शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : राप्रपा एकीकरण घोषणादेखि गोकुल बाँस्कोटाको घरमा बम विस्फोटसम्म

बुधबार, २८ फागुन २०७६, १९ : २२
बुधबार, २८ फागुन २०७६

कोरोभाबारे सर्वदलीय बैठक 

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । 

बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् ।

 ‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले छलफलपछि जानकारी दिए । 

 बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उसको उपचार समेत भैसकेकाले यसमा नेपाल यसको रोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ । 

‘कोरोना संक्रमण भएका देशबाट आवतजावतमा प्रवेशमा रोक लगाउने, कोही आइहाले तिनको व्यवस्थापन कसरी गर्ने ? यसबारे सचेतना कसरी अपनाउने र त्यति गर्दागर्दै पनि कोरोना संक्रमण देखिए उनीहरुलाई राख्ने क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको श्रेष्ठको भनाइ छ । 

बैठकमा सहभागी प्रतिनिधिहरुले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारुढ दलबाहेकले सरकारको ध्यानाकर्षण गराएका थिए । 

उनीहरुले सवै मन्त्रालयलको समन्वयमा इन्टिग्रेटेड ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिदै अझ पर्याप्त पुर्वाधारको विकासमा जोड दिन सुझाव दिएका थिए । 

भिडियोमा समाचार हेर्नुहाेस्

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गरेका थिए । 

यता कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएपछि जनमानसमा संत्रास पैदा भएको छ । नेपालमा हालसम्म नदेखिएपनि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म विश्वभर कोरोनाभाइरसबाट एक लाख २१ हजार बढी संक्रमित भएका छन् भने चार हजार तीन सय बढीको मृत्यु भएको छ । संक्रमित मध्यै ६६ हजार बढी निको भएर घर फर्किइसकेका छन् । 

कोरोनाभाइरस प्रकोपबाट सबैभन्दा बढी प्रभावित चीनले ऊहान सहरका सबै १६ अस्थायी अस्पताल बन्द गरेको छ । सोमबार दिनभर ऊहानमा १७ नयाँ विरामी भेटिएका थिए । जबकि एक महिना अघि फेब्रुअरी ९ मा सो सहरमा एक दिनमा १९२१ विरामी भेटिएका थिए । ऊहान सहरमा निर्माण भएका अधिकांश अस्थायी अस्पताल विगतका प्रदर्शनीस्थल वा रङ्गशालाजस्ता सावर्जनिक स्थललाई रुपान्तरण गरिएका थिए । विश्व स्वास्थ संगठनले अघिल्लो महिना एक रिपोर्टमा चीनको ‘कठोर कदम’ले ‘प्राणघातक महामारीको तीव्र विस्तारको मार्ग बदलेको’ बताएको थियो । चीनमा कोरोनाको प्रभाव घट्न थालेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारेमा शल्यक्रियामा सहभागी चिकित्सकहरुबीच छलफल भइरहेको बताइएको छ । 

बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै उनले प्रमको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै शल्यक्रियामा संलग्न चिकित्सको सुझावका आधारमा डिस्चार्ज गर्न सकिने बताए । 
 
समीक्षा संग्रौला डिस्चार्ज

त्यसैगरी, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको भने बुधबारै डिस्चार्ज भैसकेको छ । समीक्षा नाताले प्रधानमन्त्री ओलीकी ‘भान्जी’ हुन् । गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) नौ दिनका दिन डिस्चार्ज भएकी हुन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले समीक्षाको बुधबार डिस्चार्ज गरिएको जानकारी दिए । 

 डिस्चार्ज अघि समीक्षाले मामा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएकी थिइन् । 

राप्रपा पार्टी एकता घोषणा
राप्रपा र राप्रपा संयुक्तबीच बुधबार पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम राप्रपा रहेको छ भने पार्टी अध्यक्षको रुपमा कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी रहेका छन् । उनीहरुको हैसियत समान रहने समझदारी छ।  

एकता घोषणा कार्यक्रममा अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाएका छन् । 

राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणासभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाएका हुन् ।  

अध्यक्ष थापाले पार्टी एकताबाट आफू सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरि कहिल्यै नफुट्ने र नअलग्गिने संकल्प लिएर एक भएको बताए । 

त्यसैगरी, राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर जवराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । 

 बहुदलीय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताए । 

पार्टी एकता गरेर लामो यात्राको सुरुवात भएको उल्लेख गर्दै उनले अहिलेका पार्टीहरुले गर्न नसकेका काम राप्रपाले गर्ने पनि दावी गरे । 

यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप लगाए । 
लोहोनीले नेपाली जनताको स्रोत र साधन दोहोन गरेर पार्टी, समूह र व्यक्तिलाई बलियो बनाएर शासनमा बस्छु भन्ने धारणाले सरकार प्रतिगमनतिर गएको बताए । 

अध्यक्ष लोहोनीले हिन्दु धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको समेत बताए । 


संसदीय सुनुवाई 

संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डे विरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो । 

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो । समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ । 

अर्थसमिति बैठक

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बिमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्वार प्रणालीबाट गर्न लागिएको बताएका छन् । 

अर्थ समितिको बैठकमा मन्त्री खतिवडाले बीमालाई एकद्धार प्रणाली अन्र्तगत सञ्चालन गर्नका लागि   बीमा समिति ऐन र राष्ट्रिय बीमा संस्थान ऐनलाई खारेज गरेर एकीकृत ऐन बनाउने परिकल्पना गरिएको बताए । 
नियमनकारी निकाय बलियो हुनुपर्ने विधेयकमा प्राधिकरणको अवधारणा अनुरुप विमा समितिको सट्टा प्राधिकरणको व्यवस्था गरिएको उनले स्पष्ट पारे । 

संशोधनकर्ता समिति सदस्य सासंद प्रेम सुवालले बीमा कम्पनीको इमान्दारीतामाथि प्रश्न उठाउदै सम्पत्तिमाथि कर लगाई सरकारले त्यो करलाई शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्नुपर्ने तर्क गरेपछि मन्त्री खतिवडाले वर्ग विशेषको रुपमा बीमा सेवालाई नहेन आग्रह गरेका थिए । 

बम विस्फोट

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ ।  भक्तपुर लोकन्थलीस्थित मनहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान विस्फोट भएको हो । 

बाँस्कोटाको निर्माणाधीन घरमा रिमोट कन्ट्रोल प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको कम्पाउण्ड र झ्यालमा क्षति पुगेको छ । प्रहरीका अनुसार छिमेकीको घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा विचौलियासँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । 

विस्फोट कसले र किन गरायो भन्ने आधिकारीक जानकारी प्रहरीले नदिएपनि घटनास्थलमा विप्लव समूहको पर्चा फेला परेकाले विस्फोट उक्त समूहले नै गरेको आशंका गरिएको छ । यसैबीच प्रहरीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान समेत गरिरहेको छ । 

पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छन् । 

लुम्बिनी विकास कोष परिषद्को बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताए ।  अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले वृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडि बढेको उनले बताए । 
लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने उनले बताए । 

टुटलबारे मन्त्री

सरकारले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नया निर्णय गरेर अघि बढ्ने तयारी गरेको छ । 

उपत्यकाका ट्याक्सी व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा मन्त्रालयले नयाँ निर्णय गरेर अगाडि बढ्ने बताएका हुन् । 

 ‘टुटल’ र ‘पठाओ’का कारण आफ्नो व्यवसाय धरापमा परेको, कयौ चालक मजदुरहरु प्रत्यक्ष प्रभावित भएको र दैनीकजसो झडपका घटना हुने गरेको भन्दै ट्याक्सी व्यवसायीले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा न्यायलयको आदेशलाई तत्काल कार्यान्वय गर्न माग गर्दे मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । यसैबीच यातायात व्यवस्था विभागले टुटल र पठाओलाई रोक लगाउने गरी एक सूचना निकालेपछि तरंग पैदा भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप