बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन युकेले मनायो १५औं स्थापना दिवस

शनिबार, २४ फागुन २०७६, ०८ : ०२
शनिबार, २४ फागुन २०७६

लन्डन । ८२ वटा देशहरुमा छरिएर रहेको गैरआवासीय नेपाली संघको जननीको रुपमा परिचित गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो स्थापनाकालको १५औ वार्सिकोत्सव सम्पन्न गरेको छ ।

 सन् २००५ बाट शुरु भएको गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो  स्थापनाको १५औं वर्ष पूरा गरिसकेको छ । यसै समारोहमा उपस्थित  हुन गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त समेत लन्डन आएका छन् ।
अल्डरशटस्थित एम्पायर हलमा विहीवार साँझ आयोजित १५औ वार्सिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले गैर आवासीय नेपालीहरुले आर्थिक सामाजिक र संस्कृतिक अधिकार सहितको नागरिकता छिट्टै प्राप्त गर्ने र आफू रहेको मुलुक बाटै नागरिकता उपलब्ध गराउनुपर्ने कुरामा समेत पहल भैरहेको बताएका छन् । 

विदेशमा बस्ने नेपालीहरुले नेपालमा रेमिट्यान्स भित्र्याउन ठूलो मद्दत गरेको र आफ्नो पूँजी, ज्ञान शिप र प्रविधिको माध्यमबाट देशलाई समृद्ध बनाउन चाहेको पनि उनले बताए ।

 प्राप्त रेमिट्यान्सबाट कम्तिमा दुई प्रतिशत मात्र रकम छुट्याउन सकेमा खासगरी मिडलइष्ट र मलेशियामा बस्ने नेपालीहरुलाई पर्ने भवितव्य अंगभंग जस्ता आपतकालीन समस्यामा सहयोग पुर्याउन सकिने उद्देश्यले नेपाल राष्ट्र बैंकसंग कुरा अगाडि बढिसकेको पन्तले जानकारी दिए ।

 एनआरएनको श्रमिक कल्याणकारी कोषलाई अझ प्रभावकारी बनाउँदै चाडैनै  १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए । 

गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको र त्यसबारेमा आफूहरु लागिपरेको बताउँदै भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । 
 गैरआवासीय नेपाली संघ बेलायतभित्रको केही असन्तुष्टिलाई इंगित गर्दै पन्तले भने ‘ अरुले भन्दा बढी गर्न खोज्नु र चित्त नबुझेको कुरामा असन्तुष्टि व्यक्त गर्नु राम्रो हो, तर  असन्तुष्टि पोख्ने क्रममा सीमा बाहिर जान नहुने बताए ।
 बेलायत जस्तो सभ्यता भएको ठाउँबाट आफूले पनि सभ्यता सिक्ने र अरुलाई पनि सभ्यता सिकाउनुपर्ने बताउँदै समस्याको समाधानको लागि छलफल गर्न आफू तत्पर रहेको पनि उनले  बताए । 

गत वर्ष भएको निर्वाचनदेखि नै यहाँस्थित नेपाली समाजभित्र केही असन्तुष्टीहरु देखिँदै आएका छन् । 

चुनावी प्रक्रियामा भएको पराजय, धाँधली, पदको खिचातानी र आर्थिक पारदर्शिता जस्ता विषयले प्रमुखता पाउँदै आएका छन् ।  यद्यपि केन्द्रीय अध्यक्ष कुमार पन्तले पनि चित्त नबुझेका विषयलाई आपसी सहमतिमा टुंगो लगाउन सकिने बताएका छन् भने संघकी यूके अध्यक्ष पुनम गुरुङले पनि आर्थिक पारदर्शिताको लागि चाडै नै अडिटिङको व्यबस्था गर्ने बताएकी छन् । 
 संघका महासचिव डा. हेमराज शर्माले  स्मार्ट एनआरएन अभियानको बारेमा उल्लेख गर्दै विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए । सुविधायुक्त स्मार्ट एनआरएन कार्ड चाडै लागू हुने बताउदै उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको जनाएका छन् ।
 आफ्नो दुईवर्षे कार्यकालमा उदाहरणीय कार्य गरेर देखाउने लक्ष्य लिएर अघि बढेको र यदि केही गरेर देखाउन नसके आफू एनआरएनबाट नै बाहिरिने महासचिव शर्माले बताए ।
 कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले गैरआवासीय नेपाली संघको जननी भूमि भएको  ऐतिहासिक देश भएकोले यहाँबाट नेपालीहरुले धेरै कुरा सिक्नुपर्ने  बताएका छन्  । 

नेपाल प्रतिको समर्पणलाई निरन्तरता दिँदै तेस्रो पुस्ताका नानीहरुप्रति बढी ध्यानदिनुपर्ने बताए । आफू नेपालबाट आउँदा गैर बेलायातवासी आवासीय नेपालीहरुको बारेमा सकारात्मक धारणा बोकेर आएको र अब स्वदेश फर्किंदा पनि त्यही किसिमको धारणा बोकेर  जाने बातावरण बनाउन संघलाई सुझाव दिएका थिए ।  

कार्यक्रममा स्वागत मन्तव्य दिँदै गैरआवासीय नेपालीसंघ यूकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारिन् । उनले एनआरएनलाई राम्रो एनआरएन बनाउने प्रयत्न गर्ने बताउँदै बेलायतवासी नेपालीहरुको समस्यालाई आफूले अगाडि बढाउँदै आएको  बताइन् । 

कार्यक्रम संयोजक तथा संस्थापक मध्येका एक रामशरण सिम्खडाले गैर आवासीय नेपाली संघ यूकेको इतिहासलाई स्मरण गर्दै स्थापना कालमा सहयोग पुर्याउने अग्रजहरुको योगदानको बारेमा उल्लेख गरेका थिए  ।  कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्व महासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित संस्था भएको बताए । 
उनले भातृभूमिका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर स्थापना भएको जनाए । कार्यक्रममा अर्का पूर्व महासचिव कृष्ण उपाध्यायले गैरआवासीय नेपाली नागरिकताको मुद्दा सबैको साझा भएको भन्दै गैरआवासीय नेपाली नागरिकताले सबै पक्षलाई समेटेर लैजाने बताए । 

कार्यक्रममा यती नेपाली एसोसियसन् यूकेका अध्यक्ष ध्रुब केसी, गैरआवासीय नेपाली संघ यूकेका सल्लाहकार शिवजी श्रेष्ठ, संघका पूर्व अध्यक्ष महेन्द्र कंडेल, संरक्षक सूर्य गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गैर आवासीय नेपाली संघ बेलायतको १५औ वार्सिकोत्सवको उपलक्ष्यमा केक काटेर खुसियाली मनाइएको थियो ।  बेलायतमा नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको  सयपत्री कल्चर ग्रुपले विशेष संस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप