शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनासँगै साउदी–रुस विवादको मार : तेलको मूल्य चार वर्षयताकै न्युन

सोमबार, २६ फागुन २०७६, ११ : ५४
सोमबार, २६ फागुन २०७६

एजेन्सी । आइतबार तेलको मूल्यमा ऐतिहासिक कमी आयो । अहिले कोरोनाभाइरसका कारण विश्वका ठूला औधोगिक देशका निर्माण कार्यमा सुस्तता आएकाले तेलको मागमा उल्लेख्य कमी आएको छ । माग भएको कमीले तेलको मूल्यमा ह्रास आएको छ । 

त्यसमाथि ठूला तेल उत्पादक राष्ट्र साउदी अरबले अर्को ठूलो तेल उत्पादक रुसविरुद्ध मूल्य युद्ध छेडेपछि आइतबार मूल्यमा ऐतिहासिक गिरावट आएको हो ।

आइतबार अमेरिकी तेलको मूल्यमा एकै दिन २७ प्रतिशत गिरावट आयो । योसँगै अहिले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य चार वर्षअघिको अवस्थामा पुगेको छ । आइतबार तेलको मूल्य प्रति ब्यारेल ३० डलर पुगेको छ ।

विश्वव्यापी कच्चा तेलको मानक मानिने ब्रेन्ट क्रुडको मूल्यमा पनि २२ प्रतिशतले गिरावट आएर प्रति व्यारेल ३५ डलर पुगेको छ । तेलको मूल्यमा हाल देखिएको गिरावट शुक्रबार ओपेक र रुसबीचको वार्ता बिथोलिएपछि उत्पन्न भएको हो ।

ओपेक र रुसबीच तेलसम्बन्धमा भएको वार्तामा साउदी अरबले रुससँग तेलको उत्पादन कटौती गर्न प्रस्ताव राखेको थियो । तर रुसले साउदी अरबको प्रस्ताव अस्वीकार गर्यो ।

साउदी अरब र रुसबीचको असमझदारीले शुक्रबार नै तेलको मूल्य १० प्रतिशतले झरेको थियो ।

त्यसपछि साउदी अरबीयाले तेलको मूल्य घटाएर रुसलाई अफ्ठ्यारोमा पार्ने रणनीति अघि सार्यो । रुसमाथि दवाव राख्नुको अतिरिक्त साउदी अरबले तेल बजारमा आफ्नो हिस्सा बढाउन उक्त कदम चालेको विज्ञले बताएका छन् ।

रुसले भने अमेरिकी शेल तेल निर्मातालाई लक्षित गरेर तेल उत्पादन कटौती गर्न नमानेको बताइएको छ । तेल कटौती गर्दा मूल्य उच्च रहनेगर्छ । उच्च लागतमा उत्पादन हुने भएकाले अमेरिकी शेल तेल टिकिराख्न तेलको मूल्य उच्च रहनुपर्छ ।

‘रुसले आफ्नो वास्तविक निशाना अमेरिकाको शेल तेल निर्माता रहेको संकेत गरेको छ । रुसले तेल उत्पादन कटौतीबाट शेल कम्पनीको बजार हिस्सा बढने गरेकोबाट आफू हैरान रहेको बताउँदै आएको छ । तर रुसको कदम सफल हुन सम्भव छैन किनकि उसको उद्देश्य पुरा हुन लामो समय तेलको मूल्य कम रहनुपर्छ,’ उर्जा कन्सल्टेन्सी फर्म एफजीईका विश्लेषकले भने ।

सन् २०१४–१६ मा तेलको मूल्यमा ह्रास आउँदा दजनौँ तेल र ग्यास कम्पनी टाट पल्टिएका थिए । तर त्यही अमेरिकी शेल उद्योग भने त्यो समय झन् बलियो भएर उदायो । त्यसपछि अमेरिका विश्व तेल निर्माणमा पहिलो नम्बरमा रहँदै आएको छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप