बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा कार्यबाहक सभापतिको जिम्मेवारी खोसिएपछि पौडेल पक्ष जुट्यो बैठकमा

बुधबार, २८ फागुन २०७६, १२ : ५०
बुधबार, २८ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेस नवलपरासीका कार्यवहाक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । सभापति शेरबहादुर देउवाले फागुन २३ गते महासमिति सदस्य विष्णु पौडेललाई नवलपारासीको जिल्ला सभापति तोकेपछि पार्टी कार्यालय सानेपामा पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो ।

बैठकमा सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार बैठकमा कार्यबाहक सभापतिको जिम्मेवारी खोसिएको विषयमा छलफल हुँदैछ । सभापति देउवाले आफूहरुको सहमतिबेगर भटाभट निर्णय लिन थालेपछि पौडेल पक्ष चिढिएको छ ।

देउवाले आफ्नो नियमित कार्यकाल सकिँदै गर्दा केही दिनअघि विभाग प्रमखु तोक्नेदेखि लिएर केन्द्रीय तथा आमतिन्त्र केन्द्रीय सदस्य मनोनित गरेका थिए । पौडेल पक्षले त्यो विरोध गर्दै आएको छ । संघीय संरचनाअनुसार साविकको नवलपरासी जिल्ला विभाजित भएर नवलपुर र नवालपरासी गरी दुई जिल्ला बनेको छ ।

तत्कालीन नवलपरासीका जिल्ला सभापति विष्णु लामिछाने नवलपुरका जिल्ला सभापति बनेका छन् । यसअघि लामिछानेले तत्कालीन नवलपरासीका उपसभापति पोखरेललाई संघीय वर्तमान नवलपरासीको कार्यवहाक सभापतिको जिम्मेवजारी दिएका थिए ।

पार्टी संगठन समायोजनको विधिअनुसार पनि विभाजित भएको जिल्लामा उपसभापतिलाई सभापतिको जिम्मेवारी दिइने बताइएको थियो । तर पोखेरल महाधिवेशन प्रतिनिधि भएकाले पौडेललाई जिम्मेवारी दिइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘पार्टी विधानमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । अर्जुन पोखरेलजी महाधिवेशन प्रतिनिधि हुनुहुन्न् । त्यसैले विष्णु पौडेलजीलाई जिल्ला सभापति तोकिएको हो । नभए उहाँ नै हुनुहन्थ्यो होला ।’ नवलपरासीमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

सभापति देउवा निकट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको योजनाअनुसार पोखरेलको कार्यवहाक जिम्मेवारी खोसेर विष्णुलाई जिल्ला सभापति तोकिएको पौडेल पक्षको आरोप छ । लामिछाने र पोखरेल दुबै जना महामन्त्री शशांक कोइराला निकट भएकाले कँडेलले जिल्ला राजनीतिमा प्रभाव देखाउन पौडेललाई अगाडि सारेको देखिन्छ ।

नवलपुरका जिल्ला सभापति लामिछानेले कार्यबाहक सभापतिलाई हटाएर अर्को मान्छेलाई सभापति तोकिनु गतल भएको रातोपाटीलाई बताए । उनले भने, ‘म नवलपुरको सभापति भएपछि नवलपरासीको सभापतिमा उपसभापति कार्यवहाक जिम्मेवारी दिएको थिएँ । तर केन्द्रबाट महासमिति सदस्यलाई जिल्ला सभापति तोकिएछ । त्यसले विवाद सिर्जना गरेको हो ।’ पौडेल सिनियर भएपनि सभापति तोक्ने प्रक्रिया गत भएको लामिछानेले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप