । राणाले त जिल्ला सभापतिमाथि नै कारबाही गर्न जोड दिएकी थिइन् । तर सभापति देउवाले उनीमाथि सदासयता देखाएका छन् ।

गत निर्वाचनमा पनि मल्ललाई टिकट नदिन ठूलो चलखेल भएको थियो । तर देउवाले अन्तिम घडीमा मल्ललाई प्रदेशसभाको टिकट थमाएका थिए । जिल्लामा मल्लसँग कार्यकर्ताको ठूलो पंक्ति छ । गत जिल्ला अधिवेशनमा राणालगायतले जिल्ला सभापतिमा रोक्न साम, दाम, दण्डभेदको नीति पनि उनी निर्वाचित भएका थिए ।

कुनै बेला देउवाको सचिवालयमा बसेर काम गरेका मल्ललाई जिल्ला सभापति हुन नदिन भरमग्दुर प्रयास भएको थियो । उनको विकल्पका रूपमा देउवा दम्पतीले रघुराज भट्टलाई अघि सारेका थिए । तर उनी पराजित भए । अहिले डडेलधुरा जिल्ला कार्य समितिमा देउवा पक्ष नै अल्पमतमा छ ।

मल्ललाई कारबाही गर्दा कार्यकता भड्किने भयले डडेलधुराबाट चुनाव लड्दै आएका देउवाले मल्लमाथि कारबाही रोकेको स्थानीय काँग्रेस नेता बताउँछन् । त्यसैले उनीसँग पहिलो चरणमा स्पष्टीकारण सोधिएपनि दोस्रो पटक सोधिएको छैन ।

जिल्ला संगठन प्रमुखमाथि पनि कारवाही

नेपाली काँग्रेस बाँकेका नेता तथा संगठन विभाग प्रमुखले महेन्द्र मल्ल (ठकुरी)लाई पनि कारबाहीको तयारी छ । बाँके निर्वाचन क्षेत्र न ३ मा प्रतिनिधिसभाका लागि सिफारिस भएका उनले टिकट नपाएपछि पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप छ । उनीसँगै नेताहरु रामचन्द्र मौर्य, छब्बन खाँलगायतलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

जिल्लाको संगठन विभाग प्रमुख रहेकाले उनलाई बढी केरकार गरिएको थियो । तर उनले पार्टी आचारसंहिता विपरीत स्पष्टीकारण दिएपछि कारबाहीको गरिन लागेको बुझिएको छ ।

०७१ सालमा पनि मल्ललाई पार्टी नियमावली २०६८ को नियम ४४(१)(ङ) वमोजिम पार्टी सदस्यतावाट एक वर्षसम्मका लागि निष्काशन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप