बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कोरोना त्रासले दलहरु एक ठाउँमा : ईश्वर पोखरेलले दिए गगन थापालाई धन्यवाद

बुधबार, २८ फागुन २०७६, २० : १५
बुधबार, २८ फागुन २०७६

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा भावी रणनीति तय गर्न सर्वदलीय बैठक बसेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारका मन्त्रीहरु, विभिन्न दलका मुख्य नेताहरुले कोरोना भाइरस रोकथामबारे छलफल गरेका छन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका गगन थापा, बालकृष्ण खाँड, राजपाका राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव, समाजावादी पार्टीका राजेन्द्र श्रेष्ठ, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडा लगायत बैठकमा सहभागी थिए । 

बैठकमा सरकारले कोरोना भाइरस रोकथामका लागि गरेका कामहरुका बारेमा दलका नेताहरुलाई जानकारी गराइएको थियो । साथै सरकारको आगामी रणनीतिका बारेमा पनि जानकारी गराइएको थियो । 

छलफलपछि जानकारी दिँदै उपप्रधानमन्त्री समेत रहेका कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले दलहरुलाई समितिले गरेको कामहरुको बारेमा जानकारी गराएको बताए । उनले समितिले गरेका कामहरुलाई दलका नेताहरुले धन्यवाद दिदै महत्वपूर्ण सुझाव दिएको बताए । 

मन्त्री पोखरेलले कांग्रेसका सांसद गगन थापालाई राम्रो सुझाव दिएको भन्दै धन्यवाद समेत दिए । बैठकबाट बाहिरिने बेला दुवैजनाको जम्काभेटमा क्रममा उनले थापाको सुझाव मन परेको बताएका हुन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै दलको सुझाव लिएर साझा रणनीति बनाएर जान बैठक सफल भएको प्रतिक्रिया दिए । उनले अहिलेसम्म सरकारले गरेका कामलाई अझ उचाइबाट बढाउने, प्रभावकारी रुपमा सञ्चालन गर्ने जानकारी दिए ।

राजनीतिक दलहरुले कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिने कुरामा मुख्य जोड दिएको उनले बताए । त्यस्तै स्वास्थ्य क्षेत्रलाई भोलीका दिनमा राम्रो बनाउन अहिलेको अवस्थालाई अवसरको रुपमा लिन सकिनेबारे सुझाव दिएको उल्लेख गरे । 

उनले कोरोना संक्रमित देशबाट आउने नेपाली आफ्नै घरमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताए । तर भाइरस संक्रमण भएको रहेछ भने त्यसपछि सम्पूर्ण जिम्मा लिएर सरकारले उपचार गर्ने बताए । यस्तै कोरोना भाइरसको संक्रमण भएकाहरुको उपचारका लागि पहिलो लाइनमा खटिनेहरुलाई सरकारले प्रोत्साहन भत्ताको व्यवस्थाबारे निर्णय गर्ने जानकारी दिए । 

काँग्रेसले दियो सरकारलाई यस्तो सुझाव 

सर्वदलीय छलफलमा कांग्रेसका तर्फबाट गगन थापा, बालकृष्ण खाँड लगायतका सांसदहरु सहभागी थिए । बैठकपछि प्रतिक्रिया दिदैं काँग्रेसका सांसद गगन थापाले सरकारले एकिकृत कार्ययोजना बनाउने तर बहुकेन्द्रहरु भएको भन्दै त्यसलाई सच्याउन सुभाmव दिएको बताए ।
 
उनले सूचना जानकारी पनि त्यही केन्द्रबाट आउनुपर्ने बताउदै विद्यालयमा के गर्ने, विमानस्थलमा के गर्ने भन्नेबारेमा मन्त्रालय–मन्त्रालयगत निर्णय गर्ने हो भने कार्यदलको औचित्य नभएको उनले बताए । कोरोना भाइरसका विरुद्ध भएका कामबारे स्वास्थ्य मन्त्रालय र सरकारका प्रवक्ताबाट मात्र जानकारी दिने सरकारले बताएको छ । 

उनले रोग नलागेको प्रमाणपत्र लिएको आधारमा मात्र विदेशीलाई नेपाल प्रवेस गर्न दिन नहुने बताउदै कम्तिमा १४ दिनमा क्वारेन्टाइनमा राख्न माग गरेका थिए । 
विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डका आधारमा आफै क्वारेन्टाइनमा बस्ने कामबाट पनि गर्न सकिने उलने बताए । 

यस्तै अनुगमनको संयन्त्र बलियो बनाउन, विदेशबाट आएका मान्छे कहाँ बस्छन् त्यसको जानकारी सरकारले राख्नुपर्ने उल्लेख गरे । 

यस्तै अस्पतालमा तयारी कमजोर भएको बताउदै त्यसमा सुधार गर्न सुझाव दिएको बताए । उनले भने–‘भाइरसका कारण मृत्ुदर कम भएको सरकारको तर्क छ । तर थोरै विरामी मात्र मर्ने भएपनि विरामी भएका सबैले उपचार खोज्ने हुदा अस्पतालमा ठाउँ नपुग्न सक्छ । 

काठमाडौ उपत्यकामा ७० वटा मात्र आइसियूको बेड छ । प्राइभेटको जोड्दा १ सय ५० बेड पुग्ने र सबै बेड भरिपूर्ण हुने अवस्था छ । तयारीका लागि उदार भएर काठमाडौंका सरकारी अस्पतालमा क्षमता बढाउने, निजीसँग साझेदारी बढाउने, प्रदेशमा पनि आइसियू सुविधा दिनेगरी अस्पताललाई तयारी अवस्थामा राख्नुपर्छ । सरकारले यसमा पनि पूर्ण तयारीमा बस्छौँ भनेको छ ।’

उनले नेपाली सेनाले पहिले नै तयार गरेको जोखिम न्यूनिकरण केन्द्र र तयार पार्ने ठाउँ रहेको बताएकोले खरिपाटीमा जस्तै थप क्वारेन्टाइन स्थल बनाउन पनि सरकारलाई सुझाव दिएको उनले बताए । 

सरकारका २ कुरामा काँग्रेस आश्वस्त 

सरकारले दैनिक उपभोग्य खाद्यवस्तुको अभाव हुन दिँदैनौँ, आतिनुपर्ने अवस्था नरहेको र  खाद्यान्न लगायत अत्यावश्यक बस्तुको भण्डारण रहेको भनाई प्रति काँग्रेस आश्वस्त भएको छ । सरकारले त्यसलाई तलमाथि हुन दिदैँनौ भनेको काँग्रेस नेता थापाले बताए ।

अर्थतन्त्र अन्र्तगत पर्यटनमा केही प्रभाव परेपनि आत्तिनुपर्ने अवस्था नरहेको र केही समयभित्रै सरकारले नयाँ प्याकेज ल्याउने बताएको उनले जानकारी दिए ।

अर्थमन्त्रीले भारतलाई ऋण तिरेर हुन्छ वा अन्य केही गर्ने गरी नयाँ कार्ययोजना ल्याउने बताएको र त्यसबारे संसदलाई जानकारी गराउने अपेक्षा लिएको बताए । 

यस्तै स्थलगत मार्गबाट १ सय २१ नाकाबाट आवागमन हुनेमा ४१ नाकामा मात्र निगरानी हुने र सबै नाकामा निगरानी गर्न कांग्रेसले माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप