भित्र प्रमको मिर्गौला प्रत्यारोपण, बाहिर बिरामी र कुरुवाको छटपटाहट
प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधबार अर्थात फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा करिब साढे १ बजे मिर्गौला प्रत्यारोपण भइरहेको थियो ।
अस्पताल परिसरमा छुट्टै माहोल थियो । सायद मुलुककै प्रमुख कार्यकारीको मिर्गौला प्रत्यारोपण गर्ने जिम्मेवारी निर्वाह गर्नु परेकाले चिकित्सक–स्वास्थ्यकर्मीमात्र नभइ अस्पताल प्रशासन पनि कहीँ कतै कुनै प्रकारको चुक नहोस् भनेर सचेत देखिन्थ्यो ।
सरकारका मन्त्रीहरु, सांसदहरु लगायत शुभेच्छुकहरु अस्पताल परिसरमा जम्मा भएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरिरहेका थिए । छिन–छिनमा मिर्गौला प्रत्यारोपणका अपडेटबारे मानिसहरु चासो राखिरहेका हुन्थे ।
महिनौँदेखि सो अस्पतालमा धाइरहेका बिरामी र उनीहरुका कुरुवाका लागि भने यी सबै दृष्य विल्कुलै नयाँ थिए । उनीहरुले बिरामीप्रति यति व्यापक रुपमा चासो, चिन्ता कहिल्यै महसुस गरेका थिएनन् । उनीहरुले अस्पताल प्रशासनबाट आफ्ना लागि यति चासो र सरोकार राखेको पनि कहिल्यै महसुस गरेनन् ।
त्यस दिन अस्पताल बाहिर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलताको कामना गर्ने शुभेच्छुकको भीड थियो । अस्पताल प्राङ्गणदेखि मिर्गौला प्रत्यारोपण कक्षको ढोकासम्म सुरक्षाकर्मीको पहरेदारी थियो । साथै प्रायः सबै मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख तथा कार्यकर्ता र पत्रकारको बाक्लै ओहोर दोहोर थियो । उनीहरु एकआपसमा प्रम ओलीको मिर्गौला प्रत्यारोपणबारे कुराकानी गरिरहेका हुन्थे ।
तर, त्यही भीडमा मिर्गौला प्रत्यारोपण गर्न नपाएर छटपटाइरहेका सर्वसाधारणको आवाज सुनिदिने कोही थिएनन् । जबकि मिर्गौैैला प्रत्यारोपण गर्न नपाएर बिचल्लीमा परेका, लामो समयदेखि अस्पताल धाइरहनु परेका बिरामीहरु त्यस्ता दृष्यलाई टुलुटुलु हेरेर बस्न बाध्य थिए ।
विगत १६ महिनादेखि टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपणकै लागि धाइरहेका छन् पाँचथरका विनोद कार्की । मिर्गौला प्रत्यारोपण गर्नका लागि दुई पटकसम्म अस्पतालले समय तोक्यो तर आर्थिक अभावका कारण उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।
कार्कीलाई मिर्गौला दान गर्न उनकी जीवनसङ्गीनी तयार भए पनि करिब ११ लाख रुपैयाँ जुटाउन नसक्दा कार्कीको उपचार हुन सकेको छैन । १६ महिनादेखि औषधि उपचार गर्नेक्रममा लाखौँ खर्च भइसकेको कार्कीकी श्रीमती गीता बताउँछिन् ।
‘सास हुन्जेल आस लाग्ने रहेछ,’ उनी भन्छिन्, घरको सबै श्रीसम्पत्ति बेचेर उहाँको उपचारमा लाग्दा पनि पैसा पु¥याउन नसक्दा प्रत्यारोपण गर्न सकिएन ।’
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा उनी गहभरी आँशु पार्दै भन्दै थिइन्, ‘अस्पतालबाट हुने सुविधा टाठाबाठाका लागि हो जस्तो लाग्न थाल्यो ।’
‘प्रधानमन्त्रीले स्वदेशमा मिर्गौला प्रत्यारोपण गराइरहँदा सबै खुसी भएका छन्’, उनी भन्छिन्, ‘त्यसैगरी उपचारको अभावमा छटपटाइराखेका हामी सर्वसाधारणको मर्म पनि सरकारले बुझिदिनुपर्छ ।’
राष्ट्रका प्रमुख हुन् वा दूरदराजका जनता, सबैले अस्पतालबाट एकैखालको सेवासुविधा पाउनुपर्ने उनको भनाइ छ ।
घरका लागि आर्थिक जोहो गर्ने मूल मान्छे बिरामी पर्दा बालबच्चालाई पालनपोषण गर्न, स्कुल पढाउनसमेत गाह्रो भएको उनी बताउँछिन् । सामान्य बिरामी हुँदा राष्ट्र प्रमुख, मन्त्री, सांसद प्रतिपक्ष हुन् वा सरकार पक्षका नेता, प्रायः विदेशी अस्पतालमा उपचार गर्न जाने चलन छ । सरकारी ढुकुटी दोहन गरेर नेताहरू विदेशमा उपचार गर्न गए पनि गाउँका सर्वधारणमा सामान्य औषधि उपचारको पहुँच पुग्न सकेको छैन । धेरै दीर्घरोगी बाँच्ने आशैआशमा अस्पतालको ढोका घच्घच्याउँदै संसारबाट बिदा हुने असङ्ख्य छन् ।
अस्पतालको बरान्डामा कुरुवाको बास
टिचिङ अस्पतालको मिर्गौैला प्रत्यारोपण गर्ने कक्षको बाहिरी बरन्डाको चिसोमा भुइँमा गुन्द्रीमाथि झोलाको सिरानी राखेर लहरै निदाएका थिए कुरुवाहरु । कोही आफ्नो अगाडिबाट ओहोरदोहोर गरिरहेका मानिसलाई अवलोकन गर्दै थिए । त्यहाँ महिनौँदेखि चिसो भुइँमा बसिरहेका बिरामी कुरुवाहरू पनि थिए । अर्कोतिर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहेको कक्षको गेटसम्म सुटबुट लगाएका गन्यमान्य व्यक्तित्व ओहोरदोहोर गरिरहेका थिए ।
विगत डेढ महिनादेखि त्यही चिसो बरन्डामा खोटाङका लालबहादुर तामाङको सालाभेनाको बास छ । श्रीमतीको उपचार खोटाङमा सम्भव नभएपछि टिचिङ अस्पतालमा आएको लालबहादुर बताउँछन् । श्रीमतीलाई कलेजोमा समस्यादेखिएका कारण उपचार भइरहेको रहेछ । ‘अस्पतालको बरन्डाको बास अझै कति हुने हो, थाहा छैन,’ उनले भने, ‘उपचारको क्रममा दिनकै १५ देखि २० हजार खर्चभएको छ ।’
प्लास्टर गरेको भुइँमा गुन्द्री ओछ्याउँदा पनि चिसो आउने उनले सुनाए । ‘दिनभरि रातभरि मानिस यही बाटो हुँदै ओहोरदोहोर गर्छन्,’ उनी भन्छन्, ‘राति निदाउँन त पाइँदैन, यसो बस्ने मात्रै हो ।’
चितवनका विमल श्रेष्ठ पनि यही बरन्डामा झोलामा अडेस लागेर बसिरहेका थिए । उनले एक हप्तादेखि बिरामी कुरेर बसेको बताए । ‘बिरामी कुर्दा आफै बिरामी परिएलाजस्तो भयो,’ उनले भने, ‘भित्ताबाट पनि चिसो, भुइँबाट पनि चिसो आउँदा हात, खुट्टा नै सुनिन थाले ।’
बिरामीलाई आफै गाह्रो हुन्छ । त्यसमाथि अस्पतालमा बिरामी कुरुवालाई बस्ने ठाउँ व्यवस्थित नहुँदा झन् समस्या भएको उनले गुनासो गरे ।
यी सब दृष्यलाई प्रधानमन्त्रीले समेत प्रत्यक्ष देखेको उनको भनाइ छ । ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्न जाँदा बरन्डामा बसेका हामीलाई हेर्दैहेर्दै जानुभयो,’ उनले भने, ‘उहाँको स्वास्थ्य लाभको कामना गर्न आउने मन्त्री सांसदहरु यही बरन्डाबाट त्यो गेटसम्म पुग्छन्, रमिता हेरेझैँ गरेर जान्छन् ।’ बरन्डामा बसेका बिरामी कुरुवालाई किन भुइँमा बसेको भनेर कसैले पनि सोध्न नसकेको उनले बताए ।
त्यही बरन्डामा नुवाकोटकी मिना लामा १५ दिनदेखि श्रीमान् बिरामी परेकाले कुरेर बसेकी थिइन् । राति पटक पटक बिरामी भेट्न जानुपर्ने उनले बताइन् । ‘राति एकछिन निदाउन खोज्यो मानिस हिँडेको हल्लाले निदाउनै सकिँदैन,’ उनी भन्छिन् ।
बिरामी कुर्न बस्दा निदाउन नपाएर आफैँ बिरामी भएको जस्तो भएको छ उनलाई । अस्पतालको कोलाहलमय वातावरण र महँगा औषधि किन्न दौडनुपर्दा उनी दिक्क भएकी छन् ।
‘उपचार गर्दा देशविदेशमा सुविधा पाउने भनेको नेताका लागि मात्र रहेछ’, उनी भन्छिन्, ‘जनतालाई सरकारी अस्पतालमा औषधि उपचार गर्दा महँगो पर्दोरहेछ । बिरामी कुरुवालाई पनि बस्ने ठाउँ सजिलो र सुरक्षित छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने