शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रि भिसा र फ्रि टिकटमा पैसा उठाउँदै गर्दा म्यानपावर कम्पनी फन्दामा (भिडियोसहित)

बढी पैसा लिने म्यानपावरविरुद्ध विभागको कारवाही तीव्र
मङ्गलबार, २७ फागुन २०७६, १९ : ०६
मङ्गलबार, २७ फागुन २०७६

बैतडीका केशवदत्त जोशी वैदेशिक रोजगारका लागि कुनै राम्रो देशमा जान चाहन्थे । यसअघि पनि साउदी अरबमा कुकको काम गरिसकेका जोशी सोही कामका लागि साउदी अरब वा अन्य कुनै देश जाने तयारीमा लागे ।  
असोजको २ गते उनले एउटा पत्रिकामा विज्ञापन देखे । बहराइनमा रोजगारीको अवसर । काम कुक, तलब ४५ हजार । साउदी अरबमा पिज्जा रेष्टुरेन्टमा कुकको काम गरिसकेका जोशीलाई उक्त विज्ञापन आकर्षक लाग्यो । त्यसपछि उनले सम्पर्क गरे, विज्ञापन गर्ने कम्पनी साउण्डलाइन्स रिक्रुटमेण्ट प्रालिलाई । 

ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको कम्पनीमा उनले सम्पर्क गरे । विज्ञापनमा प्लेन टिकट र लागत सबै रोजगारदाता कम्पनीले बेहोर्ने कुरा उल्लेख गरिएको थियो । जान एक रुपैयाँ पनि नलाग्ने भनेपछि उनले बहराइनको ‘एसएसपी बहराइन कम्पनी’मा कुकका लागि जान आवेदन दिए । 

कागजात र पासपोर्ट बुझाइसकेपछि उनको पहिलो अन्तरवार्ता नोभेम्बर २८ मा र फाइनल अन्तरवार्ता डिसेम्बर १ मा भयो । 


त्यसको केही समय उनको काम भएन । र, फेब्रुअरी २६ अर्थात् फागुन १४ गते उनको भिसा आएको भनियो । 

भिसा आएपछि उनलाई सबै जोडेर ७५ हजार रुपैयाँ लाग्ने भनियो । उनी त्यो रकम पनि तिर्न तयार भए । 

तर जब कोरोना भाइरसको माहामारी बढ्न थाल्यो, उनी तत्कालै बहराइन नजाने भए । उनलाई तत्कालै बहराइन जान मन लागेन । किनभने विश्वभर फैलिएको कोरोना भाइरसका कारण समस्या हुने हो कि भन्ने चिन्ता उनमा रहिरह्यो । 

तर ललितपुरको साउण्डलाइन्स रिक्रुटमेण्ट नामक म्यानपावर कम्पनीले उनको पिछा छाडेन । कम्पनीका कर्मचारी विकेश प्रजापतिमार्फत उनलाई लगातार फोन आइरह्यो । ओरिन्टेसन क्लास तत्कालै लिनुपर्ने र त्यसका लागि ४५ हजार रुपैयाँ लिएर आउन भनियो । जोशीले अहिले नजाने भन्दा पनि म्यानपावरका कर्मचारी जोशीले तारन्तार फोन गरिरहे । 

तर विज्ञापनमा फ्रि भिसा र फ्रि टिकट तथा सेवा शुल्क पनि नलाग्ने भनिएको अवस्थामा ७५ हजार रुपैयाँ मागेपछि उनले उजुरी गर्ने सोच बनाए । 

वैदेशिक रोजगार विभागले कुनै म्यानपावरले कानूनभन्दा बाहिर गएर रकम माग गरेमा विभागमा उजुरी गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । जोशीले विभागका महानिर्देशक कुमार प्रसाद दाहालको मोबाइलमा सम्पर्क गरेर आफ्नो गुनासो सुनाए ।

महानिर्देशक दाहालले जोशीलाई तत्कालै विभागको कार्यालयमा आउन आग्रह गरे । जोशी केही समयमै विभागको कार्यालयमा आइपुगे । 

त्यसपछि महानिर्देशक दाहालले विभागका अधिकृत तीर्थराज कट्टेलको टोलीलाई जोशीसँगै म्यानपावरमा पठाएर कारवाही गर्न निर्देशन दिए ।

जोशी विभागमै रहेको समयमा पनि म्यानपावरका कर्मचारी विकेश प्रजापतिको फोन आइरह्यो । त्यसपछि विभागको टोलीसँगै लिएर जोशी म्यानपावर कम्पनीमा पुगे । 

तर विभागको टोली सुरुमै म्यानपावरमा प्रवेश गरेन । जोशीलाई मात्रै म्यानपावरमा पठाएर पैसा लिएपछि सम्पर्क गर्न भनियो । जोशी म्यानपावरमा गए र रिसेप्सनमै रहेका कर्मचारी विकेश प्रजापतिलाई ३० हजार रुपैयाँ बुझाए । त्यसलगत्तै वैदेशिक रोजगार विभागको टोलीलाई नगदसहित कर्मचारी विकेश प्रजापतिलाई नियन्त्रणमा लियो । 

सो म्यानपावर कम्पनीले एसएसपी बहराइन डब्लुएलएल नामक कम्पनीका लागि १ सय ५५ जना कर्मचारीको माग भई आएकाले पूर्व स्वीकृति पाउँ भनी २०७६ भदौ २५ गते वैदेशिक रोजगार विभागमा निवेदन दिएको थियो । दर्ता नम्बर ५७२ रहेको साउण्डलाइन्सले भदौ ३० गते वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति प्राप्त गरेको थियो । 

त्यसपछि उसले पत्रिकामा विज्ञापन छपायो । उसले छपाएको विज्ञापनअनुसार विभिन्न कामका लागि मागिएको कामदारका लागि जाने आउने टिकट खर्च, प्रोसेसिङ चार्ज र सर्भिस चार्जसमेत रोजगारदाता कम्पनीले नै बेहोर्ने भएकाले कुनै खर्च नलाग्ने भनिएको थियो । 

तर पनि अधिकांश म्यानपावर कम्पनीले एउटा विज्ञापन गरेर व्यवहार भने अर्कै गर्ने गरेका छन् । साउण्डलाइन्स म्यानपावर कम्पनीले पनि सबै खर्च रोजगारदाता कम्पनीले नै बेहोर्ने भनेपनि म्यानपावरका कर्मचारीले बारम्बार फोन गरेर पैसा ल्याउन भनेपछि जोशी विभागमा उजुरी गर्न पुगेका थिए । 

मंगलबार विभागको टोलीले म्यानपावरमा छापा मारेर केही कागजात जफत गरेको छ भने रकम बरामद गरी विभागमा ल्याएको छ । विभागले तत्कालका लागि उक्तम्यानपावरको खाता रोक्का राख्ने र अन्य कुनैपनि काम कारवाही गर्न नमिल्ने गरी सस्पेण्ड गरेको छ । 

म्यानपावर भन्छ : संस्थाले होइन, व्यक्तिले गल्ती गर्यो
मंगलबार विभागको टोलीले छापा मार्दै गर्दा रातोपाटी प्रतिनिधि पनि म्यानपावर कम्पनीमा पुगेका थिए । कर्मचारीले जोशीसँग रकम लिएर विभागको टोली पुगेपछि रकम झिकेर टेबुलमा राखेका थिए । कर्मचारी विकेश प्रजापतिले ४५ हजार मागेपनि आफूसँग ३० हजार मात्रै भएको भन्दै जोशीले ३० हजार बुझाएका थिए । तर उक्त रकमको रिसिप्ट भने म्यानपावरले दिएको थिएन । 

त्यसपछि विभागको टोलीले म्यानपावरका सञ्चालकद्वय सञ्जय देवकोटा र आशुतोष मिश्रसँग कुराकानी गरेको थियो । सञ्चालक देवकोटाले भने आफूहरुले कुनै पनि कामदारसँग रकम माग गरेको र बहराइनको कामका लागि सबै खर्च रोजगारदाताले बेहोरोको बताए ।  आफूहरुले कुनै पनि कर्मचारीलाई रकम लिन नभनेको भन्दै कर्मचारीले गल्ती गरेकाले नैतिक जिम्मेवारी मात्रै लिने बताए । 

रातोपाटीसँगको कुराकानीका क्रममा पनि सञ्चालक देवकोटाले आफूहरुले कसैसँग पनि रकम नउठाएको भन्दै कर्मचारीको मात्रै दोष भएको बताए । यद्यपि कर्मचारी आफ्नै भएको र आफ्नै कार्यालयमा रकम लिइएकाले त्यसको जिम्मेवारी लिने देवकोटाले बताए । 

कानूनअनुसार कारवाही हुन्छः विभाग
म्यानपावर कम्पनीले कानून विपरीत रकम लिएपछि मंगलबार म्यानपावरमा छापा मारेर विभागले कागजात नियन्त्रणमा लियो । त्यसपछि अब कानूनी कारवाहीमा जाने भन्दै कर्मचारीलाई दोष दिएर संस्था उम्कन नपाउने विभागका शाखा अधिकृत तीर्थराज कट्टेलले बताए । 

तत्कालका लागि म्यानपावरको सबै कारोबार रोक्का राख्ने अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाउने बताए । 

जान्न भन्दा पनि पैसा तिर्न दबाब दिइरहे : पीडित केशवदत्त जोशी


मैले बहराइन जानका लागि इन्टरभ्यू दिएको थिएँ । त्यसपछि उताबाट म पास भएको जानकारी आयो र भिसा पनि आयो । अनि मैले ओरिन्टेसन र श्रम स्वीकृति लिनुपर्ने भयो । तर त्यसका लागि मलाई ७५ हजार लाग्ने भन्दै यहाँका कर्मचारी विकेश प्रजापतिले बारम्बार फोन गरिरहे । कुल खर्च ७५ हजार लाग्ने र एडभान्समा ४५ हजार बुझाउनुपर्ने भन्दै फोन आइरह्यो । तर अहिले कोरोना भाइरसको कारण मैले तत्कालै नजाने भनेँ । फेरि बहराइनमा पनि जानका लागि फ्ल्याइट रोकेको भन्ने सुनेको थिएँ । तर पनि मलाई बारम्बार फोन आइरहेपछि मैले यो कुरा वैदेशिक रोजगार विभागमा गुनासो गरें । त्यसपछि वैदेशिक रोजगार विभागको टोलीसँगै म यहाँ आएको हुँ र रकम दिएको हो । अहिले विभागको टोलीले कागजात नियन्त्रणमा लिएको छ र कारवाही गर्दैछ । 

महानिर्देशक भन्छन्– कानून विपरीत काम गर्नेलाई छाडिन्न


यता वैदेशिक रोजगार विभागले पनि म्यानपावर कम्पनीविरुद्धको कारवाहीलाई तीब्रता दिएको छ । विभागमा महानिर्देशकका रुपमा कुमारप्रसाद दाहाल आएपछि उनले म्यानपावर कम्पनीविरुद्ध स्टिङ अपरेशन गर्ने र कारवाही गर्ने क्रमलाई तीब्रता दिएका छन् । कामदारसँग अवैध असुली गर्ने र कानूनभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई उनले धमाधम कारवाही गरिरहेका छन् । 

मंगलबार विभागको स्टिङ अपरेशनपछि रातोपाटीले विभाग आक्रामक भएकै हो भनेर सोधेको थियो । जवाफमा उनले भने, ‘विभाग आक्रामक भएको कुरा त तपाइँले देख्नु नै भएको छ । राम्रो काम गर्ने म्यानपावर कम्पनीलाई हामीले सम्मान गर्नुपर्छ । तर जुन जुन म्यानपावर कम्पनीले बदमासी गरेका छन्, उनीहरुलाई छुट दिने पक्षमा विभाग छैन । सेवाग्राहीको गुनासो आएलगत्तै हामीले लगातार स्टिङ र कारवाही गरिरहेका छन् । केही म्यानपावरका सञ्चालक र कर्मचारी थुनामा पनि पुगेका छन् । गरीब जनता लुट्ने कुरा स्वीकार्य हुन सक्दैन, त्यस्ता म्यानपावर विरुद्धको कारवाही जारी नै रहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप