शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन सार्वजनिक भएन १२ नयाँ मन्त्रीको सम्पत्ति विवरण ?

पुराना मन्त्रीको पनि ‘अपडेट’ भएन
सोमबार, २६ फागुन २०७६, ०८ : ३३
सोमबार, २६ फागुन २०७६

मन्त्रीपरिषद्मा रहेका १२ मन्त्रीको सम्पत्ति विवरण अझै सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत मंसिरमा सरकार पुनर्गठनका बेला नियुक्त भएका नयाँ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगरेको हो ।

झन्डै साढे ४ महिनाअघि विभिन्न मन्त्रालयमा नियुक्त भएका मन्त्रीहरुले समयमै सम्पत्ति विवरण बुझाएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफ्नो वेवसाइटमा पनि सम्पत्ति विवरण प्राप्त भएको पनि उल्लेख गरेको छ तर सार्वजनिक भने गरिएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आफू मन्त्री नियुक्त हुनेवित्तिकै सम्पत्ति विवरण बुझाएको रातोपाटीलाई बताए । यता भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले ढिलो बुझाउँदा ५ हजार जरिवाना लाग्ने भएका कारण समयमै सम्पक्ति विवरण बुझाएको बताए ।

नयाँ मन्त्रीहरुको मात्र नभइ प्रधानमन्त्री कार्यालयले अघिल्ला वर्षहरुमा सम्पत्ति विवरण बुझाएका मन्त्रीहरुको सम्पत्ति विवरण पनि अध्यावधी गरेका छैन ।

मन्त्रीपरिषदमा नयाँ मन्त्रीका रुपमा पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सम्पत्ति विवरण प्राप्त गरेर पनि सार्वजनिक गरिएको छैन ।

यद्यपी कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवकुमारी तुम्बाहाङफे भने गत फागुन ५ गतेदेखि मात्रै मन्त्रीपरिषदमा नियुक्त भएकी हुन् । उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने समय भने अझै बाँकी रहेको छ ।

यसबारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलसँग सम्पर्क अनविज्ञता प्रकट गरे । उनले किन सार्वजनिक नगरिएको हो यसबारे बुझेर जानकारी दिने बताए ।

गत मंसिर ४ गते प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका थिए । मन्त्रीपरिषदमा सहभागी भएको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेपनि साढे ४ महिना पुग्दासमेत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरिएको हो । 

प्रधानमन्त्रीसहितका यी मन्त्री, जसको सम्पत्ति विवरण ‘अपडेट’ भएन

२०७४ फागुन ३ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले काम थालेको थियो । उनको नेतृत्वको मन्त्रीपरिषदमा मन्त्री र राज्यमन्त्री गरेर १२ जना फेरिएका छन् ।

केही मन्त्रीलाई हटाइएको थियो, केही मन्त्री विवादमा परेर राजिनामा दिन बाध्य भएका थिए । यता समाजवादी पार्टी नेपालले भने सरकार छोडेका कारण २ मन्त्रालय खाली भएका थिए । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ र पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विवादमा परेर राजिनामा दिएका थिए । यता पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

सरकार गठनदेखि नै मन्त्रीपरिषदमा सामेल प्रधानमन्त्रीसहित ११ मन्त्रीकोे सम्पत्ति विवरण अध्यावधी गरिएको छैन । मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र प्रत्येक वर्ष अध्यावधि गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, वन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, यूवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र उर्जा मन्त्री वर्षमान पुनको सम्पत्ति विवरण अध्यवधी गरिएको छैन ।

२ वर्षअघि मन्त्रीपरिषदका ११ सदस्यको यस्तो थियो सम्पत्ति विवरण

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नंबर २ मा श्रीमती राधिका शाक्यको नाममा डेढ रोपनी जग्गा र ३ तले घर, झापा पृथ्विनगरमा शाक्यको नाममा १० कट्ठा जग्गा, १८ तोला सुन सम्पत्ति विवरणमा देखाएका थिए । यी सम्पत्तिलाई उनले पत्नि शाक्यको स्वआर्जनको रुपमा उल्लेख गरेका थिए ।

यस्तै पत्नि राधिका शाक्यको नाममा माछापुच्छ्रे बैंकमा ४ लाख, प्रभु बैंकमा ६ लाख रुपैयाँ स्व आर्जन र प्रधानमन्त्री ओलीको एभरेष्ट बैंकमा ४२ लाख तलब भत्ता वापतको रकम सम्पत्ति विवरणमा उल्लेख गरेका थिए । यस्तै पत्नि शाक्यको नाममा २५ लाख रुपैयाँको शेयर रहेको उल्लेख गरेका थिए ।

यसअघि बुझाएको सम्पत्ति विवरणमा गृहमन्त्री रामबहादुर थापाले श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद सम्पत्ति विवरणमा देखाएका थिए । यस्तै छिमेकीले दिएका दुई वटा कुकुरलाई पनि सम्पत्ति विवरणमा उल्लेख गरेका थापाले स्वकीय सचिव विरु तामाङको नाममा ३ लाख ६० हजार सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका थिए । यस्तै अपर तामाकोशी जलविद्युत आयोजनामा श्रीमतीको नाममा एक सय ४६ कित्ता सेयर रहेको जनाएका थिए ।

उर्जामन्त्री वर्षमान पुनले रोल्पामा २ वटा २५ वर्ष र ३५ वर्ष पुरानो घर, १५ तोला सुन र आधा किलो चाँदी, ७ लाख रुपैयाँ नगद, साढे ३ लाख रुपैयाँ बैंक मौज्दात र पार्टीले दिएको गाडी आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौँमा दुईतले पक्की घर, २ तोला सुन, २ लाख ५७ हजार बैंक मौज्दात,  करिब २५ सय पुस्तक आफ्नो सम्पत्ति विवरणमा देखाएका थिए । यस्तै घरको कोठा थप्नका लागि विभिन्न व्यक्तिसँग १४ लाख ८५ हजार रुपैयाँ ऋण लिएको ज्ञवालीले उल्लेख गरेका थिए ।

यता रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँको टोखामा ३ तले घर, झापा, भक्तपुर र धादिङमा जग्गा, ८ तोला सुन, २२ तोला चाँदी, आफ्नो र श्रीमती मीरा ध्वँजुका नाममा १३ लाख ४० हजार बैंक मौज्दात,  विभिन्न बैंक, जलविद्युत आयोजना र कलेजमा १५ हजार २ सय कित्ता सेयर रहेको सम्पत्ति विवरण बुझाएका थिए ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खोटाङमा पुख्र्यौली एउटा घर र जग्गा, तीन लाख ८ हजार रुपैयाँ बैंक मौज्दात र एउटा रेडियो स्टेशनमा शेयर रहेको सम्पत्ति विवरणमा देखाएका थिए ।

यता अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न बैंकमा १ करोड ५१ लाख रुपैयाँ बचत, देशका विभिन्न ठाँउ काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ स्थानमा १ करोड ४९ लाखमा किनेका जग्गा जमिन, ९ लाख ६० हजार बराबरको कार, आफू र श्रीमतीका नाममा काठमाडौँमा दुई वटा घर, १० तोला सुन, एक किलो चाँदी, विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा सेयर लगानी गरेको सम्पत्ति विवरणमा देखाएका थिए ।

यस्तै ८० हजार रुपैयाँको रंगिन टेलिभिजन, ६५ हजार रुपैयाँ र ८५ हजार रुपैँयाका दुई वटा मोबाइल सेट, विभिन्न ब्यक्तिलाई २४ लाख रुपैयाँ ऋण दिएको सम्पत्ति विवरणमा खुलाएका थिए । 

वनमन्त्री शक्तिबहादुर बस्नेतले १५ लाख रुपैयाँ नगद, ५ तोला सुन, १० किलो चाँदी जाजरकोटमा एउटा घर,  बैंकमा २ लाख मौज्दात र  पार्टीको नाममा रहेको एउटा गाडी आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।

यता, खेलकुद मन्त्री जगतबहादुर सुनारले ५० तोला सुन, एउटा घर,  आफ्नो र श्रीमतिका नाममा २० लाख रुपैयाँ बैंक मौज्दात, कृषि विकास बैंकमा ४ हजार कित्ता शेयर, ५ लाख रुपैयाँ ऋण दिएको सम्पक्ति विवरणमा उल्लेख गरेका थिए ।

भूमि व्यवस्थ तथा सहकारी मन्त्री पद्मा अर्यालले विभिन्न वित्तीय संस्थमा शेयर, श्रीमान र आफ्नो नाममा गरेर झन्डै ७० रोपनी जग्गा, १५ तोला सुन, २० तोला चाँदी, विभिन्न बैंकमा ७ लाख ५० हजार मौज्दात सम्पत्ति विवरणमा उल्लेख गरेकी थिइन् ।

यस्तै खानेपानी मन्त्री विना मगरले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् प्रकाश दाहालको नाममा भरतपुर चितवनमा २ कठ्ठा जग्गा, सासु सीता दाहालको नाममा १ कठ्ठा जग्गा, ५ तोला सुन, १६ तोला चाँदी र प्रकाश दाहालको नाममा रहेको स्कुटरलाई सम्पत्ति विवरणमा उल्लेख गरेकी थिइन् ।

२ वर्षको बीचमा माथि उल्लेखित मन्त्रीको सम्पत्ति विवरण थपघट के भएको छ सार्वजनिक गरिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप