राजश्व नतिर्ने पाँचतारे होटल तथा रिसोर्टलाई सरकारको ३५ दिने सूचना, रकम नबुझाए सम्पत्ति लिलामी !
सरकारले सरकारी राजश्व नतिर्ने ठूला होटल तथा रिसोर्टहरुलाई ३५ दिनभित्र बाँकी रकम तिर्न सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार महालेखा नियन्त्रक कार्यालयले सरकारी राजश्व तिर्न बाँकी रहेका १ सय २३ जना व्यक्ति तथा फर्महरुको नामावाली र तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र सरकारी बाँकी रकम तिर्न सूचना प्रकाशन गरेको हो ।
३५ दिनभित्र पनि सरकारी राजश्व तिर्न नआएमा सरकारी बाँकी सरह असुल उपरका लागि सम्पत्ति लिलामीको प्रक्रियामा लैजानेसमेत चेतावानी दिइएको छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रबार प्रकाशन गरेको सूचनामा पूर्व सांसददेखि ठेकेदार कम्पनी, पाँचतारे होटल तथा रिसोर्ट, क्यासिनो र मिनि क्यासिनोदेखि लिएर साना फर्म समेत रहेका छन् ।
तीनपुस्ते नामावलीसहित प्रकाशित गरिएको सूचनामा सबैभन्दा बढी रकम नेपाल रिक्रिएसन सेन्टर नामक कम्पनीबाट लिन बाँकी देखिएको छ । सोल्टी, अन्नपूर्ण, हायत रिजेन्सी र एभरेष्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले नेपाल सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ तथा त्यसको ब्याजसमेत तिर्न बाँकी नै छ ।
राकेश बाध्वा सञ्चालक रहको उक्त सेन्टरले नेपाल सरकारलाई तिर्न बाँकी रकम ३५ दिनभित्र तिर्न आउन र नआएको खण्डमा उसको सम्पत्ति लिलामी प्रक्रियामा लैजाने समेत बताएको छ ।
त्यसैगरी पियुषबहादुर अमात्य सञ्चालक रहेको फूलबारी रिसोर्टले पनि नेपाल सरकारलाई झण्डै ३४ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचना अनुसार दि फूलबारी प्रालि अर्थात् पोखराको फूलबारी रिसोर्टले ३३ करोड ९३ लाख १५ हजार ७ सय १६ रुपैयाँ तथा त्यसको नियमानुसारको ब्याजसमेत ३५ दिनभित्र तिन आउन निर्देशन जारी गरिएको छ ।
त्यस्तै राधेश्याम सर्राफ सञ्चालक रहेको याक एण्ड यति होटलले पनि नेपाल सरकारलाई १६ करोड ३३ लाख रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । पटकपटक सरकारी राजश्व तिर्न आग्रह गर्दा र सूचना दिँदा पनि नतिरेको भन्दै महालेखा नियन्त्रक कार्यालयले याक एण्ड यति होटललाई ३५ दिनभित्र १६ करोड करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ तथा त्यसमा नियमानुसार लाग्ने ब्याजसमेत तिर्न सार्वजनिक सूचना दिएको हो । ३५ दिनभित्र रकम तिर्न नआए उसको नाममा रहेको सम्पत्ति लिलामी प्रक्रियामा लैजानेसमेत सरकारले चेतावानी दिएको छ ।
त्यस्तै होटल अन्नपूर्णले सरकारले १६ करोड ८ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै तिर्न आउन सूचना जारी गरेको छ । तप्त बहादुर बिष्ट सञ्चालक रहेको होटल अन्नपूर्णले सरकारलाई १६ करोड ८ लाख ३० हजार ४ सय ३७ रुपैयाँ तिर्न बाँकी नै छ । उनी अन्नपूर्ण क्यासिनोका महाप्रबन्धक थिए ।
त्यस्तै दिनेश बहादुर विष्ट अध्यक्ष रहेको होटल सोल्टीले पनि नेपाल सरकारलाई ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । पाँचतारे होटल सोल्टीले विगत लामो समयदेखि सरकारी बक्यौता नतिरेको र पटकपटक ताकेता गर्दा पनि सरकारी राजश्व तिर्न नआएको भन्दै ३५ दिनभित्र उक्त रकम र त्यसमा नियमानुसार लाग्ने ब्याज तिर्न नआए लिलामीमा लैजाने चेतावानी दिइएको छ ।
त्यस्तै मिनी क्यासिनो सञ्चालक सुरेन्द्र बहादुर सिंहले पनि नेपाल सरकारलाई ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । ह्याप्पी आवर प्रालि नामक मिनी क्यासिनो सञ्चालन गर्ने गरेका सिंहले नेपाल सरकारलाई साँडे ७ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको देखिएको हो । उनलाई पनि ३५ दिनभित्र रकम तिर्न आउन सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।
होटलका नाममा जारी भएको सूचनामध्ये अधिकांश रकम होटलले भन्दा पनि होटलभित्र सञ्चालनमा आएको क्यासिनोको बाँकी बक्यौता भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । तर कतिपय क्यासिनो तथा त्यसका सञ्चालक भागेका कारणले पनि त्यसको दायित्व होटलले बेहोर्नुपर्ने भन्दै होटलको नाममासमेत सूचना प्रकाशन गरिएको हो ।
सरकारले प्रकाशन गरेको सूचनामा पूर्व सांसददेखि नेपाल सरकारका कर्मचारी र व्यापारिक फर्महरु रहेका छन् ।
कुन कुन व्यक्ति र फर्मले कति कति रकम तिर्न बाँकी छ । हेर्नुहोस् फेहरिस्त ।
राजश्व बुझाउन बाँकीको नामावाली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन