बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन जना अध्यक्ष रहने गरी दुई राप्रपाबीच एकता गर्ने सहमति : थापा, राणा र लोहनीको समान हैसियत

आइतबार, २५ फागुन २०७६, २१ : ४१
आइतबार, २५ फागुन २०७६

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पुगेका हुन् । राजधानीको लाजिम्पाटमा थापा, राणा र लोहनीसहित शीर्ष नेताहरुको छलफलमा सहमति जुटी एकतासम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको हो । 

सहमतिअनुसार एकीकृत पार्टीमा तीन अध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका लागि अध्यक्षका रुपमा समान हैसियतमा रहनेछन् ।  यस्तै निर्देशन समिति, केन्द्रीय कार्यासम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो हुनेछ भने यससम्बन्धी व्यवस्थापन केन्द्रीय सचिवालयले गर्नेछ । 

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुनेछ भने पार्टीको चुनाव चिन्हको सम्बन्धमा भने ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने तीन अध्यक्षले हस्ताक्षर गरेको आधारपत्रमा उल्लेख छ । 

यस्तै पार्टीको झण्डा राप्रपाको बर्तमान झण्डा गाई हुनेछ । 

यसैबीच पार्टीको एकता घोषणा आगामी फागुन २८ गते गर्ने बताइएको छ भने एकताको डेढ वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने समझदारी पनि भएको छ । 

एकीकृत पार्टीको विधान दुबै पार्टीको विधानलाई समेटेर एकीकृत बनाइने छ । तर, पार्टीको मुख्य नीति र सिद्धान्त भने धर्म सापेक्ष हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असलग्न नीति हुने छ । 

यस्तै पार्टीको वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र, उदारवाद हुने एकीकरणसम्बन्धत्री आधारपत्रमा उल्लेख गरिएको छ । 

२०७४ भदौमा फुटेको थियो राप्रपा

पूर्वपञ्चहरुको बाहुल्य रहेको दुई राप्रपा २०७३ मङ्सिरमा एकीकृत भएपछि फेरि फुट्न पुगेका थिए । त्यसयता दुई पार्टीबीच एकताका लागि पटक पटक छलफल भएपछि भाँडिँदै आएको थियो । शनिबार बिहान मात्रै पनि विधानको विषयमा कुरा नमिल्दा करिब भाँडिएको एकता साँझ फेरि विधानका विषयमा दुबै पक्षको समेटेर एकीकृत विधान बनाउने समझदारी हुन पुगेको हो । 

२०७३ मंसिरमा हलो  चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भएको थियो । 

हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर २०७३ मङ्सिरमा एकीकृत राप्रपा गठन भएको थियो । सो एकता प्रक्रियापछि राणा, थापा, लोहनीसहित लोकेन्द्रबहादुर चन्दसम्मका पञ्चायतकालीन पृष्ठभूमिका हस्तीहरु एकठाउँमा हुन पुगेका थिए । 

तर, सो एकताको ८ महिनामै पार्टी छिन्नभिन्न त भयो नै कमल थापालाई एकता हुनुअघि भन्दा पनि बढी क्षति पुगेको थियो । त्यतिबेला पनि एकीकृत पार्टीको चुनाव चिन्ह गाई हुने निर्णय भएपछि विवाद फुटसम्मको अवस्थामा पुगेको हो । 

२०७४ भदौमा पार्टी फुटाउँदा राणाले थापा निकटकै सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा पारेका थिए । त्यसअघि नै पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीको विरोध गर्दै प्रकाशचन्द्र लोहनीले पनि पार्टी परित्याग गरेर राप्रपा राष्ट्रवादी बनाएका थिए । 

पछि राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच एकीकरण भएर राप्रपा संयुक्त बनेपनि राप्रपासँग भने पटक पटक छलफल भएपनि एकता हुन सकेको थिएन । 
अहिले राप्रपाको चुनाव चिन्ह गाई र राप्रपा संयुक्तको चुनाव चिन्ह हलो रहेको छ । यी दुई पार्टीले एकीकृत पार्टीको चुनाव चिन्ह आ–आफ्नै हुनुपर्ने अडान लिँदै आएपनि हाल चुनाव चिन्हको विषयलाई थाती राखेर अरु विषयमा सहमति भएको हो । यस्तै केन्द्रीय सदस्य तथा पार्टीका अन्य निकायमा सहमतिको आधारमा भागबण्डा गरिने बताइएको छ । 

२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठन भएको थियो । रोचक त के रह्यो भने  पार्टी गठन हुने प्रक्रियामा नै विभाजित भएको थियो । त्यतिबेला पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न रहेका थिए । 

तर  एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए ।  त्यसयताका २९ वर्षमा राप्रपा फुट्दै र जुट्दै आएपनि पछिल्लो समय भने कमजोर अवस्थामा पुगेको छ। आपसी टकराव, व्यक्तित्वको दम्भ, एजेण्डामा सम्झौता, सत्तालिप्सा लगायतका कारण यो पार्टी कमजोर अवस्थामा पुगेको कतिपयको टिप्पणी छ ।  

यो एकताको सहमति सँगै भने पार्टीका नेता कार्यकर्तामा फेरि नयाँ आशा सञ्चार भएकाको राप्रपाका नेताहरुले बताएका छन् । 

१० बुँदे आधारपत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप