शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी समाचार प्रभाव

चन्दा उठाएर बुबाको किरिया गर्न लागेका मनिषलाई गोकर्ण बिष्टले गरे १० हजार सहयोग

आइतबार, २५ फागुन २०७६, १४ : ५०
आइतबार, २५ फागुन २०७६

काठमाडौं । चन्दा उठाएर बाबुको किरिया गर्दै गरेको समाचार रातोपाटीमा प्रकाशित भएपछि गुल्मीका सांसद तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले व्यक्तिगतरुपमा १० हजार सहयोग गर्ने घोषणा गरेका छन् । 
फागुन २४ गते शनिवार रातोपाटीमा यस सम्बन्धमा समाचार प्रकाशन भएपछि बिष्टले यस्तो सहयोगको घोषणा गरेका हुन् । 

गुल्मीको मदाने गाउँपालिका ७ भनभने नेटाखर्कका ११ वर्षीय बालक मनिष खड्काले आफ्नो बुबाको किरिया गर्न चन्दा उठाउन थालेको समाचार आएपछि सांसद बिष्टले आफूले व्यक्तिगतरुपमा तत्कालै सहयोग गर्ने र संस्थागत सहयोगको लागि पनि पहल गर्ने बताएका हुन् । 

आइतबार रातोपाटीसँग कुराकानी गर्दै सांसद बिष्टले आफूले तत्कालै व्यक्तिगतरुपमा १० हजार रुपैयाँ खड्काको परिवारलाई पठाउने र थप सहयोगका लागि अन्य संघ संस्थासँग पहल गर्ने बताए । 

उनले भने, ‘मैले मेरै निर्वाचनक्षेत्रमा बुबाको किरिया गर्नका लागि ११ वर्षीय बालकले चन्दा उठाएको समाचार पढें । समाचारले मलाई ज्यादै दुखि त बनाएको छ । व्यक्तिगतरुपमा मैले तत्कालै १० हजार रुपैयाँ सहयोग गर्नेछु र त्यो रकम तत्कालै उनीहरुको हातमा पुर्याउने कोशिश गर्दैछु । तर उनीहरुको परिवारका लागि यो रकमले तत्कालको समस्यालाई केही राहत मात्रै दिनेछ । भविष्यका समस्यासँग जुध्नका लागि उनीहरुलाई थप सहयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि म विभिन्न संघ र संस्थासँग पनि पहल गर्नेछु ।’

लामो समयदेखि दुबै मिर्गौला फेल भई बिरामी रहेका मदाने ७, गुल्मीका रामबहादुर खड्काको फागुन १५ गते मृत्यु भएको थियो । रामबहादुरको मृत्युपछि उनका ११ वर्षीय छोरा मनिष खड्का किरियामा बसेका छन् । तर १३ दिने काजकिरियाका लागि आवश्यक कार्य गर्नका लागि पनि खर्चको अभाव भएपछि स्थानीयले चन्दा उठाउन थालेका थिए ।

रातोपाटीमा ‘चन्दा उठाएर बाबुको काज–किरिया गर्दै ११ वर्षीय बालक’ शीर्षकमा समाचार प्रकाशन भएपछि सोही क्षेत्रका सांसदसमेत रहेका बिष्टले सहयोगको घोषणा गर्दै थप सहयोगका लागि पहल गर्ने बताएका हुन् । 

सांसद बिष्टले भने, ‘मैले तत्कालका लागि १० हजार रुपैयाँ पठाउँदै छु । त्यो मेरो व्यक्तिगत सहयोग हो । र, अब उनीहरुलाई थप सहयोगका लागि मैले विभिन्न संघ र संस्थासग पनि पहल गर्नेछु । मुख्यतः उनीहरुको अध्ययन तथा दैनिकी चलाउने सन्दर्भमा मैले कसरी सहयोग गर्ने भनेर छलफल सुरु गरिसकेको छु ।’

रामबहादुर दम्पतिले छोराको आशमा १० सन्तान जन्माएका थिए । १० सन्तानमध्ये मनिषमात्रै छोरा हुन् । उनीहरुको आयको स्रोत दैनिक ज्याला मजदुरी मात्रै रहेको थियो ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप