केन्द्रीय संस्करण

चीनसँगको सिमाना उपल्लो डोल्पामा प्रहरीको उच्च सतर्कता

person explore access_timeफागुन २८, २०७६ chat_bubble_outline0

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । चीनसँग सिमाना जोडिएका मोरिम्ला र क्याटो नाका उपल्लो डोल्पामै पर्छन् । 

विश्वरभर कोरोना भाइरसको त्रास बढ्दै गएकाले उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गएिको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । “उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाका खुला छन्, उक्त नाकाबाट कोरोना सङ्क्रमित चाइनिज नागरिक पनि भित्रने डर उत्तिकै छ, सोही कारणले पनि उपल्लो डोल्पामा पर्ने साल्दाङ्ग, कागकोटलगायत प्रहरी युनिटलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिइएको छ”, प्रहरी नायब उपरीक्षक रञ्जितकारले भने ।
उनले भने, “उपल्लो डोल्पामा कोही नयाँ विदेशी नागरिक देखे उनीहरुको विशेष निगरानी गर्न भनेका छौँ, गृह मन्त्रालयको निर्देशन पनि चीनसँग सिमाना जोडिएका जिल्लाको सुरक्षा व्यवस्था संवेदनशील भएर कडाइ गर्ने भन्ने छ, सोही अनुसार लागिरहेका छौँ ।”

उक्त नाकामा दशौँ फिट हिउँ जमेकाले त्यस्ता सङ्क्रमित आउने सम्भावना कमै रहने भए पनि सुरक्षाका हिसाबमा उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने साल्दाङ्गबाट क्याटो नाका पुग्न करीब दुई दिन लाग्छ । 

त्यसैगरी डोल्पोबुद्ध गाउँपालिकामा पर्ने ताक्सीबाट मोरिम्ला नाका पुग्न एक दिन लाग्छ । उपल्लो डोल्पामा सबै गरेर सातवटा प्रहरी युनिट रहेका छन् ।

राप, धो, साल्दाङ्ग, भिजेर, ताक्सी, कागकोटलगायत स्थानमा प्रहरी चौकी स्थापना गरिएको छ । उपल्लो डोल्पामा हाल तीनवटा प्रहरी युनिट मात्रै बसेका छन् भने बाँकी सबै सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय डोल्पामा गाभिएका छन् ।

हिँउदको समयमा अत्यधिक चिसो हुने भएकाले प्रहरी चौकी पनि सदरमुकामतिरै झर्ने गर्छन् भने तातो समय शुरु भएपछि मात्रै माथितिर लाग्ने गर्दछन् ।

त्यसैगरी तल्लो डोल्पामा पर्ने त्रिपुराकोट, खदाङलगायत डोल्पा प्रवेश गर्ने नाकामा पनि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

विभिन्न कामका लागि बाहिर जिल्लाबाट डोल्पामा आवतजावत गर्ने मान्छेको पनि विशेष रुपमा निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.