बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिक दलमा ‘कोरोना’ प्रभाव !

आइतबार, २५ फागुन २०७६, १२ : ०६
आइतबार, २५ फागुन २०७६

काठमाडौँ । ३१ डिसेम्बर २०१९ मा चीनको उहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वका सयभन्दा बढी देश प्रभावित भइसकेका छन् ।

नेपालसमेत यो रोगको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठनले जानकारी गराइसकेको छ । यद्यपि नेपालमा अहिलेसम्म एक नेपालीबाहेक अरूमा यो रोगको सङ्क्रमण भेटिएको छैन । सङ्क्रमण भएका व्यक्ति पनि अहिले उपचार गरेर फर्किसकेका छन् । 

कोरोनाको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले विभिन्न नाकामा हेल्पडेक्स स्थापनादेखि अत्यावाश्यक कामबाहेक अन्य देशमा नजान, शैक्षिक संस्थाहरूमा सतर्कता अपनाउन निर्देशन जारी गरिसकेको छ । त्यस्तै सभा, सम्मेलन र भोजभतेर समेत नर्गन सरकारले अनुरोध गरेको छ । शैक्षिक, आर्थिक र राजनीतिक क्षेत्रमा समेत यसको प्रभाव विस्तारै बढ्न थालेको छ । जसले मुलुकको समग्र अवस्थालाई थला पार्ने सङ्केतहरू देखिन थालेका छन् । 

प्रमुख दलमा कोरोना प्रभाव 
प्रमुख राजनीतिक दल नेकपा, नेपाली काँग्रेस, राप्रपा लगायतका दलले आगामी वर्षे महाधिवेशनको तयारीमा छन् । त्यसका लागि सङ्गठन विस्तारदेखि विभिन्न कार्यक्रम आयोजना गरेका ती दलले आफ्ना कार्यक्रम रोक्न बाध्य भएका छन् ।

 विशेषगरी फागुन र चैत केन्द्रित पूर्वनिर्धारित उनीहरुका ठूला कार्यक्रम ठप्पजस्तै बनेका छन् । 

कोरोना कोरोना भाइरसको सन्त्रास बढेसँगै नेपालका राजनीतिक दलहरूले आफ्ना कतिपय पूर्वनिर्धारित कार्यक्रम परिमार्जित र स्थगित गर्न पुगेका हुन् । राजनीतिक दलहरुले कोरोनाको सङ्क्रमण बढ्न नदिन ठूला सभा, सम्मेलन र भेला आफूले पनि नगर्ने र अरूलाई पनि नगर्न आह्वान गरिसकेका छन् । 

त्यस्तै उनीहरुले कोरोनाबाट बच्न जनचेतनामूलक सामग्री प्रकाशित गर्नुका साथै सबै मिलेर यस रोगलाई परास्त गर्न अपील पनि गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सङ्घीय समाजवादी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी लगायतले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्दै सचेतना फैलाउनेतर्फ परिमार्जन गरेका छन् । ‘कोरोना त्रासले सबैतिर प्रभाव पारेको छ ।

स्वाभाविक रूपमा नेकपा पनि त्यो त्रासबाट अछुतो रहने कुरै भएन । यस्तोबेला पार्टीले नागरिकलाई सचेत बनाउने भूमिका निर्वाह गर्नुपर्छ भन्ने ठानेर मातहतका पार्टी कमिटीलाई पार्टी एकता तथा सुदृढीकरण अभियानको कार्यतालिका नै परिमार्जन गरिसकेको छ । त्यसका लागि जनचेतानमूलक कार्यक्रममा केन्द्रित हुन पार्टी नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइएको छ’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीसँग भने, ‘अहिले हामी सबैको जिम्मेवारी नागरिकलाई बचाउनु हो ।’ 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत परेका बेला सबै एकजुट भएर कोरोनाविरुद्ध लड्नुपर्ने भएकाले पार्टी पङ्क्ति त्यतातर्फ परिचालन गरिएको बताए । ‘आम जनसमुदायलाई सतर्क र सचेत बनाउनु अहिलेको प्रमुख दायित्व हो । कोरोनाबाट बच्नु र बचाउनु नै अहिलेको आवश्यकता भएकाले हामी त्यसैतर्फ लागेका छौँ’, प्रवक्ता शर्माको भनाइ छ ।   

पार्टी एकता सुदृढीकरण कार्यतालिका परिमार्जन


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको पूर्वनिर्धारित पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको कार्यतालिका परिमार्जन गरेको छ । 

पार्टी महासचिव विष्णु पौडेलले फागुन २१ गते बुधबार एक ‘सर्कुलर’ जारी गर्दै अभियान परिमार्जन भएको र त्यसलाई कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन्  ।

नेकपाको परिमार्जित कार्यक्रमअनुसार नोबेल कोरोना भाइरस सम्बन्धमा जागरणमा जोड दिइएको छ । सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर तथा प्रत्येक व्यक्तिसमक्ष पुर्याउने उल्लेख छ । 

सबै तहका पार्टी कमिटीहरुले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवाहरु र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी नोबेल कोरोना भाइरसबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न नेकपाले परिमार्जित कार्यक्रममार्फत सर्कुलर पठाएको छ । 

त्यस्तै उसले अभियानअन्तर्गत निर्धारण गरिएका ठूला भेला तथा जनसभा स्थगन घोषणा गरेको फागुन २० गते का लागि बोलाएको प्रदेश १ को भेला तथा प्रशिक्षण नै स्थगित गरेको छ । 

जोखिम सामानमा लागौँ : काँग्रेस 
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कोरोना सन्त्रास बढेसँगै फागुन २१ गते पार्टी कार्यालयमा पत्रकार सम्मेलन नै गरेर विश्वव्यापी रूपमा फैलिइरहेको प्राणघातक कोरोना भाइरस (कोबिड १९) बारे ‘सरकार र समुदायका नाममा नेपाली काँग्रेसको १४ बुँदे अपिल’ जारी गरेको छ । 

काँग्रेसले उक्त अपिलमा विश्व स्वास्थ सङ्गठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा आफ्ना सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा पूर्ण रूपले केन्द्रित गर्नुपर्ने अवस्था आएको जनाएको छ । 

काँग्रेसले सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको सङ्क्रमण भित्रिन या फैलिन सक्ने खतरा कायमै रहेको भन्दै सरकारलाई खबरदारीसमेत गरिरहेको जनाएको छ । अर्कातर्फ यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई काँग्रेसले पूर्ण साथ दिने जनाएको छ । त्यस्तै काँग्रेस सांसद गगन थापाले फागुन २३ गते प्रतिनिधि सभा संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव नै पेस गरेका छन् ।

सो प्रस्तावमाथि शुक्रबारै भएको छलफलमा सबै दलका सांसदहरुले महामारीका रूपामा बढ्दै गएको कोरोनाबाट बच्न दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हामी हार्दिक अपील गर्दछौँ’, नेपाली काँग्रेसको अपिलमा भनिएको छ । काँग्रेसले त्रिभुवन विमानस्थलमार्फत सङ्क्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा तत्काल भरपर्दो स्वास्थ्य जाँचको केन्द्र स्थापना गर्न सरकारसँग माग गरेको छ । 

उसले विश्व स्वास्थ सङ्गठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टीका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम अर्को सूचना नगरिए सम्मलाई स्थगित गरेको घोषणासमेत गरेको छ । 

तर पार्टीको १४औँ महाधिवेशन तयारीका आन्तरिक कार्यक्रम जस्तै  क्रियाशील सदस्यता नवीकरण र वितरण लगायतका काम जारी राखिने काँग्रेसले जनाएको छ । 
कोरोना सङ्क्रमणका बारेमा ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आबद्ध संस्थामार्फत विविध ढङ्गले अघि बढाउने काममा खटिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

सङ्गठन विस्तार अभियान १५ दिन स्थगित 
कोरोना भाइरसकै कारण नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले आफ्नो सङ्गठन विस्तार अभियानलाई १५ दिन स्थगित गरेको छ ।  महासचिव मोहन वैद्यले कारोनाको सङ्क्रमणलाई ख्याल गर्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुपरेको जनाएका छन् । उनले फागुन २३ गते विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विश्वभरि विस्तार हुँदै गइरहेको बताएका छन् । विज्ञप्तिमा आजसम्म यसको प्रकोप नेपालमा नदेखिए पनि यसबाट पैदा हुनसक्ने खतराप्रति सतर्कता बढाउनु आवश्यक रहेको उल्लेख गरेका छन् । 

यो स्थितिमा सम्भावित खतराबाट जोगिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन क्षेत्रको व्यवस्था गर्न र आवश्यक डक्टर, नर्स तथा औषधिको व्यवस्था मिलाउन पनि सो पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।

‘यस स्थितिमा कोरोना भाइरसका कारण पैदा हुन सक्ने सम्भावित खतरामाथि ध्यान दिँदै हाम्रो पार्टीको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र जवस तथा मोर्चाहरुले संयुक्त रूपमा सञ्चालन गर्दै आएको ४ महिने ‘राष्ट्रिय स्वाधीनताको रक्षा र सङ्गठन विस्तार अभियान’ १५ दिनका लागि स्थगित गरिएको छ’, महासचिव मोहन वैद्य किरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप