शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा एकतामा देखिएका चार झलक: कसैले गीता छोए, कसैले बाबुले बनाएको पार्टी छोडे !

बुधबार, २८ फागुन २०७६, १९ : ५२
बुधबार, २८ फागुन २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार एकताको घोषणा भएको छ । ३० चैत २०७३ बाट राप्रपामा सुरु भएको विभाजनको रेखा २८ फागुन ०७६ मा काठमाडौंको राष्ट्रिय सभागृहमा जोडिन पुगेको हो । राप्रपा विभाजनको पछिल्लो श्रृंखला अन्तर्गत ३० चैत ०७३ मा कमल थापा नेतृत्वको राप्रपाबाट प्रकाशचन्द्र लोहनी समूह छुट्टियो । करिब त्यसको चार महिनापछि २२ साउन २०७४ मा पुगरे पशुपतिशम्शेर राणाले थापाको साथ छोडेका थिए । पछि २०७५ माघमा एकिकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा(प्रजातान्त्रिक) बीच एकता भई राप्रपा संयुक्त गठन भएको थियो ।

९ फागुन ०७३ मा भएको महाधिवेशनबाट थापा प्रदिपविक्रम राणालाई पराजित गर्दै राप्रपा अध्यक्षमा चुनिएका थिए । थापाको नियमित ४ वर्षे कार्यकाल नसकिँदै राणा र लोहनी पनि एकै ठाउँमा आइपुगे । तर तीन अध्यक्ष रहने गरी भएको एकतामा थापा तेस्रो वरियताको अध्यक्ष बनेका छन् । वरियतामा राणा र लोहनी अघि छन् ।

राप्रपामा जोडिने र छुटिने कुरा नियमित प्रक्रिया जस्तो देखिन्छ । २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ जेठ १५ गते राप्रपा स्थापना भएको थियो ।  योबीचमा राप्रपामा विभाजन र मिलनको श्रृंखला लामो छ । त्यही श्रृंखलामा वरिपरिबाट बुधबार राप्रपा बनेको छ । एकता घोषणासभामा कार्यकर्तामा खुसीयाली भन्दा विभाजनको भय बढी झल्किन्थ्यो ।

कार्यकर्ताको भय र नेताको प्रतिज्ञा
एकता घोषणासभाले औपचारिकता पाउनासाथ पार्टी विभाजनबाट वाक्कदिक्क भएका कार्यकर्ताले अध्यक्षत्रयलाई गीता छोएर सहमतिपत्र साटा–साट गर्न दबाब दिए । यतिसम्मकि दर्शकदीर्घामा रहेका कार्यकर्ताले जबरजस्ती मञ्चमा पुगेर नेताहरुलाई गीता छुन आग्रह गर्न थाले । तर अध्यक्षत्रयले गीत छुन इन्कार गरे । केही समय होहल्ला मच्चियो । त्यतिबेला वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले स्वागत मन्तव्य राखिरहेका थिए । त्यसले गर्दा कार्यक्रमको माहोल केही असहज बन्न पुगेको थियो ।

त्यसबाट थाहा हुन्थ्यो कार्यकर्ताले दीर्घकालीन एकता खोजिरहेका छन् । त्यसपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देल मन्तव्यका लागि पोडियममा पुगे । उनमा पनि एकताबाट उत्साहभन्दा आशंका बढी देखिन्थ्यो । उनले सुरुमै भने, ‘मनमा खुसीसँगै आशंका थुप्रै छन् । म जहाँ गएँ, त्यहाँका कार्यकर्ता राप्रपामा मिलन खोजिरहेका छन् ।’

प्रतिनिधिसभामा राप्रपाको एक्लो सांसदका रुपमा रहेका लिङ्देलले आफूलाई चुनाव जिते जस्तो नलागेको बताए । उनले भने,‘तपाईहरु भन्नुहोला । कम्युनिष्टले बोक्दा तैले जितेको होस् । मलाई चुनाव जिते जस्तो लागेको छैन । हाम्रा कारण ७–८ सिट जितेको कम्युनिस्ट र दर्जन बढी जितेको काँग्रेसले हामीलाई धन्यवाद पनि भनेनन् । यो हाम्रो विभाजनको कारणले हो ।’

उनले अध्यक्षत्रयलाई आफ्नो अहम्को जाँतोमा कार्यकर्तालाई कहिलेसम्म पिस्ने भन्दै प्रश्न पनि गरे । ‘तपाईहरुको अहम्ले बेलाबेला पार्टी विभाजन भइरहेको छ । तपाईँले अहम्को जाँतोमा हामीलाई पिस्नुभएको छ । जसकारण हामी यो अवस्थामा पुगेका छौँ । अब पनि चेत आउँदैन ?’ अध्यक्षत्रयको स्वार्थमा पार्टी विभाजन भएको उनको भनाइ थियो ।

‘पार्टी विभाजन तपाईको स्वार्थका कारण भएको हो,’ लिङ्देलले भने, ‘तपाई स्वार्थमा नजुधेको भए देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आउने थिए । अब यो अन्तिम अवसर हो ।’ मुलुकमा कम्युनिस्ट र काँग्रेसको विकल्पको विरोधी पार्टीभित्र विभाजनकारी मानसिकता भएको उनले बताए । उनले भने, ‘कम्युनिस्ट र काँग्रेसको विकल्प राप्रपा नै हो । तर पार्टीभित्रको विभाजनकारी मानसिकताको आजैबाट अन्त्य हुनुपर्छ ।’

उनले आफू आगामी दिनमा पनि नेताहरुलाई अध्यक्षका रुपमा स्वीकार गर्ने भन्दै नेतृत्वका लागि आफ्नो हस्तक्षेप नरहने बताए । राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले जनताले सुरक्षित घर खोजिरहेकाले बनाउने र भत्काउने काम नगर्न सुझाव दिए । उनले व्यक्तिभन्दा पार्टी बलियो बनाउनतिर लाग्न जोड दिएका थिए ।

कार्यकर्ता र नेताहरुले एकताको दिगोपनामा जोड दिइपछि अध्यक्ष थापाले कार्यकर्ता पनि हस्ताक्षर गर्दै नेताको पछाडि नकुद्न आग्रह गरेका थिए । उनले पशुपतिलाई साक्षी राखेर पार्टी नफुटाउने प्रतिज्ञा गरे । उनी यतिमै रोकिएनन् । कार्यकर्ताको भावनाको सम्मान गर्दै थापाले गीता छुँदै पार्टी नफुटाउने कसम खाए । थापाले गीता छुँदा कार्यकर्तामा उत्साह थपिएको थियो ।

यस्तै, अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि पार्टी कार्यकर्तालाई नेताको भन्दा नीति र विचारको पछाडि लाग्न आग्रह गरे । साथै उनले पनि पार्टी नफुटाउने प्रतिबद्धतासहित गीता छोएका थिए । कार्यक्रमका अन्तिम वक्ता अर्का अध्यक्ष पशुपतिशम्शेर राणाले पनि पार्टी नफुटाउने प्रतिज्ञा गरे तर गीता भने छोएनन् । कार्यकर्ताले जोडबल गर्दा पनि उनले गीता छुने हिम्मत देखाएनन् ।

राजसंस्था र हिन्दु राष्ट्र

राजसंस्था र हिन्दुराष्ट्रबारे अध्यक्षत्रयको अभिव्यक्तिमा एकरुपता देखिन् । राजसंस्था र हिन्दुराष्ट्रबारे थापा खुलेर प्रस्तुत भएका थिए । उनले भने,‘पार्टी हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिनेछ । हामी परिवर्तन विरोधी होइनौँ । भौतिक विकाससँगै आध्यात्मिक विकासमा जोड दिन्छौँ । यस्तै हामीले विप्लव र राजा अटाउने राजनीतिक प्रणालीकोे विकास गर्न खोजेको छौं ।’

यता, लोहनीले संवैधानिक राजसंस्थाको वकालत गरे । ‘मैले राजतन्त्र भनेको छैन । राजसंस्था अहिलेको आवश्यकता देखिएको छ,’ गणतान्त्रिक संविधानमा हस्ताक्षर गरेका लोहनीले भने, ‘पार्टी र नेताहरुबाट राष्ट्रपति प्रणालीलाई पार्टीगत र गुटगत बनाइएको देखियो । यस्तो अवस्थामा संवैधानिक राजसंस्था आवश्यक देखिएको छ ।’ उनी धर्मनिरपेक्षताको पनि विपक्षमा उभिए । तर अध्यक्ष राणा भने दुवै विषयमा प्रस्ट खुल्न चाहेनन् । उनले भने, ‘हिन्दुराष्ट्र हुनुपर्छ भनेका छौँ । त्यसका लागि दुइतिहाइ चाहिन्छ,’ आफ्नो वर्तमान हैसियत सम्झिँदै राणाले भने ।

हिन्दुराष्ट्रबारे संसदीय हैसियत सम्झिएका राणाले राजसंस्थाप्रति कुनै धारणा राखेनन् । बरु उनले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको बताए । उनले भने, ‘संविधानमा केही कमजोरी छन् । तर हामी पनि संविधानका निर्माता हौँ । संविधानप्रति प्रतिबद्ध हुनेछौँ ।’

छोराले बहिष्कार गरेको एकतासभामा बाबुको प्रशंसा
एकीकृत पार्टी राजसंस्थाको पक्षमा उभिएको भन्दै राप्रपाका संस्थापक नेता सुर्यबहादुर थापाका छोरो सुनिल थापाले एकता बहिष्कार गरे । गणतन्त्र र संघीयताको पक्षधर रहेको भन्दै राणाको नेतृत्वमा रहेका उनी राप्रपा (संयुक्त)मा रहेका उनी एकीकृत पार्टीले राजसंस्थालाई स्वीकार गरेपछि एकता घोषणासभामा सहभागी भएनन् । तर कार्यक्रममा अध्यक्षत्रयले सुर्यबहादुर थापाको योगदानको चर्चा गर्दै स्मरण गरे ।

उनीहरुले थापाकै योगदानले राप्रपाले बेला–बेला मुलुकको नेतृत्व गरेका बताए । तर बाबुले स्थापना गरेको पार्टीमा छोरा अटाउने ठाउँ बनेन । कार्यक्रममा राप्रपाकै नेतृ तथा नायिका रेखा थापाको पनि उपस्थिति देखिएन । राप्रपा संयुक्तकी सहमहामन्त्री एवम् विदेश विभाग प्रमुख रहेकी थापा पार्टी एकतासभामा नदेखिएपछि राप्रपा छोडेको हुनसक्ने आशंका गरिएको छ ।

सरकारमाथि खनिए

पार्टी एकताको दीगोपनाका लागि समय खर्चिएका एकतासभाका व्यक्ताहरुले सरकार र प्रतिपक्षीमाथि पनि प्रहार गरे । अध्यक्ष राणाले मुलुकको वर्तमान राजनीति सन्तुष्ट हुने ठाउँमा नभएको बताए । उनले भने, ‘मुलुकको अवस्था सन्तुष्ट हुने ठाउँमा छैन । दुई वर्षमा सरकारले जनताका अपेक्षालाई कुल्चिएको छ । जनताले बोक्न नसक्ने गरी करको बोझ थुपारेको छ । सरकार काण्डै काण्डमा फसेको छ ।’

उनले सरकारलाई ठीक ठाउँमा ल्याउने प्रतिपक्षी पनि घर झगडा र भाबण्डामा अल्मलिएको बताए । यस्तै अध्यक्ष लोहनीले सरकारले राजनीतिक प्रतिगमनको बाटो समातेको बताए । उनले भने, ‘पञ्चायतलाई निरंकुश भन्थे । कम्युनिस्ट सरकार त्यो भन्दा निरंकुश देखियो । आमनागरिकको स्वतन्त्रता खोस्न खोजिँदैछ । यो राजनीतिक प्रतिगमन हो ।’ यस्तै उनले सरकार भ्रष्टीकरणमा लागेको बताए । 

उनले भने, ‘मुलुकको हालत बाघ चाल न हात्ति चाल गोट्टी चाल खल्तीमा हाल भन्ने अवस्थामा छ । प्रतिपक्षी सरकारको मतियार बनेको छ ।’ यस्तै अध्यक्ष थापाले मुलुकमा लोकतन्त्रका नाममा लुटतन्त्र मच्चिएको आरोप लगाए । राजसंस्थालाई पाखा लगाएर मुलुकमा बह्र्मलुट मच्चाइएको उनको भनाइ थियो ।

सरकारमाथि खनिएका उनीहरुले कम्युनिस्ट र काँग्रेसको विकल्पका रुपमा राप्रपा उदाउने दाबी समेत गरे । काँग्रेससँगै समाजवादी र साझाप्रति पनि थापाले प्रहार गरे । उनले भने,‘एक दुईजना एक ठाउँमा आएर वैकल्पिक शक्ति बनाउँछौ भनेको सुनिन्छ । केही अबको विकल्प हामी भन्छन् । अब राष्ट्रियता र राष्ट्रवादी नाराका साथ राप्रपा काँग्रेस र कम्युनिस्टको विकल्पमा खडा हुन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप