बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

ताजा अनुसन्धानले भन्छ : कोरोना सङ्क्रमणको लक्षण देखिने औसत समयावधि ५.१ दिन मात्रै

मङ्गलबार, २७ फागुन २०७६, १२ : ३१
मङ्गलबार, २७ फागुन २०७६

कोरोनाको महामारीले घेरिएको अहिलेको अवस्थामा विज्ञानमा आधारित सल्लाह सुझाव पाउन निक्कै कठिन छ, जसले गर्दा यसबारेका सूचना, जानकारी वा चेतावनीहरु गलत पनि हुने गरेका छन् । सौभाग्यवश यसबारेमा हामीले दैनिक रूपमा नै नयाँ नयाँ तथ्य प्राप्त गरिरहेका छौँ ।

जोन हप्किन्स युनिभर्सिटीको ताजा अनुसन्धानले के देखाएको छ भने, कोरोनाभाइरसको औसत इन्क्युवेसन पिरियड (भाइरसले सङ्क्रमण गरेपछि त्यसको असर र लक्षण देखिने समय) ५.१ दिन मात्रै रहेको छ । यसको अर्थ के हो भने यसअघि विश्वास गरिए जस्तै यो भाइरसको सङ्क्रमणको आशङ्कामा १४ दिनसम्म क्वारेन्टाइनमा बसिबस्नुपर्ने नहुन पनि सक्छ ।

 स्मरणीय के छ भने स्वास्थ्य अधिकारीहरुले महत्त्वपूर्ण निर्णयहरु सीमित जानकारीका आधारमा गर्नुपरिरहेको हुन्छ र त्यस्ता निर्णयहरु विज्ञानमा आधारित रहेर गरिएको सधैँ राम्रो हुन्छ ।

जोन हप्किन्सका टोलीले यसै वर्षको फेब्रुअरी २४ भन्दा अगाडि चीनको हुवेई प्रान्तभन्दा बाहिरका कोभिड–१९ (नयाँ कोरोनाभाइरस) सङ्क्रमित भएका १८१ केसको अध्ययन गरेको थियो ।

भाइरसको सम्पर्कमा आएको सम्भाव्य समय, त्यसपछिका लक्षणहरु, ज्वरो र अधिकारीहरुले त्यसलाई पहिचान गरेको सबै केसहरुको आधारमा टोलीले इन्क्युवेसन समयको वितरणको मोडेल तयार गरेका थिए ।

सरल भाषामा भन्दा, इन्क्युवेसन पिरियड भनेको रोगसँगको सम्पर्कमा आएको र त्यसको लक्षण देखिएको स्थितिबीचको समयावधि हो । सामान्यतः यो भनेको सङ्क्रमण अवधिभन्दा पहिले हुन्छ, जुनबेला तपाईंले अरूलाई रोग सार्न सक्ने सम्भावना रहन्छ ।

यो रोगको लक्षण नै नदेखिएका मानिसहरुबाट यो रोग कत्तिको सर्न सक्छ भन्नेबारेमा अहिलेसम्म प्रष्ट रूपमा थाहा भइसकेको छैन । तर लक्षण नै नदेखिएका सङ्क्रमितबाट अन्य मानिसमा यो भाइरस सरेको केही रिपोर्टहरु आइसकेका छन् । यसको अर्थ के हो भने, अरू खालका कोरोनाभाइरसहरु (जस्तै रुघाखोकी लगाउने) यो भाइरस पनि खोक्दा वा हाछ्युँ गर्दा सर्न सक्ने सम्भावना रहन्छ ।

जोन हप्किन्सको टोलीले पत्ता लगाएअनुसार, २.५ तिशतभन्दा कम सङ्क्रमित मानिसमा लक्षणहरु २.२ दिनमा देखियो भने ९७.५ प्रतिशतमा चाहिँ ११.५ दिनमा । यस आधारमा हिसाब गर्दा सङ्क्रमण देखापर्ने औसत समय ५.१ दिन देखियो ।

‘सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कहरुलाई विश्लेषण गर्दा अहिले सिफारिस गरिने १४ दिनको क्वारेन्टाइन वा निगरानीको समयावधि जायज नै देखिन्छ,’ जोन हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका इपिडेमिओलोजिस्ट जस्टिन लेस्लेर भन्छन् ।

‘तथापि त्यस समयावधिका बीचमा केही केसहरु लामो समयावाधिमा छुट्न पनि सक्छ ।’

कोरोनाभाइरसका सन्दर्भमा सार्वजनिक निर्णयहरु लिन सङ्क्रमण गराउने रोगसम्बन्धी विशेषज्ञलाई यस किसिमका अध्ययनहरुले निक्कै सहयोग पुर्याउन सक्छ ।

यसअघि अरू अध्ययन टोलीले नयाँ कोरोनाभाइरसको इन्क्युवेसन समयावधि १९ देखि २४ दिनसम्म देखिएको रिपोर्ट प्रकाशित भएपछि यसको इन्क्युवेसन समयावधि पर्याप्त नरहेको बारे चिन्ता प्रकट गरिँदै आइएको थियो ।

ती १८१ केस अध्ययनका आधारमा जोन हप्किन्सको टोलीले के अनुमान गरेका छ भने १४ दिन क्वारेन्टाइनमा रहेका १० हजार जनामध्ये १०१ जनामा क्वारेन्टाइनबाट बाहिर निस्केपछि पनि लक्षणहरु देखापर्न सक्छन् ।

लामो इन्क्युवेसन समयावधिले अहिलेको हाम्रो क्वारेन्टाइन नीतिलाई प्रभावित गर्न सक्छ कि सक्दैन भन्नेबारे थाहा पाउन अझ ठूला सङ्ख्यामा मानिस समावेश गरेर अरू अध्ययन गरिनु जरुरी छ ।

यो भाइरसविरुद्ध खोप विकसित भएर उत्पादन नभएसम्म हामी सबैका लागि यो भाइरसको सामना गर्ने सबैभन्दा उत्तम उपाय नै शान्त रहने, २० सेकेन्डसम्म हात धुने र केही गरी बिरामी भएमा घरमै बसेर आराम गर्नु नै हुनेछ ।

स्रोतः साइन्स एलर्ट
Title photo: https://cdn.the-scientist.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप