नेपाल–भारत द्विपक्षीय साझेदारीः उर्जा क्षेत्रमा उल्लेख्य काम
काठमाडौं– छिमेकी भारतले केपी शर्माओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई शुक्रबार भेटेर वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष सुनाएका हुन् ।
त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गरे । विशेषगरी लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेश्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुसी व्यक्त गरे । अरुण तेश्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नति, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।
यस्तै, बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।
मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । यस्तै,भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो । जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि बाटो खुलेको थियो । सोही आधारमा नेपालले बंगलादेशँग विद्युत व्यापारको सम्झौता गरेको छ ।
यस्तै सोही अवधिमा नेपाल–भारतबीच विद्युत आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोश्रो अन्तरदेशीय प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ । भेटमा मन्त्री पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गरे ।
मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेश्रो जलविद्युत आयोजना र बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे । भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकामा उनले धन्यवाद दिए ।
यसअघि समेत काठमाडौंस्थित सार्क सचिवालयमा रहेर लामो समय काम गरिसकेको र नेपाली समाज बुझेका कारण राजदूत क्वात्राको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गरे । क्वात्रासँग ३० वर्ष भारतीय विदेश सेवामा काम गरेको अनुभव छ ।
गत पुस २८ मा राजदूत नियुक्त भएका क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । सन् १९८८ मा सेवा प्रवेश गरेका क्वात्राले सन् २००६ देखि २०१० सम्म काठमाडौंस्थित दक्षिण एसियाली सहयोग संगठन (सार्क) सचिवालयको व्यापार,अर्थ तथा वित्त व्युरो प्रमुुखका रुपमा काम गरेका थिए । क्वात्राले विजनेस एडमिनिस्ट्रेनसमा स्नातकोत्तर र अर्थशास्त्रमा एमफिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता