बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लिफ्ट दिने बहानामा बलात्कार गरेको भन्दै युवती सातदोबाटो चौकीमा !

शुक्रबार, २३ फागुन २०७६, १५ : १३
शुक्रबार, २३ फागुन २०७६

ललितपुर । शुक्रबार बिहान ललितपुरको चापागाउँ दोबाटो चोकमा एक युवती आफू ड्राइभरबाट बलात्कृत भएको भन्दै चिच्याइन् । स्थानीयले ती युवतीलाई प्रहरी चौकीमा गएर उजुरी हाल्न सुझाए । एक निजी कारको ड्राइभरले लिफ्ट दिने बहानामा बोलाएर आफूलाई बलात्कार गरेको पीडित भनिएकी युवतीको भनाइ छ ।

शुक्रबार बिहान २७ वर्षीया युवती सीता(नाम परिवर्तन) बौद्धबाट ललितपुरको चापागाउँस्थित हुम्दी घर जान भनेर निस्किएकी थिइन् । चापागाउँ जाने गाडी पर्खिरहेको अवस्थामा एक निजी कारका ड्राइभरले उनलाई लिफ्ट दिने अफर गरेका थिए । पछि ती निजी कारका चालकले आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी छन् ।

ड्राइभरबाट बलात्कृत भएको भन्दै पीडित भनिएकी सीता यतिबेला निवेदन दिन भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटो चौकी पुगेकी छन् । पीडित युवतीमाथि प्रहरीले थप सोधपुछ गरिरहेको छ ।

बौद्धबाट बिहान ६ बजे सार्वजनिक बस चढेर सातदोबाटो चोक आइपुगेको सीताले प्रहरीसमक्ष बताएकी छन् । सीताको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘बसबाट ओर्लिएलगत्तै एउटा निजी कारको ड्राइभरले लिफट् दिने बहानामा बलात्कार गरेको हो ।’

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार पीडित भनिएकी युवतीका आफन्त सम्पर्कमा आएका छन् । ‘उहाँहरुलाई बोलाएर थप सोधपुछ गर्ने तयारीमा छौं,’ डीएसपी शर्माले बताए ।

हालसम्म उक्त निजी कारको नम्बर खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप