वरिष्ठ सङ्गीतकार राजु सिंहको जीवन : जीवनको अन्तिम बिन्दुमा पनि मेरो हात हारमोनियम माथि होस्
जीवनको अन्तिम बिन्दुमा मेरो हात हारमोनियमाथि होस् । कम्पोज राम्रो निस्कियोस् । राम्रा शब्दमा राम्रा गीत कम्पोज भएको समयमा हारमोनियमको तालसँगै जीवनको अन्त्य होस् । बस् भगवानसँग यही छ कामना ।
‘रित्तो सडकमा’, ‘कहाँ तिम्रो मायालुलाई’, ‘काँडा हो माया’, ‘वचन तोडे कसम पनि तोडे’, ‘फेरि तिम्रो याद आयो’ लगायत थुप्रै हिट गीतका सङ्गीतकार हुन्– राजु सिंह । नेपाली साङ्गीतिक क्षेत्रको बुलन्द उचाइमा पुग्दा पनि आफूलाई साधनारत भन्न रुचाउने सिंह तीन दशकदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।
२०४६ सालदेखि सङ्गीतकर्ममा होमिएका उनले पहिलो एल्बम ‘प्रतिविम्ब’ २०४८ ल्याएका थिए । त्यसपछि अहिलेसम्म उनको ३४ वटा सोलो एल्बम आइसकेको छ । ३५औँ एल्बमको उनी अहिले तयारी गर्दैछन् ।
सङ्गीतका प्रायः सबै विधामा गीत बनाएका सिंहले अहिलेसम्म एघार सयभन्दा बढी गीतमा सङ्गीत भरेका छन् । उनका सङ्गीत रहेका सबै गीत हिट मात्र छैनन् । श्रोता र मिडियाले समेत मनपराएका छन् । त्यसैले त कतिपयले उनलाई सङ्गीतका जादुगरसमेत भनेर सम्बोधन गर्ने गरेका छन् ।
उनी भने आफूलाई नेपालको एक भाग्यमानी सङ्गीतकार भनेर बुझ्छन् । विसं २०६० देखि नियमित ३, ४ वटा कलेजमा अध्यापन गराउँदै आएका सिंहले सङ्गीतमा ट्रिनिटी कलेजअफ लन्डनबाट ८ ग्रेड अर्थात डिप्लोमा सरह, अर्थशास्त्रमा एमए, शास्त्रीय सङ्गीतमा सङ्गीत बिसारद र बिन्युज गरेको छन् ।
यी नै सङ्गीतका साधक राजु सिंहको जीवनका पाटाहरू आज रातोपाटीको मेरो जीवन स्तम्भमा हामीले खोतल्ने प्रयास गरेका छौँ ।
मेरो खाना
म नन्भेज हुँ । मासु हप्तामा २, ४ पटक खान्छु । म काठमाडौँको लोकल भए पनि होला नेवारी खाना र खाजा बढी मनपर्छ ।
मन नपर्ने खानेकुरा कर्कलो हो । कहिलेकाहीँ परिवारका साथ नेवारी खाजाका लागि रेस्टुरेन्ट जान्छु । मलाई चाइनिज खाना पनि मनपर्छ ।
मेरो मनपर्ने रेस्टुरेन्ट नयाँ बजारको हारती हो । पानी तताउनबाहेक केही पकाउन आउँदैन । किचनको काममा जिरो छु म ।
मेरो फिट्नेस
फिट्नेसमा सजग छु । हरेक दिन बिहान नियमित मर्निङवाक गर्छु । बिहान ५ः३० देखि ६ः३० सम्म । यस बाहेक साधारण हिँडडुल मात्र गर्छु ।
मेरो पोसाक
म फर्मल पहिरन लगाउने समयमा एकदमै फर्मल हुन्छु । अन्य समय क्याजुअल पहिरन मनपर्छ । पहिरन लगाउन मलाई मेन्टल्ली प्रिमियर भने हुनुपर्छ ।
यो दिन यो पहिरन भनेर सेटिङ मिलाउँछु । पहिरनमा मनपर्ने कलर ब्लु र ब्ल्याक हो । ह्याट हरहमेसा लगाउँछु ।
मनपरेको पहिरन ब्रान्डेड हेर्दिनँ । पहिरनमा आँखा परेपछि लिनैपर्छ । कहिले ब्रान्डेड पनि किन्छु । कहिले नर्मल सिलाएर पनि लगाउँछु ।
त्यो पहिरनको डिजाइनमा भरपर्छ । मेरो घर वरिपरि टेलरिङ सेन्टर धेरै छन् । त्यसैले पनि वार्षिक एक लाखभन्दा बढी पहिरनमा खर्च हुन्छ ।
मेरो अध्ययन
धेरै अध्ययन गर्ने व्यक्ति म पनि हुँ । शनिबार नेपालका सबै पत्रपत्रिका, अनलाइन अध्ययन गर्छु । सङ्गीत गर्ने र अध्यपन गराउने पछि मेरो धेरै समय अध्ययनमा खर्च हुन्छ ।
पत्रपत्रिका, पुस्तक मलाई किनेरै पढ्नुपर्छ । अमर न्यौपानेको ‘गुलावी उमेर’ अहिले अध्ययन गरिरहेको छु ।
ज्ञानवद्र्धक, बायोपिक, म्युजिकल, एड्भेन्चर, संस्मरण लगायतका पुस्तक अध्ययन गर्न मनपर्छ । अध्ययन गरेको पुस्तकबाट ज्ञान बढोस्, केही सिक्न पाइयोस् भन्ने मेरो सोच छ ।
प्रायः बेलुकाको समय म अध्ययनमा रुचाउँछु । शनिबार पूरैजसो समय पढेर बिताउँछु । म फुर्सद नहुँदा पनि सबै पत्रपत्रिका, पुस्तक कलेक्सन गरेर राख्छु । दशैँ तिहार लगायतको लामो बिदाको समय पढेर सकाउँछु ।
मेरो घरमा पढेको र नपढेको पुस्तक राख्ने ठाउँ फरक फरक छु । कुन पढ्न पुस्तक बाँकी छ । कुन पढे त्यो छुट्याउन सजिलो हुन्छ ।
मेरो घुमफिर
घुमघाम मनपर्छ । विद्यार्थी जीवनमा धेरै घुमँे । युरोप पूरै घुमेको छु । सो समय लाइभ म्युजिसियम समेत थिए । यसका कारणले एसियाका देश सबै घुमेको छ ।
अहिलेसम्म नगएको देशमा अमेरिका पर्छ । अन्य प्रायः सबै देश घुमेको छु । कहिले विद्यार्थी, कहिले जज लगायत विभिन्न प्रसङ्गको सिलसिलामा धेरै देश पुगेँ ।
घुम्न मन पराउने र रमाइलो लाग्ने मानिस पनि हुँ म । मलाई हेरिटेज स्थानहरू मनपर्छ । देशको पश्चिमका भूभाग प्रायः सबै पुगेको छु । पूर्व भने धेरै घुम्न पाएको छैन । मेरो मनपर्ने ठाउँ इलाम हो, जानभने पाएको छैन ।
मेरो फुर्सद
सबैभन्दा अप्ठ्यारो नै यही हो । मलाई प्रायः फुर्सद हुँदैन । तर समय म्यानेज गर्न सक्छु । म नियमित रुटिङमा चल्ने मानिस हुँ ।
प्लानअनुसार चल्ने भएकाले कहिलेकाहीँ फुर्सद मिलाउन सक्छु । तर गाह्रो भने हुन्छ । फुर्सद भयो भने टिभीमा फुटबल गेमहरु, जोग्राफी च्यानल हेर्छु ।
मेरो मोबाइल
अहिले मसँग सामसुम ब्रान्डको एउटा मोबाइल छ । योभन्दा पहिले नोकिया ब्रान्डको बोक्थेँ । म एक दुई वर्षमा मोबाइल फेर्छु ।
बाहिर निस्किँदा मोबाइल उठाउने, गर्ने र म्यासेज पठाउने हो । घरमा बसेको समय सामाजिक सञ्जाल पनि चलाउन रुचाउँछु । यसका लागि बेलुकाको ९ देखि १० बजेसम्मको समय छुट्याएको छु ।
कलेजमा फोन उठाउन नमिल्ने भएकाले म धेरैजसो म्यासेज पठाउँछु । त्यसैले साथीहरुले यो जे कुरामा पनि म्यासेज पठाउँछ भनेर जिस्काउँछन् ।
मेरो खेलकुद
म फुटबलको नामी फ्यान हुँ । विश्वस्तरीय फुटबलका गेम सबै हेर्छु । सानोमा फुटबल पनि खेल्थेँ । अहिले भने टिभीमा खेल हेर्न मनपर्छ ।
मेरो टिभी
नियमित टिभी हेर्छु । अहिले अनलाइनमा समाचार छिटो आउँछ । तर हामी त्यस्तै वातावरणमा हुर्किएको भएर होला सायद टिभीको समाचार हेर्दा आधिकारिक लाग्छ । साँझको ८ बजेदेखि १० बजेसम्म मेरो टिभी हेर्ने समय हो ।
टिभीमा समाचारको अलवा म्युजिकल च्यानल, फुटबल गेमहरु, जोग्राफी च्यानल, नयाँ पुराना राम्रा गीतहरु, रियालटी सो लगायत हेर्छु । बढी हेर्ने म्युजिकल च्यानल नै हो । केही हेरेर केही कुरा सिक्न पाइन्छ कि भन्ने मेरो सधैँ ध्यान रहन्छ ।
मेरो चलचित्र
चलचित्र छानेर मात्र हेर्छु । मलाई हलमा जान एकदमै अल्छी लाग्छ । कहिलेकाहीँ जान्छु पनि । मैले आचार्य, गोपी र पछिल्लो समय ‘आमा’ हेरेको छु ।
म स्टार कलाकार होइन, अभिनय हेर्न रुचाउँछु । फिल्मको म्युजिकको पाटो मनपराउँछु ।
बलिउड, हलिउड र नेपाली सबै प्रकारको फिल्म हेर्न रुचाउँछु । मलाई बढी हलिउड फिल्म मनपर्छ ।
मेरो पेसा
मेरो कर्म, धर्म, पेसा जो भने पनि पहिलो सङ्गीत हो । २०४६ सालदेखि म सङ्गीतकर्ममा छु । मेरो पहिलो एल्बम ‘प्रतिविम्ब’ २०४८ मा निस्किएको थियो । त्यो समयदेखि आजसम्म साङ्गीतिक कर्ममै छु ।
अहिले आफ्नो ३५औँ सोलो एल्बम ल्याउने तयारी छ । अहिलेसम्म एघार सयभन्दा बढी गीतमा सङ्गीत बाहिर आएका छन् । यी गीतसङ्गीतमा पनि धेरै आधुनिक छन् । सबै प्रकारका गीतमा सङ्गीत गरेको छु ।
म नेपालको एक भाग्यमानी सङ्गीतकार पनि हुँ । किनभने मैले जुन जनरलको गीत छोए पनि हिट भएको छ । श्रोता, दर्शक र मिडियाले मनपराएका छन् । नेपाल लोकसङ्गीतले भरिपूर्ण देश हो ।
मैले धेरै प्रकारका सङ्गीत गरेको छु । अझै लोकसङ्गीतलाई परिमार्जित हुने गरेर सङ्गीतहरु गर्न मन छ । सङ्गीत एउटा जीवन हो । सङ्गीतसँग हरेक मानिको व्यक्तिगत जीवन जोडिएको छ ।
सङ्गीतको तालसँग जीवन पनि छ । जस्तै हाम्रो धड्कन बढ्यो भने प्रेसर बढ्छ । यस हिसाबले पनि जीवन सङ्गीत हो भन्न सकिन्छ । प्रकृतिमा पनि जाऔँ । चरा कराएको, खोला बगेको लगायतमा पनि सङ्गीत छ । प्रत्यक्ष अपत्यक्ष रूपमा सङ्गीत प्रत्येक मानिसको जीवन हो ।
मेरो अर्काे पेसा अध्यापन पनि हो । २०६० देखि म कलेज पढाउँदै आएको छु । अहिले पनि ३, ४ वटा कलेज पढाउँछु ।
मेरो खुसी
सङ्गीतमा लागेर मैले श्रोता, मिडिया र शुभचिन्तक लगायतको माया पाएछु । यो पाउँछु भन्ने थिएन पहिले सङ्गीतमा लाग्दा । मैले विश्वविख्यात गुलाम अलिदेखि लिएर आसा भास्ले र नेपालका प्रायः सबैसँग काम गर्न पाए ।
सङ्गीतको विधामा विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा निर्णायक बन्न पाए । नेपालका अग्रज, समकालीन, जुनियरदेखि पछिल्लो पुस्तासँग काम गर्न पाए ।
मेरो सङ्गीतमा भावीपुस्ता समेत गाउन तयार छन् । यो शक्तिले सधैँ मलाई ऊर्जा दियो र दिन्छ पनि । आज म नेपालको एकेडेमिक सङ्गीतकार भनेर चिनिँदा खुसी लाग्छ । यो मेरा लागि थप चुनौती हो ।
नेपालको कोहीसँग पनि नमिल्ने पृथक् सङ्गीतकार भनेर म चिनिनु पनि अर्काे ठूलो खुसीको कुरो हो ।
मेरो सपना
नेपालमा विश्वस्तरको एउटा सङ्गीतको स्कुल, कलेज होस् । विश्व स्तरको सङ्गीत सिम्फोनी अर्केस्ट्र भएको हेर्ने मेरो सपना छ । यसका लागि केही पहल पनि गरेको छु । हुँदै पनि छ । आसा गरौँ सायद देख्न पाइन्छ ।
मेरो प्रेम
मेरो मागी विवाह भएको हो । २०५५ सालमा मैले विवाह गरेको थिएँ । उनी अध्ययन गरेर बसेकी थिइन् । विवाह गरेर आएपछि उनले मेरो पूरै परिवारलाई एकदमै राम्रोसँग सम्हालेकी छन् । त्यो अन्य सबै कामभन्दा ठूलो हो भन्ने मेरो बुझाइ रहेको छ । विवाहपछि उनीसँग बसेको प्रेम कहिल्यै पनि कम भएन ।
विवाह अगाडि वा पछाडि बाहिर प्रेम भए पनि हाम्रो समयमा प्रेम बाहिर ल्याउनु भनेको ठूलो चुनौती हुन्थ्यो । कतिले मलाई मनपराए, अहिले पनि मनराउनुहुन्छ ।
मेरो गीतसङ्गीत
पेसाको सिलसिलमा विभिन्न सङ्गीत गरेझै जीवनमा सुन्न पनि गीत धेरै मनपर्छ । म म्युजिकलाई विभाजित गरेर हेर्न मन पराउँदिनँ । सबै प्रकारका गीतसङ्गीत सुन्न मन पराउँछु ।
म सङ्गीतमा हेबी मेटल पनि सुनिरहेको हुन्छु । रक, पप सबै सुनिरहेको हुन्छु । मलाई मनपर्ने सङ्गीत विश्व स्तरको हुनुपर्छ । अग्रज सबैको गीत सुन्छु । पछिका नवीन भट्टराईको पनि फ्यान हुँ म । हेमन्त राणा पनि मनपर्छ ।
शब्दप्रधान गीत र त्यो गीतले समाजमा केही कुरा दिनसक्छ भने म सुन्छु । म म्युजिकको साधक भएको नाताले म्युजिक छुटाएर हेर्दिनँ । देश विदेशका सबै खालका गीतसङ्गीत सुन्छु ।
मेरो दुःख
अहिलेको जेनेरेसनले विभिन्न रेकर्ड राख्ने बहानामा सङ्गीतलाई लिएर जुन दौड जारी राखेका छन् यो दौडमा कति एरेन्जरको भरमा सङ्गीतकार, कतिलाई गायकका कारणले सङ्गीतकार, कति मिडियाका कारणले सङ्गीतकार र कति लक्ष्मीनारायण अर्थात पैसाका कारणले सङ्गीतकार भएका छन् ।
यो क्षेत्रमा केही धेरै राम्रा सङ्गीतकार आर्थिक अभावले अगाडि बढ्न नसकेको देख्न पाइन्छ । यो देख्दा, सुन्दा दुःख लाग्छ । सीधै भन्नुपर्दा प्रतिभाले भन्दा अन्य कारणले हिट भएको मानिस देख्दा दुःख लाग्छ ।
मेरो घर
अहिले रामशाहपथ नजिक म बसिरहेको घर मेरो पुख्यौली हो । यो मेरो बुबाले बनाउनु भएको थियो । बुबाले त्यो समयको परम्परा अनुसार बनाउनु भएको हो ।
बुबाआमा हरेक कुरामा सचेत भएको हिसाबले घरको वास्तुशास्त्रलगायत सबैपक्ष मिलेको छ जस्तो लाग्छ । मलाई भने घरको कुनै कोठाको साइज पनि थाहा छैन ।
मेरो मापसे
आजको दिनसम्म मापसे गरेको छैन । प्रसादका रूपमा लिनु बेग्लै कुरा हो । नत्र लिएको छैन ।
मेरो भूल
अहिलेको अवस्थासम्मको जीवन यात्रामा धेरै भुल गरेँ होला मैले । त्यो स्वीकार्छु । मेरो विचारमा भुलबाटै मानिसले धेरै कुरा सिक्ने हो । विदेश अध्ययन समयमा जति गरँे त्योभन्दा पनि बढी अध्ययन गर्नुपर्ने रहेछ भनेर पछुतो हुन्छ । त्यसो नगरेर मैले धेरै भुल गरेकी भन्ने लाग्छ ।
मैले सङ्गीत नरोजेको भए आर्थिक क्षेत्रमा अगाडि हुन्थेँ पनि होला । किनभने म अर्थशास्त्रको विद्यार्थी हुँ । मैले अहिले कलेजमा पनि तथ्याङ्क शास्त्र पढाउने गरेको छु ।
मेरो जीवनमा सङ्गीत सबैभन्दा बढी हाबी भएको छ । मैले पढाउने कलेज मलाई तपाईं सङ्गीतकै लागि जन्मिएको मानिस हो भन्छन् । यसका कारणले केही सहुलियत पाएको छु ।
मेरो रोग
अहिले त्यस्तो रोग केही छैन । कहिलेकाहीँ सामान्य रुघाखोकी बेग्लै कुरो हो ।
मेरो राशि
मेरो तुला राशि हो । ग्रहदशा हेराउँछु । विश्वास लाग्छ । हरेक २, ४ महिनामा पाठ पढाउने, महाकाल मन्दिर जाने, ग्रहशान्ति गर्नेगर्छु । यी सबै कुरामा विश्वास लाग्छ ।
मेरो मृत्यु
मृत्यु एउटा स्वाभाविक प्रक्रिया हो । को मानिसको कस्तो मृत्यु हुन्छ, सम्मान जनक हुन्छ कि सामान्य । त्यो फरकको विषय हो ।
मेरो एकजना साथी अर्जुन सापकोटाजी जो राम्रो गीतकार पनि हुनुहुन्छ । मानिसको जन्तिभन्दा पनि मलामी कति छ भनेर मूल्याङ्क हुन्छ । त्यसैले मलामी कमाउनुपर्छ राजु भन्नुहुन्थ्यो । त्यसैले मलामी कमाउनुपर्छ भन्नेकुरो म जहिले पनि ध्यानमा राख्छु ।
जीवनको अन्तिम बिन्दुमा पनि मेरो हात हारमोनियमा माथि होस् । कम्पोज राम्रो निस्कियोस् ।
राम्रो शब्दमा गीतको कम्पोज भएको समयमा हारमोनियमको तालसँगै जीवनको अन्त्य होस् । बस् भगवानसँग यही छ कामना ।