शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

५ रुपैयाँको मास्क ३० रुपैयाँमा बिक्री गरेपछि २ फार्मेसीलाई २० हजार जरिवाना (भिडियोसहित)

शुक्रबार, २३ फागुन २०७६, १९ : ३७
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । कोरोना भाइरसको त्रास फैलिएपछि मेडिकलहरु सर्जिकल माक्सको चर्को मूल्य लिन थालेका छन् । अस्पताल छेउछाउकै मास्क पसलहरुले समेत खुलेआम ५ रुपैयाँ पर्ने माक्सलाई पच्चिस तीस रुपैयाँमा बिक्री गर्न थालेका छन् ।  महँगोमा मास्क बिक्री गर्दै आएका काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल अगाडिका २ वटा फार्मेसी कारवाहीमा परेका छन् ।  

शुक्र तथा शास्त्री मेडिकल पसलमा शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेर २० हजार रुपैयाँ जरिवाना तिराएको छ । ५ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई शास्त्री फार्मेसीले प्रतिगोटा ३० रुपैयाँ र शुक्र फार्मेसीले २५ रुपैयाँमा बिक्री गरिरहेको थियो । चीनबाट फैलिएको कोरोना भाइसरको क्रासपछि बजारमा मास्कको माग बढिरहेका बेला ठगी र कालोबजारी सुरु भएको छ । 

शुक्रबार दिउँसो विभागको टोली टेकुस्थित शास्त्री फार्मेसीमा पुग्दा शास्त्री मेडिकल सञ्चालकले आफ्नै लागि मात्र मास्क राखेको जिद्धी गरिरहिन् । बाणिज्य विभागमा कर्मचारीले उनीसँग मास्क खरिद गरेको बिल मागे । तर उनले दिन सकिनन् । 

सुरुमा उनले २ प्याकेट मास्क मात्र देखाएपनि विभागका कर्मचारीले पसलभित्र खानतलासी गर्दा अरु मास्कका प्याकेटहरु भेटाए । अझै पनि उनले आफ्नो प्रयोगका लागि मात्रै मास्क राखेको भनेर दावी गर्न छोडिनन् । उनले बिक्रीका लागि राखेका मास्कको खरिद बिल देखाउन नसकेपछि बाणिज्य विभागका कर्मचारीले उनलाई १० हजार रुपैयाँ जरिवानाको कागज गराए ।

शास्त्री फार्मेसीमा जरिवाना तिराएर विभागको टोलसँगै रहेको अर्को मेडिकल पसल शुक्र फार्मेसीतिर लाग्यो । त्यहाँ पनि विभागको टोलीले मेडिकल सञ्चालकसँग मास्क खरिद गरेको बिल माग्नुका साथै औषधी फार्मेसी दर्ता प्रमाणपत्र माग्यो । शास्त्री फार्मेसीका सञ्चालकले पनि मास्क खरिद गरेको बिल देखाउन नसकेपछि उनलाई १० हजार जरिवाना गरियो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ बमोजिम खरिद बिल नराखी दफा ३८ को ‘घ’ को कसुर गरेकोले सोही ऐनको दफा ३९  को १ बमोजिम १० हजार जरिवाना गरेको बेहोरामा हस्ताक्षर गराइएको छ । 

साथै मास्क तथा औषधीको बढी मूल्य लिने र अभाव सिर्जना नगर्न सचेत समेत गराइएको छ । विभागका निरिक्षण अधिकृत दिपकराज पोखरेल, निराजकुमार खत्री, मोहन भण्डारी र सुरेश कारञ्जितको टोलीले यी मेडिकलहरुमा अनुगमन गरेको हो । 

दुई मेडिकललाई जरिवानाको कारवाही गरेपछि विभागका सहायक सूचना अधिकारी दीपकराज पोखरेलले बजारमा मास्कको अभाव नभएपनि बढी मूल्यमा बिक्री गर्नेमाथि कारवाही गर्ने बताए ।  शुक्रबार मात्रै विभागको ४ वटा टोलीले काठमाडौं उपत्यकामा बजार अनुगमन गरेको  उनले बताए । चीनबाट फैलिएको कोरोना भाइरसको क्रासपछि बजारमा मास्कको कालोबजारी र ठगी सुरु भएको छ । 
हेर्नुहोस् भिडियोः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप