केन्द्रीय संस्करण

अन्तर्राष्ट्रिय महिला दिवसको सान्दर्भिकता

person explore access_timeफागुन २५, २०७६ chat_bubble_outline0

नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय महिला (नारी) दिवस मार्च ८ तारिख तदनुरुप फागुन २५ गते सदाझैँ यस पटक पनि प्रत्येकका लागि बराबर भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यहाँ बराबर भन्ने शब्द सक्षम शब्दका रूपमा आएको छ र प्रत्येक  भन्ने शब्द लैङ्गिक समानताका लागि आएको छ । संसारमा नारीवादी आन्दोलनको सुरुवात भएको दिन मार्च ८ लाई नारी दिवस भनेर मनाउने प्रचलन छ । संसारमा नारीवादको इतिहास धेरै लामो छैन । यो १९औँ शताब्दीदेखि मात्र सुरु भएको हो । प्रथम महिला अन्तर्राष्ट्रिय दिवस सन् १९११ देखि मनाउन थालेको पाइन्छ । तापनि संयुक्त राष्ट्रसङ्घले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष मनाई १९७७ देखि मात्र औपचारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवस भनेर मनाउन सुरु गरेको हो ।

उतिबेलादेखि नै मनाउन थालिएको नारी दिवसको प्रगति के कस्तो छ ? संसारभरमा नारी दिवस किन मनाउने, नारी दिवस भन्ने वित्तिकै पुरुष दिवस किन नमनाएको वा नारीले किन दिवस नै मनाए र सम्झना गर्नुपरेको ? भन्ने जस्ता अनुत्तरित प्रश्नको उत्तर खोज्न आवश्यक छ । नारी दिवसमा एक दिन मात्र नभएर अन्य दिनमा पनि खोज्नुपर्छ र यसमा नारीवादीहरु बढी अग्रसर हुनुपर्छ भन्ने लाग्छ । त्यसो त अहिलेको संसारमा बदलिँदो परिवेश र अवस्थाले पुरुष दिवस पनि मनाउन थालिएको छ । सन् १९९९ देखि मनाउन सुरु गरिएको यो दिवस ८० भन्दा बढी देशमा प्रत्येक वर्ष १९ नोभेम्बरका दिन मनाइन्छ । साथै नोभेम्बर महिनालाई अन्तर्राष्ट्रिय पुरुष महिना पनि भनिन्छ । 

नारीवाद 
    अङ्ग्रेजी शब्द Feminism को नेपाली रूपान्तरण नारीवाद भन्ने हुन्छ । समाजमा चिरकालदेखि प्रचलन रहेको लिङ्ग केन्द्रित पुरुष विचारधाराका साथै पितृसत्तात्मक धारणा र व्याख्याप्रति प्रश्नचिन्ह खडा गर्दै पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परागत मूल्य र विरोधको स्वरूपलाई नारीवाद भनिन्छ । यसरी नारीको हक, हित र समानताको पक्षधर मतलाई नारीवाद भनिन्छ ।
    पाश्चात्य मुलुकमा नारीमुक्तिको सङ्घर्ष लामै समयदेखि चल्दै आएको भए पनि नारीवादी आन्दोलन र नारीवादी सिर्जनाको प्रयास सन् १९६० देखि मात्र भएको पाइन्छ । पाश्चात्य दार्शनिक एरिस्टोटलले केही गुणको कमीका कारण नारी नारी भएको हो भन्दै नारीको कमजोरी समेत औँल्याएका छन् । सेन्ट् टमस एक्विनसले पनि नारीलाई अपूर्ण मानिस भनी नारीको खोट देखाएका छन् । फ्रायडले समेत नारीमा पाइने शिष्न ईश्र्या सोच लगायतका शारीरिक बनोटगत अपूर्णताको परिणाम नारी हो भनेका छन् । यसरी संसारमा सबै दार्शनिक, चिन्तक, नेता, वैज्ञानिक, साहित्यकार सबै पुरुष भएका कारण नारीलाई अपमान गर्दै आएको कुरा नारीवादीहरुको आरोप छ । नारीवादीहरु नारीलाई प्रकृतिले ठगेको होइन सामाजिक व्यवस्थाले हीन तुल्याएको भन्ने आरोप लगाउँछन् ।

नारीमुक्ति आन्दोलन 
पश्चिमी मुलुकहरुमा नारीमुक्ति आन्दोलनको सुरुवात अठारौँ शताब्दीमा नै भएको पाइन्छ । सन् १७९२ मा सर्वप्रथम मेरी उलस्टोनक्य्राफ्ट्, सन् १८६९ मा मार्गरेट फुलर, सन् १९२० मा रिबेका बेस्ट तथा भर्जिनिया उल्फ, सन् १९४९ मा साइमन ड बुभा जस्ता आदि महिला साहित्यकारको योगदानबाट सशक्त बनेको पाइन्छ । खासगरी सन् १९७० पछि नारीवादी दृष्टिकोणलाई प्रख्यात महिला साहित्यकारहरुले साहित्यका माध्यमले फरक मोडमा पु¥याएको पाइन्छ । नारीवादी सोचको विकास निम्न तीन चरणहरुमा भएको पाइन्छ ।

१. नारीजातीय चरण
यो सन् १८४० देखि १८८० को अवधिको चरण हो । यस चरणमा पितृसत्तात्मकताको विरोध नगरी भाले परम्परा र सौन्दर्यशास्त्रको अनुकरण गर्दै घरेलु तथा सामाजिक पृष्ठभूमिमा नारीको चित्रण गरिएको पाइन्छ ।

२. नारीवादी चरण
सन् १८८० देखि १९२० सम्मको यस चरणमा नारीहरुले पितृसत्तात्मकताको विरोध गरी भाले मूल्यमान्यताको उपेक्षा गरिएको पाइन्छ ।

३. नारी चरण 
सन् १९२० देखि हालसम्मको यस चरणमा नारीहरुले स्वायत्त नारी परिप्रेक्ष्यको जोडदार वकालत गरेका छन् र आफ्नो पहिचानको खोजी गरेका छन् । साथै पितृसत्तात्मक सोचका कमीकमजोरीको पर्दाफास गरी अन्त्यमा परिवर्तन गर्ने उद्देश्य यस चरणमा राखेको पाइन्छ ।

नारी आन्दोलन किन ?
आज संसारमा अझै पनि नारीहरुलाई हेर्ने दृष्टिकोणमा खासै सुधार भएको पाइँदैन । संसारका विकसित देशहरुमा समेत नारीहरु दोस्रो दर्जाकै रुपमा रहेका छन् । अर्कोतिर नारीहरुले पनि आफूलाई अब्बल, सक्षम र पुरुषभन्दा के कम भनी प्रतिस्पर्धी बनाउन नसकिएको नै देखिन्छ । संसारका खासगरी मुस्लिम देशहरुमा अझै पनि नारीहरुलाई गरिने व्यवहार, राजनीतिक हक, अधिकारको बाँडफाँट जस्ता कुरामा विभेद नै गरेको पाइन्छ । महिलाले चुनावमा भोटसम्म हाल्ने अधिकारका लागि लडाइँ लड्नुपरिरहेको छ ।

आफू चुनावमा प्रतिस्पर्धी भएर राज्य सञ्चालनमा सहभागी हुने त कहिले हो कहिले ? यतिसम्म कि नारीहरुले सवारी साधन चलाउने लाइसेन्स् समेत नपाइरहेको अवस्थामा भर्खरै साउदी अरबमा त्यो अधिकार दिइएको छ । सिनेमा हेर्ने, खेलकुद हेर्ने, स्वतन्त्र घुमफिर गर्न पनि आन्दोलन नै गर्नुपर्ने अवस्था छ । महिलाप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिला यसरी नै पीडित भइरहनुपर्ने अवस्था एकातर्फ छ । यस्ता खाले दमन, अतिक्रमण र प्रभुवादी सोचलाई परास्त गरी समान हक, अधिकार प्राप्त गरी नारी पनि पुरुष जत्तिकै बराबरी हुन् भन्ने कुरा सामाजिक, सांस्कृतिक, राजनीतिक तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याइँ गरी समान हक र समान पहुँचका लागि नारी आन्दोलन अझै अपरिहार्य देखिन्छ ।

नेपालमा नारीको अवस्था
नेपालको सन्दर्भमा महिला हक, अधिकार र स्वतन्त्रता प्राप्त गर्न पनि महिलालाई निकै आन्दोलन गर्नुपरेको इतिहास छ । महिलालाई दोस्रो दर्जाको नागरिक मानी घरको चुलोचौकोमा, बच्चाको स्याहार सुसारमा, अनुत्पादनशील कार्यमा, परिवारको सेवा सुषुश्रामा मात्र सीमित राख्ने अवस्थाबाट बिस्तारै मुक्ति पाउन थालेको सङ्केत देखापर्दैछ । यीलगायत महिला भएको कारण गर्भमै भु्रण नष्ट गर्ने, जन्मेपछि फरक दृष्टिले हेर्ने, किशोरी तथा बाल्यकालमा बलात्कार गर्ने, सानै उमेरमा बिहे गरिदिने, दाइजोका कारण मर्नुपर्ने, वंश परम्परा धान्न बच्चा जन्माउनुपर्ने, श्रीमान छउन्जेल श्रीमानको नियन्त्रणमा रही श्रीमान् मरेपछि छोराको नियन्त्रणमा रहनुपर्ने, प्रजनन् समस्याहरु बोकी बाँच्नुपर्ने र उचित उपचार नगर्ने, छाउपडी प्रथा मान्नुपर्ने, बुढेसकालमा बोक्सीको आरोप सहनुपर्ने अनगिन्ती समस्या नेपालमा पनि छन् । तसर्थ भन्नैपर्ने हुन्छ नेपालका महिलाले अन्य देशको तुलनामा अलि बढी राजनीतिक अधिकार प्राप्त गरिसकेका छन् ।

तर यहाँ भन्न खोजिएको कुरा यस्तो अधिकार त्यत्तिकै प्राप्त भएको होइन कि यसमा ठूलो लडाइँ गरेर, आन्दोलन गरेर, अनसन बसेर, आत्मदाह गरेर ल्याइएका अधिकार हुन् । महिलालाई अहिले हरेक निकायमा आरक्षणको व्यवस्था, संविधानमा राजनीतिक रूपमा ३३ प्रतिशतको अधिकार, दक्षिण एसियामै पहिलो पटक पूर्णरूपले प्रजनन् वा गर्भपतनको अधिकार जस्ता निकै महत्त्वपूर्ण प्रगति हासिल गर्न नेपाली नारी सफल भएका छन् । ती अधिकार प्राप्त भएकै कारण आज नेपालको राज्यसत्तामा महिलाको तुलनात्मक रूपमा राम्रो उपस्थिति रहेको छ तर पर्याप्त छैन । नेपालमा एउटा नारीले राष्ट्रपतिकै कुर्सीसमेत भेट्टाउनु नेपाली महिलाको कम उपलब्धि हो भन्न ं मिल्दैन । 
अन्त्यमा    
महिलाले जन्मनासाथ पुरुष जत्तिकै प्राकृतिक अधिकार पाएका हुन्छन् तर पुरुषप्रधान राज्य भएका कारण महिलालाई दोस्रो नागरिक ठानी कृत्रिम विभेद सुरु हुन्छ र महिलाहरु स्वतः मारमा पर्छन् । निकै सहनशील, दयालु, मायालु र विवेकशील महिलाहरु आखिर पुरुषको षड्यन्त्र र विभेदका शिकार हुन्छन् । प्रकृतिले महिलालाई पुरुषको दाँजोमा शारीरिक रूपमा केही कमजोर अवश्य बनाएको छ र महिनैपिच्छे हुने शारीरिक समस्या, प्रजनन्को जिम्मा, स्तनपान गराउनुपर्ने बाध्यता जस्ता आदि कारणले महिलालाई केही पछि पारेको छ । अन्यथा महिलामा पुरुषको जस्तो मानसिक क्षमता, सामाजिक सहभागिता र सिर्जनशीलता आदि अब्बल नै हुनेगर्छ ।

शारीरिक संरचनागत समस्याको फाइदा उठाइ महिलालाई पुरुषले भेदभाव गर्नु र समान सहभागिता गराउन आनाकानी गर्नु केवल पुरुषको स्वार्थी भावना र पितृसत्तात्मक सोचको मात्र उपज हो । अतः महिलाहरु कुनै पनि कुरामा पुरुषभन्दा कमजोर नहुने भएपछि बराबरी हक, अधिकार र दायित्वका लागि किन पुरुषसँग लडिरहनुपर्ने ? पुरुषले ती अधिकार दिए प्राप्त गर्ने र नदिए सङ्घर्ष गर्नुपर्ने अवस्था किन ल्याउने ? संसारमा जब महिला र पुरुष मात्र दुई जाति छन् भने विवेकको आधारमा कोही ठूलो र कोही सानो हुनुपर्दैन । यसो गरिए प्राकृतिक असन्तुलन समेत हुनजान्छ । त्यसकारण महिला पुरुष दुवै बराबरी हुन्, लिङ्गकै आधारमा कोही पनि ठूलो र सानो हुने होइन, दुवैले समान हक र अधिकार पाउनुपर्छ भन्ने कुरामा सबैले हेक्का राख्नु आवश्यक छ । अझै महिलाले पूर्ण सशक्तीकरण र ५० प्रतिशत पुरुष सरह अधिकार नपाएसम्म आन्दोलनबाट विश्राम लिने अवस्था छैन । विभिन्न क्षेत्र, तह र तप्कामा लैङ्गिक समानता नभएसम्म नारी आन्दोलन पछि हट्नु पनि हुँदैन । यस्तो सोचको विकासका लागि समेत नारी दिवस मनाउनु सान्दर्भिक छ । नारी दिवसको अवसरमा विश्वभरका सबै नारीहरुलाई शुभकामना ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.