आधुनिक बैङ्किङको पायोनियर ‘यस बैङ्क’ कसरी डुब्यो ?
काठमाडौँ । करिब ४ खर्बभन्दा बढी कर्जा नउठेपछि भारतको ‘यस बैङ्क’ समस्यामा परेको छ । भारतका बैङ्कहरुको नियमनकारी निकायको रूपमा रहेको रिजर्भ बैङ्क आफ इन्डियाले उक्त बैङ्कलाई शिघ्र सुधारात्मक कारबाही गरेको छ भने बैङ्कका संस्थापक राना कपुरलाई पक्राउ गरिसकेको छ । त्यस्तै बैङ्कका निक्षेकर्ताहरुले मासिक ५० हजार रुपैयाँभन्दा बढी निक्षेप फिर्ता लैजान नपाउनेगरी सीमा निर्धारणसमेत गरिदिएको छ ।
संस्थापक कपुरमाथि आरबीआईले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको उल्लङ्घन गरेको आरोप लगाएको छ । कपुरको नेतृत्वमा बैङ्कले डीएचएफएल नामक एउटा कम्पनीलाई प्रवाह गरेको ३७ अर्ब ऋण अनधिकृत भएको आरबीआईको दाबी छ । उक्त ऋण प्रवाह भएको केही दिनमै कपुरकी छोरी र श्रीमतीको बैङ्क खातामा करोडौँ रकम जम्मा भएको देखिएपछि आरबीआईको यो आरोप थप पुष्टि भएको छ ।
‘यस बैङ्क’ले कर्जा प्रवाह गरेको डीएचएफएल नामक सो कम्पनी वादवान परिवारको स्वामित्वमा रहेको कम्पनी हो । केही महिनाअघि मात्रै सो परिवारका कपिल वादवानलाई पीएमसी बैङ्कको कर्जा अपचलनको आरोपमा पक्राउ गरिएको थियो । यही समूहले यो बैङ्कबाट लिएको ऋणसमेत तिरेका छैनन् ।
तर कपुरको यही गल्तीले मात्रै बैङ्कलाई यो अवस्थामा पुर्याएको भने होइन । उनले धेरै त्यस्ता ठगी गरेका छन् जसले बैङ्कलाई विस्तारै कमजोर बनाउँदै गयो । कपुरले त्यसअघि पनि कमजोर धितोमा ठूलो कर्जा प्रवाह गरेका थिए । उनले कर्जा प्रवाह मात्रै गरेनन्, त्यस्तो कर्जा नउठ्दा बढेको निष्क्रिय कर्जा विवरणसमेत कम गरेर रिजर्भ बैङ्कलाई बुझाए । त्यति मात्रै होइन उनले सेयर धितोमा राखेर आफ्नै बैङ्कबाट लिएको ऋणलाई समेत लुकाएर राखे ।
रिजर्भ बैङ्कले बैङ्कमा भएका त्यस्ता गतिविधि नियन्त्रण गर्न भन्दै ६ महिनाअघि सो बैङ्कमा आफ्नो तर्फबाट एकजना अतिरिक्त सञ्चालक पठाएको थियो । तर यसबाट पनि बैङ्कको अव्यवस्था नियन्त्रण हुन सकेन । त्यसैले केन्द्रीय बैङ्कले सो बैङ्कलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो । चालू वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैङ्कको निष्क्रिय कर्जा अनुपात ७.३९ प्रतिशत पुगेको थियो । बैङ्कको नोक्सान ६ अर्ब रूपैयाँ करोड थियो भने ऋण रकम मात्रै १० खर्ब रूपैयाँ कायम भएको थियो । सो बैङ्कलाई सुधार गर्न अहिले आरबीआईले स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) बैङ्क र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) लाई सो बैङ्कको सेयर किन्न आग्रह गरेको छ ।
बैङ्कको आशलाग्दो विगत
नयाँ बैङ्क भएर पनि ‘यस बैङ्क’ले भारतामा एउटा अमीट छाप छोड्न सफल भएको छ । भारतको २५० वर्षे बैङ्किङ इतिहासमा १५ वर्षअघि मात्रै स्थापना भएर पनि सो बैङ्कले धेरै क्षेत्रमा आफूलाई ‘पायोनियर बैङ्क’को रूपमा स्थापना गर्न सफल भयो । विश्वमा भित्रिएका नयाँ नयाँ बैङ्किङ अभ्यासलाई तत्कालै लागू गर्नाले आम जनतादेखि र वित्तीय क्षेत्रसम्म बैङ्कप्रति निकै सकारात्मक थिए ।
यो बैङ्कले १५ वर्षको अवधिमा वित्तीय क्षेत्रमा ठूलो सुधारको नेतृत्व बैङ्कले गरिसकेको छ । भारतीय बैङ्किङ क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वको कार्यान्वयन गर्ने, विपन्न वर्गमा कर्जा प्रवाह गर्ने, फिनटेकको नयाँ प्रविधि प्रयोग गर्ने र सामाजिक निक्षेप योजना सार्वजनिक गर्ने पहिलो बैङ्क यो नै हो । यही कारणले सो बैङ्कले छोटो अवधिमै विभिन्न अवार्डहरु प्राप्त गरिसकेको छ । बैङ्क स्थापना भएको चौथो वर्षमा सो बैङ्कले ‘युरोमनी ट्रेड फाइनान्स डिल आफ दी इयर’ नामक अवार्ड पाएको थियो । त्यस्तै, सन् २००८ मा ‘बेस्ट कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड तथा सन् २००९ मा ‘मोस्ट इनोभेटिभ बैङ्क इन इन्डिया’को सम्मान पाएको थियो ।
त्यस्तै २०११ मा ब्लुम वर्गद्वारा भारतको सबैभन्दा छिटो समृद्धि हासिल गर्ने बैङ्कको रूपमा समेत यो बैङ्क घोषित हुँदै ब्लुमवर्ग यूटीभी फाइनान्सियल लिडरसिप अवार्ड प्राप्त गरेको थियो । त्यसको पछिल्लो वर्ष अर्थात् सन् २०१२ मा सिङ्गापुरको एउटा संस्थाले ‘दि फाइनान्सियल इन्साइट इनोभेसन अवार्ड’ले बैङ्कलाई सम्मानित गरेको थियो । त्यसयता भने बैङ्कको उपाधि शृङ्खलामा ब्रेक लाग्दै आए पनि सन् २०१७ मा ‘बेस्ट टेक्नोलोजी बैङ्क आफ दी इयर’बाट सो बैङ्क सम्मानित भएको थियो । यही बैङ्कलाई पच्छ्याउँदै भारतका अन्य ठूला बैङ्कहरुले समेत संस्थागत सामाजिक उत्तरदायित्व, सामाजिक बैङ्किङ, फिनटेक आदिलाई आत्मसात गर्दै गएका छन् ।
अधोगतिको बिजारोपण
बैङ्क अहिलको अवस्थामा आइपुग्नुको कारण भने बैङ्कको स्थापनासँगै जोडिएको छ । २००४ मा बैङ्क स्थापना हुँदा राना कपुर सीईओ र अशोक कपुर अध्यक्ष थिए । तर २००८ को नोभेम्बर ११ मा भएको मुम्बई हमलामा अशोक कपुरको मृत्यु भएपछि राना कपुरले बैङ्कलाई एकलौटी रूपमा सञ्चालन गर्दै आएका हो ।
अशोक कपुरको मृत्यु हुनुअघि यी दुई साझेदार बीचको सम्बन्ध सुमधुर थियो । दुई जनाको समन्वयमै सबै निर्णयहरु हुने र एउटाको निर्णय अर्कोलाई स्वीकार्ने पद्धतिका कारण सुरुमा बैङ्कले राम्रो प्रगति हासिल गर्न सफल भएको थियो । सोही कारण बैङ्क स्थापना कालमै तीनवटा विदेशी कम्पनीले समेत सो बैङ्कमा जम्मा २५ प्रतिशत इक्विटी लगानी गर्न सहमत भएका थिए । सिटिक्रप फाइनान्सियल फाइनान्स कर्पोरेसन, क्रिसक्यापिटल २ र एआईएफले क्रमशः १० प्रतिशत, ७.५ प्रतिशत र ७.५ प्रतिशत इक्विटी सो बैङ्कमा लगाएका थिए ।
अन्तर्राष्ट्रिय लगानी भएपछि यो बैङ्कले आफ्नो बैङ्किङ गुणस्तरलाई समेत अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लग्यो । फलस्वरूप यसले विभिन्न अवार्डहरु समेत पाउन सफल भएको हो । सोही कारण बैङ्क स्थापना भएको १ वर्षमै खुलाइएको बैङ्कको साधारण सेयरलाई लगानीकर्ताहरुले ३८ देखि ४५ रूपैयाँसम्ममा बिक्री गरेको थियो जब कि यो सेयरको अङ्कित मूल्य १० रूपैयाँ मात्रै हो ।
तर अशोक कपुरको निधनपछि उनको ठाउँमा उनकी श्रीमती मधु कपुर आइन् । त्यसपछि राना र उनको सम्बन्ध सुरु हुन सकेन । उता बैङ्कको आक्रामक वृद्धिलाई कायमै राख्न सो बैङ्कले कमजोर धितोमा कर्जा प्रवाह गर्न थाल्यो । यसको फलस्वरूप निष्क्रिय कर्जा अनुपात निकै बढ्दै गयो । तर यो बारेका नियामकलाई जानकारी दिएर सहकार्यमा अघि बढेको भए समस्या समयमै सल्टिन सक्थ्यो । तर कपुरले यसलाई देखाउने भन्दा लुकाउने प्रयास गर्दै गए । सोही कारण बैङ्क समस्यामा पर्दै गयो ।
२ वर्षअघिसम्म यो बैङ्कको सेयर मूल्य ४०० रूपैयाँ थियो । अहिले यो १५ रूपैयाँको हाराहारीमा झरिसकेको छ । बैङ्कमा समस्या देखिएपछि कपुरले भने बैङ्कमा रहेको आफ्नो सेयर हिस्सालाई पहिलेदेखि नै घटाउँदै लगेका थियो ।
यो बैङ्क अहिले समस्यामा रहे पनि बैङ्क खारेजीकै अवस्थामा पुगेको भने होइन । यसमा डुबेको ऋणलाई उठाउने जिम्मा कुनै सबल संस्थाले लिने हो भने अझै पनि यो बैङ्कले राम्रो गति लिनसक्ने सम्भावना छ । त्यसका लागि रिजर्भ बैङ्क अफ इन्डियाले एसबीआई र एलआईसीलाई जिम्मा लिन प्रस्तावसमेत गरेको छ । जसलाई सो बैङ्कले स्वीकार गर्ने सङ्केत गरेको छ ।
भोलिका दिनमा यो बैङ्क सुध्रेला र विगतकै पुनरावृत्ति फेरि गर्ला पनि । तर यो घटनाले भारत नेपाल लगायत दक्षिण एसियालाई नै दिएको सन्देश यो हो कि ‘हतार गरे लडिन्छ’ । अर्थात् आक्रामक बजार विस्तारको गर्दा गुणस्तर ध्यान नदिने हो भने आज जतिसुकै राम्रो भए पनि डुब्न समय लाग्दैन ।
(एजेन्सी सहयोगमा)