बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास - मुख्यमन्त्री शंकर पोखरेलको सुझाव : आफैँ सचेत हुनुपर्छ

बिहीबार, २९ फागुन २०७६, १५ : ४५
बिहीबार, २९ फागुन २०७६

बुटवल । अचेल कोरोना भाईरस भन्नासाथ सर्वसाधारणलाई त्रसित हुन थालेका छन् । चीनबाट शुरु भएको कोरोना भाईरसको संक्रमणले विश्व नै प्रभावित भइरहेको समयमा  प्रदेश ५ मा पनि यसको त्रासका बारेमा चर्चा हुन थालेको छ ।

खासगरी भारतसँगको खुला सीमा हुनका साथै आवश्यक उपकरण र जनशक्ति समेत कमजोर भएकाले यहाँका नागरिकहरु कोरोना भाइरसको त्रासमा छन् । कोरोनाका बारेमा सामाजिक सञ्जाल तथा मिडियामार्फत फैलिएका थरि थरिका सूचनाले स्थानीयहरुलाई द्विविधामा पारेको छ ।

नेपाल–भारत सीमा नाकाहरुमा प्रदेश सरकारले हेल्थ हेल्प डेस्क स्थापना गरेर चेकजाँच गरेको छ । तर, पर्याप्त उपकरण र जनशक्ति नभएकाले त्यो प्रभावकारी नभएको सरोकारवालाहरु बताउँछन् ।
प्रदेश ५ सरकारले ६ वटा जिल्लाका ११ वटा नाकामा स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालन गरिएको जनाएको छ । 

सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्क स्थापनासँगै औषधिको व्यवस्थापन, संक्रमित बिरामीलाई उपचारका लागि अस्पतालमा आइसोलेशन वार्डसमेत तयार पारेको दावी गरेको छ । 

प्रदेश सरकारले १२ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर कोरोनाभाईरसको जोखिमबाट बच्न सावधानी अपनाउन तथा मानिसहरुको भिड लाग्ने मेला–महोत्सव, सभा सेमिनार जस्ता कार्यक्रम नगर्न निर्देशन दिन सुझाएको छ । प्रदेश सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी गरेका छन् । 

१० अस्पतालमा आइसोलेशन वार्ड
प्रदेशका १० वटा अस्पतालमा आइसोलेशन वार्ड तयारी अवस्थामा राखेको छ । मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित विभिन्न निकायहरुसँग छलफल गरेर कोरोना संक्रमणको पूर्वतयारी र संक्रमित व्यक्तिको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । 

उनले नाकामा हेल्थ डेस्क स्थापना गर्नेदेखि लिएर जनशक्तिको व्यवस्थापन चुस्त पारिएको बताए । सामाजिक विकास मन्त्रालयले प्रदेशका १२ वटै जिल्लालाई केन्द्रमा राखेर एक जना चिकित्सकलाई फोकल पर्सन तोकेर आइसोलेशन बेड तयार पारेको जनाएको छ । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याविन आइसोलेशन बेडका रुपमा छुट्याइएको छ । यस अस्पतालमा  बिरामीको चाप अनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ । 

कुन अस्पतालमा को चिकित्सक तोकिए ?
प्रदेशको सामाजिक मन्त्रालयले लुम्बिनीमा डा. सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रुपमा तोकिएको छ ।

यसैगरि भेरी अस्पताल नेपालगञ्जमा  डा. प्रकाश थापा, पृथ्वीचन्द्र अस्पताल, परासीमा डा. पवन अग्रहरि, तौलिहवा अस्पताल डा. गणेश क्षत्री, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. सदीक्षा योगी, देवदह मेडिकल कलेज डा. सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पमा डा. दीपक भण्डारी, यूसिएमएस भैरहवामा डा. नविनजंग रायमाझी, नेपालगञ्ज मेडिकल कलेजमा डा. सुन्दरजंग शाह र मिसन अस्पताल पाल्पामा डा. गजेन्द्र नेपालीलाई तोकिएको छ ।

यी सबै अस्पतालमा आइसोलेशन बेड तयार पारिएको र बिरामीको चापअनुसार बेडको व्यवस्था गरिने सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर प्रसाद चौधरीले बताए ।

लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर समेत निगरानी बढाइएको छ । प्रदेश ५ का १ सय ९ वटा स्थानीय तहले आ–आफ्नै किसिमले तयारी गरेका छन् । तर, नेपालमा पर्याप्त उपकरणहरु नहुँदा यसको उपचारमा असहजता आउने हो कि भन्ने आशंका छ । प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ९ करोड बजेट छुट्याएको छ । विभिन्न संघसंस्थाले निःशुल्क रुपमा मास्क वितरण गर्ने कामसमेत गरेका छन् ।

मुख्यमन्त्रीले भने– आफैँ सचेत हुनुपर्छ

प्रदेशसभामा बिहीबार मुख्यमन्त्री शंकर पोखरेल कोरोनाको संक्रमणबाट बच्नका लागि मुख्य रुपमा आफैँ सचेत हुने पर्ने बताए । कोरोनाभाईरसको संक्रमणबाट जोगिन सतर्कता अपनाउन पनि उनले आह्वान गरेका छन् ।
पोखरेलले कोरोना भाइरसको संक्रमण हुन नदिन भीडभाड नगर्न, ठूला सभा समारोह र भेलाहरु नगर्न आग्रह गर्दै प्रदेशबासीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने बताए । उनले अहिलेको अवस्थामा एक

अर्काबीचको सम्पर्कबाट जोगिन उपयुक्त हुने बताए । संक्रमण हुनसक्ने क्रियाकलापबाट टाढै बसेर जोगिन सकिने उनको भनाइ थियो ।

उनले प्रदेश सरकारले कोरोना संक्रमणबाट जोगिन र संक्रमण देखिएमा त्यसका लागि प्रदेश सरकारले पूर्वतयारी गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप