शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण बढ्दा पनि वैदेशिक रोजगारीमा जान चाहनेको सङ्ख्या घटेन

एकै दिन ३ हजारसम्मले लिए श्रम स्वीकृति
बुधबार, २८ फागुन २०७६, १३ : २१
बुधबार, २८ फागुन २०७६

बसुन्धारास्थित एक म्यानपावर कम्पनीले फागुनको दोस्रो साता मलेसियाको एउटा राम्रो कम्पनीमा करिब ३० जना नेपाली कामदार पठाउँदै थियो । म्यानपावरले आफ्नो सबै काम सकेर अन्तिम श्रम स्वीकृति मात्रै लिएको थिएन, कामदारको ओरेन्टेसनसमेत गराइसकेको थियो ।

तर मार्चको पहिलो दिन नै मलेसियास्थित रोजगारदाता कम्पनीले तत्काल कामदार नपठाउन सूचना पठायो । कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि कामदारलाई नपठाउन उसले सूचना जारी गर्‍यो ।

मलेसियामा आरबीए ग्रुपअन्तर्गत रहेका सबै कम्पनीले मार्चको पहिलो दिनदेखि नै कामदार नपठाउन नेपालमा रहेको म्यानपावर कम्पनीहरुमा सूचना पठाइसकेका छन् ।

मलेसियाका रेस्पन्सिबल बिजनेस एलायन्स अर्थात् आरबीए ग्रुप युरोप र अमेरिकामा आफ्ना उत्पादन सप्लाई गर्ने कम्पनी हुन् । ती कम्पनीका उत्पादन मुख्यतः युरोप र अमेरिकातिरै जाने भएकाले उनीहरुले रेस्पोन्सिबल बिजनेस गर्नैपर्ने हुन्छ र कामदारहरुको न्यूनतम सेवा सुविधा दिएकै हुनुपर्छ । जसको कारण त्यस्ता कम्पनीहरुमा जाने कामदारको तलब तथा अन्य सेवा र सुविधा पनि राम्रो हुने गरेको थियो ।

तर कोरोना भाइरसको त्रासको कारण मलेसियास्थित आरबीए एलायन्सका सबै कम्पनीले तत्कालका लागि माग पठाउन, अन्तरवार्ता गर्न र सबै प्रक्रिया पुगेका कामदारलाई पनि लिन रोकेको छ ।

मलेसियामा आरबीए ग्रुपका कम्पनी मात्रै होइन, अन्य सामान्य सेक्युरिटी कम्पनी, साना उद्योग आदिले पनि कामदारको आपूर्तिसम्बन्धी कुनै काम गरेका छन् । विगत करिब १ महिनादेखि मलेसियामा नयाँ कामदारको आपूर्तिसम्बन्धी खासै काम भएका छैनन् । सबै प्रक्रिया पूरा भइसकेका कामदार पनि नेपालमै रोकिएर बसेका छन् ।

मलेसिया मात्रै होइन, साउदी अरबको अवस्था पनि उस्तै छ । साउदी अरबले निश्चित विमानस्थलबाट आउने मानिसलाई मात्रै साउदी अरेबियामा प्रवेश दिने जनाएको छ भने कोरोना सङ्क्रमित देशबाट आउने मानिसलाई प्रवेश निषेध नै गरेको छ । त्यति मात्रै होइन, कोरोनाको उच्च जोखिममा रहेका देशबाट आउने मानिसलाई पनि साउदीले प्रवेश नदिने बताइसकेको छ ।

कतारले २ दिनअघि मात्रै नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरिदिएको छ । उसले कामदार भिसा, पर्यटक भिसा र अन्य कामका लागि भन्दै आउनेहरुलाई प्रवेशमा निषेध गरेको सूचना जारी गरिसकेको छ ।

संयुक्त अरब इमिरेट्स, कुवेत, ओमन र बहराइनले पनि नयाँ कामदार लिन बन्द गरिसकेका छन् । सबै प्रक्रिया पूरा गरेर बसेका नेपाली कामदार ती देशमा जान पाइरहेका छैनन् । नयाँ प्रक्रिया सुरु हुने सम्भावना त छैन नै, सबै प्रक्रिया पूरा गरेर बसेकाहरु पनि अहिले ती देशले आउने अनुमति नदिएका कारण जान पाएका छैनन् ।

रोजगारीको सबैभन्दा आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा कामदार पठाउन नेपाल सरकारले नै रोक लगाएको छ । दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएको भन्दै नेपाल सरकारले नै निर्णय गरेर कामदार नपठाउने निर्णय गरेको थियो । यद्यपि दक्षिण कोरिया सरकारले भने त्यसमा आपत्ति जनाउँदै कामदारको आपूर्ति नरोक्न आग्रहसमेत गरेको थियो ।

खाडी मुलुक, मलेसिया तथा दक्षिण कोरियामा रहेका नेपालीहरु पनि नेपाल आउन सकिरहेका छैनन् । खाडी मुलुकका अधिकांश उडान प्रभावित भएका छन् । कतारका लागि उडान भर्दै आएको हिमालय एअरलाइन्स र नेपाल वायुेसेवा निगमले त उडान नै स्थगन गरिसकेको छ ।

नेपालबाट दैनिक १ हजारको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्क छ । अवधि सकिएर नेपालबाट पुनः सोही देशमा सोही कामका लागि जाने र नयाँ गरेर दैनिक करिब १ हजार ५ सयका हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।

सन् २०१६ को पहिलो दिन अर्थात् जनवरी १, २०१६ को तथ्याङ्क हेर्ने हो भने त्यस दिन ८ सय ६६ जना पुरुष तथा ६१ जना महिना गरी कुल ९ सय २७ जनाले वैदेशिक रोजगारीमा जानका लागि नयाँ श्रम स्वीकृति लिएका छन् । त्यस्तै सो दिन ५ सय ८७ जना पुरुष तथा १७ जना महिला गरी कुल ६ सय ४ जनाले वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिएको देखिएको छ । त्यसैगरी जनवरी १ मै २४ जना पुरुष तथा १ जना महिला रि–लिगलाइज्ड हुँदै श्रम स्वीकृति लिएको देखिएको छ ।

जनवरी १ तारिख भनेको नियमित दिन थियो, जतिबेला कोरोना भाइरसका बारेमा कुनै समाचार बाहिर आइसकेको थिएन । त्यसपछि पनि नेपालबाट वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिनेहरुको सङ्ख्यामा कुनै कमी आएको छैन ।

विश्वमा कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा फागुन २० गते सबैभन्दा बढी ३ हजार ८२ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

कोरोना भाइरसबारे जानकारी आएको दिन अर्थात् पुसको १६ गतेदेखि फागुनको २६ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने यो बीचमा १ लाख १७ हजार ६ सय ३३ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

देशगत रूपमा हेर्ने हो भने पनि फागुन महिनाको सुरुवातदेखि फागुनको २६ गतेसम्मको अवधिमा सबैभन्दा बढी मलेसियामै जानका लागि श्रम स्वीकृति दिएको देखिन्छ । मलेसिया जानका लागि २६ दिनमा ८ हजार ५ सय ७७ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क वैदेशिक रोजगार विभागले उपलब्ध गराएको छ ।

फागुनको १ गतेदेखि १५ गतेसम्मको अवधिमा ४ हजार ५ सय ८९ जना म्यानपावर कम्पनीमार्फत्, १ हजार ४ सय ५८ जना व्यक्तिगत पुनः श्रम स्वीकृति तथा १४ जना लिगलाइज्ड भई मलेसिया जानका लागि श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै फागुनको १६ देखि २६ गतेसम्मको अवधिमा पनि २ हजार ६ सय ११ जना म्यानपावर कम्पनीमार्फत्, ५ जना व्यक्तिगत लिगलाइज्ड तथा ९४४ जनाले मलेसिया जानका लागि व्यक्तिगत श्रम स्वीकृति पुनः लिएका छन् ।

कोरोना भाइरसको त्रासकै बीच पनि वैदेशिक रोजगारीमा जान चाहनेको सङ्ख्या घटेको देखिँदैन ।

तर वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेको सङ्ख्यामा कमी नआएको भए पनि वैदेशिक रोजगारीकै लागि नेपालबाट बाहिरिनेको सङ्ख्यामा भने व्यापक कमी आएको छ ।

कतिपय देशले प्रवेश नै निषेध गरेका छन् भने कतिपय देशले कामदारलाई तत्काल नआउन भनेको छ ।

अनि कतिपय देशले नेपाली कामदारलाई आफ्नो देशमा बोलाएको भए पनि नेपाली कामदार कोरोनाको त्रासकै कारण रोजगारदाता कम्पनी र सम्बन्धित देशमा जान सकेका छैनन् ।

चीनमा कोरोना भाइरसको सङ्क्रमणको दर घटेको भए पनि दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन लगायतका देशमा सङ्क्रमण बढेपछि यसको त्रास र जोखिम झनै बढेको छ । युरोपमा कोरोनाको फैलावट तीव्र बनेपछि इटालीले आफ्नो देशलाई नै लकडाउन गरेको छ भने अन्य देशमा जानका लागि जोखिम बढिरहेको छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई हेर्ने हो भने विगत एक सातादेखि गतिविधि शून्य भएको वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष रोहण गुरुङ बताउँछन् । मासिक सरदर ३ हजारको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि उड्ने भए पनि अहिले त्यो सङ्ख्या ३ सयको हाराहारीमा मात्रै रहेका छन् । अझ विगत १ सातादेखि त वैदेशिक रोजगारीको अवस्था शून्यजस्तै भएको भन्दै कामदारलाई नबोलाउने तथा कामदार आफै नजाने गरेको उनले बताए ।

गुरुङका अनुसार अहिले पनि भिसा लिएर बसेका कामदारको सङ्ख्या करिब ३० हजारको हाराहारीमा रहेको छ । तर भिसा लिएर सबै प्रक्रिया सकेर बसेको भए पनि कोरोनाको त्रासका कारण वैदेशिक रोजगारीको अवस्था शून्यप्रायः बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप