बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको विश्वमा रिप्पल इफेक्ट : पर्यटन, व्यापारदेखि रेमिटेन्ससम्म

बुधबार, २८ फागुन २०७६, ०९ : ५४
बुधबार, २८ फागुन २०७६

काठमाडौँ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको प्रभाव यतिखेर विश्व अर्थतन्त्रमा परेको छ । कोरोना प्रभावित मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक प्रभावका बीच अन्य मुलुकहरुमा समेत त्यसको प्रत्यक्ष तथा परोक्ष प्रभाव सुरु भएको छ । वस्तु तथा सेवाको उत्पादन, आयात निर्यात तथा विश्व श्रम बजारको असन्तुलनका कारण यतिखेर विश्व अर्थतन्त्र नै प्रभावित हुन पुगेको छ । यही गतिले अझ केही महिना पर गए विश्व अर्थतन्त्रमा नै भयावहको स्थिति पैदा हुन सक्ने सङ्केत देखिएको अर्थ विज्ञहरुको विश्लेषण छ ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट अहिले कोरोनाको महामारीका कारण विश्व अर्थतन्त्रमा करिब ०.५ प्रतिशले गिरावट आइसकेको बताउँछन् । कोरोनाको यस्तै प्रभाव र दबाब रहिरहे सन् २०२० को अन्त्यसम्ममा करिब ५ प्रतिशतले विश्व अर्थतन्त्र खस्कने उनको भनाइ छ ।

‘सन् २०१८ को तुलनामा २०१९ मा विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदरमा केही गिरावट आयो । यो दर सन् २०२० मा अझ बढ्ने देखिएको छ ।’ प्रवक्ता भट्टले भने, ‘इकोनोमिक आउटलुक इन्टरनेसनल रिपोर्ट (ओईसीडी) र विश्व बैङ्कको प्रक्षेपणले समेत सो देखाएको छ ।’

ओईसीडीका अनुसार सन् २०२० सम्ममा विश्व आर्थिक वृद्धिमा करिब ३.४ प्रतिशतले गिरावट आउने छ । हालसम्म कोरोनाको प्रकोप सुरु भएयता विश्व अर्थतन्त्रमा करिब ०.५ प्रतिशतले गिरावट आइसकेको छ । जुन विश्व बजारमा आएको वस्तु तथा सेवाको उत्पादनमा आएको ह्रास, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यापार व्यवसाय र श्रम बजारमा आएको विचलनका कारण हो । यो दर अझ बढ्न सक्ने विश्लेषण गरिएको छ ।

कोरोनाको प्रकोप आउनुपूर्व नै विश्व अर्थतन्त्रमा सन् २०२० मा करिब ३ प्रतिशतले गिरावट आउने ओईसीडीले प्रक्षेपण गरिसकेको छ । थप कोरोनाका कारण यो दर बढेर ५–६ प्रतिशतसम्म पुग्न सक्ने आँकलन गरिएको छ । जसको प्रभाव अहिले विश्व बजारमा देख्न थालिसकेको छ । कोरोनाको उद्गम स्थल चीनको अर्थतन्त्रमा आएको करिब ४ प्रतिशतको गिरावट नै आगामी दिनमा विश्व अर्थतन्त्रमा आउन सक्ने आर्थिक सङ्कटको प्रमुख आधार हो । हाल कोरोनाको महामारी विश्वस्तरमा फैलिएसँगै जापान, अमेरिका, कोरिया लगायतका ठूलो अर्थतन्त्र बोकेका मुलुकहरुमा समेत क्रमशः आर्थिक सङ्कट आउन थालिसकेको छ ।

न्युयोर्क टाइम्सले विश्व अर्थ बजारलाई विश्लेषण गर्दै कोरोनाको प्रकोपका बीच विश्व अर्थ बजार सन् २००८ यताकै कमजोर स्थितिमा आइपुगेको बताएको छ । गत हप्ताको तथ्याङ्कलाई लिँदै टाइम्सले विश्व सेयर बजारमा कोरोनापछि विश्व सेयर बजारमा एकै पटक ११.५ प्रतिशले गिरावट आएको बताएको छ । जसको प्रभाव अहिले विश्वका ठूला कम्पनीमा पर्न थालिसकेको छ । अन्तत्वगत्वा यसले ठूलो मात्रामा अन्तर्राष्ट्रिय स्तरमा आर्थिक सङ्कट निम्त्याउने प्रष्ट देखिन्छ ।

नेपाली अर्थतन्त्रमा परेको प्रभाव

कोरोनाका कारण विश्व अर्थतन्त्र खस्किरहेको बेला त्यसको प्रत्यक्ष तथा परोक्ष प्रभावमा नेपाली अर्थतन्त्र पनि परेको छ । रिप्पल इफेक्ट अर्थात् प्रहारको तरङ्ग विस्तारै नेपाली अर्थतन्त्र र त्यसको प्रत्यक्ष असर नेपालीहरुको जनजीवनमा पनि पर्न थालेको छ । कोरोनाको विश्व महामारीका बीच आयात, निर्यातदेखि पर्यटन, व्यापार, वैदेशिक श्रम तथा रोजगारको क्षेत्रमा समेत कोरोनाको रिप्पल इफेक्ट परेको छ ।

कोरोनाकै कारण आयात निर्यात ठप्प हुँदा आर्थिक गतिविधि हुन सकेको छैन भने कोरोनाकै कारण देशभित्र सञ्चालित आयोजना परियोजनाहरु अघि बढ्न सकेका छैनन् । श्रमशक्ति, वस्तु तथा सेवाको अभावमा उद्योग कलकारखाना सञ्चालन हुन सकेका छैनन् भने अन्तरदेशीय बोर्ड तथा पोर्टहरुको कडाइका कारण वैदेशिक व्यापार व्यवसाय चल्लन सकेको छैन । कोरोनाकै कारण वैदेशिक रोजगारीमा समेत प्रभाव परेको छ । जसका कारण देशका आर्थिक गतिविधि सुस्ताउँदै जना थालेका छन् ।

वैदेशिक रोजगारीमा परेको प्रभाव अबको केही दिनमा नै रेमिटेन्समा समेत पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय श्रम बजार रोकिएसँगै मुलुकको अर्थतन्त्रको प्रमुख आधार वैदेशिक विप्रेषण (रेमिटेन्स)को दर अनपेक्षित रूपमा घट्ने निश्चित जस्तै भएको छ । यसो हुँदा नेपालको अर्थतन्त्र थप कमजोर बन्नेछ ।

एकातिर रेमिटेन्स घट्ने र अर्कोतिर पर्यटक सङ्ख्या घट्ने हुँदा मुलुकको विदेशी मुद्रा सञ्चितिको अवस्थासमेत नाजुक बन्दै जाने राष्ट्र बैङ्कका प्रवक्ता भट्ट बताउँछन् ।

‘कोरोनाको प्रभाव वैदेशिक रोजगारीमा पर्दा मुलुकको रेमिटेन्स घट्नेवाला छ । त्यस्तै विदेशी पर्यटकसमेत घट्दा विदेशी मुद्रा आर्जनमा गम्भीर धक्का लाग्ने छ ।’ प्रवक्ता भट्टले भने, यसो हुँदा मुलुकको विदेशी मुद्रा सञ्चितिसमेत घट्नेछ । यसले थप सङ्कट निम्त्याउने देखिन्छ ।’

कोरोनाको प्रहारमा कुनकुन क्षेत्र :

पर्यटन क्षेत्र : प्रमुखतः छिमेकी मुलुक चीन कोरोनाबाट पूर्णतः प्रताडित हुँदा त्यसको प्रत्यक्ष मारमा यतिखेर नेपालको पर्यटन क्षेत्र परेको छ । कोरोनाको महामारी फैलिएसँगै नेपालको पर्यटन व्यवसाय चौपट भएको छ । कोरोनाका कारण नेपालले झण्डै ४० प्रतिशत पर्यटन व्यवसाय गुमाउनु परेको छ । कोरोनासँगै नेपालको दोस्रो ठूलो पर्यटक बजार चीनबाट मात्र नेपालले करिब ८० प्रतिशत पर्यटक गुमाएको छ । बाँकी अन्य मुलुक अमेरिका, जापान, कोरिया अस्ट्रेलिया लगायतका मुलुकबाट समेत पर्यटक रोकिएका छन् । जसका कारण नेपालको समग्र पर्यटन क्षेत्र प्रभावित हुन पुगेको छ ।

सन् २०२० को पहिलो चौमासमा नै नेपालले गत वर्षको तुलनामा करिब ३५ देखि ४० प्रतिशत हिस्सा गुमाउनुपरेको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी निर्देशक दिपकराज जोशी बताउँछन् ।

‘कोरोनाको विश्व प्रकोप र सन्त्रासका बीच नेपालले पर्यटन क्षेत्रमा ठूलो क्षति बेहोर्नुपरेको छ ।’ जोशीले भने, यसबीचमा नेपालले सङ्ख्यात्मक रूपमा २० देखि २५ प्रतिशत र गुणत्मक (आर्थिक पक्ष)का हिसाबले ४० प्रतिशतले पर्यटन व्यवसाय गुमाउन पुगेको छ ।’

पूर्व सीईओ जोशीका अनुसार पर्यटक आगमन रोकिँदा बुकिङ भएका ७५ प्रतिशत होटलहरुको बुकिङ रद्द भएका छन् भने व्यवसाय ८० प्रतिशतले गुम्न पुगेको छ । त्यस्तै पर्यटनसँग जोडिएर आउने अन्य व्यापार व्यवसाय तथा रोजगारीसमेत खोसिएका छन् ।

हवाई क्षेत्र : कोरोनाकै कारण मुलुकको हवाई क्षेत्र नराम्रोसँग प्रभावित हुन पुगेको छ । कोरोनाकै सन्त्रासका कारण सङ्क्रमित मुलुकमा उडानहरु रद्द हुँदै आएका छन् भने कम अकुपेन्सीकै कारण आन्तरिक उडानसमेत प्रभावित हुन पुगको छ । आन्तरिक तथा बाह्य गरी करिब ६० प्रतिशत उडानहरु बन्द भएका छन् । यसले मुलुकको एभिएसन (हवाई) क्षेत्रमा करिब ८२ अर्बको व्यवसाय गुमेको निजी कम्पनीहरुले बताएका छन् ।

परियोजना क्षेत्र : कोरोनाबाट प्रभावित हुने नेपालको अर्को प्रभावित क्षेत्र विकास निर्माण तथा परियोजनको क्षेत्र हो । जहाँ राष्ट्रिय गौरवका आयोजनादेखि अन्य महत्त्वपूर्ण राष्ट्रिय आयोजना तथा परियोजना परेका छन् । आवश्यक निर्माण सामग्रीसहित उचित श्रमशक्ति र प्राविधिक टोलीहरुको अभावमा आयोजनाहरु प्रभावित छन् । विशेषगरी यस्ता आयोजनामा चिनियाँ कम्पनीहरुले ह्यान्डिल गरेका बढी प्रभावित छन् । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेका भैरहवा विमानस्थलदेखि पोखरा विमानस्थल, तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना लगायत त्रिशूली थ्रीबी जलविद्युत आयोजना, मध्य पहाडी लोकमार्ग लगायतका आयोजनाहरु प्रभावित भएका छन् । कोरोनाका कारण यी आयोजनाहरुमा के कति असर ग¥यो अहिलेसम्म यकिन तथ्याङ्क नआइसके पनि १५ देखि २० प्रतिशतसम्म नोक्सान पुगेको हुन सक्ने राष्ट्रिय योजना आयोगको भनाइ छ । यस्ता आयोजनाहरुमा के कति क्षति पुग्यो र यसले मुलुकको अर्थतन्त्रमा कस्तोखालको प्रभाव प¥यो सोका लागि राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क र अर्थमन्त्रालयले छुट्टाछुट्टै विवरण सङ्कलन गर्दै छ । अबको एक हप्ताभित्र सम्पूर्ण तथ्याङ्क सङ्कलन गरिसक्ने र सार्वजनिक गरिने अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले रातोपाटीलाई जानकारी दिए ।

आपूर्तिको क्षेत्रः कोरोनाको महामारी द्रुततर गतिमा विश्वभर फैलिरहेको बेला सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै देशहरुले आफ्नो सीमा नाका तथा पोर्टहरु बन्द गर्ने नीति लिएका छन् । जसका कारण अन्तर्देशीय व्यापार तथा आयात निर्यातको अवस्था कमजोर बन्दै गएको छ । अझ नेपालले यसको ठूलो समस्या भोग्नु परिरहेको छ ।

छिमेकी मुलुक चीनबाटै कोरोनाको सुरुवात हुँदा र सबैभन्दा बढी प्रभावितसमेत चीन नै पर्दा अधिकांश चिनियाँ माला सामन तथा उपभोग्य वस्तुहरुको आपूर्ति रोकिन पुगेको छ । नेपाल–चीन नाकाहरु प्रायः ठप्प जस्तै छ । यसले उपभोग्य वस्तुको अभाव विस्तै हुँदै गएको छ भने, वस्तुको मूल्यसमेत फरक पर्दै गएको छ । यता विकास निर्माणमा प्रयोग हुने माल सामान तथा मेसिनेरी वस्तु र परियोजनका कामदारहरु समेत रोकिँदा समस्या निम्तिएको छ ।

यता भारततर्फ पनि पछिल्लो दिनमा कोरोनाको सङ्क्रमण बढेसँगै आयात निर्यात तथा आपूर्ति व्यवस्था थप जटिल हुने देखिएको छ । कोरोनाकै सन्त्रासका कारण भारतीय बोर्डर, नाका तथा पोर्टहरु पनि बन्द हुन सक्ने सङ्केतहरु देखिएको छ । यसले नेपालको आपूर्ति व्यवस्थामा थप समस्या आउने सहर्स देखिन्छ ।

उद्योग/व्यापार क्षेत्र : वस्तु तथा सेवाको आयात निर्यातमा प्रभाव परेसँगै स्वतः रूपमा त्यसले प्रभाव उद्योग तथा व्यापार क्षेत्र पर्न जान्छ । उद्योगलाई चाहिँने कच्चा पदार्थको बाहिरबाट आयात हुन सक्दैन भने अर्कोतर्फ उत्पादित वस्तुसमेत बाहिर निर्यात हुन सक्दैन । अहिले नेपाली उद्योगहरुले यही समस्या भोगिरहेका छन् । अहिले स्वदेशी अधिकांश उद्योगहरु कोरोनाको समस्याको फेस गरिरहेका छन् ।

कोरोनाको महामारीको सन्त्रासका बीच सरकारले अनावश्यक भीडभाड र समूहमा नबस्न र नजान भनिसकेको अवस्थामा उद्योग कलकारखानामा कामदारको समेत अभाव हुन थालेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन् । कोरोनाकै कारण चेन इफेक्टको रूपमा नेपालको समग्र अर्थतन्त्रमा प्रभाव परेको उनको भनाइ छ ।

रोजगारी र रेमिटेन्स : कोरोनाका कारण रोजगारीमा समेत गम्भीर समस्या पर्ने देखिएको छ । विश्वभर कोरोना फैलियसँगै वैदेशिक रोजगारीमा जाने नेपालीहरुका लागि रोजगारीको बाटोहरु धमाधम बन्दै हुँदैछन् । आज मात्र नेपालको सबैभन्दा ठूलो श्रम बजार कतारले नेपाली श्रमिक नलिने घोषणा गरिसकेको छ । त्यस्तै, अन्य मुलुकहरुमा समेत श्रम तथा रोजगारका जाने कामदारहरु रोकिरहेका छन् । यसले कालान्तरमा नेपाललाई गम्भीर समस्या पर्ने देखिन्छ । कोरोनाकै कारण वैदेशिक रोजगारीमा जानेहरुको सङ्ख्या घट्दा मुलुकको झण्डै २९ प्रतिशत अर्थतन्त्र धानेको रेमिटेन्सको प्रवाहमा समेत प्रहार गर्ने देखिन्छ । यसले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या निम्तिने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप