शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘उद्घाटन जतिपनि भ्याउने, जवाफ दिनचाँहिँ कहिल्यै नभ्याउने ?’

बिहीबार, २९ फागुन २०७६, १६ : २७
बिहीबार, २९ फागुन २०७६

राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराए । संसदको विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्ने सम्म मन्त्रीहरुलाई जानकारी नहुने गरको भन्दै उनले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गरे । सरकार र सरकारका मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पाखे । 

‘जवाफ नदिने । बोले पनि हुने, नबोलेपनि हुने । ठिक बोलेपनि हुने बेठिक बोले पनि हुने । मनलागे बोले नि हुने । मन नलाए नबोले नि हुने । यस्तो प्रकारको सदन भएपछि सदनको गरिमा घट्छ अध्यक्ष महोदय । सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्छ । जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ’ विडारीले भने, ‘महोदय ! त्यसैले मन्त्रीले उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ? संसदमा के बोलियो त्यसमा ध्यान दिन पर्यो ।’

संसदमा सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि उनको आग्रह छ । 

हेर्नु भनेको र देख्नु भनेको फरक फरक विषय भन्दै उनले प्राय सबैले हेर्ने तर देख्न चाही साह्ै थोरैले देख्ने बताए । ‘बह्मज्ञानीहरुले देख्छन् । इमान पुर्वक हेर्नेले देख्छन् । सर्वसाधरण जनताले इमानका साथ ध्यान पुर्वक हेरे भने देख्छन् । त्यसैले ७४ साल पछिको आमनिर्वाचन पछिको सरकारले गरेको काम प्राय सबैले हेरे तर सर्वसाधरण, दुरदृष्टि राख्ने ज्ञानीहरुले मात्रै देखे । जे देखिन्छ, त्यही बोल्नु,देख्ने र बोल्ने फरक फरक कुरा जसले गर्छ बेइमान त्यही हो’, विडारीले भने, ‘देख्ने एकथोक बोल्ने अर्कोथोक । इमानपुर्वक देख्ने र इमानपुर्वक बोल्ने हरेक नागरिकको र प्रतिनिधिको कर्तव्य हो । त्यसैले अहिले कुरा उठ्या छ यो व्यवस्थाका विरुद्धमा कुन्नी कोको कोको आए अरे । यसप्रकारका कुरा उठ्या छ । संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा हुदैन । संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्न बस्नुपर्यो नि अध्यक्ष महोदय । यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ ? छैन ।’

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने तर्क गरे । 

राष्ट्रियसभा सदस्य बेदुराम भुसालले हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचार रुपी महारोगबाट सिंगो मुलुक आक्रान्त बनेको भन्दै न्यूनीकरणका लागि थप कदम सरकारको ध्यानाकर्षण गराए । 

भ्रष्टाचारबाट मुलुकलाई मुक्त बनाउने बाटोमा सभाको भुमिका केन्द्रीत गर्न पनि उनको आग्रह छ । मलुकमा व्याप्त भ्रष्टाचार कोरोना भाईरस जस्तै भाईरस भएको भन्दै उनले न्यूनीकरणका लागि राष्ट्रियसभाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । 

त्यसैगरी उनले मुलुकका अन्य समस्याहरुको न्यूनीकरण गर्दे सही बाटोमा लैजान र समाज रुपान्तरणका लागि आवश्यक अभियानहरु सञ्चालन गर्नका लागि सरकारलाई सहयोग गर्दे अघि बढ्नुपर्ने बताए । 

उनले राजनीतिक क्षेत्रमा आएको परिर्वतन अनुसार सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न नसकेका कारण त्यसले प्रतिगमनको आधार तयार पार्दे गएको तर्क गरे । विगत देखिनै राजनीतिक सफलतालाई नै सम्पुर्ण सफलता ठान्ने  र अंहकारी व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेका कारण परिर्वतनलाई प्रतिगमनले उल्टाउने गरेको स्मरण गराउँदै वर्तमान अवस्थामा पनि प्रतिगमन दोहोरिने हो कि भन्ने चिन्ता थपेको बताए । 
राजसंस्थावादीहरु फेरि पनि जुर्रमुराउने प्रयास गरिरहेको भन्दै विगतको इतिहास दोहोरिन नदिन सबैलाई सचेत हुन आग्रह गरे । 

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले विकास निर्माणको क्रममा अलपत्र परेका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । समयमै निर्माण सम्पन्न नगर्दा वातावरण प्रतिकुल हुनुको साथै त्यसले सर्वधारण पनि मारमा पर्ने गरेकाले समयमै विकास निर्माणको कामहरु सम्पन्न गर्ने गरि अघि बढ्नुपर्ने बताए । उनले सरकारका कर्मचारी र सेवाग्राही दुवै प्रविधिमैत्री नहुँदा सेवाग्राहीले समयमा सेवा नपाएको तर्फ पनि गम्भीर बन्न आग्रह गरे । 

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले राष्ट्रियसभाको बैठकमा जनताको सवालमा गरिने बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । 

सबै आलोचना र सबै असहमति विमति र विरोध नहुने भएको विभिन्न विषयमा गरिने बहस र छलफललाई सकारात्मक रुपमा लिन आग्रह गरिन् । उनले मुलुकलाई सम्मृद्ध बनाउनका लागि सार्थक बहस आवश्यक हुने तर्क गरिन् । निरासा फैलाउने र उत्साह जगाउनेबीच, विकास र सम्मृद्धि चाहने र विकास र सम्मृद्धि नचाहनेबीच अन्र्तरविरोध श्रृजना भएको, गलत भ्रम श्रृजना गर्ने र सही देख्नेका बीच भ्रम श्रृजना भएको उल्लेख गर्दै   राष्ट्रियसभाले निरासाहरुमा आशाको मनोविज्ञान श्रृजना गर्नका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आवश्यक रहेको बताइन् । 

राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले सप्तरीमा जंगली हात्ती र देशी अर्नाबाट किसानहरु आतंकित भएको भएको तर्फ सरकारको ध्यानाकर्षण गराए । 

विशेष समयमा बोल्ने अन्य राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप