शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताको सहमतिमा मिलेन राप्रपाका नेताहरुको हात !

आइतबार, २५ फागुन २०७६, ११ : ३६
आइतबार, २५ फागुन २०७६

काठमाडौं । लामो रस्साकस्सीपछि शनिबार राति राप्रपा र राप्रपा संयुक्तबीच एककीकरणका लागि १० बुँदे आधारपत्रमा हस्ताक्षर भयो ।  एकीकरण सम्बन्धी सो आधारपत्रमा हस्ताक्षर पछि राप्रपा  र राप्रपा (संयुक्त) का अध्यक्षहरुले हात मिलाएनन् ।

कुनै मनमुटाव र तिक्तताका कारण तीन अध्यक्षहरुले हात नमिलाएका भने होइनन् । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले ‘नेपाली तरिका नै ठीक’ भन्दै नमस्ते गरे । 

आधारपत्रमा हस्ताक्षर गरेर दस्तावेज आदानप्रदान गर्ने क्रममा राप्रपा (संयुक्त) का दुई अध्यक्ष, राणा र लोहनी र राप्रपाका अध्यक्ष थापाले एक अर्कालाई नमस्ते गरेपछि हाँसो फुटेर रमाइलो वातावरण सिर्जना भएको थियो । 

थापाको गलामा माला थिएन
एकीकरण भएपछि महाधिवेशनसम्मलाई राप्रपामा तीन अध्यक्ष रहने व्यवस्था गरिएको छ । सहमतिपत्रमा राणा, लोहनी र थापा, तीनजना अध्यक्षले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा राणा र लोहनीको गलामा माला देखिए पनि थापाले माला लगाएको देखिएन । एकता गर्ने निर्णयको स्वागत गर्दै, शुभकामना दिँदै कार्यकर्ताहरुले थापाले किन माला नलगाएको भनेर सामाजिक संजालमा चासोसमेत व्यक्त गरेका छन् ।

हस्ताक्षरपछि अध्यक्षद्वय राणा र लोहनीलगायत दिपक बोहरा, बुद्धिमान तामाङ, विक्रम पाण्डे, ठाकुर शर्मा, श्याम तिमिल्सिनाहरु चिया चमेनामा सरिक भएका थिए । अध्यक्ष थापा भने हस्ताक्षर गरेपछि घरतर्फ लागे ।

एकीकृत राप्रपाले राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्ने निश्चित गरिएको छ ।

राप्रपा एकता घोषणासभा फागुन २८ गतेलाई तय गरिएको छ ।

दुई राप्रपाको लामो छलफलपछि एकीकरण सम्भव भएको हो । राप्रपाले त वार्ताकै क्रममा महाधिवेशनको घोषणासमेत गरिसकेको थियो । अन्तिममा आएर विधानको विषयमा कुरा अड्कियो । तर, दुबै पार्टीको विधानलाई एकीकृत गरेर अघि बढ्ने समझदारी भएको हो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप