बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : नेपालीलाई कतार प्रवेशमा प्रतिबन्ध, शुक्रबारसम्म प्रम ओलीको डिस्चार्ज

सोमबार, २६ फागुन २०७६, १८ : १९
सोमबार, २६ फागुन २०७६

होली पर्व मनाइयो

आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली । विगतमा सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे । एकापसमा रङ दल्दै खुशी साट्थे । फागु पर्वको शुभकामना आदानप्रदान गर्थे । सडक पनि रङ्गिन्थ्यो । यसपालिको फागुले भने रौनक गुमाएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले सावधानीपूर्वक फागु मनाउन भनेको छ । भिडभाड नगर्न, रङ र पानी नछ्याप्न आग्रह गरेको छ । स्थानीय प्रशासनले समेत फागु लक्षित मेला, उत्सव र साङ्गीतिक कार्यक्रममा रोक लगाएको छ । जसका कारण फागु पर्व सीमित साथीभाइ, घर र परिवारमा सीमित भएको छ । हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष सडकमा होली खेल्ने जमात देखिएन । 

त्रासका बीच पनि केहीले भने वर्षमा एक दिन आउने यस चाडलाई धुमधामका साथ मनाएका छन् । बसन्तपुर दरवार क्षेत्रमा मास्क लगाएरै भए पनि होलीको उत्सवमा सहभागी हुन आउने धेरै थिए । पर्यटकहरु पनि मास्क लगाएरै रङ्गहरुको पर्वमा रमाइरहेका थिए ।

होलीका अवसरमा काठमाडौंको वसन्तपुरमा गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर जलाउने चलन रहेको छ । चीरको खरानीको टीका लगाएमा अनिष्ठ टर्छ भन्ने विश्वास रहेको छ । अष्टमीका दिन बसन्तपुरमा रहेको गद्दी बैठक अगाडिको रुखलाई रङ्गीचङ्गी ध्वाजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुने गर्दछ ।  

आज प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको थियो । जबरजस्ती लोला हान्ने र रङ दल्नेहरुलाई कारवाही पनि गरेको छ । प्रहरीले उपत्यकाका ६५ भन्दा बढी स्थानमा मादक पदार्थ सेवन (मापसे) चेकिङ गरेको छ । 

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह समेत गरेको छ । प्रत्येक चोकमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेरै मादक पदार्थ सेवन नगर्न आग्रह गरेको छ । मेलमिलाप र सद्भावको सन्देश दिइ आउने होली परम्परागत रुपमा रङहरु खेलेर मनाउने चलन रहेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार हुदै गएकाले केही दिनभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार आइरहेकाले आउँदो बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताए । उनले प्रधानमन्त्रीको यही क्रममा स्वास्थ्यमा सुधार आए केही दिनपछि डिस्चार्ज गर्न सकिने बताए । 

निर्देशक खड्गाले मिर्गौला प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सुझावका आधारमा यसबारेमा छलफल गरेर निर्णयमा पुग्ने बताए ।  अप्रेशन भएको बढीमा १० दिनभित्र उनलाई बालुवाटार फर्काउन सकिने उनले बताए । 

प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताए । 

उनको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा भएको पनि  डा. ज्ञवालीले बताए ।  प्रधानमन्त्री ओलीको यो प्रत्यारोपण दोस्रो हो । यससँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन् । चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको छ । 

उनले नियमित खानपान, हिँडडुल गर्न थालेको र व्यायामलाई निरन्तरता दिइएको पनि अस्पतालले जानकारी दिएको छ । संक्रमणको जोखिम घटाउन प्रधानमन्त्रीलाई धेरै भेटघाट नगर्न सुझाव पनि दिइएको छ ।’

प्रधानमन्त्री ओली सामान्य हिँडडुल र ठोस पदार्थ खान थालेपछि आफूलाई डिस्चार्ज गर्न चिकित्सकहरुसँग आग्रह गर्दै आएका छन् । 

 तर चिकित्सकहरुका अनुसार प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार फर्केपछि पनि उनलाई केही महिना आरामको जरुरत पर्छ ।  

‘सामान्यतया दुई तीन महिना आराम जरुरी पर्ने, पहिलो पटक प्रत्यारोपण गर्दाको अवस्था जस्तै दोस्रो पटक पनि त्यति नै समय आराम गर्न जरुरी रहेको प्रत्यारोपणमा संलग्न अर्का एक चिकित्सकको भनाइ छ । 

उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन् । 

कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताएका हुन् । 

 राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताए । 

 ‘चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको छ’, उनले भने । केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।  मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

मन्त्री भट्टले तत्काल स्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताए । 

मन्त्री भट्टले उपभोग्य सामानहरु माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भएपनि कालोबजारी हुन नदिने प्रतिवद्धता समेत जनाए । 


कोरोना भाइरस

कोरोना भाइरसबाट प्रभावित हुने मुलुकहरुको संख्या १०१ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो संख्या बढ्ने क्रम जारी छ । आइतबार मात्रै भाइरसबाट मर्नेको संख्या सबैभन्दा बढी इरान, त्यसपछि चीन, स्पेन, दक्षिण कोरिया र नेदरल्यान्डमा  देखिएको छ । यी मुलुकमा आइतबार ८८ जनाको मृत्यु भएको छ । जसमध्ये मर्नेको संख्या इरानमा धेरै देखिएको छ । इरानमा एकैदिन ४९ जनाको मृत्यु भएको थियो ।
हालसम्म विश्वमा कोरोनाको संक्रमण १ लाख ११ हजार बढी संक्रमित भएका छन् भने ३ हजार ८सय ८२को मृत्यु भइसकेको छ । ६२ हजार ६ सय बढी निको भएर फर्किएका छन् । 

यसैगरी पछिल्ले केही दिनमा चीन पछि इरान र इटलीमा कोरोना भाइरसको संक्रमण बढी फैलिएको छ । हालसम्म इटालीमा ७ हजार ३ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ भने ३ सय ६६ जनाको ज्यान गइसकेको छ । त्यसैगरी, हालसम्म इरानमा मर्नेको संख्या २३७ जना पुगेको छ भने संक्रमित हुनेहरुको संख्या ७ हजार बढी छ। 

त्यसैगरी, फ्रान्स, जर्मनी, स्पेन, जापान, अमेरिका, बेलायत, स्पिजरल्यान्ड, बेल्जियम लगायतका मुलुकहरुमा पनि सयौंको संख्यामा संक्रमितहरु देखिएका छन् । 

पछिल्लो तथ्याङ्कअनुसार चीनमा संक्रमित हुने र मर्नेको संख्या ह्वात्तै घटेको छ । चीन बाहेकका मुलुकहरुमा कोरोना संक्रमणको अनुपात ह्वात्तै बढेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरस बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेतअहिलेसम्म भोटिएको थिएन ।
बंगलादेशमा तीन जनामा संक्रमण भेटिएको हो । 

यस्तै माल्दिभ्समा पनि चार जनामा यसको संक्रमण देखिएको छ । 

नेपालमा चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्की सकेका छन् । दक्षिण एसियाली देशहरू मध्ये भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको छ । पछिल्लो आंकडा अनुसार भारतमा ४३ जनामा कोरोना देखा परेको छ । 

कतारमा प्रतिबन्ध

कोरोना महामारी फैलिएसँगै नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।

नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो । 
कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ । उक्त निर्णय कोरोनाभाइरसलाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।

जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ । कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ । यसैबीच कतारस्थित नेपाली दूतवासले अत्यावश्यक अवस्थाबाहेक भौतिक रुपमा भेटघाट नगर्न अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप