शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, १०१ देशमा फैलियो कोरोनाभाइरस

आइतबार, २५ फागुन २०७६, १८ : ४७
आइतबार, २५ फागुन २०७६

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । 

 दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका

अनुसार प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल पनि गराउन थालिएको छ । 

उनलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहको छ । संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा. खड्काले बताए । 

आइतबार अस्पताल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा व्यापक सुधार भइरहेको बताए । 

महिला दिवस मनाइयो

आज ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला विदस, देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी महिला दिवस मनाइएको छ । महिला दिवसको अवसरमा आयोजिक एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदा सम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताइन् । 

मन्त्री अर्यालले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताएकी हुन् । 

 सरकारले  १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको बताइन् । 

 उनले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरी महिलाहरु सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताइन् । 

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेशीताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरुलाई चुनौति रहेको बताइन् । 

राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताइन् । 

सांसद चन्दा चौधरीले विभिन्न पार्टी भित्र रहेका महिलाहरु महिलाको विषयमा पार्टीको ह्विप भन्दा माथि उठेर काम गर्न नसक्दा सम्म महिला अधिकारको सुनिस्चितता नहुने बताइन् । 

अभिनेत्री रेखा थापाले पुरुषहरुको दबदवाकै कारण महिलाहरु कोटामा मात्रै भन्ने महिलाहरुले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न चुनौति दिइन् । 

कार्यक्रममा महिलाहरुको हक हितका लागि नेतृत्व तहमा पुगेका महिलाहरुले आफ्नो जिम्मेवारीमा रही अधिकार र महिलाका मुद्दाका विषयमा एकरुपता कायम गरी सबैले काम गर्नुपर्नेमा महिला नेतृहरुले जोड दिएका थिए । 


यता अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकारकर्मीहरुले बताएका छन् । 

महिला दिवस मनाइरहँदा अधिकारकर्मीहरुले संविधानले महिला समानता र अधिकारका कुराहरु स्पष्टसँग उल्लेख गरेको भएपनि राज्यको उदासिनताका कारण कार्यान्वयन हुन नसकेको बताएका हुन् । 
महिला पुर्नस्थापना केन्द्रका संजिता तिम्सिनाले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएका कारण विभेद कम हुन नसकेको बताइन् । 

 सामाजिक मूल्य मान्यतहरुले महिला पुरुष समान नागरिक हो भन्ने नदेखेको उनले बताइन् । 

नेपाल महिला संघ केन्द्रीय सदस्य मिना कोइरालाले पितृसत्तात्मक सोचले महिलाहरुलाई घरबाट बाहिर आउने वातावरण अझै बन्न नसकेको बताइन् । 

नेपाल महिला संघका केन्द्रीय सदस्य रमा महत बस्नेतले सरकारको कमजोरीका कारण महिलाहरुले समान ज्याला समेत पाउन नसकेको बताइन् । 

महिला अधिकार मञ्च ललितपुरका अध्यक्ष विष्णु खनालले शिक्षाको कमिका कारण अहिलाहरु हिंसामा पर्ने गरेको बताइन् । 

नेपालको संविधान २०७२ ले राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । संविधानले यस्तो व्यवस्था गरेपनि कार्यान्वयनको अवस्था भने फितलो छ । आइतबार १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

राजनीतिक दलमा ‘कोरोना’ प्रभाव

३१ डिसेम्बर २०१९ मा चीनको उहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वका १०१ देश प्रभावित भइसकेका छन् । कोरोनाबाट १ लाख ५ हजार बढी मानिस संक्रमित भएका छन्  भने ३ हजार ६ सयको मृत्यु भइसकेको छ । त्यसैगरी यो रोग इटली, इरान, स्पेन लगायतमा देशमा तिव्र गतिमा फैलिरहेको छ । चाइनामा भने संक्रमितहरुको संख्या घट्न थालेको छ ।

नेपालसमेत यो रोगको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी गराइसकेको छ । यद्यपि नेपालमा अहिलेसम्म एक नेपालीबाहेक अरूमा यो रोगको सङ्क्रमण भेटिएको छैन । सङ्क्रमण भएका व्यक्ति पनि अहिले उपचार गरेर फर्किसकेका छन् । 

कोरोनाको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले विभिन्न नाकामा हेल्पडेक्स स्थापनादेखि अत्यावाश्यक कामबाहेक अन्य देशमा नजान, शैक्षिक संस्थाहरूमा सतर्कता अपनाउन निर्देशन जारी गरिसकेको छ । त्यस्तै सभा, सम्मेलन र भोजभतेर समेत नर्गन सरकारले अनुरोध गरेको छ । शैक्षिक, आर्थिक र राजनीतिक क्षेत्रमा समेत यसको प्रभाव विस्तारै बढ्न थालेको छ । जसले मुलुकको समग्र अवस्थालाई थला पार्ने सङ्केतहरू देखिन थालेका छन् । 

योसँगै, प्रमुख राजनीतिक दल नेकपा, नेपाली काँग्रेस, राप्रपा लगायतका दलले आगामी वर्ष महाधिवेशनको तयारीमा छन् । त्यसका लागि सङ्गठन विस्तारदेखि विभिन्न कार्यक्रम आयोजना गरेका ती दलले आफ्ना कार्यक्रम रोक्न बाध्य भएका छन् । विशेषगरी फागुन र चैत केन्द्रित पूर्वनिर्धारित उनीहरुका ठूला कार्यक्रम ठप्पजस्तै बनेका छन् । 

कोरोना भाइरसको सन्त्रास बढेसँगै नेपालका राजनीतिक दलहरूले आफ्ना कतिपय पूर्वनिर्धारित कार्यक्रम परिमार्जित र स्थगित गर्न पुगेका हुन् । राजनीतिक दलहरुले कोरोनाको सङ्क्रमण बढ्न नदिन ठूला सभा, सम्मेलन र भेला आफूले पनि नगर्ने र अरूलाई पनि नगर्न आह्वान गरिसकेका छन् । 

त्यस्तै उनीहरुले कोरोनाबाट बच्न जनचेतनामूलक सामग्री प्रकाशित गर्नुका साथै सबै मिलेर यस रोगलाई परास्त गर्न अपील पनि गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सङ्घीय समाजवादी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी लगायतले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्दै सचेतना फैलाउनेतर्फ परिमार्जन गरेका छन् । 

कोरोनाभाइरसको त्रास 

विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ । 

चीनको उहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०–४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे । 
‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०–४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उनले भने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेश कुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताए । उनले जथाभावी भीडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटु सम्बन्धी समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे । 

उनकाअनुसार पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन । संक्रमण देखिएका व्यक्तिपनि उपचार पछि घर फर्किसकेका छन् । यद्यपी कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढिरहेको छ । 

अष्ट्रेलियामा कोरोना 

फेब्रुरुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । 

 अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेन न्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए । अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए । 

उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ । उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै आइसोलेसनमा राखिएको जानकारी दिइएको छ ।

अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको बताइन्छ । उनले पछिल्ला केही हप्तामा ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरेका थिए । स्वास्थ्य अधिकारीले उनीसँगको नजिकको सम्पर्कमा आएका सह–कर्मीको पहिचान गर्ने प्रयासमा रहेको बताएका छन् । यसका साथै उनीसँगै बस्ने चारजना र अन्य तीनजनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण पनि लिने प्रयास भइरहेको बताएका छन् ।

यता नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ । 

चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामाग्रीरुरु उपलब्ध गराएको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड १९)को सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफुहरुले उपलब्ध गराएको सामाग्रीदृ सघाउ पु¥याउने विश्वास व्यक्त गरे । 

सोलार आयोजनाको निर्माण अन्तिम चरणमा

नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

 २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १० मेगावाट चैत र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या,विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको छ ।

 कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक  व्यवस्था तत्काल गर्न निर्देशन दिए । 

प्लान्ट सञ्चालनमा आएपछि पिक समयको विद्युत माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप