बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसविरुद्ध लड्नेबारे विश्वले के सिक्यो ?

शनिबार, २४ फागुन २०७६, १७ : ३३
शनिबार, २४ फागुन २०७६

अबुजास्थित आफ्नो घरबाटै प्रतिक्रिया दिँदै नाइजेरियन केन्द्रका महानिर्देशक चिक्वे इहेक्वेजु भन्छन्, ‘चीनले कोरोना भाइरस (कोभिड–१९) को बारेमा विश्वलाई सिकाउने एउटा ठूलो पाठ हो कि यो जसलाई पनि हुन सक्छ ।’ 
चीनको भ्रमणपछि कोभिड–१९ को फैलावट नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनको रोग नियन्त्रणसम्बन्धी समूहले संक्रमणको फैलावट रोक्नका लागि जारी गरेको उपाय अनुरुप इहेक्वेजु अहिले आफ्नै निवासको आइसोलेसनमा छन् ।

चीनको महामारी नियन्त्रणका उपायहरूले उल्लेखनीय सफलता पाएको जस्तो देखिन्छ । फेब्रुअरी ४ मा चीनमा ३८८७ वटा नयाँ केस रेकर्ड गरिएको थियो । मार्च ४ मा आइपुग्दा यो संख्या १३९ मा झरेको छ । उक्त समूहले फेब्रुअरी २८ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार चीनले क्वारेन्टाइन कार्यान्वयनमा अभूतपूर्व रुपमा सावधानीपूर्वक जनशक्ति र प्रविधि प्रयोग गरेकोमा राम्रो नतिजा ल्याएको छ । त्यसैले यो राज्यको शक्ति संयन्त्र खलबल्याउने तर्फ नगएको प्रतिवेदनको निष्कर्ष छ । 

चीनका सबै शहरले आफ्नो देशका बासिन्दालाई अन्यत्र जानबाट रोकेको छ । अहिले स्कूलहरू, सार्वजनिक यातायात तथा सबैजसो आर्थिक, सामाजिक गतिविधिहरू बन्द गरिएका छन् । 

उहान शहरका १ करोड १० लाख जनसंख्यालाई पाँच हप्ताका लागि घरबाट बाहिर जान प्रतिबन्ध लगाइएको छ । यस्तो ‘लक डाउन’ सरकारी नेटवर्कका कारणमात्रै सम्भव भएको होइन । त्यसमा सम्बन्धित आवासका प्रबन्धक वा मालिकले सहयोग गरिरहेका छन् । त्यति हुँदाहुँदै पनि केही गाउँमा भने जनजीवन अपेक्षाकृत रुपमा नियन्त्रण भइरहेको छैन ।

 त्यहाँ आगन्तुकहरुको नियन्त्रण गर्ने जिम्मा पार्र्टीको स्थानीय प्रमुखलाई दिइएको छ । उनीहरुले आफ्ना मातहतहरुलाई त्यस्तो सजगता अपनाउन भनिरहेका छन् । मास्क नलगाई सडकमा निस्कन प्रतिबन्ध लगाइएको छ ।

चीनसँगै अरु मुलुकहरुले पनि महामारी फैलिन नदिनका लागि प्रयास गरिरहेका छन् । चीनपछिको ठूलो संक्रमण रहेको दक्षिण कोरियामा जनस्तरमा भइरहेको सहयोगले यो फैलने दर कम भइरहेको छ । सिंगापुरले संक्रमण नियन्त्रणका लागि सार्स–२००३ पछिकै सबैभन्दा बढी तयारी गरेको छ । त्यहाँ ११२ वटा केसमध्ये १२ जनालाई यसको संक्रमण पुष्टि भएको छ । तर उनीहरुले गरेको प्रयासको नतिजा अपेक्षित हुन्छ कि हुँदैन, परिणाम भने आउन बाँकी नै छ । 

उत्तरी इटालीको आइसोलेसनले कति काम गर्छ भन्ने हेर्न पनि बाँकी नै छ । तर इरानमा अहिलेसम्म कुनै ठोस नियन्त्रणको कुनै प्रमाण छैन । त्यस्तै, अमेरिकाले पनि यो मितिसम्म महामारी नियन्त्रणका लागि गरेको प्रयास लाजमर्दो छ । त्यहाँ संक्रमणको हेलचेक्र्याइँका कारण रोगको महामारी फैलिएको छ ।अमेरिकाले धेरै ढिलो मात्रै यो महामारीको नियन्त्रणको प्रयास सुरु गरेको छ ।

नियन्त्रणको गलत प्रयास
फेब्रुअरी २६ देखि मार्च ४ सम्मको एक हप्तामा कोभिड–१९ को रिपोर्ट गर्ने देश र क्षेत्रको संख्या ५० बाट ८५ पुग्यो । 

धेरैजसो क्षेत्रका केसहरु प्रायः चीन, इरान, इटाली र दक्षिण कोरियामा आयातित छन् । मार्च ४ सम्ममा रोग संक्रमण भएका ९५ हजार जनामध्ये ९२ हजारको संक्रमणमा ती देश जिम्मेवार छन् । यद्यपि कम संक्रमण हुनुलाई रोग नियन्त्रणमा हुनुको रुपमा अर्थ्याउनु हुँदैन र यसअनुसार बेवास्ता गर्नु पनि हुँदैन ।

अमेरिकालाई हेरौँ । फेब्रअरी २५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका मुख्य आर्थिक सल्लाहकार लैरी कुडलोले पत्रकारहरूलाई भने, ‘हामीले यसमा समावेश गरेका छौँ । हामी वायुयान प्रतिबन्ध नै त भन्दैनौँ, तर यसको एकदमै नजिक छौँ ।’ तर अमेरिकाले त्यसअनुसार रोग प्रतिरोध गर्ने काम गरेन । वासिङ्टन राज्यको उपचार सुविधाको क्लस्टरभित्र त्यो परीक्षण नपर्ने भन्दै अमेरिकाको पब्लिक हेल्थ एजेन्सीले यस्तो परीक्षणमा लगाम लगाइदियोे । उता, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले गरेको रोगको परीक्षण नै त्रुटिपूर्ण थियो । त्यसैले त्यस्तो परीक्षण सीमित बन्दै गयो । मार्च १ सम्म दक्षिण कोरियाले १ लाखभन्दा बढी मानिसमा यस्तो संक्रमणको टेष्ट गरेको थियो । तर फेब्रुअरी २५ मै पहिलो केश देखेको अमेरिकाले त्यो दिनसम्म ५०० भन्दा पनि कम मानिसमा मात्रै त्यस्तो टेष्ट ग¥यो ।

विश्व स्वास्थ्य संगठनको टोलीले कोरोना संक्रमण देखिएका सबै राष्ट्रलाई निमोनिया र फ्लुका बिरामीप्रति विशेष ध्यान दिन आग्रह गरेको छ । साथै टोलीले कोरोनाको लक्षण देखिएको व्यक्तिमा चिनियाँ मोडलको नियन्त्रण प्रणाली अबलम्बन गर्नसमेत सुझाव दिएको छ । ‘पहिले परीक्षण गर्नुहोस्, अनिमात्रै तपाइँले पत्ता लगाउनु हुनेछ,’ संगठनको टोलीका सदस्य समेत रहेका हङकङ विश्वविद्यालयका प्राध्यापक गेब्रियल लेउङ भन्छन्, ‘तपाईं या त परीक्षण गरेर यसलाई चाँडै पत्ता लगाउनुस्, वा यसको बारेमा केही गर्नुहोस्, नत्र तपाइँका शरीरका अंगहरु थलिदैँ जानेछन् ।’

तर यस्तो डरलाग्दो चेतावनीका बाबजुद पनि अमेरिकाले राम्रोसँग काम गरिरहेको छैन । मार्च ४ त्यहाँका १४ वटा राज्यहरूमा रोगको संक्रमण देखिएको छ । महामारीविद्हरूले रोगको नियन्त्रण नगरे यो देशभर नै फैलिनसक्ने खतरा औंल्याउँदै सतर्कताको लागि सुझाव दिइरहेका छन् । तर अमेरिकी सीडीसीको समस्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिका राष्ट्रपति बाराक ओबामालाई दोष दिएका छन् ।

यसको विपरित दक्षिण कोरिया सरकार स्पष्ट र पारदर्शी छ । कोरियालीहरूले रोग फैलन सक्ने कुनै पनि गतिविधिका लागि अनुमति दिएका छैनन् । दिनको दुई पटक सबै मिडियाहरुलाई ब्रिफिङ गर्ने र पत्रकारलाई हरेक मृत्युको विवरण पठाइरहेका छन् । सरकारले प्रत्येक नयाँ बिरामीको अवस्थाको विस्तृत रेकर्ड अनलाइन राख्ने गरेको छ, जसले मानिसहरूलाई आफूले भ्रमण गर्न लागेको ठाउँको अवस्थाबारे जानकारी होस् ।

दक्षिण कोरियामा अहिले देशभर नै विद्यालयहरु बन्द गरिएका छन् । सार्वजनिक भेलाहरु स्थगित गरिएका छन् । डेगू वा चेओन्ग्डो शहरमात्रै होइन, संक्रमण देखिएका सबै शहरहरु पूर्ण रूपमा बन्द गरिएको छ । फेब्रुअरी ४ सम्म ९००० भन्दा बढी मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको छ । व्यक्तिको आवत जावतलाई निगरानी गर्न चीनमा जस्तै त्यहाँ पनि इलेक्ट्रोनिक भुक्तानी र सामाजिक मिडिया एपको प्रयोग गरिएको छ । सरकारले एउटा एप बनाएको छ जसले क्वारेन्टाइन गरिएका व्यक्तिको आवतजावतको बारेमा रिपोर्ट दिन्छ ।

दक्षिण कोरियासँग त्यो शक्ति छ जसले यसका नागरिकहरूको गोपनीयतामा थोरैमा मात्रै सीमित गर्नसक्छ । यस्तै व्यवस्था लागु गर्न अन्य प्रजातान्त्रिक मुलुकहरुमा अलि गाह्रो हुन पनि सक्छ । तर सरकारमा उच्च स्तरको भरोसा रहेको देशहरूमा केही कडा उपायहरूलाई सहयोग पु¥याइनेछ । २००३ मा सार्सले टोरोन्टोमा संक्रमण गर्दा क्वारेन्टाइन अन्तर्गत राखिएका लगभग ३० हजारमध्ये केवल २३ जनाले यसलाई पालन गर्न अस्वीकार गरेका थिए ।


फेब्रुअरीमा क्वारेन्टाइन तोड्नु कति ठूलो अपराध हो भनेर सर्वेक्षण गरिएको थियो । त्यसमा धेरैले त्यसलाई आम नरसंहार सरह हो भनेका थिए । क्यानडामा ७८ प्रतिशत यो पक्षमा थिए भने इटालीमा यस्तो मत राख्ने ६० प्रतिशत थिए । उनीहरुले सरकारले बोलाएमा आफूहरु क्वारेन्टाइनमा फर्किन तयार रहेको जनाएका थिए । यसले राष्ट्रिय स्तरको भरोसा झल्काउँछ । गत जुनमा वेलकम ट्रस्ट नामक एउटा च्यारिटी संस्थाले गरेको मतदानमा पनि ७८ प्रतिशत क्यानेडियनले आफूले सरकारी स्वास्थ्य सल्लाहमा भरोसा राखेको बताएका थिए । जर्मनी र बेलायतमा यो संख्या ८० भन्दा बढी थियो भने दक्षिण कोरियामा उल्लेखनीय ८६ प्रतिशत थियो । इटालीमा यो केवल ६३ प्रतिशत थियो भने अमेरिकामा सबैभन्दा कम ५९ प्रतिशत थियो ।
इटालियनलाई सरकारले गरेको प्रयास विश्वासिलो छ कि छैन थाहा पाउन केही समय कुर्नु पर्नेछ । रोमका एकजना सार्वजनिक स्वास्थ्य विशेषज्ञ वाल्टर रिक्कार्डीका अनुसार मध्य मार्चसम्म इटालीमा दुईवटा रेडजोनको बीचका क्षेत्रलाई ‘लक डाउन’ गर्ने कि नगर्ने भन्ने सम्बन्धमा निर्णय लिइनेछ । यद्यपि उत्तरी बर्गामो शहरमा ४०० भन्दा बढीमा संक्रमण फैलिसकेको छ । सरकारले मार्च १५ सम्मको लागि सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने घोषणा गरिसकेको छ ।
यदि क्वारेन्टाइनलाई पब्लिकले समर्थन गरे भने यसको राम्रो हेरचाह गर्न आवश्यक छ । इटाली सरकारले महामारीको लागतका लागि ४ आर्ब डलर छुट्याएको छ । त्यसमध्ये केही निर्यातकर्ताहरुको सहयोगका लागि छुट्याइएको छ जसले महामारीकै कारण निर्यात बन्द गरेर बस्नुपरेको छ । रेडजोनमा रहेका कुख्य दुईवटा शहरबाहेक अन्य क्षेत्रहरु पनि समस्यामा छन् ।
मार्च ३ मा युट्यूबमा अपलोड गरिएको गरिएको एउटा भिडियोमा ४६५९ जना बासिन्दा रहेको गाउँ कास्टिग्लिओन डी एड्दाका मेयर कोस्टान्टिनो पेसेटोरीले भने, ‘हामीले वास्तवमै एक्लो महशुस गरेका छौं । व्यक्ति बिरामी छन् र आवश्यक सहायता प्राप्त गरिरहेका छैनन् । कृपया हामीलाई सहयोग गर्नुहोस् ।’ सो गाउँमा करिब १०० जनामा यो संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भइसकेको छ । पेसेटोरीका अनुसार गाउँका तीनजना डाक्टर क्वारेन्टाइनमा छन् । तर उजीहरुसँग न पञ्जा छ, न मास्क नै । उनीहरुको आफ्नै सुरक्षा गर्न पनि अहिले केही छैन । उनले दुई स्थानीय अस्पतालमा परामर्श कक्ष खोल्न वा सेनाका डाक्टरहरू पठाउन अधिकारीहरूलाई आग्रह गरिरहेका छन् । 


कोभिड–१९ को रेडजोनमा अहिले आपूर्तिको चरम अभाव भएका समाचार आइरहेका छन् । क्यासलस्पुर्लेन्गो नजिकैकी औषधी पसले अन्ना रोसी भन्छिन्, ‘हामीसँग आफ्नो ग्राहकलाई बेच्ने किटनाशक जेल छैन । हामीसँग न कुनै मास्क नै छ जसले रोगको फैलावट संकुचन गर्न सकोस् ।’ 

मार्च २ मा  चिकित्सकको एउटा समूहले सुरक्षा उपकरणको अभाव रहेको भन्दैै रोमका स्वास्थ्यमन्त्रीलाई पत्र पठाए । ‘हामी हाम्रो बिरामीका पक्षमा रहन चाहन्छौं’ उनीहरूले भने, ‘तर यदि हामीलाई न्यूनतम तरिकाहरू अपनाउन र आफूलाई बचाउने उपाय नै छैन, यस्तो अवस्थामा हामी कसरी त्यसो गर्न सक्छौं ?’

यो धेरै व्यापक समस्या भएको जस्तो देखिन्छ । विश्वका स्वास्थ्य सेवा कार्यकर्ता कोभिडको सामनाका लागि एक महिना ८९ मिलियन मेडिकल मास्कको आवश्यकता पर्छ । अहिले उत्पादन त्यसको ७० प्रतिशतमात्रै छ । त्यसैले गर्दा यसको मूल्य ६ गुणासम्म बढेको छ । जर्मनी, रसिया, ताइवान र थाइल्यान्डले उनीहरूको घरेलु आपूर्तिका लागि मास्कको निर्यात प्रतिबन्धित गरेका छन् । गत वर्ष आधा विश्वको मास्क बनाउने चीनले निर्यातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छैन । तर चीनको अभ्यासमा त्यो प्रतिबन्ध जस्तै छ । उसले अहिले विश्व बजारमा मास्कको आपूर्ति गरिरहेको छैन । 

तर अहिले यसको उत्पादनले तीव्रता लिइरहेको छ । चीनले अहिले दैनिक ११ करोड ६० लाख मिलियन फेसमास्क उत्पादन गरिरहेको छ जुन एक महिना अघिको उत्पादनभन्दा १२ गुणा बढी हो । योमध्ये १७ लाख मास्क उच्च क्वालिटीका छन् जसले बिरामीलाई खोक्दा वा हाच्छ्युँको सामना गर्नुपर्दा आवश्यक पर्ने हुन्छ । दक्षिण पश्चिमी चीनमा एक सामान्य मोटर्सको संयुक्त लगानी डिस्पोजेबल फेस मास्क बनाउँदैछन् । तर कुनै देश आवश्यकता अनुसार रोग परीक्षण गर्न वा ठूलो संख्यामा बिरामीहरु अस्पताल भर्ना गर्न सक्षम छैनन् । अफ्रिकामा हालसम्म यस्तो केसहरु एकदमै कम छन् । तर यहाँ संक्रमण फैलिएमा इरानको जस्तै ठूलो विपत्ति आउनसक्ने खतरा औंल्याइएको छ । 

अमेरिकामा अहिले दुईवटा हेल्थकेयर प्रणाली सक्रिय भए पनि महामारी नियन्त्रणको जिम्मेवारी एउटाले अर्कोलाई सार्ने काम गरिरहेका छन् । सार्वजनिक स्वास्थ्य संस्थाले यसलाई राज्य वा शहरको जिम्मा हो भन्छन् भने राज्य र शहरले स्वास्थ्य संस्थाकै जिम्मामा सार्छन् । यहाँ  रोगको तयारी, कोषको व्यवस्थापन र रोकथामको लागि जिम्मेवारी लिने एजेन्सीबीच तालमेल छैन । त्यसैले यो रोगको नियन्त्रण कमजोर बन्दै गएको छ । त्यस्तै त्यहाँ बिदामा रहेका बिरामीहरुलाई भुक्तान गर्ने प्रणाली पनि छैन । यही कारण गुमेको ज्याला र जागिरका कारण घरमै बसेर आराम गर्दा पनि उहीहरु कमजोर महसुस गरिरहेका छन् । अर्को ठूलो समस्या भनेको पूर्वतयारीमा लाग्ने खर्च हो । त्यहाँ यस्तो महामारीको पूर्व तयारीको खर्च सामान्यतया बिलयोग्य हुँदैन । त्यसैले अमेरिका महामारी नियन्त्रणमा कमजोर बनिरहेको छ ।

(द इकोनेमिस्टको रिपोर्टमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप