शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवमाथि प्रतिबन्धको एक वर्ष : प्रहरीको नजरमा बलियो कि कमजोर ?

बुधबार, २८ फागुन २०७६, १६ : ३७
बुधबार, २८ फागुन २०७६

काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको बुधबार एक वर्ष पूरा भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा दुई जनाको मृत्यु हुनेगरी बिस्फोट गराएपछि सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपाको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । 

त्यतिबेला प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाटै विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयको विरोध भएको थियो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समेत प्रतिबन्ध लगाउने सरकारको निर्णयको आलोचना गरेको थियो । तर, सरकारले उसमाथिको प्रतिबन्धलाई थप कडाइ गर्दै लग्यो । सरकारको कदमपछि विप्लव नेतृत्वको नेकपा थप आक्रोशित बन्दै भ्रष्टाचार र ‘दलाल’विरुद्ध उभिन थाल्यो । 

विप्लव समूहकै भाषामा– संसदीय दलाल र भ्रष्टाचारको विरुद्ध उभिएको सो समूहले एक वर्षको अवधिमा नेपालको विभिन्न ठाउँमा बम विस्फोट गरायो । विस्फोटबाट केहीको मृत्यु भयो भने केही घाइते भए । सरकारले प्रतिबन्ध लगाएको एक वर्षको अवधिमा विप्लव नेतृत्वको नेकपाका एक हजारभन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेको सरकार पक्षको दावी छ ।  

व्यक्ति टार्गेट गर्ने, तल्ला तहका सुरक्षाकर्मी र नेताभन्दा माथिल्ला तहका नेता र माथिल्ला तहकै सुरक्षाकर्मीविरुद्ध आक्रमण गर्ने विप्लव समूहको योजना रहेको छ । 

त्यसैअनुरुप बुधबार बिहानै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटोको भक्तपुरको लोकन्थलीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम विस्फोट भयो । घटनाको जिम्मा विप्लव समूहले लियो । विप्लव समूहले बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटालामा संलग्न भएकोसहित विभिन्न १० कारणले उनको घरमा बम हान्नु परेको जनाएको छ । 

बाँस्कोटा घरमा नभएको बेला बम विस्फोट भएको थियो । प्रहरीले घटनास्थलबाट प्रेसर कुकरको सिट्ठी र ५० मिटर पर रिमोट फेला पारेको छ । बाँस्कोटासँगै छिमेकी कपिल घिमिरेको साढे ४ तलाको घरको ४ वटा झ्यालको सिसा फुटेको छ । घिमिरेकै घरमा भाडामा बस्दै आएका सुरेन्द्र खड्गीको बा११च ४७८१ नम्बरको मारुती भ्यानको सिसा पनि फुटेको छ ।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए । मन्त्रीबाट राजीनामा दिए पनि बाँस्कोटाको नवनिर्मित घरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिँदै आएका थिए । 

सशस्त्र प्रहरीको टोली रातको समयमा मात्रै सुरक्षामा खटिँदै आएको थियो भने नेपाल प्रहरीका दुईजना दिउँसोमा पनि बस्दै आएका थिए । राजीनामापछि बाँस्कोटामाथि आक्रमण हुनसक्ने आंकलन प्रहरीले पहिले नै गरेको भएर प्रहरी खटाइएको थियो ।

बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा महानगरीय अपराध महाशाखा, टेकु टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवी बहादुर गुरुङ रहेका छन् । पक्राउ पर्ने गुरुङ प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य हुन् । गुरुङलार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ ।

विप्लव समूहप्रति सरकारको नीति नै प्रस्ट छैन । विस्फोटका घटना बढ्दै जाँदा सतर्क रहन सुरक्षा निकायलाई निर्देशन दिनेबाहेक गृहले यो प्रकरणमा विशेष योजना बनाउन सकेको छैन । उल्टो सरकारी संयन्त्रहरूलाई नै कमजोर बनाएको छ ।

विप्लव समूहको सरकारसँग यति धेरै सूचना हुँदा पनि आवश्यक तयारी किन गर्दैन ? वार्तामार्फत विप्लव सहमतिमा आउँदैन भने कडा रुपमा किन प्रस्तुत हुँदैन ? सरकार किन प्रतिबन्ध लगाएर मौन छ ? यी र यस्ता धेरै प्रश्न अझै अनुत्तरित नै छन् ।

तर, राजनीतिक रुपमा प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपालाई सुरक्षा संयन्त्रले कमजोर पार्दै लगेको सरकारको विश्लेषण छ । यता नेपाल प्रहरीले विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ । 

प्रहरीले पछिल्लो समय विप्लव समूहका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेको र सो समूहमा आवद्ध भएकाहरु समेत पक्राउ परिने डरले धमाधम अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेको समेत दावी गरेको छ । 

यद्यपि राजधानीमा बेलाबखत हुने विस्फोट, बाँस्कोटालगायत ठूला नेताहरुका घर तथा सम्पत्तिमाथि समेत उक्त समूहले धावा बोल्न थाल्नु जस्ता घटनाले सर्वसाधारण भने विप्लव समूहको गतिविधि नियन्त्रणमा आउँदैछ भनेर विश्वास गर्न सकिरहेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप