बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमाले वरिष्ठ नेता नेपाललाई २४ घण्टे स्पष्टीकरण माग

मङ्गलबार, १३ भदौ २०७४, १९ : ०८
मङ्गलबार, १३ भदौ २०७४

काठमाडौं– निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालाई २४ घण्टे स्पष्टिकरण दिन निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संग्लन भएको भन्दै नेपालसँग २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जनाएका छन् ।

असोज २ गते प्रदेश नम्बर २ अन्र्तगत तराईका ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा बीरगञ्जमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको उजुरीपछि आयोगले यस्तो निर्णय गरेको हो । आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

आयोगको निर्णयमा भनिएको छ– ‘‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा (एमाले) लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’’

यस्तै, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । आयोगले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ मा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहको नेतृत्वमा करिब १०० वटा मोटरसाइकलमा झण्डै २ सयको संख्याले पार्टीको प्रचारप्रसार ¥याली निकालेको भन्दै सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको प्रवक्ता शर्माले जनाएका छन् ।

    यता, सिरहाको गोलबजार नगरपालिका मेयरका भावी उम्मेदवार श्याम श्रेष्ठलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । आयोगले सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ पुरानो चोहर्वास्थित बुद्धचोकबाट नेकपा एमालेका भावी मेयरका उम्मेदवार श्याम श्रेष्ठले करिब १ सय वटा मोटरसाइकल, चारवटा ट्याक्टर, पाँचवटा स्कारपियो गाडीसमेत गरी झण्डै साढे दुई सयजनाको ¥याली निकालेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टीलाई जनकपुरको सभामा पुगेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध लक्षित गरी कालो झण्डा देखाउनुका साथै ढुंगा प्रहारसमेत भएको भन्ने जानकारी प्राप्त भएको भन्दै सचेत गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप