शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तोडियो मण्डिखाटारको त्यो सहमति, शेखरले खोले ‘फायर’

सोमबार, २६ फागुन २०७६, १७ : ५९
सोमबार, २६ फागुन २०७६

काठमाडौं । २७ कात्तिक २०७५ मा मण्डिखाटारस्थित काँग्रेस नेतृ सुजाता कोइरालाको निवासमा सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुबीच ‘लन्च मिटिङ’ भएको थियो । उक्त लञ्च मिटिङमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी थिए ।

 यद्यपि त्यस बैठकमा पार्टीको तेस्रो धारको नेतृत्व गर्ने कृष्ण सिटौला समूह उपस्थित थिएन । त्यसपछि ११ मंसिर २०७५ मा इतर पक्षका शीर्ष नेताका साथै युवा नेताको पनि सहभागिता रह्यो ।

जसमा धनराज गुरुङ, गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रामकृष्ण यादव, प्रदीप पौडेललगायत उपस्थित थिए ।

उक्त बैठकमा ‘अब उपरान्त सार्वजनिक कार्यक्रममा वा मिडियामा कसैले पनि सभापतिको दाबेदारी प्रस्तुत नगर्ने’ सहमति भएको थियो ।

संस्थापन इतर पक्षबाट आन्तरिक सहमतिपछि मात्र एक जनालाई सभापतिका रुपमा खडा गर्न सबै नेता सहमत भएका थिए ।

त्यसयता संस्थापन इतर पक्षमा सभापतिका आकांक्षीका रुपमा देखिएका नेताहरुले सार्वजनिक मञ्च वा मिडियासामू ‘आन्तरिक छलफलमा रहेको’ रेडिमेट जवाफ दिने गरेका थिए ।

तर सुजाताको पहलमा भएको त्यो सहमति शेखरले आइतबार उनै सुजातालाई साक्षी राखेर तोड्न पुगे ।

नेपाल प्रेस युनियन सिरहाले लहानमा आयोजित पत्रकार सम्मेलनमा शेखरले आगामी महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार हुने उद्घोष गरिदिए । जसमा पौडेल समूहको आफूहरुलाई साथ रहने उनको दावी थियो । 

संस्थापन इतरमा सभापतिका आकांक्षी देखिएका पौडेल, सिंहलगायतलाई चिढ्याउने गरी उनले भने, ‘कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्नेछ ।’

डा शशांक, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनको भनाइ थियो । 

शेखरले भने, ‘कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छौं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ ।’

पौडेल लक्षित शेखरको ‘फायर’ सभापति देउवाले लिएको पछिल्लो निर्णयमा पनि केन्द्रित देखियो । उसो त शेखर केही अघिदेखि नै सभापतिको ‘अघोषित’ उम्मेदवारको रुपमा देश दौडाहामा छन् । कोरोना भाइरसको आतंककाका बीच पनि उनको त्यो दौडाहा जारी नै छ ।

पौडेले देउवाको पछिल्लो निर्णयको प्रतिवाद गर्ने बताइरहेको बेला शेखरले भागबण्डाको अस्वस्थ राजनीति प्रतिपनि झटारो हानेका छन् ।  उनले भने, ‘भागबण्डा मिल्यो भने ठीक, नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन । म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु।’

गत माघ १० गते नेविसंघको तदर्थसमिति गठनका विषयमा भागबण्डा मिलेपछि पौडेलले आफ्नो अडान छाडेका थिए ।

विधानविपरित तदर्थ समिति गठनमा पौडेल राजी भएकोप्रति त्यतिबेला शेखरले विमति जनाएका थिए ।

देउवा र पौडेलले पार्टीमा गलत प्रवृत्तिको विकास गरेको भन्दै यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा उनको जोड थियो ।

उनको त्यो अभिव्यक्तिमा संस्थापन इतरबाट पौडेलको विकल्प कोइराला परिवारको कोही छ भन्ने कुरा बुझिन्छ ।

यता पौडेलले भने आगामी महाधिवेशनमा पनि आफू सभापतिको उम्मेदवार रहने इच्छा दर्शाएको पाइन्छ ।

केही दिनअघि नेता  पौडेलले रातोपाटीसँगको कुराकानीमा आफू आन्तरिक परामर्शमा रहेको र सहमति अनुसार अगाडि बढ्ने बताएका थिए । 

‘त्यस्तो कुनै निष्कर्षमा छैन । अहिले म साथीहरुसँग परामर्शमा छु । हाम्रोबीचमा परामर्श भएर जाँदा जे निष्कर्ष आउँछ त्यो नै मेरो निष्कर्ष हुन्छ,’ उनको भनाइ थियो ।

कोइराला परिवारका मुख्य हस्ती शशांक र शेखरले ‘हामी दुईमध्ये एक भनिरहनु भएको छ नि’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘उहाँहरुले हामी मात्र भन्नुभएको छैन । कोइरालाको मात्र हो वा सिंहको मात्र हो भनेर प्रकाशमान सिंहले पनि भन्नुभएको छैन । पार्टी सुधारका पक्षपाति हौं, हामी एक भएर जान्छौँ ।’

तर आइतबार शेखरले पौडेलको उक्त कुराको खण्डन गर्नुका साथै पौडेलमा थप बैचनी बनाउने गरी अभिव्यक्ति दिए । 


शेखरको यो अभिव्यक्तिलाई काँग्रेस वृत्तमा पौडेलको प्रकाशमान मोहसँग जोडेर हेरिएको पाइन्छ ।

पछिल्लो समय पौडेलले समूहगत रणनीतिमा सिंहलाई अघि सार्ने गरेका छन् । जसबाट कोइराला परिवार चिढिएको देखिन्छ ।

पौडेलले मिलाउन नसक्दा १३ औं महाधिवेशनबाट सिटौलाले आफूसँग बढाएको दुरी कम गर्न कोइराला परिवार प्रयासरत छ ।

सिटौलाले आफू सभापति उम्मेदवार रहेको उद्घोष गरेको केही दिनमै शेखरले पौडेल समूहबाट कोइराला परिवार उम्मेदवार भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यतिबेला काँग्रेसमा सभापतिको उम्मेदवारका रुपमा नेताहरुले प्रस्तुत हुनु स्वाभाविक भएको केन्द्रीय सदस्य कल्याण गुरुङ बताउँछन् ।

उनले भने, ‘काँग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । अब केही महिनामा महाधिवेशन प्रतिनिधि पनि छानिन्छन् । त्यसलै यति बेला नै सभापतिका आकांक्षीहरुले टिम बनाएर कार्यकर्ता माझ जानुपर्छ ।’
मञ्चमा भन्दा पनि आकांक्षीले औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा राम्रो हुने उनको भनाइ छ । 

‘महाधिवेशन प्रतिनिधिले सभापतिका उम्मेदवारसँग पार्टीलाई अगाडि बढाउन नीति, कार्यक्रम र कार्यदिशा के छ भनेर बुझ्न पाउँछन् ,’ गुरुङ भने, ‘अतिरिक्त समयमा थपिँदा पनि सभापति को भन्ने कुराको अन्यौता राख्नु हुँदैन । त्यसको विस्तारै विस्फोट हुँदैछ ।’

यता राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवा र पौडेलबाट पार्टी नचल्ने निष्कर्षमा पुगेपछि शेखरले फेरि मुख खोलेको तर्क गर्छन् । 

‘राजचन्द्रजीसँग नजिकिएको प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महतहरुले शशांक र शेखरलाई स्वीकारेको देखिँदैन,’ उनले भने, ‘तिमीहरुले हामीलाई रोक्न खोजेपनि हामी काँग्रेसको नेतृत्व लिन तयार रहेको कोइराला परिवारले सन्देश दिन खोजेको देखिन्छ । शेखरजीले त्यही अनुसार बोलेको हुनपर्छ ।’

संस्थापन इतरमा सर्वस्वीकार्य नेता नहुँदा सहमतिबाट सभापतिको उम्मेदवार छनोटमा हुनेमा आचार्य समस्या देख्छन् ।

‘रामचन्द्र पौडेलजीमा पार्टीमा आफ्नो योगदान र अनुभवले मलाई सबैले नेता मान्नुपर्छ भन्ने छ । यता कोइराला परिवारबाट बाहिर जाँदा काँग्रेस भयो,’ उनले भने, ‘कोइराला परिवारकै नाममा सर्वस्वीकार्य होस् भन्ने शशांक र शेखरमा देखिन्छ । प्रकाशमानजी पनि शशांक र शेखर सभापति हुँदा म किने नहुने भन्ने छ । मेरो बाबुको पनि विरासत छ । मेरो आफ्नो पनि इतिहास छ भन्ने होला ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप