बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'नेपालमा चीनले र भारतले काम गर्नुमा फरक छ'

नेपालीहरु भारतको राष्ट्रियतासँग जोडिएका छन् : जयप्रकाश राव, पूर्व भारतीय डिफेन्स अफिसर
शुक्रबार, ३० फागुन २०७६, १० : १६
शुक्रबार, ३० फागुन २०७६

भारतको ‘मिनिस्ट्री अफ डिफेन्स’मा काम गरेका जयप्रकाश रावले सन् २०१४ मा अवकाश लिएका थिए । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामको सचिवालयमा लियजन अफिसर (समन्वय अधिकारी) को रूपमा काम गरेका जयप्रकाश डिफेन्स (रक्षा) को विकास र अनुसन्धान विभागमा कामसमेत गरेका थिए । ६७ वर्षीय जयप्रकाश राव पब्लिक रिलेसन काउन्सिल अफ इन्डियाका प्रादेशिक अध्यक्ष पनि हुन् । डिफेन्सका विभिन्न अनुसन्धानमा सक्रिय भएर काम गरेका जयप्रकाशसँग भारतको सुरक्षा अवस्था र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा बेङ्गलोरमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

भारतीय डिफेन्स (रक्षा) क्षेत्रमा मा तपाईंले लामो समय काम गर्नुभएको छ र त्यसका बारेमा विभिन्न रिसर्च पनि गर्नुभएको छ । बेलाबेलामा भारतले आफूलाई असुरक्षित महसुस गर्नुको कारण के हो ?

–भारत एउटा शान्तिप्रिय राष्ट्र हो । भारतले आफ्ना छिमेकी राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाएर राखेको छ । तर पाकिस्तान र चीनसँग अलिकति हामी सशङ्कित भइरहन्छौँ । कुनै पनि बेला युद्ध हुनसक्छ भन्ने अवस्था छ । किनभने विगतका कुराहरुले गर्दा चीन र पाकिस्तानसँग भारतको त्यति राम्रो सम्बन्ध देखिएको छैन । त्यही भएर आफ्नो सुरक्षामा भारत सचेत छ ।

भारत–पाकिस्तानको बोर्डरमा सधैँजसो एक प्रकारको तनाव हुन्छ । भूमिको साथै हिन्दु मुस्लिम मुद्दामा दुई देशबीच तनाव रहिरहन्छ । भारत आफ्नो सुरक्षाका लागि चिन्तित रहनुको यो मतलब होइन कि भारत कसैको विरुद्धमा जान्छ । भारत आफ्नो सुरक्षाका लागि सम्पूर्ण तयारीमा जुटेको छ । हातहतियारदेखि सम्पूर्ण युद्ध सामग्रीमा भारत आत्मनिर्भर हुन चाहन्छ, जसका लागि विभिन्न अनुसन्धान भइरहेका छन् । एउटा युद्ध ट्याङ्क खरिद गर्नका लागि करोडौँ रुपैयाँ विदेशीलाई दिनुपर्छ । हामीले आफ्नो सुरक्षाका लागि हतियार वा ट्याङ्क खरिद गरेका हुन्छौँ, अरूसँग खरिद गरिएको हुनाले त्यस्तै हतियार वा ट्याङ्क अरू देशसँग पनि हुन्छ । त्यसले झन् सुरक्षा चुनौती बढ्ने भएकाले सकभर आफैँ रिसर्च गरेर आफैँ युद्धसम्बन्धी सामग्री तयार गर्ने भारत सरकारको लक्ष्य छ ।

चीनसँग युद्ध हुने खतरा कतिको छ ?

–चीनसँग युद्ध हुने सम्भावना निकै कम छ । भारत कुनै देशसँग युद्ध गर्ने गरी तयारीमा छैन । तर आफ्नो सुरक्षाप्रति अवश्य चिन्तित छ । आफ्नो राष्ट्रियताका लागि डिफेन्सले आवश्यक तयारी गर्नु स्वाभाविक हो । चीनसँग एक पटक युद्ध भइसकेको हुनाले एक प्रकारको भय रही रहन्छ तर युद्ध हुने सम्भावना धेरै कम छ ।


भारत–नेपालबीचको सम्बन्धलाई कुनै अरू देशसँग दाँज्नै मिल्दैन । हरेक देशभन्दा नेपालसँग भारतको फरक खालको सम्बन्ध छ । खुला सीमाका कारण नेपाल–भारत एउटै घर आँगनजस्तो लाग्छ मलाई । नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर पारिवारिक र समाजिक सम्बन्ध छ ।


भारतबाट पाकिस्तानबीच लामो समयदेखि तनाव रहेको छ । तर पछिल्लो समय चीनसँग पनि तनाव बढेको देखिन्छ । केही समयअघि त युद्धकै आशङ्का गरिएको थियो ?

–विगतमा पनि चीनसँग सीमा विवाद थियो, त्यसका लागि युद्ध पनि भएको थियो । अहिले पनि केही न केही आशङ्काहरु भइरहेका हुन्छन् । चीन र पाकिस्तान आपसमा मिलेका छन् । चीनले पाकिस्तानलाई सहयोग गरेको कारणले पनि भारतले चीनलाई आशङ्काको घेरामा राखेको छ । भारत र चीनलाई लिएर मिडियामा पनि विभिन्न रिपोर्टहरु आइरहेका हुन्छन् । सुरक्षा एजेन्सी पनि चीनसँग एलर्ट रहेको देखिन्छ । यद्यपि चीनसँग भारतको राम्रो सम्बन्ध छ ।

भारतको नेपालसँगको सम्बन्ध कस्तो पाउनु भएको छ ?

–भारत–नेपालबीचको सम्बन्धलाई कुनै अरू देशसँग दाँज्नै मिल्दैन । हरेक देशभन्दा नेपालसँग भारतको फरक खालको सम्बन्ध छ । खुला सीमाका कारण नेपाल–भारत एउटै घर आँगनजस्तो लाग्छ मलाई । नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध मात्र नभएर पारिवारिक र समाजिक सम्बन्ध छ । भारतको सुरक्षामा नेपालीहरुको पनि योगदान छ । भारतको कुनै कुनामा जानुस् नेपालीसँग भेट हुन्छ । भारतको सीमामा नेपालीले मात्र होइन भारतको घरघर, अफिस अफिसमा नेपालीले सुरक्षा दिइरहेका हुन्छन् । नेपालीहरु भारतको राष्ट्रियतासँग जोडिएका छन् । भारतका लागि नेपालीले रगत बगाएका छन् र बगाउन तयार छन् । यस्तो सम्बन्ध अरू कुनै पनि मुलुकसँग हुन सक्दैन । नेपालीहरु भारतमा बहादुर र हिम्मतवाला, ताकतवरको रूपमा चिनिएका छन् ।


चीनले नेपाललाई सहयोग गरेकामा भारतलाई कुनै आपत्ति छैन तर चीनले सानो देशमा जुन प्रकारका सक्रियता बढाएको छ त्यसमा सशङ्कित मात्र भएका छौँ ।


तर भारतले पनि नेपाललाई चीन र पाकिस्तानको आँखाले हेरेको हुन्छ, भारतविरुद्ध नेपालमार्फत पाकिस्तान र चीनका गतिविधि हुने गरेको बुझाइ भारतको छ । यसमा तपाईंको के धारणा छ ?

–भारतले यो कुरा भनेको मैले कहीँ सुनेको छैन र बुझेको पनि छैन । आधिकारिक रूपमा यो कुरा कहीँ आएको होजस्तो लाग्दैन । तर एउटा कुरा सही हो कि चीन अहिले नेपालमा निकै सक्रिय भएको छ । नेपालका विभिन्न प्रोजेक्टमा चीनले सहयोग पु-याइ रहेको छ । त्यो किन गरिरहेको छ, कुनै देशले अर्को कुनै देशलाई सहयोग गर्नुको पछाडि कुनै न कुनै स्वार्थ लुकेको हुन्छ । चीन जसरी नेपालमा सक्रिय भएर सहयोग गरिरहेका छन् त्यसप्रति भारत थोरै सशङ्कित हुनसक्छ तर त्यसको कारणले थ्रेट नै हो भन्ने अवस्था आए जस्तो लाग्दैन । भारत धेरै पहिलादेखि नेपाललाई सहयोग गर्दै आएको छ तर चीनले जुन सक्रियता बढाएको छ त्यस्तो भारतले गरेको छैन ।

 नेपाललाई भारतले सहयोग गर्न सक्छ भने चीनले किन गर्न सक्दैन ?

–चीनले नेपाललाई सहयोग गरेकामा भारतलाई कुनै आपत्ति छैन तर चीनले सानो देशमा जुन प्रकारका सक्रियता बढाएको छ त्यसमा सशङ्कित मात्र भएका छौँ । चीनले नेपाललाई सहयोग गर्नु र भारतले गर्नुमा फरक छ । नेपाल–भारतबीच सदियौँदेखि सम्बन्ध छ । त्यहाँको भाषा, संस्कृति, रहनसहन धेरै कुरा मिल्छन् । एउटै परिवारजस्तो लाग्छ । एउटा केही सहयोग गर्दा वा लिँदा आफ्नै परिवारलाई गरेको वा दिएको जस्तो लाग्छ । त्यसमा कुनै स्वार्थ हुँदैन । तर चीनसँग नेपालको कुनै कुरा मिल्दैन । तैपनि चीनले यतिको सहयोग गर्नुको कारण के हो ? भारतले सबै कुरा त दिइ नै रहेको थियो । भारतबाट सबै प्रकारको सहयोग भइ नै रहेको थियो । चीनले नेपाललाई जसरी सहयोग गरिरहेको छ, त्यसको प्रभाव अहिले देखिँदैन, पछि देखिनेछ । त्यतिबेला भारत र चीनबाट नेपालले लिने सहयोगबीचको फरक प्रष्ट हुनेछ ।

चीनले नेपाललाई सहयोग गर्दा किन भारतको टाउको दुख्छ ?

–यो कुरा मैले आधिकारिक रूपमा सरकारका तर्फबाट बोलेको होइन । आम जनताको दृष्टिकोण बोलिरहेको छु । आफ्नो अनुभवका आधारमा बोलिरहेको छु । मैले अघि नै भनेँ भारतलाई यसमा कुनै टाउको दुखाइ छैन । तर नेपाललाई लिएर अलिकति सशङ्कित अवश्य छ । कुनै पनि देश विकास हुनुमा आफैँमा राम्रो कुरा हो तर विकास कसरी भइरहेको छ । त्यसको दीर्घकालीन प्रभाव के पर्न सक्छ, त्यसको बारेमा बुझ्नु आवश्यक छ ।


चीनसँग भारतको राम्रो सम्बन्ध छ । कूटनीतिक सम्बन्ध पनि राम्रो छ । तर विगतमा भएको एउटा घटनाले अलिकति सशङ्कित बनाएको मात्र हो ।


चीनको नेपालमा भन्दा भारतमा बढी कारोबार हुने गरेको छ । भारतमा पनि उसको व्यपार, लगानी भइरहेको छ । विभिन्न व्यापारिक सम्झौता भएका छन् । भारतले चीनसँग विभिन्न सम्झौता गर्न मिल्ने तर नेपालले चाहिँ किन नमिल्ने ?

–भारतमा चीनको लगानी तथा परियोजना धेरै कम छन् । चीनको व्यापार त्यति धेरै छैन । नेपाल सानो देश भएको कारणले त्यहाँभन्दा अलि बढी देखिएको होला, त्यो छुट्टै कुरा हो तर भारतमा चीनको त्यति ठूलो लगानी छैन ।

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुभन्दा पहिले भारत भ्रमणमा जानुभयो, भारत हुँदै नेपाल आउनुभयो । यसले प्रष्ट पार्दैन र नेपालसँग भन्दा भारतसँग राम्रो सम्बन्ध रहेको ?

–मैले पहिला पनि भनिसकेँ चीनसँग भारतको राम्रो सम्बन्ध छ । कूटनीतिक सम्बन्ध पनि राम्रो छ । तर विगतमा भएको एउटा घटनाले अलिकति सशङ्कित बनाएको मात्र हो । चीनका राष्ट्रपतिले पहिले भारतको भ्रमण गर्ने कि नेपालको गर्ने भन्ने उहाँको स्वतन्त्रताको कुरा हो । यो कुरालाई लिएर दुई देशबीचको सम्बन्धलाई विश्लेषण गर्न मिल्दैन । भारतको कूटनीति तथा डिफेन्सबाट पनि यसबारेमा कुनै आधिकारिक धारणा आएको छैन । केही कुरा आएको छ भने त्यो राजनीतिक विश्लेषण मात्र हो । यस प्रकारको विश्लेषण हरेक देशमा हुन्छ । अमेरिका, रसिया, जपानजस्ता देशमा पनि यसप्रकारका विश्लेषण भइरहेका हुन्छन् । तर भारतले नेपाललाई चीनको नजरले हेरेको कुरा जुन बाहिर आएको छ, त्यसमा कुनै सत्यता छैन ।

तपार्इंले भारतका पूर्वराष्ट्रपति अब्दुल कलामसँग पनि काम गर्नुभयो । त्यतिको बेलाको भारतको सुरक्षा अवस्था र अहिलेको अवस्थामा कतिको फरक पाउनु भएको छ ?

–पूर्वराष्ट्रपति अब्दुल कलामले कहिल्यै अरू  देशसँग युद्ध गर्न चाहनु भएन । उहाँ एकदमै शन्तिप्रिय मान्छे हुनुहुुन्थ्यो । राष्ट्रको भलाइका लागि उहाँ जतिखेर पनि चिन्तित हुनुहुन्थ्यो । यद्यपि भारतमा राष्ट्रपति कार्यकारी पद होइन । पूर्वराष्ट्रपति कलामले जे पथ अपनाउनु भएको थियो त्यही पथमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी हिँड्न थाल्नुभएको छ । कलामले देख्नुभएको सपना प्रधानमन्त्री मोदीले पूरा गर्न थाल्नुभएको छ । रह्यो शान्ति सुरक्षाको कुरा । कुनै पनि देशको अवस्था सधैँ एकै खालको रहँदैन । समय अनुसार परिवर्तन भइरहेको हुन्छ । पहिला पनि पाकिस्तान र चीनसँग भारतको सम्बन्धबारे कुरा उठ्थ्यो । अहिले पनि उठिरहेको छ । पहिला भारत सरकारले त्यति रिएक्ट गर्दैनथ्यो, अहिले रिएक्ट गर्न थालेको छ । पाकिस्तानले भारत सीमामा कुनै गतिविधि गर्दा भारत सरकारले नजरअन्दाज गथ्र्यो । त्यति मतलब राख्दैनथ्यो तर अहिलेको सरकारले मतलब राख्न थालेको छ । पाकिस्तानलाई जवाफ दिन थालेको छ । त्यति मात्र फरक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप