बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालका डाक्टर बाँस्तोला भन्छन्–‘हामी कोरोनासँग डराउँदैनौँ’

‘पहिलो संक्रमितलाई पनि उपचार गरेरै पठाएका हौँ’
मङ्गलबार, २७ फागुन २०७६, १३ : १८
मङ्गलबार, २७ फागुन २०७६

नेपालमा कोरोना भाइरस नफैलिएपनि यसको त्रास भने फैलिइरहेको छ । त्यसको प्रभाव बजार, मान्छेको दैनिकीमा प्रत्यक्ष रुपमा परिरहेको छ पछिल्लो सार्वजनिक आँकडा अनुसार नेपालमा १ जनालाई कोरोना भाइरसको संक्रमण भएको र संक्रमितको उपचार भइसकेको छ । यसको अर्थ नेपालमा अहिले कोरोना भाइरसको संक्रमण छैन ।

नेपालमा कोरोना भाइरसबाट संक्रमणपछि उपचार गरेर स्वस्थ भएका पहिलो तथा एकमात्र व्यक्तिले अस्पतालले प्रभावकारी उपचार नगरेको भनेर आरोप लगाएका छन् । उपचारपछि नेपाल समाचारपत्र दैनिकसँगको कुराकानीमा उनले आफू चीनबाट फर्किएको र आफूलाई अस्पतालमा राम्रो उपचार नभएपछि घरमै गएर उपचार गरेको बताएका छन् ।

उनले काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जेलजस्तो अवस्थामा बसेको, डाक्टर र स्वास्थ्यकर्मी नै डराएको अनुभव साटेका छन् । माघ २३ गते डिस्चार्ज नै नभइ घरमै छुट्टै बसेर उपचार गरेको बताएका छन् ।


के डाक्टर नै डराउँछन् ?

डा.अनुप बाँस्तोला भन्छन्–‘हामी डराउँदैनौँ’

शंकास्पद विरामीलाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छुट्टै वार्ड बनाइएको छ । अहिले १ जना सो वार्डमा रहेका छन् भने इरानबाट फर्किएका एक नेपाली क्वारेन्टाइनमा बस्दैछन् ।

नेपालमा पहिलो कोरोना संक्रमितको उपचार बारे हामीले जिज्ञासा राख्दा सो अस्पतालका प्रवक्ता समेत रहेका डा. अनुप बास्तोलाले अस्पतालले उपचार गरेका बिरामी नियमित सम्पर्कमा रहेको दावी गरे ।

उनले अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै जाँच पड्ताल गरिरहेको बताए । उनले भने, ‘उपचारका लागि हामीसँग सुरक्षा कवच पनि पर्याप्त मात्रामा छ । हामीले अपनाउनुपर्ने मापदण्ड सबै पूरा गर्छौँ । हामी ढुक्क भएर काम गरिरहेका छौँ । पहिलो पटक कोरोना संक्रमण देखिएका व्यक्तिलाई पनि पूर्ण स्वस्थ बनाएर मात्र पठाएका हौँ । मिडियामा आएको जस्तो भएको छैन । हामीले पूर्णरुपमा स्वस्थ बनाएर पठाएका हौँ । ति संक्रमितले भेटेका ब्यक्तिबारे इपिडिमियोलोजी महाशाखाले अनुसन्धान गरेर जाँच गरेको छ । फैलिने सम्भावना छैन ।’

 उनले अहिलेसम्म ३३ जना विरामी अस्पतालको क्वारेन्टाइनमा राखेको बताउँदै कुनै लक्षण नदेखिएपछि फर्र्किएको बताए । यस्तै अस्पतालमा कुनै लक्षण नै नभएको एक जना मान्छे भागेको पनि उनले बताए ।

उनले भने, ‘एकजना ब्यक्ति कुनै लक्षण नै नभएको, फोबियाबाट ग्रसित मान्छे भागेको हो । हामीले परामर्श दिएर राख्दा पनि उहाँ भाग्नुभयो । अहिले हामीले उच्च मनोवलका साथ काम गरिरहेका छौँ । आवश्यक स्रोत साधन पनि पाएका छौँ । अहिले १ जना क्वारेन्टाइनमा छन् ।’ इरानबाट नेपाल फर्किएका १ जना क्वारेन्टाइनमा खुसीसाथ बस्ने आउन लागेको उनले बताए । 

कोरोना भाइसरको संक्रमण भेटिएर उपचारपछि कोरोनामुक्त हुने सूचीमा नेपालसँगै श्रींलका, गीब्राल्टर परेको छ ।

पछिल्लो आँकडा अनुसार विश्वमा कोरोना भाइरसबाट १ लाख १४ हजार ४ सय ३० जना संक्रिमति भएकोमा ४ हजार २७ जनाको मृत्यु भएको छ । ६४ हजार ९४ जना उपचारपछि निको भएका छन् । सबैभन्दा धेरै चीनमा ३ हजार १ सय ३६ जना, इटलीमा ४ सय ६३ जना, इरानमा २ सय ३७ जना, दक्षिण कोरियामा ५४ जना, फ्रान्स र स्पेनमा ३०/३० जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिए पनि कतारले नेपाल लगायत १४ मुलुकलाई प्रवेशमा अस्थायी प्रतिवन्द्ध लगाएको छ । नेपालमै पनि बजार क्षेत्रमा यसको प्रभाव परेको छ । नेपालका कोरोना भाइरसबाट डराइहाल्नुपर्ने स्थिति नभएपनि उपभोक्ताहरुले त्रासका कारण ग्याँस चामल तथा दैनिक उपभोग्य सामानको भण्डारण गर्न थालेका छन् ।

भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिले पनि आजै छलफल गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा समितिका संयोजक उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले स्वास्थ्य मन्त्रालयका पदाधिकारी, चिकित्सक, उद्योगी लगायत सम्बद्ध पक्षलाई छलफलका लागि बोलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप